२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

उत्साहको वचन: सफल व्यक्ति मात्र होइन आशिषित व्यक्ति बनौं

रेभ. प्रकाश मेघी गुरुङ

हामीले यस संसारमा जन्म मात्र पाएका नभएर त्यसको अलवा अरु थुपै्र कुराहरू पनि पाएका छौं । यहाँ सफल हुनेहरू पनि छन् र असफल हुनेहरू पनि छन् । सफल हुनेहरू आफ्नो ज्ञान र परिश्रममा घमण्ड गर्छन् भने असफल हुनेहरू ईश्वरलाई दोष दिन्छन् ।

बाइबल अध्ययन गर्ने क्रममा योसेफको जीवनबाट हामीले थुपै्र रहस्यका कुराहरू सिक्न सक्छौं । म त्यहि सिकाइलाई यहाँहरूको बिचमा यस लेख मार्फत प्रस्तुत गर्न चाहन्छु । योसेफ १७ वर्षको हुँदा उनका दाजुहरूले मिलेर उनलाई मार्ने विचार गरेका थिए तर पछिबाट उनीहरूले योसेफलाई मिद्यानी व्यापारीको हातमा बेचिदिएको कुरा हामी बाइबलमा रहेको उत्पत्तिको पुस्तकमा स्पष्ट देख्न सक्दछौं । ती व्यापारीले योसेफलाई फेरि इजिप्टका अफिसर पोतिफरको हातमा बेचिदिएको कुरा पनि हामी पाउँदछौं ।

यहि घटनाबाट योसेफको जीवनको सफलताको घडि सुरु हुन्छ । यो सत्य हो कि सफलताको निम्ति मानिसले जीवनमा उतारचढावहरू सहनु नै पर्दछ । आफ्नै कारण असफल भएको भएतापनि मानिसहरू असफलताको दोष परमेश्वरलाई दिन्छन् । बेचिसकेपछिको दास जीवनमा योसेफले आफ्नो जवानीलाई वशमा राख्न नसकेको भए सायद उनको नाम बाइबलमा यति महत्वको साथ उल्लेख हुने नै थिएन होला । योसेफले आफैलाई नियन्त्रण गर्न सकेका कारण परमेश्वरबाट आशिष पाएको कुरा हामी देख्न सक्दछौं ।

अर्को कुरा योसेफ जेलमा रहेका बेलामा उनलाई कैदीहरूका प्रमुख बनाइएको पाउँछौं । त्यसबखत योसेफले सपनाको अर्थ खोलेर राजाकहाँ म निर्दोष छु, त्यसैले मलाई छुटकारा दिनुहोस् भनेर राजाको नोकरसँग बिन्ति पठाएको देख्न सक्दछौं । बिन्ति लैजानेले बिन्ति बिसाउन बिर्सेको घटना पनि हामी बाइबलमा देख्न सक्दछौं । यदि बिन्ति लैजाने नोकरले योसेफको बिन्ति राजाको पाउमा चढाइदिएको भए सायद उसले उति नै बेला छुटकारा पाउने थिए होलान् । छुटकारा पाएपछि सम्भवत उनी कामको खोजीमा यता र उता भौतारिने थिए ।

आफ्नो बिन्ति राजाकोमा नपुगेकोमा समेत योसेफले कुनै प्रकारको गुनासो गरेका छैनन् । हामी आफैलाई योसेफको ठाउँमा राखेर हेरौं, उनको ठाउँमा हामी भएको भए हामीले कति गुनासो गर्ने थियौं होला । योसेफले ठूलो मन गरेर धैर्यधारण गरेको कुरा हामी देख्न सक्दछौं । लामो समयपछि त्यस नोकरले राजा फारोलाई “तपाईंको सपनाको अर्थ खोल्न सक्ने एउटा कैदी जेलमा छ” भनेर भनिदियो । यसबाट हामीले सबै परिस्थितिमा धैर्यधारण गरेर परमेश्वरको समयलाई कुर्नुपर्दछ भनेर सिक्न सक्दछौं ।

जब योसेफ फारो राजाको सामुन्ने उभिएर सपनाको अर्थ खोल्दछन्, तब उ मिश्र देशकै उच्चस्तरको पदमा पुग्दछ । फारो राजाले केवल सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा माथि हुनेछु भनेर अभूतपूर्व अधिकार योसेफको काँधमा सुम्पिन्छन् । बुद्धि कमाउने कुरा र ज्ञान परमेश्वरबाट आउने कुरा हो, त्यसैले बुद्धि भन्दा ज्ञान सधैं नै ठूलो हुन्छ । योसेफ ज्ञानमा पूर्ण भएका मानिस थिए ।

अर्को कुरा हामीले सफल हुने मार्ग मात्रै नखोजेर आशिषित बन्ने मार्गको खोजी गर्नुपर्दछ । योसेफ सफल हुनुका साथसाथै आफ्नो र आफ्ना जातिको लागि समेत आशिषित मानिस बन्न सके । परमेश्वरले हामीलाई विभिन्न परिस्थितिबाट उठाएर सफल बनाउनु भएको भएतापनि हामीले त्यो सफलतालाई आफ्नै पोल्टामा मात्रै थोपर्छौं र आशिषित हुने अवसर गुमाउँछौं । हामीले योसेफबाट सिक्नु पर्ने कुराहरू प्रशस्तै छन् । अनिकालको त्यो समयमा उनी लाखौं मानिसहरूको सहारा बन्न सके, आफैलाई बेच्ने दाजुभाइहरूलाई आदर गर्न सके । यस घटनामा योसेफले आफ्नो आहोदाको दुरुप्रयोग नगरिकन धैर्यधारण गरेको देख्न सक्दछौं । तपाईं र म पनि जतिबेला जहाँ छौं, त्यहाँका मानिसहरूको निम्ति आशिषित बन्नुपर्दछ ।

अरुहरूलाई रुपैयाँ पैसा दिएर मात्रै आशिषित बनिने होइन, तर उदाहरणीय जीवन जिएर पनि आशिषित बन्न सकिन्छ । अरुहरूको निम्ति आशिषित बन्ने धुनमा हामीमाथि थुपै उतारचढाव भने आउन पनि सक्दछन् । त्यो उतारचढावको अवस्थामा पनि हामीले धैर्यधारण गर्न सक्नुपर्दछ ।

सन् २०११ ताका म अमेरिकाबाट नेपाल गएको थिएँ । मेरो गाउँ पूर्व नेपालबाट काठमाडौं फर्किने क्रममा खासै हतार नभएकाले गर्दा हवाइजहाज नचढेर रात्री बस चढ्ने निधो गरें । लामो यात्रामा थुप्रै मानिसहरूसँग कुराकानी भयो । उनीहरूको बारेमा मैले सोधें अनि उनीहरूले पनि मेरो बारेमा सोधे । म अमेरिकामा स्थायी बसोबास गरिराखेको मानिस हुँ भन्दा कतिपयलाई पत्याउन कठिन जस्तै भयो । मानिसहरूको सोचाईमा ठूलो देशमा बसेको मान्छेको जीवनशैली सबै हिसाबले नै बदलिनुपर्छ, फजुल खर्च गर्ने खालको हुनुपर्छ भन्ने रहेछ । यात्राको लगभग अन्तमा मैले उनीहरूलाई हामीले जोगाउन सकेको पैसा वा चिजहरूले अरुहरूलाई सहायता गर्नुपर्छ भन्दा सबैले अनौठो माने । मैले सिकेको कुरा के हो भने हामीले फजुल खर्च गरेर हिड्दा भन्दा बचाएर अरुहरूलाई सहायता गर्दा निकै बढी आशिषित बन्न सकिन्छ ।

तसर्थ हाम्रो जीवनमा आउने दुःख कष्टहरूसँग हामी धैर्यताकासाथ लडेर अनि इमान्दार भएर सफलता हाँसिल गर्न सकिन्छ । हाँसिल भएको त्यो सफलतालाई हामी अरुहरूको निम्ति आशिषको कारण बनाउन सक्छौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...