२०७७ बैशाख ०८ गते, ललितपुर । ललितपुरको बुङ्मती नजिकै फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी संख्यामा रहेका मजदुरहरूका लागि आज राहत वितरण गरिएको छ ।
फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरूको बिचमा समाजसेवी पास्टर राजेश पन्त र वचन टि. भि.का निर्देशक विश्वास थापाको संयोजकत्वमा र वडाका प्रतिनिधिहरूको समन्वयमा विश्वभर फैलिएको महामारीका कारण देशभर भएको लकडाउनको विषम परिस्थितिमा राहत स्वरुप खाद्यान्न सामाग्रीहरू जस्तैः चामल, नुन, तेल, तरकारी लगायतका सामाग्रीहरू उपलब्ध गराइएको हो ।
सो राहत वितरण कार्यक्रमका क्रममा भेटिएका कतिपय अशक्त, सुत्केरी र बिरामीहरूलाई केहि नगद समेत उपलब्ध गराइएको थियो । पास्टर राजेश पन्तका अनुसार हिजो र अस्ति पनि उहाँहरूले राहत वितरणको कार्य सञ्चालन गर्नुभएको थियो । अस्ति, हिजो र आज गरेर २०० जना दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरूलाई राहत बाँडिसकेको उहाँले बताउनुभयो ।
उहाँहरूले अझै आउँदा दिनहरूमा यसरी नै निरन्तर रुपमा वडा कार्यालयको प्रतिनिधिहरूसँग सहकार्य गर्दै अति आवश्यकतामा परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । साथै आगामी दिनमा गरिने यस खालको सहयोग कार्यको लागि सम्पूर्ण पास्टर तथा मण्डलीहरूसँग साथ सहयोगको अपेक्षा पनि उहाँहरूले गर्नुभएको छ ।
तपाईंहरू मध्ये कोहि खाना खान नपाई भोकै पर्नुभएको छ वा तपाईंको छिमेकमा कोहि खाँचोमा पर्नुभएको छ भने सिलोआम मण्डलीका पास्टर राजेश पन्त तथा वचन टि. भि.का निर्देशक विश्वास थापालाई ९८०३६९४३८१, ९८४११६५२०५ मा सम्पर्क गरी सहयोग लिन सक्नुहुने कुरा उहाँहरूले हामीलाई बताउनुभएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४