सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियनहरूलाई लगाइएका आरोपहरू – किन गल्ती बुझाइ ??

रेभ. डा. बाल कृष्ण शर्मा । लामो समयदेखि मैले सञ्चार माध्यमहरूमा ख्रीष्टियनहरूका बारेमा मानिसहरूले अति नै गल्ती कुरा गरेका र आरोप लगाएका विषयमा ख्याल गरिरहेको छु । अनावश्यक किसिमका टीका टिप्पणी गर्ने र एक व्यक्तिको इज्जत र उसको सम्मानमा पनि आँच पुर्याएको सुनेको र पढेको छु । यस किसिमका नकारात्मक टीका टिप्पणीले सामाजिक र धार्मिक सदभावलाई कमजोर बनाउँछ जसले गर्दा मेलमिलापमा बस्ने बातावरणमा आघात आउँछ । यसैले म सबैलाई संयम हुन र मर्यादित भाषा बोल्न र अरूहरूलाई दोष नलगाउनका लागि आग्रह गर्दछु ।

कतिपय धार्मिक अगुवाहरूदेखि राजनीतिज्ञहरू, समाजसेवीहरूदेखि र शिक्षाविद्हरूले समेत ख्रीष्टियन विश्वासलाई गलत किसिमले बुझेका र व्याख्या गरेका देख्दा आश्चर्य लाग्छ । लामो समयदेखि मैले धार्मिक आस्थाको बारेमा लेख्ने गरेको छु र यो आस्था भएको हुनाले कसैले पनि आस्थाको अभ्यासमा हस्तक्षेप गर्नुहुँदैन । राजनीतिक आस्थालाई परिवर्तन गर्न पाएजस्तै धार्मिक आस्थालाई पनि परिवर्तन गर्न पाउनुपर्छ र मानवअधिकारमा यो समावेश भएको छ । आज हामीले विश्वका विभिन्न देशहरूमा हेर्यौँ भने स्वतन्त्र रूपमा धार्मिक आस्था परिवर्तन गर्न पाउने स्वतन्त्रता छ । पश्चिमी मुलुकका लण्डन लगायत न्यूयोर्क र अन्य देशका सडकहरूमा हिन्दू धर्मको प्रचार भइरहेको छ । गाजाबाजासाथ प्रचार गर्ने, पत्रपत्रिका बाँड्ने, हिन्दू धर्ममा आउनका लागि आह्ववान् गर्ने कार्यमा कसैले हस्तक्षेप गरेको छैन । राष्ट्रले दिने त्यस किसिमको स्वतन्त्रतालाई हामी धार्मिक स्वतन्त्रता भन्छौँ । नेपालका मानिसहरूले ख्रीष्टियन देशहरू भनी चिन्ने देशहरूमा मानिसहरूले कुनै पनि धर्मको प्रचार र अभ्यासको स्वतन्त्रताको अनुभूति गरिरहेका छन् । मैले दिएका यी उदाहरणहरूले धार्मिक स्वतन्त्रताको महत्व र सबैलाई त्यो स्वतन्त्रता दिइनुपर्छ भन्ने कुरामा जोड दिन्छ ।

सञ्चारको माध्यमबाट प्राप्त जानकारी र नेपालका विभिन्न समाजमा ख्रीष्टियनहरूमाथि गरिएको व्यवहार अति नै पीडादायक देखिएको छ । धार्मिक आस्थाको अभ्यास गर्ने स्थानहरूमा आगो लगाइएको छ र बम बिस्फोटन गराइएको छ । कुनै आतंकवादी समूहले नै यसो गरेको हुनसक्छ । त्यो समूह कुन हो भन्ने कुरा नेपाल सरकारले पत्ता लगाइ उनीहरूलाई कानूनको दायरामा ल्याउनुपर्छ । माउलाई खानेले बाछोलाई पनि खान्छ भन्ने हेक्का सबैले राख्नुपर्छ । अहिले ख्रीष्टियनहरूका धार्मिक आस्थाका स्थानहरूलाई विनाश गर्नेहरूले अरू धार्मिक आस्थाका स्थानहरूलाई वा अन्य स्थानहरूलाई पनि विनाश गर्नसक्छन् । कसैको आस्थाको केन्द्रलाई कुनै पनि बहनामा कसैले विनाश गर्ने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन र यस्तो खालको कार्य कसैले पनि गर्नुहुँदन र गर्न लगाउनु पनि हुँदैन । यो कानूनको सामु मात्र अपराध होइन तर यो त विवेक र समाजको सामु पनि अपराध हो ।

नेपालको सन्दर्भमा अहिले ख्रीष्टियनहरूका विरूद्धमा लगाइएका केही आरोपहरू छन् जुन आरोपहरू न्यायसंगत छैनन् र गल्ती बुझाइबाट ती आएका हुन् । ख्रीष्टियन विश्वास के हो भन्ने कुरा बुझ्नका लागि कुनै व्यक्तिले निष्कपट रूपमा पहल गर्यो भने उसले सत्यता बुझ्नसक्ने थियो । तर समस्याचाहिँ त्यसो गर्ने इच्छा र स्वतन्त्र मनको अभाव नै हो ।

१. ख्रीष्टियनहरूलाई लगाइएका आरोपहरूमध्ये एउटाचाहिँ कुराहरू बुझ्नै नसक्ने र साधारण मानिसहरूलाई जवरजस्त ख्रीष्टियन बनाउने कार्य भयो भन्ने हो । धेरै मानिसहरूका मनमा रहेको यस्तो सोच वास्तवमा पूर्वाग्रही सोच हो । ख्रीष्टियन विश्वासलाई पछ्याएका मानिसहरूलाई कहिल्यै यस विषयमा सोधनी नगरी मनगडन्ते कुराहरूलाई सञ्चार माध्यममा प्रचार गरिएको छ । आफूले येशूलाई किन विश्वास गरेको हो भन्ने कुराको बारेमा साधारणभन्दा साधारण मानिसलाई थाहा छ । येशूमा विश्वास गरेपछिको परिवर्तनको अनुभव एक व्यक्तिसँग छ र त्यो परिवर्तन के हो भन्ने कुरा अर्कोले बताउने होइन तर स्वयम ती व्यक्तिलाई नै बताउन दिनुपर्छ र कुनै दबाब विना नै सो अनुभव बताउने वातावरण बनाउनुपर्छ । कुनै पनि उच्च शिक्षाको अनुसन्धानमा यो तरीका अपनाइन्छ । साधारणभन्दा साधारण व्यक्तिले येशूको उद्धारको योजनालाई बुझ्न र अनुभव गर्नसक्छन् । परमेश्वरको वचन बाइबल अनुसार एक व्यक्तिले येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभुको रूपमा ह्रदयमा विश्वास र मुखले स्वीकार गरेपछि त्यही क्षणमा नै एक व्यक्तिले पापबाट उद्धार पाउँछन् र परमेश्वरको बालबालिका बन्छन् । येशू ख्रीष्टमाथिको साँचो विश्वासले परमेश्वरले येशूमा पूरा गर्नुभएको उद्धारको कार्यलाई ग्रहण गर्छ र उद्धार पाउनका लागि एक व्यक्तिले हप्तौँ वा महिनौँ वा वर्षौँ पर्खुन पर्दैन । विश्वास गरेको क्षणमा नै उद्धार पाइन्छ । बाइबलीय शिक्षाले कर्म र जुनीको धारणमा विश्वास गर्दैन । कर्म र जुनीको धारणा स्वीकार गर्ने व्यक्ति कहिल्यै पनि आफूले उद्धार पाएको वा नपाएको कुरामा निश्चित हुनसक्दैन र उद्धार पाउने उद्देश्यले असल कर्म गर्नुपर्छ भन्ने मान्यतामा जिउँछ र कहिल्यै उद्धार पाएको निश्चयता हुँदैन । उद्धार पाउने कुरा कठिन हुन्छ भनी सोचेको हुनाले नै कर्म र जुनीमा विश्वास गर्ने व्यक्तिले कहिल्यै बाइबलको शिक्षालाई विश्वास गर्न सक्दैनन् किनकि उद्धार अति सजिलै र अति साधारण व्यक्तिले पनि प्राप्त गर्नसक्छन् भन्ने अवधारणा नै छैन । यसैले कर्म र जुनीमा विश्वास गर्ने आस्था र येशूमा तुरून्तै उद्धार पाइन्छ भन्ने आस्थाको बीचमा ठूलो खाडल छ । विश्व दृष्टिकोणमा फरक छ । यसैले त नबुझीकन ख्रीष्टियन भए भन्ने आरोप लगाइन्छ । हो, बाइबलअनुसार कर्म र जुनीको धारणाको कुनै ‍औचित्य छैन र पापबाटको क्षमा येशू ख्रीष्टको सधैँका लागि भएको एकपल्टको बलिदानद्वारा प्राप्त भएको छ र यस उद्धारको कार्यमा कसैले केही पनि थप्न सक्दैन । असल काम गरेर पापबाट उद्धार प्राप्त गर्न सकिँदैन तर ख्रीष्टद्वारा उद्धार पाएको व्यक्तिले असल काम गरेर अरूहरूको सेवा गरी आफ्नो साक्षी कायम राख्नुपर्छ । साधारणभन्दा साधारण व्यक्तिले येशूमा विश्वास गरेका कारण पापबाट मुक्ति पाउनसक्छन् र मुक्ति पाउनका लागि बाइबलका सबै कुराहरू बुझ्नैपर्ने माग गरिएको छैन । येशूमा विश्वास गरी उद्धारको अनुभव गरेपछि एक व्यक्तिले दिन प्रतिदिन येशू ख्रीष्ट परमेश्वरलाई चिन्नुपर्छ र उहाँको वचन बाइबललाई बुझ्नुपर्छ । उद्धार पाउनका लागि सबै कुरा बुझ्नुपर्ने माग होइन तर ख्रीष्ट येशूजस्तो हुन र परमेश्वर र मानिसहरूको सेवा गर्नका लागि परमेश्वरको वचन बाइबल बुझ्नु पर्छ । साधारण भन्दा साधारण व्यक्तिले परमेश्वरलाई विश्वास गरी उहाँलाई चिन्नसक्छ । साधारण व्यक्तिले पनि आफ्ना आमाबुबालाई चिन्नसक्छ । यो एक व्यक्तिको ख्रीष्टसँगको सम्बन्धमा भरपर्छ । त्यसैले साधारण व्यक्तिहरूले नबुझिकन येशूमा विश्वास गरेका छन् भन्ने कुराको कुनै अर्थ छैन । हामीले बाइबलले घोषणा गरेको उद्धारलाई कर्म र जुनीको अवधारणबाट होइन तर बाइबलीय अवधारणाबाट बुझ्नुपर्छ । यही किसिमको बुझाइलाई चर्च वा मण्डलीहरूमा घोषणा गरिने हुनाले मण्डलीका सदस्यहरूले येशू ख्रीष्टमा विश्वास गरी अनन्त जीवन पाएका छन् र उद्धार वा मुक्ति पाउनका लागि मृत्यु पर्खनु पर्दैन र यही जीवनमा उद्धारको अनुभव हुन्छ । अब कसैले पनि साधारण ख्रीष्टियनहरूलाई नदोष्याउनुहोस् ।

२. धनको प्रलोभनमा परी साधारण मानिसहरू ख्रीष्टियन भए वा ख्रीष्टियन बनाइए भन्ने आरोप छ । ख्रीष्टियनहरूले आज विश्वभरि किन येशू ख्रीष्टको बारेमा प्रचार गर्छन् र सबै देशका मानिसहरू ख्रीष्टियन बनिरहेका छन् भन्ने यथार्थलाई पनि बुझ्नैपर्छ । विश्वमा भएका देशहरूमध्ये सबै देशमा ख्रीष्टियनहरूको उपस्थिति छ । विश्वको धेरै धनाढ्य देशहरूका मानिसहरू पनि ख्रीष्टियन बनिरहेका छन् । किन तिनीहरू ख्रीष्टियन बने त ? के धनको खाँचोले होला त ? ख्रीष्टियन बनेपछि त तिनीहरूले चर्चमा पैसा दिनुपर्छ । नेपालमा पनि येशूमा विश्वास गर्ने मानिसहरूले आफ्नो कमाइको दशांश वा भेटी चर्चमा दिनुपर्छ । त्यसैले त नेपालका चर्चहरूमा पनि धेरै भेटीहरू जम्मा हुन्छन् । धनको प्रलोभनमा परी ख्रीष्टियन भइस् भनी कसैलाई दोष लगाउनु भनेको उसको मान हानी गर्नु हो । कसैलाई पनि त्यस्तो आरोप लगाइनुहुँदैन । मानिस चाहे धनी वा गरीब जे होस् उसको इज्जत हुन्छ र कसैलाई पनि झूटा आरोप लगाउनु भनेको उसको मान हानी गर्नु हो । सिङ्गापुरका ४० प्रतिशत मेडिकल डाक्टरहरू अन्य धर्महरूबाट ख्रीष्टियन बनेका हुन् । आज कोरिया, चीन लगायत विश्वका विभिन्न देशहरूमा करोडौँ मानिसहरू दिन प्रतिदिन ख्रीष्टियनहरू बनिरहेका छन् । किन विश्वव्यापी रूपमा मानिसहरू ख्रीष्टियन बनिरहेका छन् भन्ने कुरालाई पनि आरोप लगाउने व्यक्तिहरूले अध्ययन गर्नु आवश्यक छ । ख्रीष्टियन हुने वा येशूमा विश्वास गरी नयाँ जीवन र अनन्त जीवन पाउने कुरा कुनै मानवीय प्रयास र प्रलोभन होइन यसमा जीवित परमेश्वरको कार्य र अगुवाइ भएको हुन्छ । पवित्र आत्माले कायल नपारूञ्जेल कुनै पनि मानव ख्रीष्टियन बन्न सक्दैन । कोही धनको लोभमा ख्रीष्टियन बन्यो भने त्यो स्थिर भएर रहन सक्दैन । येशूमा विश्वास गरेपछि मात्र एक व्यक्ति ख्रीष्टियन बन्छ र यसको लागि परमेश्वरीय हस्तक्षेप चाहिन्छ ।

३. ख्रीष्टियन भएर विदेशी धर्मलाई माने र नेपालको संस्कृतिलाई नाश गरे भन्ने आरोप छ । धर्म एक आस्था हो र आस्था विदेशी र स्वदेशी भन्ने हुँदैन । भर्खरै एकता गरेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कम्युनिष्ट सिद्धान्तलाई जर्मनीका कार्लमाक्सबाट लिएको हो । चाहे कुनै पनि धर्म होस् वा राजनीतिक सिद्धान्त होस्, त्यो आस्था हो । आस्था स्वदेशी वा विदेशी भन्ने हुँदैन । महेन्जोदारो र हारप्पामा शुरू भएको हिन्दू धर्मलाई आज नेपालमा स्वीकार गरिएको छ र नेपालमा जन्मेका सिद्धार्थ गौतम बुद्धलाई विश्वका अरू देशहरूमा स्वीकार गरिएको छ र ती देशहरूमा बुद्ध विदेशी भएका छैनन् । विश्वको मध्यभाग एशियाको इस्राएलमा मानव बनी आउनुभएका येशू ख्रीष्टमा राखिएको विश्वास विदेशी कदापी हुनसक्दैन । ख्रीष्टियन धर्म विदेशी धर्म हो भन्ने कुरामा कुनै सत्यता छैन र त्यसो भन्नुचाहिँ भ्रम फैलाई मानिसहरूलाई गलत बाटोमा लैजानु हो । येशूमा विश्वास गर्नेहरूले आफ्नो संस्कृतिलाई अपनाइरहेका छन् । संस्कृति अपनाउनु भनेको देशको भाषा बोल्नु, देशमा चलेको पोशाक लगाउनु, देशमा उपलब्ध खानेकुरा खानु, आमाबुबा, दाजुभाइ र सबैलाई सम्मान र आदर गर्नु । अपवित्र र बेइमानी क्रियाकलापबाट अलग गरहनु हो । बाइबलले खराब कुराहरू नगर्न र असल कुराहरू गर्नका जोड दिएको हुनाले कसरी बाइबलको शिक्षा संस्कृतिलाई नाश गर्ने शिक्षा हुन सक्छ र ? कसै कसैले ख्रीष्टियनहरूलाई मन पराएनन् वा घृणा गरे भन्दैमा सत्यतालाई पनि बाङ्गो पारी दोष लगाउन मिल्छ ? यदि यो देशमा कोही सच्च देशभक्त र जनप्रेमी छन् भने ख्रीष्टियनहरू कोही भन्दा कम छैनन् । त्यसैले झूटा आरोपहरू लगाउन छोडौँ ।

यदि कसैले शान्ति प्रेमी ख्रीष्टियनहरूमाथि आरोप लगाउनुभएको छ भने, कृपया त्यसलाई बन्द गरौँ र सम्मानसाथ बोलौँ । हामी एक अर्कासँग असहमत हुनसक्छौँ तर त्यसको अर्थ हामी गलत कुरा गरेर मानिसहरूलाई भावनात्मक रूपमा उक्साउन चाहन्छौँ भने त्यो गैर जिम्मेवारी कार्य हो र सभ्य समाजको लागि त्यो लज्जास्पद कुरा हो । हामी सबै आस्थाका व्यक्तिहरू मिलौँ र आफ्ना कुराहरू सौहार्दतामा एका अर्कासँग बाडौँ र सबैका हितमा काम गरौँ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...