श्रवण बोम्जन ।
चट्टान र भिरहरूमा हुर्कने देवदारूको रुख अरु सबै खाले रुखहरूभन्दा अग्लो गरी उभिन्छ । देवदारूको सामथ्र्य त्यसको उचाईमा हुँदैन तर त्यसको गहिराइ र जराहरूको सामथ्र्यमा हुँदछ । एउटा अग्लो देवदारूको रुख नभाँच्चिकन भुइँसम्मै निहुरिन र फेरि अग्लो गरी पहिलाको जस्तै बलियो भएर उभिन सक्दछ भनेर भनिन्छ । बाइबलमा पनि लेबनानका देवदारूको रुखलाई अरु रुखहरूसँग तुलना गरेर लेखिएको छ ।
यसकारण देवदारूको रुखमा जस्तै तपाईं र मेरो पनि परमेश्वरमा गहिरा जगहरू छन् भने हामी कहाँ जाँदैछौं भनि हामी थाहा गर्न सक्दछौं । हामीले दृढताका साथ चालिरहेका पाइलामा आलोचनाहरू आएतापनि त्यसले कुनै असर गर्नेछैन । हाम्रो जीवनमा आउने आलोचना र सबै किसिमका हतोत्साहित बनाउने आरोपहरूलाई सहन देवदारू जस्तै भुइँसम्मै निहुरेर फेरि पहिलाको भन्दा बलियो गरी उभिने क्षमता हामीमा हुनुपर्दछ ।
आजको वर्तमान समस्या भनेको नै हामीहरू देवदारूको रुख जसरी झुकेर उठ्न नजान्नु हो । सबै जना आफ्नो सामाथ्र्य उचाईमा देखाउन चाहन्छन् तर जगमा धमिराले खाएको पत्तो पाउँदैनन् । परमेश्वरले चाहनुभएको मानिसको उचाई आकाशमा होइन, जमिनभित्र गहिराइमा हुनुपर्दछ । हामीलाई दोष्याउने, खिसी गर्नेहरूको खातिर नभाँच्चिइकन भुइँसम्मै निहुरिने अभ्यास हामीले गर्नुपर्दछ । हामी निहुरिनु भनेको कसरत गर्नु हो । कसरत गर्यौं भने बलियो भईन्छ । येशु आफै पनि चेलाहरूको खुट्टा धुन निहुरिनुभयो ।
विडम्वना आजका धेरैजसो सेवकहरू पैसा अर्थात डलरको अघि झुकेका छन् र आकाशमा आफ्नो उचाई बनाएका छन् । वास्तवमा उनीहरूको जगमा माटो छैन । धमिराले जराहरू खाइसकेका छन् । उनीहरू बलियो देखिएता पनि सबैभन्दा कमजोर छन् । आफ्नो उचाई बनाउन मण्डलीमा दुष्टतालाई स्वागत गरेका छन् । पद र मानसम्मानको निम्ति प्रेमका कोटेशन छातीमा लेखेर हिडेका छन् तर उनीहरूको हृदयमा परमेश्वरप्रतिको डर छैन । प्रेमको भाषा झल्काउने जीवन पनि छैन । मण्डली मण्डलीको आलोचनालाई लिएर तँ भन्दा म राम्रो भन्दै आकाशमा आफ्नो उचाई बनाएका छन् ।
यदि हामी देवदारूको रुखजस्तो बन्न चाहन्छौं भने आफूसँग नभएको कुराहरूप्रति गनगन गर्न छोडी दिऔं । हामी गनगन गरिरहन्छौं भने परमेश्वरले हामीलाई दिइसक्नुभएको कुरामा हामीले आनन्द मनाउन सक्दैनौं । परमेश्वरले हामीलाई धेरै कुरा दिइसक्नुभएको छ, त्यसलाई चिनेर उपयोग गरौं । अबदेखि हामी जस्तो छौं त्यसबारे कुरा नगरी हामी कस्तो हुन चाहन्छौं, विश्वास साथ त्यसबारे मात्र कुरा गरौं । यो विश्वासको प्रभावलाई जीवनमा काम गर्न दियौं भने हामी देवदारूको रुख जस्तो बन्न सक्दछौं । भौतिक संसारबाट विश्वास गर्न हामीले देख्नुपर्दछ तर परमेश्वरमा भरोसा गर्नेले पहिला विश्वास गर्नुपर्दछ र त्यसलाई उहाँले देखाउनु हुन्छ । हामी देवदारूको रुख झैं झुक्ने अभ्यास गरौं । जब हामी झुक्दछौं तब परमेश्वरले उहाँको समयमा हामीलाई सबैभन्दा अग्लो उचाईमा लानुहुनेछ ।
(साभारः युवा दर्शन पत्रिका)१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४