२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु

जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक समस्याहरू देखिन्छन् । रसुवा जिल्लामा रहेका केहि मण्डलीका विश्वासीहरूलाई भेटघाट तथा उत्साह दिने उद्देश्यले नयाँ वर्षको अघिल्लो हप्ता काठमाण्डौंबाट रसुवा पुग्यौं । साथै चर्च उद्घाटन पनि थियो ।

पास्टर राजेन्द्र सुन्दास, पास्टर सो बहादुर तामाङ, वचन पत्रिका प्रकाशक विश्वास थापा दाई र म चार जना दुई वटा मोटरसाइकलमा यात्रा गरेका थियौं । मोटरसाइकलमा यात्रा गरेकाले अफ्ठेरो बाटोको कारण हामीलाई केहि असजिलो भएतापनि केही कुरा हामीलाई असाध्यै सजिलो भयो । किनकि हामी आफूले जान चाहेको ठाउँमा सजिलै जान सक्यौं ।

काठमाण्डौंको टोखाबाट उकालो चढेर छहरे झरेपछि बसन्त ऋतुको रमणीय दृश्य अवलोकन गर्ने मौका मिल्यो । मेरो लागि रसुवा पहिलो यात्रा थियो । नयाँ ठाउँमा पहिलोचोटि भ्रमण गर्न पाउँदा जसलाई पनि आनन्द लाग्ने स्वभाविकै हो । मेरो जीवनको एउटा लक्ष्य भनेकै आफ्नो जीवनकालमा नेपालका ७७ वटै जिल्लाको सदरमुकाममा पुग्ने थियो र छ पनि । एउटा यात्राले दुईवटा जिल्लाको सदरमुकाम पुग्नुले मलाई झन् उर्जा मिल्यो । नुवाकोट जिल्लाको विधुर र रसुवा जिल्लाको धुन्चेमा पुगि कफि पिउन पाइयो ।

पहिलो पटक यात्रा गरेकोले होला स–साना ठाउँका नाम त याद गर्न सकिन । नुवाकोट कटिसकेपछि रसुवा जिल्लामा पुग्ने बित्तिकै एउटा चर्चमा पास्टरको परिवारलाई भेट्यौं । उहाँहरूले हामीलाई मिठो स्वागत गर्नुभयो । त्यहाँको भेटघाटपछि हामी नौकुण्डा गाउँपालिकाको यार्सा भन्ने गाउँको यात्रा गर्यौं । पहिलो दिनको हाम्रो यात्रा त्यहाँसम्मै थियो ।

हामी तीन जनाको नेतृत्व पास्टर सो बहादुरले गर्नुभएकोले पास्टर राजेन्द्र सुन्दास र उहाँको मोटरसाइकल सँधै अगाडि हुन्थ्यो । विश्वास दाई र म त उहाँहरू बसेपछि बस्ने हो, उहाँहरू हिडेपछि हिड्ने हो ।

नौकुण्डा गाउँपालिका वडा नं. ५ भोर्ले गाउँमा उहाँहरूले मोटरसाइकल रोक्नुभयो । बाटो निकै धुलाम्मे थियो । कच्ची बाटो भएकोले यात्रा निकै कठिन थियो । उहाँहरूले मोटरसाइकल रोकेपछि हामीले पनि रोक्यौं । पास्टर सो बहादुरले भन्नुभयो ‘यहाँ एक जना विश्वासी हुनुहुन्छ भेटौं ।’ रोडदेखि अलिकति माथि एउटा सानो घर रहेछ । हामी रोडदेखि अलिकतिमाथि उक्लने बित्तिकै दुईवटै खुट्टा भुईंमा घिसारेर बसेका एक जना व्यक्ति देखिए । पास्टर सो बहादुर तामाङले ‘आइतराम भाई जयमसी भनेपछि हामीले पनि जयमसी गर्यौं । मुसुक्क मुस्कुराउँदै उनले जयमसी फर्काए ।

उनको हात खुट्टा नचल्ने रहेछन् । मलाई त लागेको थियो उनको रेखदेख गर्ने अरू कोही छ घरमा । तर बुझ्दै जाँदा त्यो घरमा उनी एक्लै रहेछन् । मलाई उनको बारेमा धेरै कुरा जान्न मन लाग्यो । हाम्रो सल्लाह अनुसार उनीसँग अन्तरवार्ता लिने कुरो भयो । मैले उनलाई प्रश्न गरें ।

– घरमा को–को हुनुुहुन्छ ?

एक्लै छु । श्रीमती छ, उनी पनि माइतमा छिन् । बिरामी हुनुहुन्छ रे ।

– यस्तो अवस्थामा कसरी पुग्नुभयो ?

यो भन्दा १२ वर्ष अगाडि तातोपानीमा नुहाउन गएको थिएँ, त्यहाँबाट आएपछि नसामा समस्या झन् बढ्दै गयो ।

– उपचार गर्नुभयो ?

मसुक्क मुस्कुराउँदै जवाफ दिए ‘डाक्टरले तीन वर्ष पछि मर्छ भन्थे अहिलेसम्म बाँचेको छु ।’

– खाना कसले पकाइदिन्छ त ?

फेरि फिस्स हाँस्दै भने ‘साथीभाई र गाउँका आफन्तहरू आएर पकाइदिन्छन् । यदि कोही पकाउने मान्छे भएन भने भोकै बस्छु ।

– जीवनमा कत्तिको खुसी हुनुहुन्छ ?

खै, खुसी भनौं कि दुःखी भनौं ? आफू हिड्न सक्दिन । केहि पनि गर्न सक्दिन । ट्वाइलेट पनि अरूले लग्दिनु पर्छ । कहिले काहिँ त मरेपछि आनन्द हुन्थ्यो जस्तो लाग्छ ।

– हजुर त साह्रै खुसी देखिनुहुन्छ त ?

मनमा जे जस्तो भएपनि अरूको अगाडि खुसी देखिनुपर्छ । यदि म दुःखी मुडमा भएँ भने मेरा साथीहरू रोइहाल्छ, त्यसैले हाँस्छु । प्रश्न गर्दागर्दै मेरा आँखा रसाए । आफू त्यति ठूलो पीडामा भएपनि साथीभाइको लागि मुस्कुराउने कस्तो राम्रो मान्छे । संधै घस्रिएर खुट्टाको घुँडामा ठूला घाउ भएको । धुलोमा घस्रिएकोले शरीरभरि धुलो । कोही साथीभाइ भेट्न जाने बित्तिकै मुस्कुराइहाल्ने । कस्तो राम्रो मान्छे ! अन्तरवार्ता सकिएपछि उनको कोठाभित्र छिरेर हेरें । पुरानो ग्याँसको चुलो । एकदुई वटा भाँडा । सुत्ने ठाउँमा केहि काटुन विछ्याएको । भाँडाकुडाँ सबै मैला थिए । तरकारी केहि थिएन । त्यो दृश्य देखेर साह्रै मन रोयो ।

आइतरामलाई केहि विस्कुट र केही थोरै रकम हात पारेर फेरि भेट्ने आशामा विदा मागेर त्यहाँबाट फेरि उकालो चढ्यौं । बाटो निकै अफ्ठेरो थियो । मेरो मनमा आइतरामको पीडामय जीवनको दृश्य देखिरहन्थ्यो । आइतरामकै विषयमा कुरा खेलाउँदै यात्रा गरें । त्यहाँबाट पारच्याङ्ग पुगेपछि एक जना विश्वासीलाई भेट्यौं । मण्डली उद्घाटन हुने ठाउँ यार्सादेखि तलको गाउँ युब्रामा पुग्यौँ । त्यो दिन हाम्रो बसाइ त्यहि ठाउँमा भयो । हामी पुग्ने बित्तिकै ठूलो हावाहुरी चलेर बत्ती गयो । बत्ती गएपछि त्यहाँको टाओर पनि जाँदोरहछ । हामी त्यो दिन साँझदेखि अर्को दिन साँझसम्म सम्पर्क विहिन भयौं । किनकि हाम्रो मोबाइल अफ भइसकेको थियो ।

हामीलाई त्यहाँका विश्वासीले निकै राम्रो सत्कार गरी मिठो खाना खुवाउनुभयो । अर्को दिन मण्डली उद्घाटन सकिएपछि साँझपख यार्सा भन्ने गाउँमा पुग्यौं । त्यहाँ पनि हामीलाई राम्रो सत्कार गर्नुभयो । यार्सामा रहेको मिलिजुली चर्चका पास्टरको केहि समय अघि मोटर साइकल दुर्घटनामा परी निधन भएकोले पास्टरनी आामालाई केही उत्साह दियौँ ।

बिहान उठ्ने बित्तिकै चिया पिएर हामी पारच्याङ्ग झर्यौं । यार्साबाट हामीलाई रविन्द्र लोप्चन र हर्कमान तामाङ बाले पुर्याउनुभयो । पारच्याङ्गमा हामीले आशिषमय संगति गर्यौं । त्यहाँ मण्डली भवनको निकै खाँचो रहेछ । त्यहाँबाट पारच्याङ चर्चका विश्वासी, रबिन्द्र, लोप्चन र हर्कमान तामाङबाले विदाई गर्नुभयो ।

त्यहाँबाट हामीले रसुवा जिल्लाको सदरमुकाम हुँदै धुन्चे हुँदै स्याफ्रुबेसी हुँदै रसुवागडी अर्थात चीन र नेपालको सीमानासम्मको यात्रा तय गर्यौं । बाटो निकै अफ्ठेरो थियो । जताततै कडा चट्टान थियो । धुन्चे पुग्ने बित्तिकै लाङटाङ हिमाल सेताम्मे देखिदोरहेछ । धुन्चेबाट स्याफ्रुबेसी पुग्नको लागि तल झर्नुपर्दोरहेछ । त्यो दिनको हाम्रो बास स्याफ्रुबेसीमै हुनेभयो । अलिकति समय भएकोले हामी चीन र नेपालको सीमाना रसुवागडी पुग्यौँ । चट्टानै चट्टान भएको रमणीय दृश्य तर पहिलो पटक गएको व्यक्तिलाई डर लाग्ने ठाउँ । रसुवागडी हाइड्रोपावरको काम तिब्र रूपमा चलेको थियो । नाका बन्द भएको कारण मालबाहक गाडीहरूको लस्कर थियो । ठूला–ठूला होटलहरू पनि त्यहाँ देखिए । नाकाबाट फर्के पछि हामी स्याफ्रुबेसीमै बास बस्यौं । त्यहाँ एक जना पास्टरको घरमा हामीलाई मिठो स्वागत गरियो । स्वागतपछि मिठो खाना खाएर चर्चमा सबै विश्वासीसँग आशिषमय संगति गरेपछि सुत्यौं ।

अर्काको दिन पनि अलि माथि अर्को गाउँमा गएर दुइ जना पास्टरलाई भट्यौं । एउटा पास्टरले बोर्डिङ स्कुल खोल्नुभएको रहेछ । विद्यार्थी पनि धेरै रहेछन् । त्यो गाउँको लागि उहाँको योगदान धेरै देख्यौं । अनि अर्का सार्कीलामा तामाङ पास्टरको चर्चमा पनि पुग्यौं । त्यहाँको चर्च निमार्ण हुँदै रहेछ ।

त्यहाँ पनि विश्वासीसँग मिठो भेटघाट गरेर सबैसँग विदा मागेर काठमाण्डौं फर्कियौं । विशेषगरी बढी मात्रामा तामाङ समुदायको बस्ती भएको सुन्दर रसुवाको गाउँहरूको दृश्य देख्न पाएको र त्यहाँको विश्वासीहरूको मिठो सत्कार पाएकोमा निकै खुसी भएँ । पुरै शरीरलाई घिसारेर बाँचिरहेका आइतराम तामाङको मिठो मुस्कान अनि परमेश्वरप्रतिको दृढभरोसाले मेरो जीवनमा थप उर्जा मिल्यो ।

जति ठूलो पीडा भएपनि साथीभाइहरू आफ्नो पीडा देखेर रुन्छन्, त्यसैले मुस्कुराउनुपर्छ भनेर साथीभाइको अगाडि मुस्कुराउने आइतराम तामाङलाई हामी सबैले सहयोग गरौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...