केपी अधिकारी, (अगुवा) फिलाडेल्फिया चर्च, ललितपुर ।
विगत केही हप्तादेखि चीनबाट सुरु भएको “कोरोना कोभिड–१९” नामक भाइरसले दुनियाँलाई छोएको छ । संसारका मानिसहरू आज यसबारे चिन्तित छन् । युरोप र अमेरिकाका कतिपय मुलुकहरूमा सरकारले राष्ट्रिय संकट नै घोषणा गरिसकेको, लक डाउन गरेको अवस्था छ भने एसिया र अफ्रिकन मुलुकहरूमा पनि सन्त्रास फैलिइरहेको छ र नेपालमा पनि यो अवस्था नआउला भन्ने कुनै विश्वस्तता छैन । विश्व स्वास्थ्य सङ्गठन (WHO) ले पनि यो समस्यालाई “ग्लोबल हेल्थ इस्यु” भनेर नामाकरण गरिसकेको अवस्थामा आज विकसित र शक्तिशाली, विकासशील र अति कम विकसित सबै राष्ट्रहरूमा सरकार र नागरिकलाई यो भाइरस अति चुनौतीपूर्ण भएको छ । दिनको ५००० मानिसहरूमा संक्रमण भइरहेको यसले विश्वलाई अदृश्य र दृश्य दुवै रुपमा ठूलो चुनौती दिइरहेको र १७० भन्दा बढी राष्ट्रलाई असर गरिसकेको अवस्थामा नेपालमा सोचे जस्तो र आँकलन गरेजस्तो स्थिति पैदा त अहिलेसम्म भएकै छैन तर सतर्क रहनु जरुरी छ । अनि नेपालीहरूमा त्यति धेरै त्रासको मनस्थिति नरहेको देखिन्छ । तर चीन र इटाली देशहरूमा जस्तो संक्रमित अवस्था आयो भने के होला भन्ने अदृश्य डर र चिन्ता भने सर्वत्र छ ।
सरकारले पनि तदारुकताका साथ स्थितिको सामना गर्न देशका सयौं स्थानहरूमा तयारी गर्नु पर्ने र दिन दिनै हामी हाम्रा जनताका लागि सजग छौं र यी स्थानहरूमा, अस्पतालहरूमा, सेन्टरहरूमा तुरुन्त सम्पर्क गर्नु भन्ने जस्ता जवाफदेहिताका सूचनाहरूको सम्प्रेषण पनि यथेष्ट मात्रामा भएको पाईंदैन । भिडभाड, भोज भतेर, मास मिटिङ, धार्मिक सभा सम्मेलन आदि नगर्नु भन्ने सूचना भने जारी गरेको छ, जुन सकारात्मक छ । नेपाल सरकारले पनि २५ जनाभन्दा माथि भेला नगर्नु भन्ने सूचना जारी भएको र शिक्षालयहरूको सम्पूर्ण कार्यक्रम पनि स्थगन भएको यस अवस्थामा जनस्वास्थ्यसँग सरोकारको विषम परिस्थितिलाई सरकारी संयन्त्रले कसरी अलर्ट र तयारी गरेको छ भन्ने खबर आम जनताले पाउने मेकानिज्म भएमा धेरै राम्रो हुने थियो । हामी सबैको लागि हित हुने गरी सरकारले जारी गरेको सूचनालाई लागू गर्ने र एकले अर्कोलाई उत्साह दिने कार्यमा जुट्नु अति नै राम्रो हुनेछ । सरकारले देशका सातै प्रदेशमा क्वारेन्टाइनको व्यवस्था गर्ने, जिल्ला जिल्लामा अस्पतालहरू तयारी गर्ने, गाउँ र नगरपालिका स्तरीय क्वारेन्टाइनहरु स्थापना गर्ने, घर घरमा पनि न्युनतम मापदण्ड सहितको व्यवस्था गर्न जनतालाई सूचना गर्ने, घण्टा घण्टामा सरकारी बुलेटिन हेर्न र रेडियोमा सुन्न अनि सरकारी सूचनाको सामाजिक सञ्जालमा पोर्टल राखी सूचना गर्ने जस्ता व्यावहारिक कुराहरू गरिदिएमा राम्रो हुने थियो ।
देशको यस परिस्थितिमा नेपाली मण्डलीको भूमिका के हो त भन्ने जिज्ञासा आम ख्रीष्टियन विश्वासी जनहरूमा रहेको अवस्थामा नेपालका खास गरी मेन लाइन चर्चका अगुवाह ख्रीष्टियन अनि ख्रीष्टियन मण्डलीका बिभिन्न समुहहरूले एक भएर समग्र ख्रीष्टियन समाजका लागि मान्य हुने र सम्बोधन हुने गरी यथाशिघ्र धारणा सम्प्रेषित गर्नु नै आजको आवश्यकता हो ।
नेपालमा पनि अधिकांश मण्डलीले आफ्ना आराधना सेवा र संगतिका स्वरुपहरू परिमार्जन गरी सङ साना संगति झुण्डहरूमा शुरु गर्न लागेको र यसलाई सबैले अनुसरण गर्नु र गराउनु आजको आवश्यकता हो । हामीले यस स्थितिमा सरकारले जारी गरेका सूचनाहरूलाई मध्यनजर गर्दै हामी वरिपरि रहेको समाजमा पनि सचेतनाका र साबधानीका बारेमा आफ्नो परिवार, छिमेकी, नातागोता सबैलाई जानकारी दिनु पर्दछ । यस समयमा हाम्रो सानो उत्साहको शब्दले पनि अरुलाई निकै सान्त्वना दिएको हुन्छ । मास्क प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने, साबुन प्रयोग गर्ने, भिडभाडमा नजाने, समय समयमा ज्वरो छ भने नापी रहने र अप्ठेरो लागेमा नजिकको स्वास्थ्य केन्द्रमा जाने कुरा सबैलाई सुसुचित गर्नु हाम्रो कर्तव्य र सेवा पनि हो । मण्डलीका विश्वासी सदस्यहरूलाई बढी केयर गर्ने र सतर्कता सहित वचन अध्ययन र प्रार्थनामा लागि रहन निरन्तर प्रेरणा दिने जस्ता कार्य गर्नु नितान्त आवश्यक छ । बाइबलले हामीलाई स्पष्टसँग निर्देशित गरेको छ कि हामी अझै नम्र बनेर, पापहरू स्वीकार गरेर, परमेश्वरतिर फर्केर देश, मानिस र मण्डली अनि समग्र देशका लागि प्रार्थनामा जुट्नु पहिले सर्त हो अनि यसलाई परमेश्वरले सुन्नु हुन्छ र देशलाई बिपत्तिबाट जोगाउनु हुन्छ अनि देश निको हुँदछ, तसर्थ हामी डराउनु पर्ने छैन, केवल उहाँको प्रतिज्ञालाई मनन् गर्ने र निरन्तर प्रार्थना सबैको लागि गरि नै रहनु पर्दछ तर कुनै रुढीदेखि डराउनु पर्दैन (२ इतिहास ७ः१४, भजनसंग्रह ९१ः३ ,६) ।
परमेश्वरले हामीलाई निको पार्ने प्रमुख तीन तरिकाहरू तयार पारिसक्नु भएको छ ।
१. परमेश्वरले हामीलाई तुरुन्तै निको पार्नु हुन्छ, परमेश्वरले आफ्ना जनको रक्षा गरी नै रहनुहुन्छ, जब हामी संकटमा रहन्छौं अनि परमेश्वरतिर हाम्रा हातहरू फैलाऔं तब हामी निको हुनेछौं । (मत्ती१२ः१३)
२. परमेश्वरले हामीलाई आफ्नो विशेष प्रक्रियाद्वारा निको पार्नु हुन्छ, हामी हाम्रो अवस्थालाई तुरुन्तै निको भएको चाहन्छौं तर परमेश्वरको आफ्नो तरीकाले हामी अवश्य निको हुनेछौं । (मर्कुस८ः२२–२५)
३. परमेश्वरले हामीलाई निको पार्नु नै हुन्छ । हामी कतिपय समयमा हाम्रा आफ्ना कामका कारण, घमण्डका कारण अनि मानिसरुपी शेखीका कारण परमेश्वरको अनुग्रहदेखि अलि टाढा पुग्छौं । सो अवस्थामा पनि हामी तीनपल्टसम्म अथवा बढी पनि आफ्नो शरीरबाट काँडा हटोस् भनि निरन्तर प्रार्थना गरी नै रहनु पर्दछ ताकि उहाँको अनुग्रह हामीहरूका निम्ति प्रशस्त छ । (२ कोरिन्थी १२ः७–९)
आज विश्वका देशहरूमा बजार सुनसान भइसकेको छ, सामाग्रीको अभावको वातावरण छ, मानिसहरूले आफ्नो यात्रा बन्द गरेका छन् , सरकारले आपतकालिन समय भनेर घोषणा गरिरहेका छन्, सिनेमा हाल, सुपर मार्केट, सभा सम्मेलन, खेलकुदहरू, धार्मिक सभाहरू, शिक्षालयहरू बन्द भइ रहेका छन्, वकालत गर्ने काम, उत्सव मनाउने सबै कार्यहरू स्थगित भएका छन्, अनि सीमाहरू धमाधम ब्लक डाउन भएको अवस्था छ । यस अवस्थामा हामी सबैले आफ्नो आफ्नो स्थानबाट, संगतिबाट विश्वको लागि प्रार्थना गर्नु जरुरी छ किनभने हाम्रो प्रार्थनाको सुनुवाई परमेश्वरले गर्नु हुन्छ र समग्र देशलाई निको पार्नु हुन्छ ।
नेपालमा रहेका तमाम ख्रीष्टियनहरूले, मण्डली समूहहरूले आफ्नो देशको लागि, विश्व मानव समाजको लागि निरन्तर प्रार्थना गर्ने र सबैलाई सजग गराउने अनि मण्डलीले आपतकालिन उपायको समेत जोहो गर्नु नै बुद्दिमानी देखिन्छ अनि सकेसम्म आफू रहेको समाजमा सबै मानिसहरूलाई सेवा गर्नु अति नै असल हुनेछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४