सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

परमेश्वरसँगको सम्बन्ध पवित्र र बलियो बनाउन अनि कायम राख्नतिर हामीले ध्यान दिनुपर्दछ

डा. डम्बर अधिकारी, नेपालबाट युरोप गएर मिसनरीको काम गर्ने पहिलो नेपाली युरोप मिसनरी हुनुहुन्छ । हाल उहाँ युरोपको जर्मनीमा बसेर सेवकाइ गर्दै हुनुहुन्छ । केहि समय पहिले उहाँ नेपाल आउनुभएको बेलामा उहाँले युरोपमा रहेर गरिरहनुभएको सेवकाइका बारेमा लिइएको अन्तरबार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंले नेपाल किन छोड्नु भएको हो ?

जब मैले प्रभुलाई पाएँ, त्यतिखेर नेपालमा पञ्चायतकाल थियो, मेरो ब्यक्तिगत जीवनमा सतावट आयो र बहराइनमा युरोपियन कम्पनीमा काम गर्न गएँ । त्यसपछि बहराइनमा रहँदा खेरी कुबेत र इराकका बिचमा लडाई भएका कारण मैले काम गर्ने कम्पनी बन्द भयो । त्यहाँ काम गर्दा नै ओपरेशन मोबलाइजेशको तालिम अमेरिकामा लिन जाने अवसर प्राप्त भएपछि अमेरिका जाने क्रममा म जर्मनीमा पुगें । त्यहाँ मेरो कागजात चोरी भयो र एक जना पाकिस्तानीको सहयोगले नेपालीहरूसँग भेट भयो । भेटपछि सुसमाचार सुनाउने मौका पाएकोले त्यहाँ भएका नौ जना नेपालीलाई सुसमाचार सुनाउने मौका पाएँ, त्यतिखेर नै एक जना साथीले येशुलाई ग्रहण गर्यो । आइतबारका दिन त्यहाँ चर्च खोज्दै जाँदा नजिकै बप्तिस मिसन चर्च भेटियो । त्यहाँ संगति सकिएपछि पास्टरलाई भेटी यी भाईहरू नयाँ हुन्, अप्ठेरो प्रश्न नसोधिदिनुहोस् भन्दै थिएँ । उहाँ पास्टरले नै परमेश्वरले तपाईंलाई अमेरिकाको लागि होइन, युरोपका लागि चुन्नुभएको हो भन्दै यहोशु एक अध्यायको केहि पद पढ्दै मलाई जर्मनीमा भएका नेपालीहरूको बिचमा सेवकाइ गर्नुपर्छ भन्दै पास्टर ओडिनेशन गरियो ।

युरोपमा नेपाली भाषामा कहिलेदेखि संगति शुरु भयो ?

मलाई पास्टर ओडिनेशन गर्दा म २६ वर्षको थिएँ र यो कुरा सन् १९९० को हो । त्यसपछि त्यहि वर्ष नै हामीले त्यहाँ नेपाली संगति पनि शुरु गरेका थियौं । त्यसपछि १९९५ मा नेदरल्याण्डमा गएर सुसमाचार सुनाएर संगति शुरु गरें, त्यसपछि बेल्जियममा संगति शुरु भयो । मैले धेरै देशका मानिसहरूलाई पानीको बप्तिस्मा दिएको छु । विस्तारै युरोपभरि विभिन्न देशहरूमा अहिले नेपाली भाषामा संगति हुँदैछ ।

तपाईंले नेपाली बाइबल युरोपमा कति लैजानु भएको छ ?

विभिन्न समयमा उताबाट नेपाल आउनु भएका विदेशीहरूलाई नेपाली भाषाको बाइबल ल्याइदिनुहोस् भनेर धेरै पटक धेरै मात्रामा बाइबल मगाएको छु । म आफै नेपाल आउँदा पनि लगेको छु । धेरै समय पहिले नेपाल आएको बेला नेपाल बाइबल सोसाइटीका कार्यकारी निर्देशक तेज जिरेलसँग १००० वटा बाइबल चाहिएको छ, युरोप लैजानको लागि भनेर भन्दा उहाँले त्यति धेरै बाइबल अहिले यहाँ छैन तर कोरियाबाट मगाउन सक्नुहुन्छ भनेर भन्नु हुँदा म आफैले कोरियाबाट १००० वटा बाइबल मगाएको छु । बास्तवमा कति वटा नेपाली बाइबल युरोपमा लगिएको छ भन्ने कुनै तथ्याङ्क नै छैन तर हामीले हजारौंको संख्यामा धेरै परिणाममा नेपाली भाषाको बाइबल युरोपमा लगेका छौं । युरोपको विभिन्न देशमा बाइबल लगिएको छ र बिक्रि बितरण भएको छ ।

तपाईंको युरोपको सेवकाइ कस्तो हुँदैछ ?

परमेश्वरको अनुग्रहमा एकदमै तिब्र गतिले बृद्धि हुँदै र आशिषमय तरिकाले चल्दैछ ।

तपाईं कति वटा राष्ट्रमा पुग्नुभएको छ ?

अहिलेसम्ममा म युरोपको २५ वटा देशमा पुगेको छु । वास्तवमा म ती देशहरूमा घुम्न भन्दा पनि सुसमाचार र चर्च प्लान्टिङ्गको उद्देश्य लिएर गएको हुँ । विभिन्न देशमा पुगेर नेपाली भाषाको मण्डली स्थापना गरेको छु ।

तपाईंको मुख्य बोलावट के हो ?

जुन जुन देशमा हामी बस्छौं, हामी त्यो देशका मानिसहरूलाई प्रभुमा जित्नु पर्दछ । मिसनरी भन्नुको अर्थ पठाइएको हुन्छ । जुन देशमा पठाइएको हुन्छ, त्यो देशको भाषा बोलेर मैले २५ वटा मुलुकमा पुगेर सुसमाचार सुनाएको छु अनि मण्डली स्थापना गरेको छु । १२५ देशका मानिसहरूलाई सुसमाचार सुनाउने अवसर पाएको छु । हाम्रो उद्देश्य बहुसंस्कृति समाजमा मण्डली स्थापना गर्ने हो । सुसमाचार नपुगेको ठाउँमा हामी पुग्ने गर्दछौं । युरोप ढल्न लागेको थियो तर प्रभुले बचाउँदै हुनुहुन्छ, फेरि युरोपका मानिसहरू प्रभुमा फर्कदैछन् ।

युरोपमा बस्नु भएतापनि नेपालमा तपाईंले कसरी सहायता गर्दै हुनुहुन्छ नि ?

हामीले बालबालिकाहरूलाई सर्वशुलभ र गुणस्तर शिक्षा हासिल गराउन सहायता गर्दैछौं । नेपाली मण्डलीहरूको आत्मिक बृद्धिको लागि आफूले पाएको बाइबलीय शिक्षा र अनुभव विभिन्न कार्यक्रमहरूमा बाँड्ने पनि गर्दै आएको छु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

हामी खाली नेपाली नेपाली भनेर मात्र नबसौं । हामीले पनि केहि जान्न सक्छौं र गर्न पनि सक्छौं । अरुलाई दोष दिने काम र चरित्रहिन काम गर्नुभएन । अरुले के गर्दैछ भनेर नहेरौं तर आफ्नो र परमेश्वरसँगको सम्बन्ध पवित्र र बलियो बनाउन अनि कायम राख्नतिर हामीले ध्यान दिनुपर्दछ । हामी आफै बलियो भयौं भने मात्र अरुलाई बलियो बन्न सहायता पुर्याउन सक्छौं । सबैलाई परमेश्वरले आर्शिवाद दिनुभएको होस् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...