२०८१ बैशाख २१, शुक्रबार
2024 May 3, Friday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामी बाठो मान्छेलाई दुध र मह बग्ने देश बनाउन केले रोकेको छ ?

हिरा खड्गी ।

कोरोनाले त्रास मात्रै होइन अब त हरेक पाइला पाइलामा लुकी लुकी हिड्नु पर्ने अवस्था आएको छ । अर्को मानिस छेउमा आउँदा पनि आफै पर पर सर्नु पर्ने परिस्थितिको सृजना भएको छ । हिजोसम्म धेरै मानिसहरूले बेसार, मसला प्रयोग गर्ने हामीहरूलाई कोरोना लाग्दैन भनि अहमका साथ दिएको आफ्ना अभिब्यक्तिमा कुनै कमि आएन । सोंच र विचारको सिमिततामा जीवनलाई चलाई रहँदा परिणाम बेग्लै हुन आएको छ । सायद खुलेर यो तर्कलाई कसैले व्यक्त नगर्ला तर हाम्रो आचारणको परिणाम आज हामीले देखिरहेका छौं, भोगिरहेका छौं । ‘बेसार, अदुवा, कागतीले कोरोना भाग्छ रे’ भन्ने काल्पनिक तर्कहरूले सिधै फाइदा त पुगेन नै । सित्तैमा पाएको सोंच, विचार र चेतनाको दुरुपयोग पनि भयो । त्यसलाई ब्यवस्थित रूपमा सदुपयोग गर्ने क्षमता राख्न सक्दैनौं । विचार र प्रभावमा आएका कुरालाई बस यत्तिकै भन्दिहाल्ने, बोल्दिहाल्ने । कस्तो कमजोर निर्णय गर्ने क्षमता छ । कस्तो दुर्बल चेतनाको विकास भएको छ, दया लागेर आउँछ । व्यवस्था बदलिए, फरक काल खण्डमा लिडरहरू बदलिए । नैतिकताका लिडरहरूलाई हामीले अझै भेट्न सकेका छैनौं । अनि त्यसै पनि संस्कार विकासमा किन कडा ब्रेक लागिरहेछ ? हामी के चाहन्छौं भन्ने निचोडलाई नै बुझ्न नसकेको हो त ? आफू धनी र खुशी भएर अन्य गरीब र दुःखीलाई दैनिक जीवनमा देख्दा त्यसको कुनै प्रभाव पर्दैन र ? के त्यसलाई ज्ञानीमानी र चेतनशिल मानिसले स्वार्थ रहित दृष्टिकोणले टुलुटुलु हेरिरहन सक्ने क्षमता चाहिँ हामीमा कहाँबाट आयो ? हामी अन्धो मानिस जस्तो गरि जीवनभरि नाटक खेल्न सक्ने क्षमता राख्छौं ? मैले समाजलाई बुझ्ने कोशिस मात्रै गरें तर सब खेर गए जस्तो भान हुन्छ मलाईं ।

आफै निर्णय गर्न सक्षम छ भनि राख्दा सबै अरुमै भर पर्नु पर्ने यथार्थबाट हामी टाढा बस्न सक्दैनौं । भनिन्छ एउटा सलाईको काँटीले अँधेरो कोठालाई उज्यालो पार्न सक्छ । महामारीको दुःखद परिस्थितिहरूमा हामी आफैले के गर्ने प्रयास गरेका छौ त ? हुन सक्छ, त्यस्ता व्यक्तिहरू हाम्रो समाजमा पनि छन् होला । तर अवसरहरूको कमीले उत्पत्ति हुन सकेको छैन । कोहिकोहिले मैले कोरोनाको खोप बनाएँ भनेर प्रमाणित नभईकन हल्ला फिंजाउन आए । प्रचारमा आउन कै लागि गरिएको हो भने त केहि भन्नु छैन । तर यस्तो कठिन परिस्थितिको अवस्थामा मानिसहरूलाई आशाको सत्तामा आफू चिनिन दुष्प्रयास गर्नु मुर्खता भन्दा अरू केही होइन ।

यतिबेला त मानिसहरूलाई आशा चाहिएको छ, आश्वासन होइन । सामाजिक संस्कारको विकासले सिकाएको तथ्य के हो भने अरूको कमजोरीमा हामीलाई रमाउन मन पर्छ । सायद यो मानविय स्वभाव पनि होला । त्यसमाथि पनि गरिबी र असहायलाई सहयोगको नाममा, मजाकमा बदल्न सक्ने बाठो मानिसका रूपमा हामी परिचित छौं । बाठो हुनुपर्छ, चलाख हुनुपर्छ । अरूलाई थिचोमिचो गरेर भए पनि म नै पहिलो हुनुपर्छ । मै ठिक हुनुपर्छ । मैले आफ्नो पालो पर्खिनु पर्दैन, लाइनमा बस्न पर्दैन किनकि भित्र मैले चिनेको मान्छे छ । आफ्नो मान्छे भएपछि सबै थोक आफै हुन्छ । सायद कोरोना पनि आफ्नो मान्छेले गर्दा निको हुन्छ । आफ्नो मान्छेले गर्दा पनि लाग्छ होला । मरें भने पनि के भो त । चिनेको मान्छे छँदैछ नि ठाउँमा । तीन पृष्ठे विवरण निकाल्न खासै ठूलो कुरा होइन । सबै मिलाएर भै हाल्छ । मिलाएर गरूँला नि । मिलेरै बनेको समाज छ । मिलेरै बन्छ भविष्य । मिलेकाहरू जतिले नै मिलाएर लैजान्छ । बाँकी सबै मिलाएर नै हेर्ने हो ।

व्यक्ति आफै गैर जिम्मेवारी भै दिंदा संक्रमणको अवस्था झन् नाजुक हुँदै जाने अवस्था निश्चित छ । दैनिक जीवन यापन गर्न पर्नेहरूलाई भिजेको कपडा निचोरेको जस्तो सुख्खा पारी निचोरिसकेको त छँदैछ । बाँकी दैनिकी चलाउनु पर्ने र सामाजिक (भौतिक) दुरी कायम गर्न नसक्नेहरूको आफ्नै जीवन गाथा छ होला । आफूले पालना गर्नु पर्ने साधारण भन्दा साधारण नियम र सावधानी पनि अपनाउन नसक्नेहरूका हुल भएका छौं । मेरो कारणले गर्दा अरूलाई पनि हानी हुन्छ भन्ने सोच्न नसक्नु मानसिक चेतनाको कमजोर पक्ष हुन् या लापर्वाही गरिएको पक्ष हो । यो बुझ्न हाम्रो जस्तो अविकसित देशहरूका मानिसहरूलाई निक्कै कठिन छ । हामीले जस्तो कुरा फेर्न र बोल्न जान्ने सायद यो संसारमा अरू कोही छैन भन्ने मलाई लाग्छ । तुरुन्तका तुरुन्त्त कुरा बनाउन सक्ने हामी बाठो मानिसहरू हौं । तर के हामीलाई बाठो मान्छे मात्रै चाहिएको हो कि बुद्धिमानी मानिस पनि ?

जहाँ भेला हुनु हुन्न त्यही भोज गर्नुपर्छ । जहाँ भिडभाड गर्नु हुन्न त्यही हारालुछ गर्नुपर्छ । ब्यवस्था हामीलाई मन पर्दैन । नियम कानुन अरूको लागि बन्दिएको मन पर्छ । आफैलाई होइन । भित्र लुकेर आफूले जे मन लागे गर्न पाइने छुट छ । बाध्यताले हामीलाई बलियो बनाएको छ कि बलियोले हामीलाई चेतनहिन ? के हाम्रो बाध्यताले सोच्न नस्कनेहरू जस्ता कमजोर मानिस बनिएका छौं ? थाहा छैन भनुँ भने सबै जान्ने भै सकेका छौं । थाहा छ भनुँ भने जे गर्न हुन्न भनेको छ, त्यही गर्न मन पर्छ । जसरी दिन र रातले पनि आफ्नो साधारण नियम पालना गर्छ भन्ने हामी बझ्न सक्दैनौं । रितुहरूको पनि आफ्नो नियम छ भन्ने समेत हामीले सोचेर स्वीकार गर्न नसक्ने कठोर मनका छौं । यी तर्कहरूमा म आफै कुनै सठिक जवाफ पाउन सक्दिन । सबै कुराको सल्लाह दिन सक्छौं तर आफैलाई पर्दा ती दिएका सल्लाहहरूले कामै गर्दैन । बिरामी पनि आफै, विज्ञ पनि आफै । त्यसैले पनि हामीले बाठो उपनाम हाम्रो समाजमा व्यापक रूपमा प्रयोग गर्न हिच्किचाउँदैनौं होला । त्यो हाम्रो लागि गौरवको शब्द बनेको छ । अंग्रजी शब्द भित्र पाइने ‘इन्टरग्रेटी’ खासै चाहिँदैन र प्रयोग पनि हुन्न । मेरो एउटै मात्र जिज्ञासा छ, कुन चाहिँ तत्वले चेतनाको प्रयोग गर्न हामी समर्थ हुन सकेका छैनौं ?

आज यो महामारी भनुँ या लुकामारीको खेल खेलेको छ महिना भै सक्दा सबैतिर कठिन परिस्थिति उच्चतम बिन्दुमा पुगिसकेको छ । यो अवधिभित्र धेरैले आफ्नो जीवन गुमाइसके, कतिले आफैले जीवन लिए । भोक, प्यास, डर, चिन्ता आदिले मानसिक विचलनले आत्महत्या गर्ने संख्यामा बृद्धि हुँदैछ । संयन्त्रहरूको कमजोर पक्षलाई मात्र केलाएर हेर्दा निराशापन त छँदैछ । केही थोरै व्यक्तिहरूले मानसिक अवस्थाका बारेमा चर्चा गरेको सुनेको छु । हेरेको छु । ती आफैमा आदर र सरहाना गर्न योग्यका छन् । मनोविश्लेषकहरूको आवश्यकता छ । मनको कुरा भन्ने ठाउँहरूको खाँचो छ । मानिसहरूका पिडा सुन्नेहरू चाहिएको छ न कि खाली सल्लाह दिनेहरू । मानिस आफैले म बलियो छु भन्दै गर्दा जब परिस्थितिहरू व्यक्तिको नियन्त्रणमा हुँदैन वा त्यो नियन्त्रण भन्दा बाहिर हुन्छ भने उक्त व्यक्तिलाई दोस्रो व्यक्ति वा मनोचिकित्सकको खाँचो पर्छ । चिन्ता फिक्री, तनाव मानिसमा केही प्रतिशत हुनुपर्छ । त्यसले मानिसलाई अघि बढाएर लैजाने गर्छ तर त्यसको मात्रा बृिद्ध हुँदा व्यक्तिलाई सहायता चाहिन्छ । बुझ्नु पर्ने कुरा के छ भने, मानिसको मस्तिष्कमा रसायनको असन्तुलन हुँदा मनमा विभिन्न प्रकारका सोच, विचार, भावहरू उत्पन्न हुने गर्दछ । जसले गर्दा मानिस, उदासिनता र निरासामा पुग्दछ र त्यसले बिचलन ल्याउँदछ । तर मानसिक चिकित्सकहरूको सहयोगले ब्यक्तिले सहायता पाउन सक्छ । यसलाई अन्यथा लिन आवश्यक छैन । उदासिनतालाई कम गराउने साधन प्रयोग गरि हल्का हुन्छ भने प्रयोग गर्न बुद्धिमानी हुन्छ । संकुचित सोचले हेर्नु र बुझ्नु भनेको समस्यालाई प्रोत्साहन गर्नु सरह हो । हामीले त्यस्ता व्यक्ति र मानिसलाई सहायता दिनलाई प्रेरणा दिन आवश्यक छ र एउटा आत्महत्या हुनबाट जोगिन सकिने अवस्था सृजना गर्न सकिन्छ ।

धेरै अवस्थामा मानिसलाई शारिरीक आवश्यकता भन्दा पनि मानसिक अवस्था मजबुत छ भने उसले आफ्नो लागि केही गरि जीवन चलाउन सक्छ । तर हाम्रो जस्तो विकासका निम्न स्तर भएकाहरूका लागि यी दुबै पक्षमा निक्कै कठिन छ । मानसिक पक्षबाट मात्रै एकले अर्कोलाई सहायता गरिदिंदा पनि ब्यक्तिको आत्मबलमा आँट र भरोसा पुग्छ । शरिरको लागि सब थोक भएपनि मनको अवस्था कमजोर छ भने त्यो व्यक्ति स्वस्थ्य हुन सक्दैन । आफ्नो वरिपरि त्यस्ता व्यक्ति छन् भने उत्साहका दुई शब्द बोलेर हामीमा केही घाटा हुन्न । त्यसले हामीलाई पनि उर्जा दिन्छ । आफ्नो लागि त एउटा पशु पनि जिउँछ नि, हामी त त्यो भन्दा बढी होइनौं र ?

हामीले आफ्नो मनको कुरा भन्ने ठाउँ बनाउनु जरूरी छ । त्यो त्यस्तो ठाउँ होस्, जहाँ तपाईंले भरोसा गरेका व्यक्तिले तपाईंको कुरा अन्त नखुलाओस् । त्यसलाई जीवनभर नै गोप्य राखोस् । व्यक्तिको गोपनियता भङ्ग गर्नु भनेको ठूलो भुल र अपरिपक्क मानिस हुनु हो । आज हाम्रो जस्तो समाज जहाँ बाठो छु, हुँ भन्नेहरूको हुल छ । हामीले केही होशियारी हुन आवश्यक छ । हामीले नै समाज बनाउने हो । तपाईं र हामीले गर्ने हरेक निर्णयहरूको परिणाम आफैले र आउने पुस्ताले भोग्नु नै पर्छ । यसमा हामीलाई कुनै छुट छैन । छ भने त्यो केवल बहाना मात्रै छ अनि अल्छी मात्रै छ । आज हामी जुन अवस्था भएर जीवन गुजारिरहन परेको छ, हामी यो भन्दा असल र समृद्धिको बाटो बनाउन सक्ने हुनेछौं । केही सोंच र विचारहरूलाई परिवर्तन अनि परिमार्जन गर्न आवश्यक छ । आफू र आफ्नोलाई मात्र होइन तर पुरा समाजलाई अघि लिएर जान हामीले थोरै त्याग गर्न जरुरी छ । हामीले सिक्नु पर्ने कुराहरू धेरै छन् । आफै पनि केही गर्न र सिक्न चाहना राख्नु आवश्यक छ । कुनै पनि कुराहरू त्यतिकै हुन आउँदैन र हुँदैन पनि । हामी जति नै धर्ममा आस्था राख्नेहरू भए पनि, सित्तैमा पाएको कुराको मुल्य हुन्न । यो सरल कुरा बुझ्न जरूरी छ । हामी जस्तोसुकै अवस्थामा भएपनि सिक्ने र सिकाउने कुराहरूलाई निरन्तरता दिन सके मात्रै जीवनको सार्थकता र अर्थ भेट्न सकिन्छ ।

बाठो हुनाले मात्रै जीवनलाई पूर्णता दिन सकिंदैन । तपाईं र मेरो अस्तित्व कायम गर्नलाई भलाई बाहेक अर्को उपाय छ भने मेरो बधाई छ तपाईंलाई । विरासतको पछि कुद्नु भन्दा पहिले मुल्य चुकाउन तयार हुनुपर्छ ।

कठिन परिस्थितिमा पनि एकले अर्कोलाई साथ दिएर सहयोग गर्न सक्नु नै मानिस हुनुको पहिचान हो । मानिसले सारा संसार हात पारेर पनि उसले जीवन गुमाउँछ भने उसलाई के लाभ ? हामीसगँ भएका थोकहरूले हामीलाई खुशी तुल्याउन सक्दैन भने के ती बेकारमा भण्डार गरिएका थोकहरू मात्रै हुन जान्न र ? थोरै दया र करूणा राखेर सुन्दर संसार बन्छ भने के हामी त्यति गर्न पनि तयार नहुने ? भलाई गर्नका लागि हामीलाई केले रोकेको छ ? समृद्धिको बाटो अथवा दुध र मह बग्ने देश बनाउन हामीलाई केले रोकेको छ ?

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...