१८ माघ, रुपन्देही । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा आज (शनिबार) जिल्ला भेला केन्द्रिय अध्यक्ष सि. बि गहतराजको प्रमुख आतिथ्यतामा रुपन्देहीको भैरहवास्थित भैरहवा गोस्पेल संगति (चर्च)मा सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष सि.बि गहतराजले कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिको जगमा स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टियन समुदायलाई स्वाभिमान र अधिकार सम्पन्न बनाउन सरकारसँग निरन्तर लागि परेको बताउनुभयो । अध्यक्ष गहतराजले वि.स २०६८ र वि.स २०६९ सालमा सरकारसँग क्रमशः गरेको ३ बुँदे र ६ बुँदे सहमतिलाई कार्यान्वयन गर्न सम्पूर्ण ख्रीष्टियन समुदायको प्रार्थना, साथ र सहकार्य जरुरी रहेको बताउनुभयो । महासंघ अब नेपाली मण्डली र संघ संस्थाहरुको सहकार्यमा ख्रीष्टियनहरुको तथ्याङ्क संकलनको अभियानमा जुट्न लागेकाले सबैले साथ दिने बेला आएको समेत बताउनुभयो । सम्बोधनको क्रममा अध्यक्ष गहतराजले नेपाली मण्डलीहरुलाई अधिकारसम्पन्न बनाउन नीतिगत व्यवस्थाको लागि प्रार्थना सहित सरकार, राजनीतिक दल, संवैधानिक अंगहरू र सम्बन्धित सबै निकायहरुमा महासंघको तर्फबाट पहल भइरहेको भन्दै सहकार्यको लागि पुन: सबैलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा महासंघका उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरियाले शुभकामना मन्तव्य राख्दै महासंघले नेपाली मण्डलीहरुको सुरक्षाको ग्यारेण्टी लिने बताउँदै अब देशमा ख्रीष्टियन समुदायमा नयाँ काम हुन लागेको बताउनुभयो । शुभकामना मन्तव्य राख्दै महसंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङले ख्रीष्टियन समुदायको हक अधिकार संरक्षणको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ निरन्तर सक्रिय रहेको र यो महान अभियानमा साथ दिन सबैमा आग्रह गर्नुभयो । महासंघ र अन्य संघ संस्थाको तुलना हुन नसक्ने बताउँदै सह-अध्यक्ष पास्टर हिताङ्ले सबैको आ-आफ्नै उद्देश्य भएका कारण महासंघले आफ्नो उद्देश्यबाट एक कदम दायाँ बायाँ नगरी परमेश्वरको महिमा हुने काम गरिरहेको बताउनुभयो । प्रमोट नेपालका निर्देशक तथा ज्योति महिमा मण्डलीका पास्टर मनोहर पाठकले शुभकामना मन्तव्य राख्दै सिंगो ख्रीष्टियन समुदायको मुद्धामा सबैजना एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी जिल्ला अध्यक्ष सुमन दर्लामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । महासंघका सह-सचिव तथा प्रचार प्रसार विभागका प्रमुख प्रकाश विशुन्केले शुभकामना मन्तव्यको क्रममा राष्ट्रिय ख्रीष्टियन महासंघको काम, उपलब्धि र प्रयासबारे अवगत गराउनुभयो ।
आज (शनिबार) आयोजित जिल्ला भेलामा रुपन्देही जिल्लाभरका ४ सय भन्दा बढी पास्टर, अगुवा तथा मण्डली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई जिल्ला कार्यसमिति रुपन्देहीका सचिव पास्टर अशोक शाक्यले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार तथा बेथेल प्रशंसा मण्डलीका पास्टर भरत जी.सीले प्रस्थानको पुस्तक १७ अध्यायको ८ देखि १६ बाट आत्मिक लडाइँको विषयमा परमेश्वरको वचन बाँड्नुभयो ।
अन्त्यमा, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष सुरज कुमार थापाको धन्यवाद ज्ञापन पश्चात कार्यक्रम समापन भयो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४