२०८१ बैशाख २४, सोमवार
2024 May 6, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रभुको प्रेम विश्वभरि फैलाउनको लागि परमेश्वरबाट आशिष लिएर आशिषको कारण बन्न सकौं

रेभ. डा. तेज बहादुर रोक्काको जन्म ओखलढुङ्गामा भएतापनि हुर्कने र पढ्ने कार्य सर्लाही जिल्लामा भएको हो । उहाँले सर्लाहीमा अध्ययनकै क्रममा प्रभु येशूलाई चिन्ने मौका पाउनुभयो । वि.सं. २०४९ मा क्याम्पस पढ्ने क्रममा काठमाडौं प्रवेश गर्नु भएका डा. तेज बहादुर रोक्का सारा मिनिष्ट्रिज नेपालका संस्थापक, निर्देशक, सिनियर पास्टर तथा समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । उहाँसँग गरिएको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आजभोलि तपाईं के काममा ब्यस्त हुनुहुन्छ ?

प्रभुको अनुग्रहले सन् १९९३ देखि सेवकाइको क्षेत्रमा छु । सन् १९९४ देखि मण्डली स्थापना र पास्टरीय सेवामा अहिलेसम्म आएको छु । हालैको वर्षदेखि मैले सेवकाइमा केहि परिवर्तन गरेर आफ्नो व्यक्तिगत आत्मिक निर्माण गर्नका लागि नियमित बाइबल अध्ययन गर्दैछु । साथसाथै सारा मिसन अफ एशियामा संस्थापक अध्यक्ष भएर सेवा गर्दैछु । यस अन्तर्गत मण्डली स्थापना, बाइबल तालिम, बालबालिकाको सेवा, रेडियो र टेलिभिजनबाट परमेश्वरको वचन प्रचार गर्ने, पुस्तक, पर्चाहरू, बाइबल, भजन किताबहरू उल्था गर्ने तथा प्रकाशन गर्ने, सहकार्य गरेर मानिसहरूको हातमा पुर्याउने कार्य गर्दैछु । साथै विभिन्न सेक्टरमा रहेर समाज सेवा गर्ने र विभिन्न संघसंस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएर अगुवा निर्माण गर्ने लगायतका कार्यका व्यस्त भइरहेको छु ।

हालसालै डाक्टर उपाधि प्राप्त गर्नुभयो भन्ने कुरा सुन्नमा आएको छ, त्यसबारे स्पष्ट पारिदिनुहोस् न ?

म परमेश्वरप्रति धन्यवादी छु कि विभिन्न परिस्थितिले गर्दा मेरो अध्ययन यतिसम्म आउँछ भन्ने म आफैलाई लागेको थिएन । तर परमेश्वरको अनुग्रहले भारत, सिङ्गापुर र अमेरिकामा पनि गएर पढ्ने मौका मिल्यो । गतवर्षको अगष्टमा भारतको एउटा प्रतिष्ठित संस्थाबाट विद्यावारिणीबाट सम्मानित हुने अवसर पाएँ । सेकुलरमा पनि एमए गरेको छु भने थियोलोजीमा पनि बिटिएच, एमडि, एम ए गर्दै अहिले डाक्टर उपाधि पाउन सफल भएको छु, यसमा परमेश्वरकै हात छ अनि ममा भएको विश्वासको कारण पनि सम्भव भएको हो । मैले पाएको शिक्षालाई परमेश्वरको सेवामा, समाज निर्माणमा र नेतृत्व विकासमा लगाउन पाएको छु र लगाइरहनेछु ।

समाज सेवा पनि गर्छु भन्नुभयो, समाज सेवाअन्तर्गत के के काम गर्दै हुनुहुन्छ ?

मुख्य त बालबालिकाहरूका बिचमा काम गर्दै आएका छौं, उनीहरूको शिक्षा लगायत न्यूनतम खाँचो पूरा गर्ने कार्य गर्दछौं । यो मेरो लागि मुटुको धड्कन जस्तै हो किनभने कुनै समय मेरो लागि पनि यस्तै वातावरण बनाइ दिएर नै मैले शिक्षा लिने अवसर पाएको हुँ । अर्को चाहिँ दुःखमा परिरहेका मानिसहरूको बिचमा सिड मनि जुटाएर सहायता पुर्याउने, आर्थिक स्तर उकास्ने, समुदायमा स्वास्थ्य सम्बन्धी शिविर आयोजना गरेर, सरसफाईको अभियान चलाएर, विभिन्न किसिमको तालिम दिएर समाज सेवामा लागि परेको छु ।

ख्रीष्टियनहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भूमिका खेल्नुभएको कुरा यदाकदा सुनिदै आएको छ, खास कसरी यो भूमिका निभाउनु भएको छ ?

परमेश्वरको अनुग्रहका कारण यस्तो अवसर प्राप्त गरेको छु । केहि समयअघि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय जिम्मेवारीमा रहेर पनि केहि सेवा गर्ने मौका पाएँ । अर्को कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि सम्बन्ध विकास गर्ने, मानव अधिकार सम्बन्धी संस्थासँग रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने कुरा गरिरहेको छु । नेपालस्थित अमेरिकन राजदुतावास अन्तर्गत रहेको अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक तथा राजनितिक विभागसँग समन्वय गरेर अल्पसंख्यक, अन्यायमा परेका समुदाय तथा व्यक्तिहरूमा के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने राउण्ड मिटिङ गरेर उनीहरूको पनि आइडिया लिने र आफ्ना भइरहेका कुराहरू पनि शेयर गरेर काम गरिरहेका छौं । जस्तै स्वजरल्याण्ड, अमेरिका लगायतका देशमा गएर त्यस सम्बन्धी पैरवी गर्ने, त्यहाँका परिस्थिति बुझ्ने, यहाँको परिस्थिति शेयर गर्ने, साटासाट गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वको सम्बन्ध विकास गर्ने काम गरिरहेको छु । आवश्यक परेको ठाउँमा वा मानिसमा कसरी सेवा पुर्याउने भन्ने कार्य भइरहेको छ ।

तपाईंको विचारमा नेपाली मण्डलीहरूको लागि मिडिया कति आवश्यक छ ?

टेक्नोलोजी र सञ्चारको आजको समयमा सबैको हातमा मोवाइल हुनाले सोसल मिडियाबाट सूचनाहरू लिने दिने भएकोले धेरै मानिसहरू एफएम लगायत सामाजिक सञ्जालको प्रयोग गर्छन् । कति ठाउँमा शारीरिक रुपमा पुग्न सक्दैनौं । हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा मोवाइल नेटवर्क लगायत सामाजिक सञ्जाल सबै ठाउँमा पुगेको छ । त्यस नेटवर्कलाई प्रभावकारी रुपले हामीले मिडियाबाट थोरै समयमा प्रसार गरेको सन्देश उनीहरूले हेर्न र सुन्न सक्छन् । उनीहरूले आफ्नो जीवनको निर्णय गर्न सक्छन्, त्यसैले यो प्रभावकारी माध्यम हो । मिडिया अहिलेको पुस्ताको लागि माग हो र बढी रुचाइएको माध्यम हो । त्यसैले त्यस कुरालाई स्वीकार गरेर नेपाली मण्डलीहरूले प्रयोगमा ल्याउनु पर्छ ।

तपाईंको बुझाईमा अरु मानिसहरूले ख्रीष्टियनहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

मेरो बुझाईमा सकारात्मक बौद्धिक वर्ग र अन्तर्राष्ट्रिय माहोललाई बुझेको व्यक्तिहरू पनि छन् । उनीहरूको आस्था भिन्दै भएतापनि ख्रीष्टियन गतिविधि, तथा ख्रीष्टियनहरूले गरेका काम प्रति सकारात्मक छन् । कोहि कोहि पुरातनबादी, अतिबादी भएकाले ख्रीष्टियनहरूको विरोध गर्नेहरू पनि छन् । सरकारको तर्फबाट प्रत्यक्ष रुपमा ख्रीष्टियनहरू र चर्चहरूलाई दुःख दिनुपर्छ, सखाप पार्नुपर्छ भन्ने त छैन तर कताकता चुपचाप भएर बसेको हुनाले अतिबादीलाई समर्थन गरेको हो कि भन्ने भान हुन्छ तर हामी निरन्तर प्रार्थना गरिरहनेछौं । नेपाल सरकार सबैको हो, एउटा पक्ष, जाति वा धर्मको होइन । समानुपातिक रुपमा समावेशी रुपमा व्यवहार गर्नेछ भन्ने हामी अपेक्षा गर्दछौं । हामी यो देशको हित चाहन्छौं, हाम्रो विश्वास छ कि हामी यो देशको प्रगति, समृद्धिका लागि प्रार्थना गर्नेहरू हौं, त्यसैले सरकारले हाम्रो कार्यलाई मुल्याङ्कन गर्दै प्रशंसा गर्ने वा धन्यवाद दिने अपेक्षा हामी गर्दछौं ।

वर्तमान नेपाली मण्डलीको खाँचो के हो ?

नेपाली मण्डली वृद्धि हुँदै गएको छ र दिगो पनि हुँदैछ । तर एकले अर्काको अस्तित्व स्वीकार्न नसकेको हो कि भन्ने लाग्दछ, त्यसैले हामीमा एकताको खाँचो छ । सामुहिक समस्या खडा भएको बेला सबैका लागि सामुहिक आवाजको आवश्यकता पर्ने देखिन्छ । कुनै एउटा मापदण्डको तय गर्नु पर्ने खाँचो छ । जुन मापदण्डले नेपाली मण्डलीको संरक्षण गर्न मनिटरिङ गर्ने, नेतृत्वलाई विश्वास गर्ने कुनै खालको सिद्धान्त अपनाउने कुरा सामुहिक रुपमा हुनु पर्दछ । एल्डरहरू थियोलोजिकल रुपमा ज्ञान हासिल गरेका, परमेश्वरको सेवामा तल्लिन भएका, परमेश्वरबाट धेरै कुरा बुझेकाहरू सबै एकै ठाउँमा आएर स्वस्थ छलफल गर्नुपर्ने आवश्यकता छ ।

त्यसो हो भने नेपाली मण्डलीहरूको परिषद् बस्नुपर्छ भनेर तपाईंले भन्न खोज्नुभएको हो ?

निश्चय नै हो, नेपाली मण्डलीहरूको परिषद् बस्नु आवश्यक छ, त्यस परिषद्ले नै ख्रीष्टियन समुदाय र नेपाली मण्डलीहरूमा भएका मतान्तर र विवादका बारेमा छलफल गरी समाधान गर्नेछ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

म पापी स्वभावमा जन्मिएको भएतापनि प्रभु येशूको रगतले धोइएको वा पखालिएको वा क्षमा पाएको एक व्यक्ति हुँ । म सिद्ध र पूर्ण छैन तसर्थ प्रभुको सेवा गर्ने कुनै पनि अगुवा, विश्वासी तथा मसँग सरोकार राख्ने व्यक्तिमा मेरो जीवनबाट कुनै पनि गल्ती वा बाधा भएमा म क्षमाप्रार्थी छु । म आफ्नो सेवाको काममा अगाडि बढिरहन चाहन्छु । यहाँहरूसँग मेरो सहकार्य हुनेछ । म पनि यहाँहरूको लागि प्रार्थना गर्नेछु, तपाईंहरूले पनि मेरो लागि प्रार्थना गरिदिनुहोस् । हामी सबै मिलेर साना तिना कुराहरू बिर्सिएर एकले अर्कालाई क्षमा दिएर हामी प्रभुको प्रेमलाई हामी नेपालदेखि विश्वभरि नै फैलाउनको लागि परमेश्वरबाट आशिष लिएर आशिषको कारण बन्न सकौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...