
४ जुलाई २०२०, काठमाडौं । नेपाली पत्रकारीता र ख्रीष्टियन समुदाय र साहित्यमा इतिहास रचेका पादरी गंगा प्रसाद प्रधानको १६९ औं स्मृति दिवस काठमाडौंमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
ख्रीष्टियन मिडिया संगतिले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सहअध्यक्ष रिता काबो, नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल, होसन्ना मण्डलीका पास्टर राजु सुन्दास, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रबक्ता पा. उध्दव चिमौरिया, युवा पास्टर प्रदिप कुमार प्रजापति, युवा मेन्टोर हिरा खड्गी लगायतका बक्ताहरूले विषयबस्तुमाथि आफ्नो धारणा राख्नु भएको थियो । पत्रकार कुमारसिंह बिष्टले पादरी गंगा प्रसाद प्रधान र उनले गरेका योगदानको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अर्का पत्रकार दिनेश श्रेष्ठले आजको अन्तरक्रिया कार्यक्रमको विषयबस्तु पादरी गंगा प्रसाद प्रधानको योगदान तथा वर्तमान समयमा हाम्रो चुनौती र अवसर विषयलाई आफ्नो मन्तब्य राख्नु भएर उठान गर्नुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले ख्रीष्टियन समुदायमा एकता हुनुपर्ने र नेपाली ख्रीष्टियन जगतमा ठूलो योगदान पुर्याउने पादरी गंगा प्रसाद प्रधानलाई नेपाली ख्रीष्टियन समुदायले भुल्न नहुने मत राख्नुभएको थियो । आगामी दिनहरूमा पादरी गंगा प्रसाद प्रधानको जन्म स्मृति दिवस कार्यक्रमलाई थप व्यवस्थित तथा जिम्मेवारीपूर्ण तरिकाले अगाडि बढाउँदै लैजानु पर्ने कुरामा जोड दिनुभएको थियो ।
साथै उक्त कार्यक्रममा पादरी गंगा प्रसाद प्रधानले रचना गरेका केहि भजन गीत अञ्जन घलेले गाएर सुनाउनु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन पत्रकार विश्वास थापाले गर्नुभएको थियो । शुरुको प्रार्थना पास्टर राजेश पन्तले गरी शुरु भएको सो कार्यक्रमको अन्त्यमा पास्टर सोनाम टि. काबोले गर्नुभएसँगै अन्त्य गरिएको थियो । ख्रीष्टियन मिडिया संगति आयोजक रहेको सो कार्यक्रममा सह-आयोजकमा एल्-शद्दाई नेपाल र ख्रीष्टियन प्लस टि.भि. रहेका थिए ।
स्मरण रहोस्, आज भन्दा १६९ वर्षअघि नेपालको काठमाडौंस्थित ठमेलमा जन्मिएका पादरी गंगा प्रसाद प्रधानले नेपाली भाषाको पत्रकारितामा मात्र होइन तर अन्य विभिन्न विधामा पनि योगदान पुर्याएका थिए । पवित्र धर्मशास्त्र बाइबललाई नेपाली भाषामा अनुबाद गरेका उनलाई नेपाली ख्रीष्टियन समुदायमा नेपाली भाषीको पहिलो पास्टरको रुपमा पनि चिन्ने गरिएको छ । उनले पत्रकारीतामा मात्र नभई संगीतको क्षेत्रमा पनि ठूलो योगदान पुर्याएका थिए ।
फोटोः कुमारसिंह बिष्ट