ख्रीस्टियन खबर- १८ चैत्र २०७४, काठमाण्डौँ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यका लगायत देशका पूर्वदेखि पश्चिम नेपालसम्मै विभिन्न ठाउँहरूमा रहेका ख्रीस्टियन समुदायहरूले पुनरूत्थान महोत्सव २०१८ भव्यताका साथ मनाएको खबरहरू प्राप्त भएका छन् । त्यसैगरी काठमाण्डौँ उपत्यकामा रहेका विभिन्न चर्चहरूको संयुक्त आयोजनामा विभिन्न मण्डलीका पाष्टर, अगुवा तथा विश्वासीहरूको व्यापक सहभागीतामा पुनरूत्थान (इष्टर) महोत्सव २०१८ खुल्लामञ्चमा भव्यताका साथ सम्पन्न भएको छ ।
आजको दिन बिहान सबेरै ख्रीस्टियन समुदायहरू आ-आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि सहरका विभिन्न ठाउँमा भेला भई शान्ति प्रार्थनामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ पुनरूत्थान महोत्सव २०१८ मा सहभागी भएका थिए । रत्नपार्कस्थित खुल्लामञ्चमा भेला हुनु अघि सहरका विभिन्न ठाउँबाट निकालिएको शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय मण्डलीबाट पुनरूत्थान सम्बन्धी आशामूलक सन्देशहरू लेखिएको संयुक्त व्यानर र प्लेकार्डहरू लिएर निस्किएको थियो । सो शान्ति प्रार्थना पदयात्रा काठमाडौंको चावहिल, ज्ञानेश्वर, काटेश्वर,तिनकुने, बानेश्वर, बालकुमारी, ग्वार्को, मंगलबजार, जावलाखेल कलंकी,बल्खु, कालिमाटी लगायत उपत्यकाका विभिन्न ठाउँ हुँदै खुल्लामञ्चमा पुगरे संयुक्त सभामा परिणत भएको थियो । महोत्सवका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने स्तुति प्रशंसाको अगुवाइ गायक राजेश राई र उहाँको संगीत झुण्डले गर्नुभएको थियो ।
विभिन्न अतिथि तथा पाष्टर अगुवाहरूले बेलुन उडाएर महोत्सवको समुदघाटन गर्नुभएको सो महोत्सवमा नेपाली सुमधुर संगीतका चर्चित गायिका अन्जु पन्त र ख्रीस्टियन जगतका चर्चित गायक राजेश राई र गायिका सुस्मिता राई लगायत विभिन्न संगीत झुण्डले महोत्सवमा विशेष गीतहरू, ट्याम्बोरिन डान्स, नृत्य प्रस्तुत गर्नुभएको थियो । महोत्सवका प्रमुख वक्ता रेभ. डा. मंगलमान मर्हजनले परमेश्वरको आशिषमय वचन मार्फत पुनरूत्थानको सन्देश बाँड्नुभएको थियो भने एनसिफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङ, नेपाल ख्रीस्टियन समाजका महासचिव पा. डिल्लीराम पौँडेल र राष्टिय ख्रीस्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजले शुभकामना मन्तव्य दिनुभएको थियो । महोत्सवमा देशका लागि सामुहिक प्रार्थना समेत गरिएको थियो भने उक्त महोत्सवको संचालन एल्डर शेर ए.सी. र पा. सागर बैजुले गर्नु भएको थियो भने पा. पदमनाथ पराजुलीले महोत्सवमा सहभागी लगायत सबैलाई धन्यवाद दिनु भएपछि महोत्सव समापनको प्रार्थना रेभ. डा. सुन्दर थापाले गर्नुभएको थियो ।
यस वर्ष काठमाडौँको खुल्लामञ्चमा आयोजित इस्टर महोत्सवको कार्यक्रममा काठमाडौँस्थित नेपालकै ठूला सम्प्रदाय भनेर चिनिएका अगापे, एजी, बप्तिस्ट लगायतका मण्डलीहरूको सहभागिता थिएन भने भक्तपुर, काठमाडौँको मुलपानी लगायतका ठाउँहरूमा पनि छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका थिए । काठमाडौँको खुल्लामञ्चमा आयोजित इस्टर महोत्सवको कार्यक्रममा यस वर्ष नेपालकै ठूला सम्प्रदाय भनेर चिनिएकाहरूको सहभागिता नभएपनि अघिल्लो वर्ष जस्तै ख्रिस्ट भक्त मानिसहरूको सहभागिता थियो भनेर सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।
स्मरण रहोस्, येशु ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले दिन सम्पूर्ण ख्रीष्टियन समुदायले यो दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका छन् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४