२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामीले आफ्नै देशलाई धनी बनाउन सक्छौं

पास्टर माया सुनुवार हाल काम र सेवकाइको सिलसिलामा इजरायलमा हुनुहुन्छ । उहाँ बैदेशिक रोजगारमा त्यहाँ हुनभएपनि इजरायलस्थित संयुक्त नेपाली मण्डलीको पास्टर पनि हुनुहुन्छ । उहाँसँग  त्यहाँस्थित नेपालीहरूका बारेमा साथ साथै उहाँले शुरु गर्नुभएको सेवकाइका बारेमा लिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

प्रभुलाई कसरी पाउनुभयो ?

कामको सिलसिलामा हङकङमा ७ वर्ष बसेँ र त्यही क्रममा सन् १९९९ मा त्यहाँस्थित कलवरी मण्डलीमा मैंले प्रभुलाई ग्रहण गरेकी हुँ ।

इजरायल कसरी पुग्नु भयो नि ?

रोजगारीको सिलसिलामा सन् २००४ मा इजरायल पुगें । प्रभुको छाप लागेका हामीहरू जहाँ गए पनि चुप लागेर बस्न नसकिने रहेछ । सानो झुण्ड थियो र बिस्तारै सन् २००६ मा प्रभुको अनुग्रहले मण्डली स्थापना भयो ।

तपाईंहरूले नेपाली संगति सुरू गर्नुभन्दा पहिले त्यहाँ नेपाली संगति थियो ?

थिएन, पहिलो पटक हामीले नै नेपाली भाषाको आराधना संगति सुरू गरेका हौं ।

हाल कति जना विश्वासी हुनुहुन्छ ?

रोजगारीमा आएको कारण बसाइ अस्थाई हुने भएकोले सदस्य संख्या घट्ने/बढ्ने क्रम जारी नै रहन्छ । हाल करीब २०० जना जति छौं ।

तपाईंको मण्डलीमा भएका विश्वासीहरू कसरी इज्राएल पुगेका हुन् ?

सबै जना रोजगारीका लागि नै गएका हुन् । म पनि कुनै समय कामकै सिलसिलामा त्यहाँ पुगेकी हुँ ।

सुरूमा नेपाली संगतिको स्थापना गर्दा कति गाह्रो भयो ?

इजरायल अरू राष्ट्र जस्तो हैन, स्वतन्त्र देश हो । आफूलाई मन परेको धर्म चाहे साई बाबा होस्, चाहे मुस्लिम, चाहे ख्रीष्टियन जे पनि इच्छा अनुसार मान्न पाउँछन् तर विरोध हुँदैन । अरू कुरामा झैझगडा होला तर धर्मको नाउँमा हुँदैन । सायद परमेश्वरको प्रतिज्ञाको देश भएर पनि होला, संगति शुरु गर्न खासै गाह्रो भएन ।

तपाईं जान त कामको सिलसिलामा इजरायल पुग्नु भएको रहेछ अनि पास्टरीय सेवामा पनि हुनुहुन्छ तर समयको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ नि ? समयको व्यवस्थापन मिलाउनु भन्दा पनि एउटा महिनाभरिको तालिका बनाइसकेका हुन्छौं र त्यसमा आफ्नो समय अनुकुल कसको मिल्छ, त्यही व्यक्तिले संगति चलाउने गर्छौं । कतिको महिनामा एक पटक या दुई पटक बिदा मिल्छ । समय त खासै हुँदैन, तर मिलेर गर्छौं ।

त्यहाँ पुग्नुहुँदा सेवकाई पनि गर्छु भनि सोच्नुभएको थियो ?

अहँ, सोचेकी थिइन । त्यस ठाउँमा पुगेपछि परमेश्वरले मलाई चुन्नुभयो र उहाँको काममा बोलावट भयो । उहाँको योजना बिना त केही पनि गर्न सकिंदैन । उहाँको बोलावटको मानिस चुप लागेर बस्न सकिंदैन रहेछ । जुन ठाउँमा गए पनि परमेश्वरको नाउँ उच्च पार्न र उहाँको आराधना गर्ने एउटा दैनिक जीवनको भोजन जस्तै हुने रहेछ ।

त्यहाँ फुल टाइम सेवकाइ गर्न सम्भव छ ?

सकिन्छ, तर त्यही प्रकारको अनुमति पत्र वा भिसा हुनुपर्छ । हामी नेपालीहरू चाहिँ सबै जस्तो कामको सिलसिलामा गएका हुनाले आफ्नो काम पनि गर्नै पर्यो । विदेशी मिसनरीहरू आएर सेवकाइ गर्नेहरू पनि छन् ।

अहिले पनि इजरायलमा कामदार गइरहेका छन् ?

म नेपाली दुतावाससँग पनि नजिक छु । प्रत्येक मिटिङ्गमा जान्छु । नेपालीहरूको लागि रोजगारको लागि खुलेको छ त भन्छन् तर किन हो एजेन्सीहरूले यसमा इमान्दारिता देखाइरहेका छैनन्, भोलिको दिनमा खुलेको रोजगार फेरि बन्द हुन पनि सक्छ ।

त्यहाँ तपाईंहरू कस्ता गतिविधि सञ्चालन गर्नु हुन्छ ?

नयाँ आत्माहरूलाई सुसमाचार सुनाउने, बप्तिस्मा कक्षा दिने र जो प्रभुमा अलिक चासो छ, ती व्यक्तिहरूलाई मण्डलीको काममा जिम्मा दिने र प्रभुमा डोर्याउने गर्छौं ।

सेवा संगति चाहिँ कसरी गर्नुभएको छ ?

हामीहरूसँग प्रशस्त समय हुँदैन । त्यसैले जवान संगति र घरेलु संगति भनेर गर्दैनौं । शुक्रवार बेलुका भेला हुन्छौं र संगति गर्दछौं । साप्ताहिक संगति हप्ताको दुई दिन शनिबार र आइतबार यथावत चल्दै आएको छ ।

त्यसो भए चर्च कसरी चलिरहेको छ त ?

मण्डली प्रभुकै हो, अनि यो संयुक्त नेपाली मण्डली प्रभुकै अनुग्रह र आशिषले बैदेशिक सहयोग बिना नै मण्डली सदस्यहरूको सहयोग र प्रार्थनाकै कारण अहिलेसम्म चलिरहेको छ । साप्ताहिक भेटी, दशांस भेटी, प्रतिज्ञा भेटी आदिले गर्दा नै परमेश्वरको राज्य विस्तारको काममा धेरै नै टेवा पुगेको छ । प्रभुले जुटाउनु भएको छ, परमेश्वर भण्डारे हुनुहुन्छ । यसको सबै श्रेय परमेश्वरलाई नै दिनुपर्छ ।

बैदेशिक रोजगारका गएका वा जान चाहने समस्त नेपालीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

हाम्रो देश नेपालमा प्रयाप्त रोजगारीका अवसर नभएका कारण प्रायः मानिसहरू विशेषतः अहिलेका युवा पुस्ता विदेशिने निर्णय गर्न बाध्य छन् । कुनै समय म पनि विदेशिएँ, त्यसमा मेरो कुनै गुनासो त छैन । अहिले समय धेरै परिवर्तन भइसकेको छ, यसकारण म हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो सल्लाह चाहिँ यहि हुनेछ कि हामी सबै मिलेर नेपालमै विदेशमा जति मेहनत गरेमा हाम्रै देशमा पनि आफ्नो गुजारा गरी परिवार पाल्न सकिन्छ, आफ्नै देशलाई धनी बनाउन सकिन्छ । विदेश जानै परे आफू कुन देश, कुन काम र आफूले पाउने सेवासुविधा जस्ता न्यूनतम कुराहरू बुझेर जानुहोला नत्र धोका खानुहोला ।

(केहि वर्ष पहिले युवा दर्शन पत्रिकामा छापिएको पास्टर माया सुनुवारसँग गरिएको अन्तरवार्ता हो ।)

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...