सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली मण्डलीमा युवाहरूको भूमिका र चुनौती

हिरा खड्गी ।

नेपालको मण्डलीहरूले जवान मानिसहरूलाई अगुवापन र निर्णय गर्ने क्षेत्रहरूमा कसरी सहभागी गराउन सकिन्छ ?

हाम्रो मण्डलीहरूमा युवाहरूको भूमिका के छ ? उनीहरू केके कुराहरूमा सहभागी र सक्रिय भैरहेका छन् ? एकै क्षण सोच्नुहोस् । हुन सक्छ, हिजोआज युवाहरू स्तुति प्रशंसा आराधना, बाल संगति, भाँडा माझ्ने, सरसफाई र कार्पेट मिलाउने जिम्मेवारीहरूमा मात्रै सिमित छन् कि ? तिनीहरू अन्य के कुराहरूमा मण्डलीलाई अघि बढाउने कार्यहरूमा सहभागी भएका छन् ?

नेपालका अधिकांश मण्डलीहरूले जवानहरूलाई जति वास्ता र हेरचाह गर्नु पर्ने हो, त्यो हुन सकिरहेको अवस्था छैन । जवानहरूको संगति, भेटघाट, बाइबल अध्ययनहरू भएका छन् तर त्यतिले मात्रै तिनीहरूलाई अगुवापनमा ल्याउन र जिम्मेवारी बहन गरी असल निर्णयहरू गर्दै अघि बढ्नलाई तपाईं अगुवाहरूको ठूलो भूमिका रहेको हुन्छ । उनीहरूलाई महत्वपूर्ण व्यक्ति ठानेर कोचिङ, मेन्टोरिङ, चेलापनका साथै बिभिन्न क्षेत्रहरूमा सहभागी र सक्रियताकासाथ उत्साह दिनुपर्छ । ‘आफै जानेर हेरेर, बुझेर गर्ने हो’ भन्ने संकुचित धारणा अगुवाहरूले राख्दा केही त्यस्ता सिमित व्यक्तित्व भएकाहरू जो आफै अग्रसर छन्, तिनीहरूले त जिम्मेवारी लेलान । तर जो युवाहरूलाई थोरै उत्साह र प्रेरणाको कमिले जीवन र मण्डलीमा अघि बढ्न सकिरहेका छैन भने त्यस्ता युवाहरूलाई सहयोग गर्नु असल हुन्छ । राम्रो गर्नेहरू त त्यसै पनि राम्रो भै हाल्यो । हामी ख्रीष्टियन भएको हुनाले कमजोरहरूलाई उठाउने अगुवा र हाम्रो जिम्मेवारी भित्र पर्छ । कहिले काहिँ तपाईंको सानो उत्साहले पनि कसैको जीवनमा ठूलो महत्व राख्न सक्छ । निरास भएर बसेका युवाहरूलाई तपाईंको भौतिक उपस्थितिले साहस र शक्ति मिल्न सक्छ, भरोसा पाउन सक्छ । केही गर्ने आँट आउन सक्छ भने हामीले किन नगर्ने यस्तो कुरा ? अगुवाले बोल्ने मात्रै होइन तर उत्साह र प्रेरणा दिन सक्ने पनि हुनु आवश्यक छ । अगुवाहरूले गरेका क्रियाकलापहरूद्वारा केही चरणहरूमा भएपनि युवाहरूको जीवन अघि बढेको हुनुपर्छ । चाहे त्यो तालिम होस् या अन्य कुरामा नै किन नहोस् । जसले गर्दा तपाईं र तपाईंको मण्डली मजबुत र बिकास हुंदै जान्छ । यदि त्यो भएको छैन भने तपाईंको अगुवापनमा केहि समस्या छ भन्ने स्वीकार गर्नुपर्ने हुन्छ ।

नेपाली संस्कार अनुसार उमेरमा सानो भएकाहरूको कुरा सुन्ने प्रचलन छैन, जहिले पनि पाका मानिसहरूको मात्रै कुरा, बिचार सुन्नु पर्छ भन्ने सोच वा मनोबिचार छ । त्यो आफैमा गलत छ । अगुवाहरूले, जवान भाइबहिनीको कुराहरू राम्रोसँग सुन्न सक्ने क्षमताको बिकास गर्न जरूरी छ । उनीहरूले मण्डलीको बारेमा के सोचिरहेका छन् ? कस्तो दर्शन देखिरहेका छन् ? भन्ने जस्ता कुराहरूमा राम्रो जानकारी राखेको हुनुपर्छ । अगुवाहरू जहिले पनि बुझ्ने र सु्न्ने हुनुपर्छ । उनीहरूलाई समय दिनु आवश्यक छ । अगुवाको इगोलाई केही हदसम्म दया र करुणामा बदलेर बोल्ने मात्र होइन, मण्डलीमा उनीहरूले गर्न चाहेको, दर्शन, सोंच, बिकास र योजनाहरूमा चासो देखाउन जरुरी छ, साथै सहयोग गर्न आवश्यक छ । समयको परिवर्तन सिघ्र रूपमा भैरहेको यो अवस्थामा अगुवाहरूले आफ्नो अहम र घमण्डलाई छोडेर युवाहरूलाई महत्वका साथ जिम्मेवारीहरू बहन गर्न दिनु आजको आवश्यकता हो । होइन भने कठिन परिस्थितिको सामना गर्न हामी सबै तयार हुनुपर्ने समय नजिकै छ । जसरी युरोप र अमेरिकाका मण्डलीहरूका बारेमा हामी नकारात्मक टिकाटिप्पणी गर्छौं । नेपाली मण्डलीमा त्यो अवस्थाको त्यस्ता लक्षणहरू देखा पर्न थालिसकेका छन् । त्यसैले युवाहरूलाई प्राथमिकतामा राखेर तपाईंको मण्डलीलाई बिकास गर्न जरूरी छ । तपाईंहरूको निर्णयमा युवाहरूलाई सहभागी गराउँदै सिकाउन आवश्यक छ । यदि अगुवाहरूको स्वभावमा सबै मैले भनेको मात्रै हुनुपर्छ भन्ने बिचारबाट चलेको छ भने मानिसहरूले अगुवाहरूलाई छेऊमा पर्दा नक्कली आदर त गर्लान् तर त्यो आदर बिस्तारै तितोपनामा रूपान्तरित हुंदै जान्छ । फलस्वरूप मण्डली फुट्ने वा नयाँ शुरू हुन्छ । आदर र सम्मान रूपैयाँ पैसा र शक्तिले किन्न सकिने कुरा होइन । यदि भै हाले पनि त्यो छिट्टै बिलय हुन सक्छ । त्यसैले प्रेम, नम्रता, सहनशिलता, धैर्यता, संयम, बाहेक अरू बिकल्प छैन । जुन कुरा गलातीको पुस्तकले हामीलाई प्रष्ट भनि सकेको छ ।

जसरी युवाहरू देशको भविष्य हो भनिन्छ त्यसरी नै मण्डलीको पनि भविष्य हो । यदि मण्डलीमा युवाहरूको भूमिका छैन भने ती मण्डलीहरू संख्यामा बृद्धि भएतापनि प्रभावकारी र दिगो हुन कठीन हुन्छ । त्यसैले युवाहरूको दृष्टिकोणबाट पनि मण्डलीले बिचार गर्नुपर्छ । युवाहरू आजको प्रविधिको प्रयोगमा सिपालु हुने भएकोले उनीहरूको सीप र दक्षतालाई पहिचान गरी उनीहरूलाई परिचालन गर्नुपर्छ । युवाहरूलाई नियन्त्रण भन्दा पनि अवसरहरूको वातावरण सृजना गरी निर्णय गर्ने कुराहरूमा सहभागी गराउनुपर्छ । जसले गर्दा मण्डलीमा ती युवाहरू सहभागी हुने मात्रै होइन तर जिम्मेवारी पाएर अघि बढ्ने हुन्छ । यिनीहरूलाई उत्साह र प्रेरणा मिल्छ । उनीहरूको जोस र सम्भाब्यतालाई व्यक्तित्व बिकास र मण्डलीको बिकासमा पूर्ण रूपमा सञ्चालन हुन दिन आवश्यक छ । परिणाम स्वरुप पछि गएर मण्डलीको संख्या मात्रै होइन तर विश्वासमा पनि बलियो भएर नेपाल देशलाई हाक्न सक्ने सक्षम हुनेछन् ।

के तपाईं अगुवाहरू यसको लागि तयार हुनुहुन्छ ?

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...