सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रभुले तपाईंलाई पूर्णकालिन जीवनको निम्ति बोलाउनु भएको छ…

डा. सरिता थापा

डा. सरिता थापा प्रायः सबैले चिनेकै व्यक्तित्व हुनुहुन्छ । उहाँ लामो समयदेखि सेवकाइको क्षेत्रमा स्थापित हुनुहुन्छ । विशेषगरी उहाँ मनोपरामर्शदाताको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँसँग यहाँ उहाँको सेवकाइ युवावस्था, र वर्तमान युवाहरूले भोगिरहेका जल्दाबल्दा समस्या र त्यसका निकारणका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंको युवा अवस्था कसरी बित्यो ?

मैले राम्रै स्कूलमा पढ्ने मौका पाएँ, जुन मिसनले चलाएको महेन्द्र भवन थियो । त्यहाँको अनुशासनले जीवनमा संघर्ष गर्न सिकें । मैले सन् १९७४ मा प्रभु येशुलाई ग्रहण गरेँ । म इन्जिनियर पढ्न चाहन्थेँ तर नर्स पढें किनकि प्रभुबाटै यो बोलावट मैले पाएकी थिएँ । परमेश्वरले दिनुभएको दर्शनप्रति म अट्टेरी भइनँ र १६ वर्षको उमेरमा म नर्सिङ पढ्न गएँ । किशोर अवस्थामा सबैभन्दा गाह्रो हुने भनेको विपरित लिङ्गप्रतिको आकर्षण हो, जुन स्वभाविक पनि हो । हाम्रो अभिभावकले के बुझ्नुपर्छ भने यो एकदम स्वभाविक हो कि ११ वर्ष पुगेपछि छोरीहरूको महिनावारी हुन्छन् र विवाह गरेपछि गर्भधारण गर्न सक्छे । त्यसले गर्दा केटा केटीले एक अर्कालाई हेर्ने र मन पराउने हुन्छ । म केटीहरू मात्र पढ्ने स्कुलमा पढें, पछि गएर केटाहरूसँग व्यवहार गर्न मलाई गाह्रो भएको थियो । उन्नाइस वर्ष भएपछि नर्सिङ पनि पढियो, गोल्ड मेडलिष्ट पनि भइयो र मैले यो गर्नु पर्छ, त्यो गर्नुपर्छ भनेर ख्रीष्टियन भएको नाताले सबैबाट दबाब थियो तर मेरो इच्छाचाहिँ परमेश्वरले मबाट के चाहनुहुन्छ भन्ने थियो । अनि उहाँले भन्नुभयो तिम्रो पेशा मैले दिएको हो र मलाई फिर्ता गर । अनि बाइबलमा पनि छ नि तिम्रो दाहिने हात देऊ भनेर जुनचाहिँ पेशा नै हो । अनि प्रभुलाई मैले दिएपछि सन् १९८३ मा दक्षिण कोरियाको ACTS मा स्नातक तहको लागि बाइबल कलेज गएँ । त्यो अवस्थामा एउटा स्वास्नी मान्छे भएर बाइबल कलेज पढ्नु संघर्ष थियो किनभने प्रश्नहरू गरिन्थ्यो तर भविष्यको लागि मलाई चिन्ता थिएन किनभने मेरो एउटै तृष्णा भनेको बाइबल अध्ययन गर्ने र परमेश्वरलाई अझ बढी नजिकबाट चिन्ने थियो अनि त्यही गरियो पनि ।

तपाईंको विवाह चाहिँ कसरी भयो ?

एक जना क्याम्पस क्रुसेडको गायस दाजुको विवाह थियो अनि उहाँको श्रीमतीको परिवारबाट कोही पनि ख्रीष्टियन थिएन र उहाँले मलाई चिनेको कारणले मलाई ज्ञानेश्वर चर्चमा लोकन्ती बन्न बिन्ति गर्नुभयो । त्यतिखेर उहाँ (पास्टर सुन्दर थापा) चाहिँ पहिला नै पास्टर बनी चर्च खोलेर क्याम्पस क्रुसेडमा काम गर्नुभएको थियो । अनि त्यो विवाहमा आउँदा पहिलोचोटी उहाँसँग भेट भएको थियो तर एक वर्षपछि उहाँ पनि कोरियामै आउनुभयो । उहाँ बढी नम्र र सेवा गर्ने भएकोले यो मानिस मेरो श्रीमान हुन सक्दैन भन्ने ममा सोच आयो तर पछि बुझ्दाखेरी परिपूरक भनेको नै त्यही रहेछ । उहाँको सामर्थ, मेरो कमजोरी र मेरो कमजोरी उहाँको सामर्थ जुन बाइबलसँग मिल्छ । एक अर्कालाई मन पराएका थियौँ होला तर हामी त्यस्तो गहिराइमा गएका होइनौँ । नेपाल फर्केपछि कामको शिलशिलामा उहाँको चर्च देखेर मलाई माया लाग्यो किनभने ठूलाहरू खाना पकाउने र अरु काम गरिरहेका थिए तर नानीहरू यताउता दौडिरहेका थिए । मैले नर्सिङ गरेर बाइबल कलेजमा बालकहरूलाई केन्द्रित गरी अध्ययन गरेको कारणले दया लाग्यो र त्यतिखेरै परमेश्वरले मलाई भन्नुभयो, “उठ तिनीहरूलाई सम्भाल” अनि मैले उनीहरूलाई सम्हाल्न थालेँ, सिकाउन थाले । ज्ञानेश्वर चर्चबाट पनि त्यहीँ सहयोग गर्ने प्रस्ताव आएकोले त्यहाँ सेवा पुर्याउन थालेँ र सन् १९९० मा हाम्रो विवाह भयो । त्यहाँ उहाँ चाहिँ गोठालो र मेरा शिक्षक भएको कारणले हामी दुईको भूमिका भएकोले हामी बीच सानो ठूलो कुरा आउँदैन ।

अहिलेको युवाहरूको जिम्मेवारी चाहिँ के होला ?

धेरै शिक्षकहरूले बाइबलबाट सिकाउँछन् कि जवान हुँदैमा कसैले तिमीलाई हेला नगरोस् तर हाम्रो पनि त जिम्मेवारी छ नि । पहिलो कुरा परमेश्वरलाई प्रेम गर्ने कुरा सिकाउनुपर्छ किनभने यदि आफूले कुनै युवाले म ख्रीष्टियन हुँ भन्छ भने ख्रीष्टियन भनेको ख्रीष्टलाई आफ्नो हृदयमा राख्नु होइन त ? त्यसो भए त ख्रीष्ट त उसको जीवन हुनुहुन्छ, गुरु हुनुहुन्छ र गुरुले भनेको कुरा सबै सिरोपर त गर्नुपर्यो नि अनि त्यसको निम्ति परमेश्वरले हामीलाई बाइबल नै दिनुभएको छ । दाऊदले यसो लेखेका छन्, तपाईंको विरुद्धमा मैले पाप नगरुँ भनेर तपाईंका वचन मैले मेरो हृदयमा राखेको छु । जवान छु भन्दैमा कसैले हेला नगरोस भन्ने लाग्छ भने, हे परमेश्वर तपाईंको विरुद्धमा पाप नगरुँ भनेर तपाईंको वचन मेरो हृदयमा राखेको छु पनि त हुनुपर्यो नि । त्यसो गर्न सकियो भने यो युवा पुस्तालाई जीवन जीउन गाह्रो छ जस्तो लाग्दैन । पहिलेका पुस्ताहरू भन्दा अहिलेका युवाहरूले धेरै जानकारी पाउन सकेको र अलिक फराकिलो हुन सकेकोले आफूलाई कसरी सतर्क गराउने भनेर जिम्मेवारीको बोध पनि गर्न सक्नुपर्छ । उपाय एउटै हो, परमेश्वरलाई प्रेम गर्छु भनेको जस्तै परमेश्वरको मार्गमा पनि हिँड्नुपर्यो। दाऊद राजा पनि एकैचोटी महान राजा भएको होइन नि त, बालक कालमा गोठालो थिए, अभिषेक भएपछि ३० वर्ष पुग्दा ऊ राजा बनेको हो । त्यो ३० वर्षको अवधिमा उसले कसरी तालिम पायो । शाऊल राजाले प्रश्न गर्ने बेलामा पनि उनले म मेरो बुवाको भेडा गोठालो हुँ भनेका थिए । एउटा भेडाको पनि म जिम्मेवार छु भनेर उनले विश्वास योग्यता देखाएका थिए र त्यही विश्वनियताको कारणले उनले जंगलमा एकलै छँदा पनि भजन रचि गाउन सके । अभिषेक भएपछि पनि बाउकै भेडा चराउन गए र एउटा समय आयो, गोल्यतलाई मारे र हतियार बोक्ने मानिस बने । बाजा बजाएर शाऊललाई निको पार्दथे । दाऊद हेब्रोनबाट सुरु भएर ३० वर्षको उमेरमा विस्तारै राजा बनेको हो । एक जवानले के बुझ्नुपर्छ भने जोश, शिक्षा, उमंग, रुप सबै कुरा छ भन्दैमा तात्तातै खाइहाल्नु पर्छ भन्ने छैन तर विश्वास योग्यता देखाउने हो । परमेश्वरले मलाई यो गर्न बोलाउनु भएको छ भनेर सानै कामबाट पनि परमेश्वरको दृष्टि पाएको छु भन्नुपर्छ । म जवान छु मात्र भन्ने होइन तर परमेश्वरले नै मलाई ज्ञान बुद्धि दिनुहुन्छ, शक्ति दिनुहुन्छ, दान वरदान दिनुहुन्छ भनेर त्यसलाई खोजी गर्नुपर्छ । अब बाहिरको विभिन्न विषयका शिक्षाहरूमा पनि बाइबलले के भन्छ भनेर खोज्न सिक्नुपर्छ । बाइबललमा विज्ञान, गणितकै कुराहरू पनि छन् अनि हाम्रो काम चाहिँ सेकुलरमा पढेको कुरा तुलनामा बाइबलले के भन्छ भनेर खोज्ने जिम्मेवारी हो । त्यसरी आउने पुस्तालाई हामी सोही शिक्षा दिन सक्छौँ । ख्रीष्टियनहरूसँग दुइटै ज्ञान भएर त्यसको सदुपयोग गर्न जान्यो भने ठीक ठाउँमा बोल्न जान्दछ र चेला बनाउन पनि सक्दछ । हामीले बाइबलबाट युवाहरूको कथा सिकायौैं भने पनि युवाहरू अझै जोसिन्छन् ।

वर्तमान युवाहरू सेवकाइभन्दा संसारिक कुरामा होमिए भन्ने पास्टरहरूको गुनासो छ नि, यसमा तपाईंको के विचार छ ?

अहिलेको समयमा डाक्टर, इन्जिनियर, वकिल बन्न र पढ्नलाई धेरै खर्च लाग्छ । अनि काम गरेपछि खर्च भएको पैसा पनि उठाउनुपर्छ । तर पास्टरीय सेवकाइ त विश्वासद्वारा जीउने हो नि । अब अब्राहामलाई नै देश छोड, कुटुम्ब छोड भन्नुभयो तर यता जा भन्नुभएको थिएन तर प्रतिज्ञाको मुलुक लान्छु भन्नुभएको थियो । उनी जुरुक्क उठेर हिँडिहाले तर एउटा ठाउँमा आएर ऊ पनि त अड्किएका थिए र फेरि प्रभु देखा पर्नुपर्यो । तर आत्मिक क्षेत्र चाहिँ विश्वासद्वारा जिउने हो । परमप्रभु जुटाउनुहुने परमेश्वर हुनुहुन्छ, बाइबलमा कति राम्रो ज्ञानहरू छन् । त्यसको निम्ति युवाहरूले पनि परमेश्वरलाई मलाई केमा चाहिँ बोलाउनु भएको छ भनि प्राथमिकता ठानी पहिले देखि नै प्रार्थना गरी सोच्यो भने त्यो रुचि बढ्न सक्छ । किनकि विश्वासद्वारा जीउनु भनेको पनि अर्कै आनन्दित र रोमाञ्चक किसिमको जीवन हो, जहाँबाट तपाईंले आश्चर्यकर्मको अनुभव गर्न सक्नुहुन्छ । हामी गुरुजनहरूले पनि आफ्नो जीवन शैलीबाट उदाहरण दिनुपर्छ । गवाही भनेको जीवन साक्षी हो र त्यसले अरुलाई छुन्छ र प्रेरणा दिन्छ । उनीहरूको मात्र होइन तर एक शिक्षकको रुपमा आफूलाई पनि दोषी देख्छु । पुस्ताको खाडल भएर के भयो तर उनीहरूलाई परिवर्तन गर्न त म बदलिनु पर्यो । परमेश्वरले नबोलाइकन र उहाँले नै अभिषेक नदिएसम्म जीवनमा हामीले अरुको जस्तै देखासिकी गरेर प्रभुको सेवा गर्छु भनेर हामफाल्यौं भने हामीलाई दुःख हुन्छ । हामी आफै भित्र पनि लडाइ र असन्तोष हुन्छ । तपाईं डाक्टर हुनुहुन्छ भने प्रचार प्रसार गरेर हिड्न सक्नुहुन्न तर विरामी जाँची डाक्टरी काममै लागि रहनुपर्छ तर तपाईंको व्यवहार र बोलीचालीबाट नै तपाईंले गवाही दिनसक्नु हुन्छ र मानिसहरूलाई निको पार्न सक्नुहुन्छ र एक किसिमले डाक्टर बनेर पनि गवाही दिन सकिन्छ । जवानहरू जुन क्षेत्र वा विषयमा अध्ययन गरेतापति त्यो क्षेत्रमा ख्रीष्टको गवाही बन्न सक्छन् । तपाईंको अध्ययनको सिलसिलामा अरुभन्दा एक कदम अगाडि हुन सक्नुपर्छ । तर परमेश्वरले त कसैलाई त पूर्णकालिन सेवाको लागि पनि बोलाउनु हुन्छ तर सेवा बोलाउनेले के तपाईंलाई भोकै राख्नुहुन्छ र ? उहाँको आफ्नै तरिका छ । अनि धनी बन्ने लक्ष्य राखेर धनसम्पत्ति कमाउने चाहना बोकी काम गरियो भने धोकामा परिन्छ किनभने त्यसले अर्को बाटोतिर डोर्याउँछ । यो कुरालाई प्राथमिकतामा ध्यान दिनुभयो भने मानिसहरूले तपाईंको रहन सहन, बोलीचाली सबै कुरामा ध्यान दिन थाल्छन् अनि एक किसिमले पूर्णकालीन पाष्टर नहुन सकेपनि एक किसिमले पास्टर जस्तै हुन सकिन्छ किनभने अरुहरूलाई बाटोमा डोर्याइरहनुभएको हुन्छ । पैसा ठूला कुरा होइन तर पैसाले तपाईलाई पछ्याउनु पर्छ अनि पैसाको पछि दौडने हुनुहुँदैन । प्रभुले तपाईंलाई पूर्णकालिन जीवनको निम्ति बोलाउनु भएको छ भने जानुहोस् र अनुभव गर्नुहोस् ।

अचेल तपाईं के कुरामा व्यस्त हुनुहुन्छ ?

म बाइबलीय शिक्षा दिने सर्वश्रेष्ठ बाइबलको धर्म शिक्षिका हुँ । बाइबलीय शिक्षाहरू म विभिन्न तरिकाले दिन्छु । सेमिनार, कन्फ्रेन्स्, चेलापन र पास्टरीय तालिम, पारिवारिक सम्मेलन गर्छु । मेरो प्रार्थनाको ठूलो झुण्ड छ, जुन राष्ट्रहरूको लागि अर्जबिन्तिको प्रार्थना हो । शिक्षा बाहेक म परामर्श दिन्छु, व्यक्तिगत रुपमा, परिवार भेटघाटमा हुन्छु । कतिचोटी धेरै मानिसहरूको जीवनमा शारीरिक दुर्ब्यवहार, मानसिक दुर्ब्यवहार, यौन दुर्ब्यवहार, लागुपदार्थ दुर्ब्यवहार भएका थुप्रै देखेको छु अनि ती मानिसहरूलाई सहायता गर्दा एकदम आनन्द लाग्छ । जसलाई मैले तालिम र परामर्श दिएँ, तिनीहरूको लागि मेरो एउटा मात्र प्रार्थना र लक्ष्य तिनीहरूले येशुलाई गहिराइबाट प्रेम गरोस् । हामीले काम गरेपछि मानिसहरूले धन्यवाद नदिदा धेरैलाई गुनासो हुन्छ तर म चाहिँ आफूलाई त्यस्तो आइपरेको खण्डमा यसरी सान्त्वना दिने गरेकी छु, परमेश्वरले देख्नुभएको छ, उहाँको दृष्टि पृथ्वीभरि रहिरहन्छ भनेर लेखिएको छ यसकारण उहाँले हेरिरहनुहुन्छ । हामी सबैले त्यो तृष्णा राखौँ, अझ भनौँ भने दाऊदले गरेको जस्तै म कहिले गएर तपाईंलाई भेटुँ, मुडुली मृगजस्तो म तपाईंको तृष्णा गर्छु, तपाईंको मुहार म देख्न पाऊँ, मोशाले पनि त्यही भनेका थिए । प्रभुका मानिसहरूलाई हेर्ने हो भने तिनीहरूको चाहना एउटै थियो “प्रभु तपाईंको मुहार म देख्न सकुँ । तपाईंको घरमा म जीवनभरि रहन सकुँ । तपाईंसँग म हिँडिरहन पाऊँ ।” त्यो भयो भने हामी बाँच्छौं पनि अनि अरुहरूलाई एउटा मधु क्षेत्रीले गाएकोझै “गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने मोती नटिपी नफर्क ।” अनि बाइबलमा पनि छ, गहिराइले गहिराइलाई खोज्दछ, भनेपछि गहिराइमा नै जाऔँ । हाम्रो जीवन चाहिँ येशुमा नै जरा गाडिएको भएर हामी बढनु पर्छ, त्यसकै निम्ति म प्रयत्न गर्दैछु, अरु कुनै पनि उद्देश्य छैन ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

मैले येशुलाई चाखे जस्तै तपाईंहरूले पनि चाख्नुहोस् र त्यो गहिराइमा डुब्नुहोस् ताकि तपाईंलाई पनि मैले अनुभव गरेजस्तै अनुभव होस् र तपाईंहरूमध्ये येशुलाई चिन्नुभएको छैन भने विन्ति गर्छु, उहाँलाई चाखेर हेर्नुहोस्, एकचोटी खोजेर हेर्नुहोस् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...