सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गोरखामा वृहत इस्टर तथा पुनरुत्थान उत्सव सम्पन्न

गोरखा । विश्वव्यापी रुपमा वीर गोर्खालीको पहिचान बोकेको गोरखा जिल्लामा यस वर्ष गोरखाली ख्रीष्टियन समुदायले भव्यताका साथ येशू ख्रीष्टको पुनरुत्थानको उत्सव मनाएको खबर छ ।

मुक्तिदाता येशू ख्रीष्ट मृत्युबाट बौरी उठ्नु भएको इस्टर तथा पुनरुत्थान उत्सवको अवसरमा गोरखा इसाई समाज, पालुङटार इसाई समाज, सिरानचोक इसाई समाज र स्वतन्त्र विश्वव्यापी मण्डली, विनिप्रप्र इसाई नारी, पुरुष एकता प्रार्थना टिमको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित गत बैशाख ४ गते आइतबारका दिन वृहत इस्टर तथा पुनरुत्थान दिवस मनाइएको हो ।

सदरमुकाम गोरखा बजारको टुडिँखेलमा आयोजित शान्ति पदयात्रा र्यालीसहित ऐतिहासिक पुनरुत्थान दिवस २०७९ तथा चंगाई कार्यक्रमको प्रमुख आतिथ्यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र विशेष आतिथ्यता पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख वक्ता स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर तथा विनिप्रप्र सेवकाइ नेपालका संस्थापक अध्यक्ष अन्तर्राष्ट्रिय वक्ता रेभ. डा. चेत बहादुर खरेल हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले गोरखा जिल्ला ऐतिहासिक, धार्मिक र जैविक विविधताले पूर्ण जिल्ला भएकोले सबै धर्मको सम्मानजनक पहिचान हुनुपर्ने बताउनुभयो । वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित भएको बताउनु हुँदै नगरप्रमुख पन्तले गोरखा जिल्लाको विकास र समृद्धिमा गोरखाली इसाई समुदायको पनि ठूलो योगदान रहेको बताउनुभयो ।

यस्तै पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गोरखा जिल्लामा सबै धर्म मान्ने व्यक्तिहरूको बसोबास भएकोले सबैले एकअर्कालाई सहयोग गर्दै समाजमा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्ने बताउनुभयो । नेपाल राज्यको एकीकरण गर्नेदेखि पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको इतिहास स्मरण गर्दै नगरप्रमुख कँडेलले हरेक ऐतिहासिक कार्य गोरखा जिल्लाबाट भएकोले सबै धार्मिक समुदायको लागि गोरखा जिल्ला एक नमुनाको जिल्ला हुनुपर्ने बताउनुभयो ।

येशूको पुनरुत्थानको विषयमा प्रचार गर्दै वृहत इस्टर महोत्सव तथा चंगाई कार्यक्रमका प्रमुख वक्ता डा. खरेलले येशूको मृत्युपछिको पुनरुत्थानले मानव जातिको निम्ति मुक्तिको ढोका खोलिदिएको बताउनुभयो । येशू ख्रीष्ट सबै जातिको लागि प्रेम र प्रेरणाको स्रोत भएको उहाँले बताउनुभयो ।

कोरोनाको महामारी पछाडि गोरखा जिल्लाको ऐतिहासिक भेलाका रुपमा लिइएको यस उत्सवमा गोरखा जिल्लाभरका चर्चबाट हजारौँको संख्यामा सहभागिता रहेको थियो । कार्यक्रममा सयौँको संख्यामा रोगीविरामीले चंगाई पाएका थिए भने कार्यक्रममा सहभागी कतिपयले ख्रीष्टियनहरूमा यस्तो शक्ति र विश्वास हुने रहेछ भन्दै आश्चर्यमा परेका थिए ।

– निरोज तोलाङे

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...