काठमाडौ, २8 साउन । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको दोश्रो शिखर सम्मेलन आगामी वर्ष २०१९ मार्चको १२ देखि १४ सम्म नेपालको राजधानी काठमाडौँमा हुने तय भएको छ । संसारभर रहेका नेपालीभाषी पास्टर तथा ख्रीष्टियन अगुवाहरूलाई समेट्ने हेतुले नेपालमा जि.एन.एस.सि.एफ.को शिखर सम्मेलन आयोजना गरिएको जानकारी काठमाडौँस्थित वेथशालोम पुतलीसडक चर्चमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।
गत बुधबार वेथशालोम पुतलीसडक चर्चमा राजधानीका विभिन्न चर्चका पास्टर तथा अगुवाहरूलाई भेला गरी जि.एन.एस.सि.एफ.ले आगामी वर्ष २०१९ को मार्चमा आयोजना गर्न लागेको दोस्रो शिखर सम्मेलनका बारेमा भिजन कास्टिङ गरेर सार्वजनिक गरेको थियो । भिजन कास्टिङ कार्यक्रममा भारतबाट आउनुभएका रेभ. पास्टर नारायण प्रधान, रेभ. दयारत्न प्रधान लगायतकाहरूले यो सम्मेलन नेपालमा आयोजना गर्नुको महत्वको बारेमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपका नेपाल संयोजक पास्टर लाजरस थुलुङ लगाएत जि.एन.एस.सि.एफ.का नेपालका पदाधिकारीहरू एल्डर रामप्रसाद श्रेष्ठ, पास्टर देवकुमार क्षेत्री, पास्टर डिल्लीराम पौडेल लगायतकाहरूले सम्मेलनको महत्वको बारेमा र आगामी शिखर सम्मेलनका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा आयोजकले जि.एन.एस.सि.एफ.को शिखर सम्मेलन आगामी मार्च १२ देखि १४, २०१९ मा ललितपुरको सानेपास्थित एक पार्टी प्यालेसमा आयोजना हुन लागेको जानकारी गराइएको थियो । उक्त शिखर सम्मेलनमा विभिन्न ४० राष्ट्रबाट १२०० भन्दा बढी पास्टर तथा अगुवाहरू सहभागी हुने आशा लिएको कुरा आयोजकले बताएको छ । सम्मेलनमा सहभागी हुनको लागि बुधबारबाट नै फारम वितरण गर्न शुरु गरेको छ । आयोजकले बताएअनुसार जि.एन.एस.सि.एफ.को वेबसाइड www.gnscf.org मा गएर फारम डाउनलोड गरी भरेर इमेल गरी दर्ता शुल्क तिर्न सकिने छ ।
स्मरण रहोस् जि.एन.एस.सि.एफ.को पहिलो शिखर सम्मेलन सन् २०१७ को मार्चमा भारतको सिलगुडीमा आयोजना भएको थियो जहाँ एक दर्जन भन्दा बढी रास्ट्रबाट बाह्र सय पास्टर तथा अगुवाहरू सहभागी भएका थिए ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४