सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन युवाहरूको दायित्व अझ बढेको छ…

दिनेश श्रेष्ठ –

विश्वको जनसंख्याको तथ्याङ्कलाई हेर्ने हो भने कुल जनसंख्याको एक चौथाई भन्दा बढी भाग युवाहरूले ओगटिएको पाउँदछौं । संयुक्त राष्ट्रसंघले उन्नाइस वर्षदेखि २५ वर्षसम्मकालाई मात्र युवा मान्दछ । यही तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्या २५ वर्ष मुनिकाहरूको छ । प्रत्येक वर्ष लगभग तीन करोड मानिसहरू युवा उमेरमा प्रवेश गर्ने गर्दछन् । तर नेपालमा भने अठार वर्षदेखि लगभग चालिस वर्षसम्मकालाई पनि युवा मान्ने चलन छ ।

वास्तवमा युवाहरू भनेका परिवर्तनका संवाहक हुन् र नयाँ सृजनाका प्रणेता, नयाँ समाजका प्रवर्तक र विश्व इतिहास कोर्ने योद्धाहरू पनि हुन् भने राष्ट्र, समाज र समुदायका बलिया आधार स्तम्भ अर्थात समाजका पिल्लरहरू हुन् । युवावस्था केही गर्ने र कोही बन्ने मौका र परिस्थितिवस सृजित अवस्था पनि हो । जो कोही मानिसको युवावस्था मानव जीवनकै मुख्य केन्द्र विन्दु हो । यो अवस्थामा सही बाटो ठम्याउन नसकेमा वा कसैले असल बाटो नदेखाएको खण्डमा कतिपय युवाहरू कुलतमा फस्ने अथवा गलत बाटोमा पुगेका छन् । कतिपय युवाहरू सही बाटो ठम्याउँदै वा कसैको असल सुझाबलाई मानेर असल बाटोमा पनि हिंडेका छन् । हरेक मानिसको युवावस्थामा नै बल, तागत, साहस लगायत जीवनलाई मार्गदर्शन गर्ने एउटा योजनाले मुर्तरुप लिएको हुन्छ । जसले गर्दा भावी दिनहरूमा आफू हिड्नु पर्ने बाटो तथा देश, समाज र समुदायभित्र आफूले खेल्नु पर्ने दायित्वको खोजी भई रहेको हुन्छ ।

यस संसारमा वर्तमानदेखि हालसम्म जे जति परिवर्तन भए, ती सबैमा युवावर्गको अहंम् भूमिका रहेको छ । किनकि त्यो परिवर्तन ल्याउने क्षमता युवावर्गमा नै रहेको हुन्छ । साँचो रुपले हेर्ने हो भने संसारमा जे जति परिवर्तन भएका छन्, त्यस परिवर्तनमा मुख्य हात युवाहरूको नै रहेको देखिन्छ । किनभने त्यो परिवर्तन ल्याउनको लागि धेरै कठिन संघर्ष गर्नुपर्ने हुन्छ र त्यो संघर्ष युवाले मात्र गर्न सक्छन् । वास्तवमा यो युवा जीवन हामीमा सधैंभरि रहिरहँदैन, पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छ कि, हरेक कुराको निम्ति एउटा तोकिएको समय छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा विग्रदो देशको राजनीति, खस्कँदो अर्थव्यवस्था र बेरोजगारका कारणले युवा पुस्ताबीच नैराश्यता छाएको छ । विदेश पलायन रहर नभएर बाध्यता भएको छ भने पछिल्लो समयमा त झन् युवाहरू विदेश पलायन हुनेको संख्या बढी रहेको छ । कतिपय युवाहरू अवसर नपाई बेरोजगार हुनुको पिडाले कुलतमा फसेका छन् । कतिपय युवतीहरू भारतका बिभिन्न कोठीहरूमा बेचिन पुगेका छन् भने कतिपय युवतीहरू नेपालमै पनि बाध्यात्मक रूपले यौन व्यवसायमा धकेलिएका छन् भने कतिपय युवाहरू लागुपदार्थको दुव्र्यसनीमा फसेका छन् । वर्तमान युवाहरूले यहाँ सामाजिक र नैतिक चुनौतीको सामना गरिरहनु परेको छ ।

यथास्थितिमा मानिस रहन सक्दैन किनभने परमेश्वरले मानिसलाई सृजनात्मक शक्ति हालिदिनुभएको छ । संसारमा भएका यावत थोकहरू चलायमान भएकोले ती सबै नै परिवर्तनशील छन् । परिवर्तनको चक्र निरन्तर चलि नै रहन्छ । ती परिवर्तनहरूले हामी सामु थुप्रै चुनौती र अवसर पनि लिएर आउँछन् । भोलिका दिनमा झन् ठूलो परिवर्तन अवश्यम्भावी छ । त्यसैले भोलिको प्रभावशाली अगुवाहरू भनेका वर्तमानका युवा पुस्ता नै हो । त्यसैले भोलिको परिवर्तित विश्वका लागि राष्ट्र, समाज, समुदाय र ख्रीष्टिय मण्डलीको सुन्दर भविष्य निर्धारण गर्न सक्ने सक्षम अगुवाहरूको रूपमा हामी निर्माण हँुदै जानुपर्ने आवश्यकता रहेको छ । अब हामी हरेक युवाहरूले आफूलाई बाइबलीय मुल्य र मान्यता अनुसार चरित्र, निष्ठा, इमान्दारीता र दक्षताले पूर्ण बनाई परिवर्तित विश्वमा हामी युवाहरू सक्षम बन्नु परेको छ किनकि अब यो देश, समाज, समुदाय र ख्रीष्टिय मण्डलीको नेतृत्व गर्ने जिम्मेवारी हामी युवाहरूको काँधमा आइरहेको छ ।

नेपाली ख्रीष्टियन यवाहरूको पनि आफ्नो देश, समाज र समुदायको लागि दायित्व छ । त्यो दायित्व निभाउनका लागि हामी ख्रीष्टियन युवाहरू एकतामा आई एउटा साझा मञ्च बनाउनु र एकतामा रहेर देश, समाज र समुदायको हितका लागि योगदान दिनु अहिलेको आवश्यकता हो । हामी हाम्रो डिनोमिनेशन, राजनीतिक आस्थाभन्दा माथि उठेर देश, समाज र समुदायले देख्ने गरी उदाहरणीय कामको नेतृत्वदायी भूमिका खेल्ने समय आएको छ । विगतमा हाम्रा अग्रजहरूले जे जति पहलकदमी नेतृत्व गर्नुभयो, त्यसका लागि धन्यवाद दिंदै उहाँहरूकै सल्लाह र सुझाबमा हामी अघि बढौं । हामी सबै मिलेर एउटै साझा मञ्च बनाउने दिशातिर लागौं । देश, समाज र समुदायलाई हामी कसरी र के कस्तो योगदान दिन सकिन्छ, आफ्नो ठाउँबाट सोचौं । नेपाल देशलाई ख्रीष्टिय प्रेममा जित्नु आजको आवश्यकता पनि हो । हामीहरूले राज्यबाट पाउनु पर्ने हकहित हासिल गरेर त्यसलाई संरक्षण गर्दै देश उन्नतिशील पथमा पु¥याउनु हामी नेपाली ख्रीष्टियन युवाहरूको पनि दायित्व हो । यही यथार्थतालाई आत्मसात गरेर नै हामी ख्रीष्टियन युवाहरू एकसाथ जुट्नु परेको छ ।

ख्रीष्टियन युवाहरू एकसाथ जुट्नुको उद्देश्यहरू यस प्रकारका छन् ।

१. कुनै पनि सम्प्रदाय वा राजनीतिक दलको प्रभावभन्दा माथी रहेर स्वतन्त्र प्रकारले देश, समाज र समुदायको भलाईका लागि काम गर्ने ।
२. देश, समाज र समुदायका विभिन्न राष्ट्रिय समस्याहरूलाई सम्बोधन गर्दै ती समस्याहरूलाई निराकरण गर्न ख्रीष्टियन युवाहरू एकताबद्ध भई लाग्ने ।
३. चारतिर फर्किएर बसेका देश, समाज र ख्रीष्टियन अगुवाहरूलाई देश र समुदायको हितका लागि एकतामा ल्याउन पहल गर्ने ।
४. समस्त युवाहरूले भोगिरहेका बिभिन्न समस्याहरूलाई सम्बोधन गर्दै त्यसलाई निराकरण गर्नका लागि बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
५. युवा शक्तिलाई देश, समाज र समुदायका हितका लागि परिचालन गर्न युवा सशक्तिकरण अभियान सञ्चालन गर्ने ।
६. देश, समाज र समुदायभित्र रहेका बिभिन्न समस्याहरू पहिचान गरी ती समस्याहरू हटाउन युवाहरूको नेतृत्वमा पहल गर्ने ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...