२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जोशमा पछि नहटौं

वरिष्ठ पास्टर रोवर्ट कार्थक । यर्मिया ४८ः११– १२ मोआब युवा अवस्थादेखि नै आराम गरी बसेको छ । त्यो थेग्रो रहेको दाखमद्य जस्तै छ, जो एउटा भाँडाबाट अर्को भाँडामा खनाइएको छैन, त्यो निर्वासनमा परेको छैन । तर दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब घैटाबाट खन्याउनेलाई त्यसकहाँ पठाउनेछु र उनीहरूले त्यो खनाउनेछन् र त्यसका गाग्राहरू चुरचुर पारेर फुटाइनेछन् ।

असल दाखमद्य बनाउनलाई त्यो दाखमद्य विभिन्न भाँडामा सारिनु आवश्यक पर्दछ । पहिलो भाँडामा राख्दा त्यसको थेग्रोहरू पिँधमा थेग्रिन्छ, जब त्यसलाई दोस्रो भाँडामा खन्याइन्छ, बाँकी भएको थेग्रोहरू दोस्रो भाँडामा थेग्रिन्छ । त्यसैगरी तेस्रो, चौथो भाँडामा खन्याउँदै जाँदा दाखमद्य सफा र पारदर्शी बन्दै जान्छ । त्यसपछि त्यसको टर्रोपन हटेर जान्छ, त्यसको स्वाद र वासना पनि बदलिन्छ । परमेश्वरले पनि हामीलाई विभिन्न परिस्थितिहरूबाट लगेर हामीलाई असल दाखमद्य बनाउन लाग्नुभएको छ । यदि हामीहरू पनि मोआब जस्तै भयौं भने उहाँले हामीकहाँ खन्याउनेलाई पठाएर खन्याउनुहुन्छ र रित्याइदिनुहुन्छ र गाग्राहरू चुरचुर पारेर फुटाई दिनुहुन्छ । त्यसैले हामीमा भएको संसारिकता र शारिरीकतालाई थेग्रिन दिनुपर्दछ र हामीमा भएको तितोपना हटेर जानुपर्छ ।

काना सहरको विवाह भोजमा पाहुनाको रुपमा निम्त्याइनुभएको येशुले प्रभुको रूपमा काम गर्नुभयो । चाकरहरूले प्रभु येशुको आज्ञापालन गरेको हुनाले साधारण पानी असाधारण दाखमद्यमा परिणत भयो । आज प्रभुले हामीलाई के आज्ञा दिंदै हुनुहुन्छ, सो सुन्नलाई हामी तयार हुनुपर्दछ । उहाँको वचन बाइबल सुनेर मात्र हुँदैन तर उहाँबाटको वचन सुन्नुपर्दछ । दाखमद्य मानिसहरूमा आनन्द ल्याउनको लागि प्रयोग गरिन्थ्यो । परमेश्वरले हामीलाई पनि त्यसैको लागि असल दाखमद्य बनाउँदै हुनुहुन्छ । उहाँले हामीलाई विभिन्न परिस्थितिका भाँडाहरूमा खन्याउँदै हुनुहुन्छ, भाँडाहरू फरक फरक होलान् तर दाखमद्य त्यही नै हो । सपन्याह १ः१२, त्यस बेला बत्ती बालेर म यरुशलेमलाई खोज्नेछु र ढुक्क भएर बस्नेहरूलाई थेग्रो भएर बसेका दाखमद्य जस्तै हुनेहरूलाई र परमप्रभुले न त असल न खराब गनुर््हुन्छ भनि विचार गर्नेहरूलाई म सजायँ दिनेछु । परमेश्वरले बत्ती बालेर भित्रसम्म खोज्ने काम गर्नुहुन्छ । ढुक्क भएर बस्नेहरूलाई उहाँले सजायँ दिनुहुनेछ । त्यसैले हामी ढुक्क भएर नबसौं कारण प्रभुले हामी आफै जोसिलो भएको देख्न चाहनुहुन्छ ।

भजनसंग्रह १३२ः१–५ दाऊद परमप्रभुको भवनको लागि जोश भएका मानिस थिए । उनले भवन निर्माण गर्ने अवसर पाएनन् तर त्यस भवन निर्माणको लागि आफ्नो कर्तब्य निर्वाह गरे । १ इतिहास २९ः१–५ पद अनुसार दाऊदले भवन निर्माणको लागि आवश्यकीय सामाग्रीहरू तयार पारे, उनी इमान्दार भए, उनले निजी सम्पत्तिबाट सुन चाँदी तथा बहुमुल्य थोक दिए । के हामीमा पनि दाऊदको जस्तो जोश छ ? हामी कति जना बृद्ध भइसकेका छौं । हामीलाई थाहा छैन, भोलिको स्थिति कस्तो हुनेछ ? तर हाम्रा जवानहरूले हाम्रा अधुरा काम पूरा गर्नुपर्दछ र गर्नेछन् । हाम्रो प्रार्थना जारी हुनुपर्दछ, हामीले हाम्रा सन्तानहरूको लागि सहायता पु¥याउनुपर्छ । दाऊद भन्दा हामी धेरै भाग्यमानी छौं, दाऊद व्यवस्था अनुसार जिउने मानिस थिए तर हामी त अनुग्रह र पवित्रआत्माको भरपूरीमा जिउने मानिसहरू हौं । यसैले हामीमा अझ बढी जोश हुनुपर्दछ । जब दाऊद राजाले बाचाको सन्दुक धुमधामसाथ दाऊदको शहरमा ल्याए तब उनी जोसिलो भएर सुन्दुकको अघि अघि पूरा शक्तिमा नाचेका थिए । त्यसबेला उनकी श्रीमती मिकलले देखिन् तब दाऊदमा भएको जोशको बेठिक प्रकारले अर्थ लगाइन् र उनी मृत्युसम्मै निसन्तान भइन् ।

जब पवित्र आत्माको काम जोडतोडले हुन्छ, तब त्यहाँ सबै कुराहरू हामीले सोचेको जस्तो नहुन पनि सक्छ । प्रभुले आफ्नै प्रकारले काम गर्नुहुन्छ । त्यसको लागि आत्माको भरपुरी चाहिन्छ र भरपुरीको लागि जोश चाहिन्छ । प्रकाश ३ः१५ पदमा धनी छु भन्ने लाउडिकियाको मण्डलीले आफ्नो दरिद्रता देख्न सकेन । आफ्नो अवस्था थाहा नपाएको लाउडिकियाको मण्डलीले प्रभुलाई बाहिर नै राख्यो । आज हामीले पनि प्रभुलाई बाहिरै राखेका छौं कि ? प्रभु भन्नुहुन्छ जोशिलो होओ… पश्चाताप गर । उहाँसँग भोज खाने अहोभाग्य प्रभुले हामीलाई दिनुभएको छ । त्यतिमात्र होइन, उहाँसँग राज्य गर्ने अनुग्रह पनि दिनुभएको छ । तर प्रभुलाई मन तातो व्यक्ति मन पर्दैन । त्यसैले जोसमा पछि हट्नुहुँदैन, अझ उत्तम कुरा प्रभुले हाम्रो लागि साँचेर राख्नुभएको छ, त्यसैले जोशमा पछि नहटौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...