रामहरि थापा ‘विश्वास ‘।
पछिल्लो समयमा राज्यका निकायले ख्रीष्टियनहरूलाई विभिन्न आरोपहरू र मुद्दा लगाउने कार्य नीतिगत रुपमा नै स्थापित भइरहेको छ । विशेष गरेर सरोकारवाला निकायले ख्रीष्टियनहरूलाई धर्मान्तरण गरेको आरोप लगाउने कार्य चुलिएको छ तर धर्मान्तरण गरिएको व्यक्ति भने कुनै पनि प्रमाणित गर्न सकेको छैन । अल्पसंख्यक ख्रीष्टियनहरूमा जे गर्दा पनि हुन्छ भन्ने उदाहरण प्रशस्त जीवन मण्डलीका पास्टर केशव आचार्यबाट प्रष्ट भएको छ ।
पास्टर केशव आचार्य को हुन् ?
जुम्ला स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–३२ खुदी सुकुमबासी टोल बस्ने पोखरा महानगरपालिका–२९, पावरहाउसस्थित प्रशस्त कटनी मण्डलीका पास्टरको रुपमा उनले कार्य गरिरहेका छन् । पास्टर शमूएल तामाङले सञ्चालन गरिरहनु भएको आइजिएम सेवकाइमा प्रत्यक्ष सम्बन्ध उनको रहेको छ । पछिल्लो समयमा यो सेवकाइले विरोध र समर्थन दुबै खेपिरहेको छ ।
गत २०७६ साल चैत १० गते सोमबारका दिन कास्की जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । मानिसहरू जम्मा गरी धर्मको नाममा झुठा एवम् भ्रामक अभिव्यक्ति दिई कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई उक्त झुठा भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युब तथा सामाजिक सञ्जालमा राखेर धर्म प्रचार र प्रसारको गरेको हुनाले उनलाई पक्राउ गरेको जानकारी नेपाल पुलिसको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
पत्रकार श्रवण बोम्जनले पास्टर केशव आचार्यलाई ख्रीष्टियन भनेर पक्रेको होइन भन्ने एक लेखमा जिकिर गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनेको समय र नेपाल पनि सोको न्युनिकरणमा लागिपरेको समयमा आ–आफ्नो धर्मको अभ्यास अनुसार प्रार्थना गर्दैगर्दा अफवाह फैलाएको भन्दै झुठा आरोप लगाई पक्राउ गरि सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने र कानूनी राज्यको उपहास गर्ने काम राज्यबाट भएको हुँदा यस्तो निन्दनीय कार्य यथाशिघ्र रोक्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा प्रसारित भिडियो सामाग्रीको अध्ययन गर्दा उक्त भिडियोमा दिइएको अभिव्यक्ति पास्टर आचार्यको सम्बन्धित मण्डलीभित्र प्रचार गरेको प्रवचन रहेको प्रस्ट देखिन्छ । सो अभ्यास नेपालको कानुन विपरित नभएको र प्रकाशित समाचारहरूमा आएजस्तो “झुठा, भ्रमपूर्ण अभिब्यक्तिको भिडियो बनाई युट्युब तथा सामाजिक सञ्जालहरूमा समेत अपलोड र शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको” भन्ने कुरामा कुनै सत्यता नभएको महासंघको ठहर छ भनेर महासंघले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ । महासंघले विना सर्त रिहाई गर्न सम्बन्धित पक्ष तथा नेपाल सरकार, राजनीतिक दल, सम्पूर्ण मानवअधिकारकर्मी, कुटनीतिक नियोग, नागरिक समाज, अन्तरधार्मिक समुदाय, पत्रकार मित्रहरू लगायत आम नागरिक समुदायलाई हार्दिक अपिल समेत गरेको छ ।
विना सर्त पास्टर केशव आचार्य रिहाई हुनु पर्दछ भनेर सामाजिक अभियन्ता जीवन रायमाझीले पनि जोडदार रुपले सम्बन्धित पक्षसँग अपिल गर्नुभएको छ ।
पास्टर केशव आचार्यको पक्ष र विपक्षमा प्रष्ट रेखा देखिन थालेको छ । एक पक्षले ख्रीष्टियन भएकोले समातिएको हो भन्दछ भने अर्को पक्षले कोरोना भाइरसको भ्रमपूर्ण प्रचार गरेकोले समातिएको भन्ने जिकिर गरिरहेको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा भिडियो हाल्दा अनेक काण्डहरू मच्चिएको हामीले देखिआएका छौं । अब सोचेर र विचार गरेर मात्र आफ्ना सामाग्रीहरू सामाजिक सञ्जालमा प्रस्तुत गर्ने समय आएको छ । पास्टर केशव आचार्यले गर्न खोजेको कुरा सही त हो तर केही तरिका मात्र उनले मिलाउन नसकेको देखिन्छ । यसैलाई आधार बनाएर अल्पसंख्यक धार्मिक समुदायलाई राज्यले सौतेनी छोरालाई जस्तो व्यवहार गर्न पाइँदैन । तसर्थ म पनि उनको चाँडो भन्दा चाँडो रिहाईको माग गर्दछु ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४