२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ

रेभ. शामुएल सोदेम्बा

यस जगतमा रहेका मानिस जातिका लागि गुड फ्राइडे र इस्टर सण्डेको महत्व अत्यन्तै धेरै छ । वास्तवमा गुड फ्राइडे र इस्टर सण्डे कुनै चाडपर्व नभई यी दिनहरूले हामी समस्त मानिस जातिलाई परमेश्वरको योजना हाम्रो निम्ति अत्यन्तै महान छ भन्ने जनाउँछ । संसारभरि ख्रीष्टमस जसरी हर्षोल्लासपूर्ण वातावरणमा मनाइन्छ, त्यसै गरी गुड फ्राइडे र इस्टर सण्डे पनि भिन्नै वातावरणमा संसारभरि मनाइने गरिन्छ । त्यसैगरी हरेक वर्ष नेपालमा भएका ख्रीष्टियनहरूले पनि गुड फ्राइडे र इस्टर सण्डे हर्षोल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ ।

गुड फ्राइडेलाई हतिहासदेखि हेर्दै आउँदा पुरानो नियममा इस्राएलीहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा पाएपछि निस्तार चाड मनाएको घटना हामी देख्दछौं । त्यतिखेरको दासत्वबाट इस्राएलीहरूलाई एउटा उपाय निकाली दिनुभयो, त्यो उपाय भनेको हरेक इस्राएलीहरूलाई उहाँले चुनेको व्यक्तिमार्फत एउटा व्यवस्था दिनुभएको थियो । त्यो व्यवस्थामा हरेक परिवारले एउटा निस्खोट पाठोको बलिदान दिनुपर्ने थियो । अनि उनीहरूको चौकोसमा बलिदानको रगत राख्नुपर्ने थियो, जुन जुन चौकोसमा रगत हुँदैन थियो, त्यो परिवारको जेठो छोरो मारियो । जसले गर्दा मिश्रीहरूको इस्राएलीहरूमाथिको योजनालाई परमेश्वरले विफल पार्नुभयो । त्यो दिनदेखि इस्राएलीहरूले त्यो छुटकाराको सम्झनामा निस्तार चाडको रुपमा मान्दै आएको हो । निस्तार चाड भनेको छुटकाराको चाड हो, यद्यपि बाइबलमा धेरै चाडहरू छन् । जस्तै छाप्रोवासको चाड, पेन्टिकोष्टल चाड, अन्नबालीको चाड लगायतका देख्न सकिन्छ । पुरानो नियममा यो निस्तार चाड चाहिँ मिश्रीहरूको हातबाट इस्राएलीहरूलाई परमेश्वरले छुटकारा दिनुभएको जस्तै नयाँ नियममा पनि ख्रीष्ट येशूले पनि समस्त पापी मानिस जातिको लागि आफ्नो प्राण दिनुभयो, रगत बहाउनुभयो । त्यो रगत बहाएर दिनुभएको छुटकारा मानिस जातिको पापको निम्ति थियो भन्ने कुरा पुरानो नियमले नयाँ नियममा पुष्टि गर्दछ । यसकारण गुड फ्राइडे चाहिँ गुड फ्राइडे भयो संसारमा पापी मानिसको लागि छुटकारा दिने कोही पनि जन्मिएन, मान्छेको पापको लागि मान्छेकै रगत बहाइनु पर्दछ भन्ने कुरा बाइबलले भनेको छ । मान्छेको पापको निम्ति मान्छेकै रगत बहाइनु पर्ने जुन कुरा येशू प्रभुले पूरा गर्नु भयो, त्यो परमेश्वरको योजना थियो । त्यसकारण सारा मानिस जातिको पापको छुटकाराको निम्ति काम त्यो चाहिँ प्रभु येशूले पुरा गरिदिनुभयो । त्यो चाहिँ सारा मानिसको लागि असल तथा खुशीको कुरा थियो किनभने मन्दिरको कुरालाई हे¥यौं भने प्रधान पुजारी, पुजारीमार्फत हामीले हाम्रा पापको प्रायश्चित गर्न सकिन्थ्यो तर प्रभु येशूको क्रूसमा मरण पछि हामीले सिधै उहाँसँग आफ्नो पापको प्रायश्चित गर्न सक्छौं । अर्को कुरा उहाँको क्रूसको मरण भएको बेला मन्दिरको पर्दा माथिदेखि तलसम्म च्यातियो, दुई भाग भयो । व्यवस्थामा बाँधिएर व्यवस्थाभित्र बस्नु पर्ने नियमले बाँधिएको ती सबै कुरा नयाँ नियममार्फत भंग गरिदिनुभयो । आफै नै बलि भइकन, आफै नै व्यवस्था भइकन, आफै नै थुमा भइकन, उहाँले कहिले पनि पाप गर्नुभएन तर आफैं नै पापी मानिसहरूको निम्ति पाप भइकन क्रूसमा मर्नुभयो । मानिसका थुकाई कुटाई र गिल्ला सहनुभयो तर हामी पापी मानिसलाई पापबाट छुटकारा दिन उहाँले ती सबै सहनुभयो । त्यसकारण मानिसले पापबाट छुटकारा पाएको दिन नै खुशीको दिन हो, त्यसकारण त्यो दिनलाई मानिसहरूले गुड फ्राइडे भन्दछन् ।

एक प्रकारको विजयको घोषणा नै इस्टर सण्डे अर्थात पुनरुत्थानको घोषणाको उत्सव हो । नेपालमा पनि हरेक वर्ष ¥याली निकालेर यो पुनरुत्थान वा इस्टर सण्डेको उत्सव मनाइने गरिन्छ । सामान्य मरियमको कोखबाट जन्मिनुभएको येशू जसले आफ्नो प्राण क्रूसमा बलिदान हुन दिनुभयोे तर उहाँ मरेको मरै हुनुभएन तर मृत्युलाई जीति बौरी उठ्नु भएर समस्त मानिस जातिलाई छुटकारा दिनुभयो । त्यसकारण त्यहि दिन उहाँको भएको पुनरुत्थानको उत्सव मनाउने अर्थात सेलेब्रेशन गर्ने गरिन्छ । पुनरुत्थानको घोषणाको यो उत्सव प्रभु येशूमाथि विश्वास गर्नेले पाप क्षमाको अनुभव, नयाँ जन्म पाएको अनुभव गरी पाप माथिको विजयको घोषणा नै हो । पुनरुत्थानको शक्ति जुन परमेश्वरले आफ्नो पुत्रलाई दिनुभयो, त्यो शक्ति पाप भन्दा पनि हाम्रो दैनिक जीवन जस्तै रोग ब्यथा तथा विभिन्न समस्याको निम्ति प्रार्थना गर्छौं तर वास्तवमा पुनरुत्थानको दिन मैले सबै कुराबाट छुटकारा पाएको छु भनि विश्वास गरी विभिन्न रोग तथा समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अर्को कुरा जब प्रभु येशू पुनरुत्थान भई अथवा मृत्युमाथि विजयी भई आफ्ना चेलाहरूकोमा देखा पर्नु हुँदा उहाँ त्यही पोशाकमा हुनुहुन्थ्यो अनि उहाँले भन्नुभयो, अहिले मलाई नछोऊ, म पिताकोमा गएको छैन अनि अर्को कुरा आफ्ना चेलाहरूकोमा देखा पर्नु भएपछि उहाँले आफ्ना चेलाहरूलाई नडराऊ, म तिमीहरूलाई शान्ति दिन्छु भनि भन्नुभयो । यसको अर्थ के हो भने पुनरुत्थानले हामी मानिसलाई पापको छुटकारा र पापमाथिको जय र विजय नै हो । मानिसले आफ्नो दैनिक जीवनमा भोग्दै आएको दुःख कष्ट र समस्या, अभाव, घटीकमि र अनेक प्रकारको समस्यामा जिउनुपर्छ ती सबै प्रकारको समस्याहरूबाट छुटकारा दिनुभयो । वास्तविक पुनरुत्थानको सन्देश त्यही हो । अर्को छुटकारा के हुनसक्छ भने जसरी ख्रीष्टमसको बेलामा हामी सबै परिवारलाई भेट्छौं, शुभकामना आदान प्रदान गर्छौं, प्रेमभोज खाइन्छ यो एउटा स्पेशल इभेन्ट हो । मलाई लाग्छ, एउटै मण्डलीमा भएता पनि अथवा फरक मण्डली भए पनि धेरै ख्रीष्टियन परिवारमा लामो समयदेखि भेटघाट हुँदैन, बोलचाल हुँदैन, सम्बन्ध बिग्रिएको हुन्छ । यो पुनरुत्थानको उत्सव मनाइरहँदा त्यो बिग्रिएको सम्बन्धलाई सुधार गर्ने मौकाको रुपमा पनि लिन सकिन्छ । वास्तवमा प्रभु येशूले पनि पापमाथि विजय प्राप्त गरी मानिस जातिको परमेश्वरसँग बिग्रिएको सम्बन्धलाई पुनःस्थार्पित गर्नुभयो ।

नेपालमा हुने पुनरुत्थान अर्थात इस्टरको ¥यालीमा यहाँ भएका सबै सम्प्रदायको सहभागिता रहने गरेको म देख्ने गर्दछु, यसबाट के भन्न सकिन्छ भने पुनरुत्थानको महोत्सव भनेको सम्बन्धको अभिवृद्धि गर्ने समय पनि हो । यो एउटा सम्बन्ध सुधार गर्ने अवसर पनि हो किनभने लामो समयसम्म पनि भेटघाट तथा सम्बन्ध नभएका ब्यक्तिसँग पनि यो पुनरुत्थानको महोत्सवमा भेटघाट गरी सम्बन्ध सुधार्ने गरेको मैले पाएको छु । सामाजिक रुपमा समेत भन्नुपर्दा पुनरुत्थानको अवसर सम्बन्धको पुनःनिमार्णको अवसर हो । साँचो छुटकारा पाएको मानिस जस्तो भई अरु जसले प्रभुलाई चिनेका छैनन्, तिनीहरूको बिचमा एउटा उदाहरण प्रस्तुत गर्ने समय पनि हो ।

तसर्थ यो गुड फ्राइडे र इस्टर सण्डे अर्थात पुनरुत्थानको उत्सव ख्रीष्टियनहरूको लागि मात्र होइन, यस संसारमा भएका समस्त मानिसहरूको परमेश्वरसँग बिग्रिएको सम्बन्ध, मानिस आफू आफूमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र पापबाट पाएको छुटकाराको सुसमाचार सुनाउने र सुन्ने सुअवसर हो । किनभने प्रभु येशूले मृत्युमाथि पाउनु भएको विजयले मानिस जातिलाई पापबाट छुटकारा हुने अवसर दिएको छ । त्यसैले बाइबलले भन्दछ कि हरेकले पाप गरेका छन् र पापको ज्याला चाहिँ मृत्यु हो तर प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो । मानिस सबैले येशूमा आउनु र आफ्नो पापबाट छुटकारा पाउनु नै आजको आवश्यकता हो ।

(यो लेख कुराकानीका आधारमा तयार पारिएको हो ।)

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...