२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लेख: सपथ र सत्यता

राजेश भुजेल ।

आजको युगमा सत्य व्यक्ति भेट्नु भनेको परालको थुप्रोमा हराएको सियो खोज्नु जत्तिकै कठीन हुन जान्छ । प्रायः हरेक क्षेत्रमा मानिसले झुट बोल्ने गर्दछन् । कार्यालयमा कर्मचारीले, साथीले साथीलाई, छोराछोरीले अभिभावकलाई, श्रीमान श्रीमतीमा एकले अर्कालाई प्रायः गरेर केहि न केहि विषयमा झुट बोल्ने गर्दछन् । बाइबलमा हामी पाउँदछौँ, जहाँ येशू ख्रीष्टले एउटा महत्वपूर्ण कुरा भन्नुभएको छ, सत्यतामा जिउने विषयमा (मत्ती ५ः३३–३७) ।

प्राचिन समयका मानिसहरूलाई पुरानो करारको पुस्तकमा भनिएको थियो कि “तिमीहरूले मेरो नाउँमा झुटा सपथ नखानू, त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ, म परमप्रभु हुँ” (लेवी १९ः१२) । यो कुरालाई फरिसीहरूले यसरी बुझे कि परमेश्वरको नाउँमा मात्र सपथ नखानु भनेको हो, त्यो भन्दा अरू नाउँमा त सपथ खान हुन्छ भन्ने उनीहरूको बुझाइ रहेको थियो । अनि उनीहरू परमेश्वरको नाउँमा त सपथ खाँदैन थिए तर अरू विभिन्न नाउँमा भने सपथ खाने गर्दथे । फरिसीहरूले गलत बुझेको कारण येशूले बुझ्ने गरी भन्नुभयो कि कसम भनेको खाँदै नखानु । यसको अर्थ प्रतिज्ञा पनि नगर्नु भनेको होइन तर गरेको प्रतिज्ञा पूरा गर्नु भनिएको हो । पुरानो समयमा कसले ठूलो ठूलो कसम खान्छ भन्ने महत्वपूर्ण मानिन्थ्यो, त्यसैले कतिले आफ्नै नाममा, कतिले परिवारको सदस्यको नाउँमा, कसैले विभिन्न मन्दिरहरूको नाउँमा कसम खाने गर्दथे अनि परमेश्वरको नाउँमा खाएको कसम चाहिँ जसरी पनि पूरा गर्नु पर्ने तर सानातिना नाउँमा खाएको कसम चाहिँ त्यति महत्वको नहुने मानसिकता थियो । वास्तवमा कसको नाउँमा कसम खाएको हो भन्नेमा हैन तर हामी कत्तिको सत्य बोल्छौँ भन्ने कुरा चाहिँ महत्वपूर्ण रहन्छ । किनकि स्वर्ग परमेश्वरको हो, पृथ्वी परमेश्वरले नै बनाउनुभएको हो र यो शरिर पनि हाम्रो स्वामित्वमा छैन, यो त उहाँकै स्वामित्वमा छ भने के का नाममा कसम खाने त, यो कसम खानु हुँदैन । सत्य बोल्ने व्यक्तिले कसैको नाउँमा सपथ खाइरहनु पर्दैन । किनकि सत्य बोल्नेको लागि हो वा होइन भन्नु नै पर्याप्त हुन्छ ।

यहुदी व्यवस्थाअनुसार, जसले सपथ खायो अथवा किरिया हाल्यो, त्यसलाई सपथ पूरा गर्न एकदम कर लाग्थ्यो. तैपनि यहुदीहरूको सोचाइअनुसार, जुन सपथमा परमेश्वरको नाम उच्चारण गरिएको थिएन, त्यो सपथ पूरा गर्न आवश्यक थिएन । त्यसकारण, आफ्ना सपथहरू पूरा गर्नु नपरोस् भनेर यहुदीहरूले स्वर्गको नाउँमा, पृथ्वीको नाउँमा, यरूशलेमको नाउँमा सपथ खान्थे । तर ती सबै कुरा परमेश्वरका कुरा नै हुन् । स्वर्ग परमेश्वरको सिंहासन हो, पृथ्वी परमेश्वरको पाउदान हो, यरूशलेमचाहिँ महाराजाको (अथवा परमेश्वरको) शहर हो (यशैया ६६ः१, प्रेरित ७ः४९) । अरू कुराका नाउँमा र परमेश्वरको नाउँमा सपथ खानु उही कुरा हो । त्यसकारण ‘‘सपथ खाँदै नखाओ भनेर येशूले सिकाउनुभयो । सपथ खानु आवश्यक छैन । जसको नाउँमा सपथ खाए पनि सबै सपथहरू पूरा गर्नुपर्छ । विनाशपथ पनि मानिसले आफ्नो हरेक प्रतिज्ञा र हरेक वचन पूरा गर्नुपर्छ । त्यसकारण सपथ खानु बिलकुल अनावश्यक छ । सपथको मतलब नै छैन ।

यहुदीहरूले कहिलेकाहिँ आफ्नोे शिरको नाउँमा सपथ खान्थे । तर त्यो झन् बेमतलब थियो । मानिसले कुनै पनि कुराको नाउँमा सपथ खानु व्यर्थ छ, किनभने कुनै सपथ पक्का बनाउनलाई मानिसको केही शक्ति छैन । त्यसले आफ्नो केशको केहि पनि बदली गर्न सक्दैन । ‘‘हो भनेर भन्यौं भने, हाम्रो अर्थ ‘‘हो भनेर होस्, ‘‘होइन भनेर भन्यौं भने, हाम्रो अर्थ ‘‘होइन भनेर होस् । त्यसमा कुनै सपथ खाने कुरा थप्नुपर्दैन । हामीले नवौँ आज्ञा मान्नुपर्छ, झुटो गवाही नदिनू (प्रस्थान २०ः१६) ।

धेरैजसो आफ्नो साक्षी झुटो छ भन्ने कुरा लुकाउनलाई मानिसहरू सपथ खान्छन् । सत्य बोलेका छौं भने, हामीले कुनै किसिमको सपथ खानुपर्दैन । सपथहरूचाहिँ शैतानका उपाय र जुक्तिहरू मात्र हुन् (याकूब ५ः१२) । हामीले हो लाई हो र होइन लाई होइन भन्नु पर्छ तर झुट बोल्नाले परमेश्वरसँगको सम्बन्ध बिग्रिन्छ, झुट बोलेकै कारण दाम्पत्य जीवनमा खटपट हुन जान्छ, साथीभाइहरू टाढिन्छन्, झुट बोल्नेको मन जहिल्यै अशान्त र आक्रान्त हुन्छ । किनकि एउटा झुट लुकाउन अरू थुप्रै झुटहरू बोल्नुपर्ने हुन्छ । जति झुट बोलेर लुकाउन खोजे पनि आखिर त्यो झुटो धेरै समय टिक्न सक्दैन तर सत्य कहिल्यै पनि डग्दैन ।

झुट बोल्नु परमेश्वरको आचरण र चरित्र विपरितको कुरा हो । बाइबलमा धेरै ठाउँमा परमेश्वरलाई सत्यको परमेश्वर भनेर सम्बोधन गरिएको पाइन्छ । परमेश्वर जहिले पनि सत्यको पक्षमा हुनुहुन्छ । सत्यले हामीलाई स्थिर गराउँछ । तर सत्यता प्रेममा बोल्नुपर्छ (एफिसी ४ः१५) । कोही मानिसहरूले विना प्रेम सत्य मात्र बोल्दछन् । कतिले ठान्छन् कि सत्यता त्यति आवश्यक छैन, त्यसभन्दा त प्रेम पो मुख्य कुरा हो । तर दुबै, सत्यता र प्रेम बराबरै आवश्यक छन् । प्रेम विनाको सत्यता कडा हुन्छ, सत्यता विनाको प्रेम लुलो हुन्छ । यदि मण्डलीमा सत्यता र प्रेम दुबै छन् भने, त्यो मण्डली र त्यसका सदस्यहरू ख्रीष्टसम्मै बढ्दै जानेछन् । कोही मानिसहरू विचार गर्छन् कि अरूलाई दुःख नहोस् भनेर अलि–अलि झुट बोल्नु बेला–बेलामा आवश्यक हुन्छ । तर यो विचार ठीक छैन । दुःखको कुराको बारेमा केही नबोले पनि हुन्छ तर झुट बोल्नुचाहिँ कहिल्यै हुँदैन । नत्रता येशूले झुट बोलिदिनुभएको भए उहाँ क्रुसमा टाँगिनु नै पर्दैनथियो नि । त्यसो नभएको भए परमेश्वरको योजना पुरा हुने थिएन । फेरि उहाँ कसरी मुक्तिदाता बन्नुहुने थियो र ? त्यसैले झुट बोलेर संसारमै रम्ने हो कि सत्य बोलेर जीवित परमेश्वरको आज्ञा मान्दै स्वर्गतिर नजर लगाउने हो ?

इमान्दारितामा जिउने मान्छे, सत्यतामा जिउने मान्छे कहिल्यै पनि र कुनै पनि घटना परिस्थितिमा सम्झौता गर्दैन, जसरी नयाँ पुरानो वा खुम्चिएको नोटको मुल्य एउटै हुन्छ, घटीबढी हुँदैन तर परिस्थितिमा चिप्लिएर झुटो बोल्ने मानिस जोड्न नमिल्ने गरी च्यातिएको (नक्कली) नोट जस्तै हो, त्यो कुन कम मुल्यमा पनि चल्दैन । सबै झुटहरू, सबभन्दा साना झुटहरू पनि शैतानको तर्फबाट आउँछन् । त्योचाहिँ झुटको पिता हो, र झुट बोल्नेहरूको पनि पिता हो (यूहन्ना ८ः४४) । जसरी परमेश्वरमा कुनै झुटो कुरा हुँदैन, त्यसरी नै शैतानमा कुनै पनि सत्य कुरा हुँदैन । हामीमाथि आक्रमण गर्ने शैतानको मुख्य उपाय र तरिका हामीलाई झुक्क्याउनु नै हो, त्यसले दुष्टलाई धर्मी र धर्मीलाई दुष्ट भन्छ । त्यसले झुटलाई सत्य र सत्यलाई झुट भन्दछ । त्यसले मानिसहरूलाई कमारो बनाउँछ र तिनीहरूलाई स्वतन्त्र भन्छ ¤

झुट बोल्ने मानिस त शैतानको सन्तान हो । यदि हामी परमेश्वरलाई विश्वास गर्दछौँ भने हामी परमेश्वरको सन्तान हुँदछौँ र हामी परमेश्वरको सन्तान हौं भने हामीमा परमेश्वरको गुण देखिनुपर्छ । त्यसो हो भने कहिल्यै झुट नबोल्नु हुने परमेश्वरको सन्तान हामी चाहिँ किन झुट बोलिरहेका छौँ त ? के बाख्राको सन्तान भेडा जस्तो ऊन भएको हुन्छ र ? के बाघको सन्तान हरिणको जस्तो घाँसपात खाने हुन्छ ? के कुखुराको सन्तान हाँस जस्तो पानीमा पौडिने हुन्छ र ? हुँदैन । त्यसो हो भने झुट बोल्ने मानिसहरू कसका सन्तान हुनुपर्छ ? त्यसैले हामी परमेश्वरको सन्तान हौं भन्ने लायकको जीवन जिउने हो भने हाम्रो बोली सत्य हुनुपर्छ, परमेश्वरको गुण, चरित्र र आचरण अनुशरण गर्नु पर्दछ । होइन भने झुटलाई अँगाल्ने त शैतानको सन्तान हुँदछ किनकि शैतान झुटको पिता हो । त्यसैले हामीले चाहिँ होलाई हो, होइनलाई होइन, ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्नुपर्छ, त्यो भन्दा बढाइचढाइ गरेर वा कुरा घुमाएर र लुकाएर बोल्न आवश्यक छैन । किनकि सत्यको परमेश्वरलाई पछ्याउनुको मतलव सत्यतामा जिउनु पनि हो ।

“परमप्रभु झुटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ” हितोपदेश १२ः२२ । झुटो बोल्नेहरू स्वर्गको हकदार हुन सक्दैनन्, गन्धक र आगो दन्कने कुण्डमा जलेर दोस्रो मृत्यु चाख्नेछन् (प्रकाश २१ः८) । यो अनुग्रहको समय हो, विश्वास गरेपछि सिधै स्वर्ग पुगिन्छ भन्ने भ्रम पालेर बसेकाहरूले यो महत्वपूर्ण अगमवाणी पदले जवाफ विहिन हुँदछन् । यहाँ लेखिएको छ कि अविश्वासी र मुर्तिपुजकहरू मात्रै होइन नरक जाने तर हत्याराहरू, व्यभिचारीहरू र झुट बोल्नेहरू सबैको हालत उही हुनेछ । परमेश्वरले तपाईंलाई सत्यतामा जिउने समर्पणताको जीवन जिउन सहायता गर्नुभएको होस् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...