काठमाडौं, २०७६ चैत्र ५ गते । जनजागरण पार्टी नेपाल र आमुल परिवर्तन मसिहा पार्टी नेपालबिच एकिकरण गर्ने सहमति गर्दै एकिकृत पार्टीको नाम आमुल परिवर्तन जनजागरण पार्टी नेपाल राख्ने निर्णय भएको छ ।
काठमाडौंमा हिजो बसेको दुई पार्टीका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो । जानकारीमा आए अनुसार हिजो बिहान ११ बजेदेखि बेलुकीसम्म बसेको सो बैठकले पार्टी एकिकरण गर्ने सहमति निकालेको हो । दुई पार्टी एकिकरण गर्ने सहमति भएको हिजोको त्यो बैठकमा पा. राजेन्द्र मल्लको मध्यस्थतामा एपि मसिहा पार्टीबाट अध्यक्ष भरत गिरी र जनजागरण पार्टी नेपालका तर्फबाट बागमती प्रदेश प्रमुख तथा केन्द्रीय स्थायी कमिटी सदस्य सुनिल महर्जन सहभागी हुनुभएको थियो । सहमति भइसकेपछि बेलुकी जनजागरण पार्टीका महासचिव वि.पि. खनाल पनि बैठकमा पुगेर सहमति जनाउनुभएको थियो ।
अब एकिकृत भएर बन्ने आमुल परिवर्तन जनजागरण पार्टीमा दुई जना अध्यक्ष रहनेछन् । अध्यक्षमा भरत गिरी र वि.पि. खनाल रहने सहमति पनि भएको छ भने बाँकी पदहरूमा सहमतिमा नै समानताका आधारमा बाँडिने जनाइएको छ । साथै आस्था मिल्ने अन्य राजनीतिक दलसँग पनि एकताका लागि वार्ताको ढोका खुल्लै राखिने उहाँहरूले प्रतिक्रिया दिनुभएको छ ।
हिजो भएको सहमतिका बारेमा आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीसँग प्रतिक्रिया लिदा यस सहमतिले नेपालका ख्रीष्टियन लगायत अल्पसंख्यक धार्मिक समुदायमा खुशी छाएको छ र अल्पसंख्यक धार्मिक समुदायको आवाज संसदसम्म पुग्ने ढोका खुलेको प्रतिक्रिया दिनुभयो । नेपाललाई भ्रष्टाचारमुक्त र पक्षपातरहित धार्मिक स्वतन्त्रता सहितको पूर्ण लोकतान्त्रिक गणतान्त्रिक एक समृद्ध नेपाल बनाउने अभियानमा आफूहरू लागेकोले सबैले साथ, सहयोग र प्रार्थनामा याद गरिदिनुहुन अनुरोध पनि उहाँले गर्नुभयो ।
त्यसैगरी जनजागरण पार्टीका महासचिव वि.पि. खनालसँग प्रतिक्रिया लिदा उहाँले समान मूल्यमान्यता र दर्शन बोकेका दलहरूको एकताको लागि जस्तोसुकै मूल्य चुकाउन आफू तयार छु भन्दै आएको हुँदा मैले उहाँहरूको प्रयासमा सहमति जनाएर सधन्यवाद निर्णय स्वीकार गरेको हुँ । अब बलियो एकताले मुलुकमा नयाँ उभार ल्याउने बताउँदै कसैले पनि आफ्नै निजी लालसामा राजनीति नगरौं र देशमा नयाँ नैतिक साक्षीसहितको नेतृत्व प्रदर्शन गर्ने अटल प्रतिबद्धता सबैमा देख्न पाइने र नयाँ बन्ने दल सामुहिक नेतृत्वमा निरन्तर अघि बढ्ने छ भनेर प्रतिक्रिया दिनुभयो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४