२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ, १ शामुएल ७:१२


स्वर्गीय इनिड सोदेम्बा ।

यहाँसम्मले हामीलाई बितेका समयहरूको सम्झना गराउँदछ भने अझै जानुपर्ने समयहरू देखाउँदछ । हामीहरू समयको अन्तमा पुगेका छैनौँ । भोलि आउने समयहरू कस्तो हुनेछ हामी जान्दैनौँ । बितेका समयहरू जस्तै दुःख र सुखको समयहरू, शोक र आनन्दका समयहरू, प्रार्थनाका समयहरू, रोग ब्यथाका समयहरू तर यस्ता कठिन र गाह्रो समयहरूमा निरन्तर प्रभुको सहायता र अगुवाई पाएको हाम्रा अनुभवहरू पनि प्रशस्त छन् । हामी डराउनु पर्ने छैन । नयाँ सालको निम्ति हामीलाई ढाडस दिने, उत्साह दिने अत्यन्त खुशीको पुरा चाहिँ हाम्रो परमेश्वर सर्वसामर्थी, सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनु हुने परमेश्वर हुनुहुन्छ । यहाँ मलाई एउटा अंग्रेजी गीतको एक खण्ड याद आउँछ जस्ले भन्छ,“God holds the key of all unknown and I am glad… If others should hold the key, I might be sad”. “नजानिएका थोकहरू सबैको साँचो परमेश्वरसित छ र म खुशी छु, अरुको हातमा त्यो साँचो भए म दुःखी हुने थिएँ ।”

युहन्ना १०ः३ र ४ ले भन्छ, “उसले आफ्ना सबै भेडाहरूलाई नाम काँढी काँढी बोलाउँछ र तिनीहरूलाई निकाली सकेपछि ऊ तिनीहरूका अगि अगि जान्छ औ उसका भेडाहरूले उसलाई पछ्याउँछन् ।” ती भेडाहरूले आफ्ना गोठालोलाई निर्धक्कसँग पछ्याए जस्तै हामीले आफ्नो परमेश्वर हाम्रा असल गोठालोलाई पछ्यायौँ भने उहाँले नै हामीलाई सुखचैनको पानीनिर र हरियो खर्कमा डोर्याउनुहुन्छ । हामीलाई कुनै कुराको खाँचो हुने छैन । तर दिनदिनै उहाँलाई पछ्याउन सजिलो चैँ हुदैँन किनभने हामीलाई अल्मलाउने बाटोहरू धेरै हुन्छन् । तर ती अल्मलाउने बाटोहरूतिर न गएर आफ्नो गोठालोकै पछि पछि हिँड्नलाई डोर्याउने परमेश्वरको जिवित वचन हामीसँग छ । भजनसंग्रह ११९ः१०५ ले भन्छ, “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो । D.L Moody भन्ने परमेश्वरको एउटा सेवकले भन्नुहुन्थ्यो, “A BIBLE will keep you away from sin OR the sin will keep you away from The BIBLE” कत्ति सत्य ! “बाइबलले तिमीलाई पापबाट टाढा राख्छ कि पापले तिमीलाई बाइबलबाट टाढा राख्छ ।” पापबाट टाढा बस्नलाई हामीसँग परमेश्वरको वचनको नजिक हुनु एकदमै जरुरी छ । भोजन शरीरको निम्ति आवश्यक भए झैँ प्रभुको वचन हाम्रो आत्माको आवश्यकता हो । हामीले बुझेका छौँ, यो आवश्यकतालाई तर हामी धेरै चोटी बेवास्ता गर्छौँ ।

दाऊदले जस्तै हामी पनि पितासँग भनौँ, “तपाईंको वचनअनुसार मेरो पाइलाहरू डोर्याउनुहोस् ।” भजन संग्रह ११९ः१३३ ।

हामीहरूको लागि हरेक वर्ष परमेश्वरको वचन नियमित रुपले पढ्ने वर्ष हुन सकोस् अनि आफूले पढेका वचनअनुसार हिँड्नेहरू पनि हौऔँ । परमेश्वरको वचन सँगसँगै प्रार्थनाको पनि उत्ति नै आवश्यक छ । प्रार्थनाको सम्बन्धमा हामीले धेरै सुनेका छौँ, धेरै पढेका छौँ, धेरै अनुभव गरेका छौँ । परमेश्वरको चरणमा बस्ने आवश्यकता पनि हामीले धेरै बुझेका छौँ तर कति चोटी हामी प्रार्थनाको लागि समय निकाल्न सक्दैनौँ । तर हाम्रो स्वर्गीय पिताको चरणमा आदर, भक्ति साथ, स्तुति प्रशंसा र धन्यवादको भेटी लिएर प्रार्थनामा समय दिनेहरू हौऔँ । परमेश्वर हाम्रो प्रार्थना सुन्नुहुने र जवाफ दिनु हुने विश्वासयोग्य परमेश्वर हुनुहुन्छ । उहाँको चरणमा बस्न पाउनु, उहाँसँग बातचित गर्न पाउनु कत्रो अहोभाग्य हो हाम्रो लागि । स्वर्गको वैभव र महिमामा राज्य गर्नु हुने परमेश्वर हामी जस्ता क्षुद्रहरूको प्रार्थना सुन्नलाई आफ्नो सिंहासनबाट तल ओर्ली आउनुहुन्छ । उहाँको निम्ति हामी कत्ति अमूल्य छौँ ।

यसैले प्रार्थनाको निम्ति समय छुट्याऔँ र यसको बेवास्ता नगरौँ । परमेश्वरले बितेको साल हामीलाई सहायता गर्नुभयो, डोर्याउनुभयो र कुशलसँग हामी नयाँ सालमा प्रवेश गर्न पायौँ ।

बितेको सालको निम्ति हामीले कतिपल्ट “प्रुभ धन्यवाद” भनेका छौँ ? “Taking everything for granted”, अंग्रजीमा धेरै चलाउने यो वाक्य सम्झन्छु । हो, परमेश्वर अति कृपालु, अति प्रेमी हुनुहुन्छ । हाम्रो अधर्मअनुसार हामीसँग व्यवहार गर्नुहुन्न । उहाँले हाम्रो खाँचो अनुसार दिइरहनु हुन्छ अनि हामी लिई रहन्छौँ । धेरैपल्ट हामी “धन्यवाद भन्नु” पर्ने आवश्यकतालाई बिर्सन्छौँ ।

आशिष गनगन एकै एक आशिष गन हेर छन् अनेक आशिष गन छक्क पर्नेछौ प्रभुले तिमीलाई कत्ति दिनुभो

यो भजन हामी मण्डलीमा खूब गाउँछौँ । उहाँको हरेक आशिषको निम्ति हामी प्रभुलाई धन्यवाद दिने गरौँ । हाम्रा सुन्दर जीवन, हाम्रा घर परिवार, हाम्रा मण्डली, मित्रहरू सब प्रभुकै बरदान हुन् । यस बाहेक हामीले ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनि व्यक्तिगत रुपले चिन्न पाएका छौँ, विश्वास गर्न सकेका छौँ । स्वर्ग राज्यको भागीदार हुन पाएका छौँ । हामीसँग रहनलाई, हामीभित्र बास गर्नलाई आफ्नो पवित्र आत्मा उहाँले हामीलाई दिनुभएको छ । के यी सब परमेश्वर पिताले दिनु भएको उदेकको वरदानहरू होइनन् ? यसैले यो साल पनि हाम्रा परमेश्वर पिताप्रति धन्यबादी भई रहने साल हुन सकोस् । भजन संग्रह १३९ हाम्रो लागि धन्यबाद र स्तुतिको प्रार्थना होस् ।

अन्तमा, प्रभुमा आनन्द गर्नेहरू हौऔँ । फिलिप्पी ४ः४ मा पावलले हामीलाई भन्नुहुन्छ, “प्रभुमा सधैँ आनन्द गर” ४ अध्याय पुरै पढ्नुहोस् । हामीले पाएका उद्धार सँगसँगै उहाँको शान्ति जो संसारले दिन सक्दैन हामीले पाएका छौँ, प्रभुको आनन्द, प्रभुको अनुग्रह अनि उहाँको विश्वासयोग्यतामा यहाँसम्म आईपुगेका छौँ ।

म भोलिको सामना गर्न सक्छु किनकि उहाँ जिउनु हुन्छ म डराउने पनि छैन किनकि मलाई थाहा छ उहाँको हातमा मेरो भविष्य छ । उहाँको स्तुति होस् ।

नेपाली ख्रीष्टियन साहित्य र लेखनको क्षेत्रमा सबैभन्दा पाको र परिपक्क सुपरिचित लेखिका, शिक्षिका तथा धेरैको प्रेरणाकी धनी ब्यक्तित्व स्वर्गीय इनिड सोदेम्बा आमा ८८ वर्षको उमेरमा यस संसारको यात्रा पुरा गरी परमेश्वरको स्वर्गीय घरमा सन् २०१५को डिसेम्बरमा जानुभएको हो । तथापि उहाँका लेख, रचना र नेपाली ख्रीष्टियन समुदायमा पुर्याउनु भएको योगदान अतुलनीय छ । यो उहाँको लेख सन् २०१५ को मार्च महिनाको युवा दर्शन पत्रिकामा छापिएको थियो । अहिले पनि यो लेख सान्दर्भिक भएर ख्रीष्टियन खबरमा छापेका हौं । धन्यवाद ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...