संसार व्यस्त छ । मानिसहरू व्यस्त छन् । अनि हामी पनि आफ्ना जीवनका विभिन्न झन्झटहरूका कारणले गर्दा व्यस्त छौं । बालबालिकाहरू पढाइको लागि व्यस्त छन् । बिस्तारै युवा उमेरमा लागेकाहरू काम खोज्न र आफ्नो करियर निर्माण गर्न व्यस्त छन् । घरजम सुरु गरिसकेकाहरू परिवारलाई सम्हाल्न, परिवारलाई बढाउन, परिवारलाई चाहिने सबै कुरा जम्मा गर्न व्यस्त छन् । वयस्कहरू काममा र परिवारसँग व्यस्त छन् । हिसाब गर्दै जाने हो भने सबै मानिसहरू व्यस्त छन् । तर हामी धेरै व्यस्त रहँदा हामीभित्र खाली ठाउँ, एक्लोपनाको महसुस हुँदैछ ।
त्यो सँगसँगै प्रविधिको विकासले मानिसहरूसँग एकअर्कासँगको भेटघाट, कुराकानी, सम्बन्ध पनि पातलिँदै गएको छ । मान्छेले मान्छेसँग सम्बन्ध राख्ने, संगति गर्ने, कुराकानी गर्ने, एकअर्काको लागि प्रार्थना गर्नेभन्दा पनि सामाजिक संजालहरूमा समय बिताउने कार्य पो बढिरहेको छ । सामाजिक संजाल हेर्दाखेरि वास्तवमा मान्छेले मान्छेसँग सम्बन्ध स्थापना गरिरहेको हुँदैन । अनि हामीलाई थाहा छ, सामाजिक संजालका धेरै कुराहरू नक्कली हुन्छन् । ती नक्कली कुरा वा काममा लाग्दा, व्यस्त हुँदा हामीलाई एक्लोपनको महसुस हुन्छ अनि हामी कतिपल्ट यही नै हो, यो भन्दा बाहेक केही पनि छैन भन्ने ठानेर आशा गुमाउन पुग्छौं ।
तर वास्तवमा आशा छ । सबै उमेर समूहका लागि परमेश्वर येशूमा आशा छ किनभने येशू आज भन्दा दुई हजार वर्षअघि यही उद्देश्यले संसारमा आउनुभएको हो । मानिसहरूमा आशा नहुँदा, निरासामा मरिरहेका मानिसहरूलाई, संसारमा अल्मलिरहेका मानिसहरूलाई बाटो देखाउन, परमेश्वरकहाँ लैजानको लागि, परमेश्वरतिर फर्काउनको लागि प्रभु येशू यस संसारमा आउनुभएको हो ।
हो, हामी दुष्टताले भरिएको संसारमा बस्दछौं । यस संसारमा पापले राज्य गरेको छ । अनि कतिपल्ट हामीले असल ठहराएका कुराहरू, असल ठहराएका व्यक्तिहरू पनि पापको पछि लागेको, पापको दासत्वमा परेको कारणले हामीलाई लाग्छ, अब संसारमा केही पनि नयाँ र असल कुरा हुँदैन, नयाँ आशा हुँदैन ।
तर यस तिक्त संसारमा पनि हाम्रो लागि यथेष्ट आशा छ भनेर परमेश्वरको वचनले बताउँछ, संसारमा हामीलाई आशा छ । परमेश्वरले हामीलाई हरेक कुरामा आशा दिनुहुन्छ । युवा उमेरमा त झनै सबै कुरा देखेर हामी क्लान्त बन्छौं र आफैंलाई कर्म र निरासाको बन्दी बनाएर गलत कार्यतिर पनि लाग्छौं । जीवनमा तपाईं जतिसुकै हारे पनि वा एक्लिए पनि सर्वोच्च प्रेमी परमेश्वरकहाँ हामीलाई सर्वथा आशा र असल भविष्य छ ।
त्यसको लागि परमेश्वरले सर्वमान्य बाटो बनाइदिनुभएको छ । नैतिकता र असल गुणका खानी मात्रै होइन, स्वयं सृष्टिकर्ता भएर पनि मानव अवतार लिएर आउनुभएको प्रभु येशूलाई विश्वास गरेपछि हामीले जीवनका सबै दौडमा नवीन आशा प्राप्त गर्न सक्छौं । जब हामीले येशूलाई विश्वास गर्छौं, येशूलाई विश्वास गरिसकेपछि परमेश्वरले हाम्रा सबै अपराधहरू मेटिदिनुहुन्छ । त्यति मात्रै होइन, हाम्रो दुष्टतालाई पनि परमेश्वरले बिर्सिदिनुहुन्छ । उहाँको विरुद्धमा सोचेका, गरेका, बोलेका, भएका सबै कुराबाट परमेश्वरले हामीलाई एक निमेषमा नै मुक्त गर्नुहुन्छ । अनि परमेश्वरले हामीलाई आफ्नो आत्माद्वारा पहिराउनुहुन्छ । परमेश्वरले आफ्नो नयाँ आशा, नयाँ भविष्यमा हामीलाई डोर्याउनुहुन्छ । त्यसकारण आशा छ ।
त्यो भन्दा अझ विशेष कुरा त परमेश्वरले हाम्रो जीवनको निम्ति उद्देश्य राखिदिनुभएको छ । अनि त्यो उद्देश्यअनुसार जिउन पनि हाम्रो लागि आशा छ । परमेश्वरले बालबालिकाहरूको जीवनको लागि एउटा उद्देश्य राख्नुहुन्छ । किशोरावस्थाको जीवनको लागि एउटा उद्देश्य राख्नुहुन्छ । बालबालिकाहरू परमेश्वर र मानिसहरूको अनुग्रहमा हुर्कने उद्देश्य तथा परमेश्वर अनि बुबाआमाको आज्ञाकारी भएर आफूले पढ्ने उद्देश्य परमेश्वरले दिनुभएको । तर सबै कुरा ख्रीष्टको अधीनमा, ख्रीष्टको महिमाको लागि हुनुपर्छ । त्यसपछि पढिरहेका किशोरकिशोरी भाइबहिनीको लागि पनि उद्देश्य छ । उनीहरू पनि आफ्नो जीवनमा पढ्ने अथवा सीप सिक्ने अथवा आफैंलाई तयार पार्ने ताकि उनीहरूले आफ्नो जीवन भोलि परमेश्वरको योजनामा बिताउन सकून् । त्यो उद्देश्य परमेश्वरले उनीहरूलाई दिनुभएको छ । भर्खर विवाह गरेका मानिसहरूलाई परमेश्वरले एकअर्कालाई प्रेम गर्ने उद्देश्य दिनुभएको छ । भर्खर विवाह गरेका मानिसहरूले कसरी एउटाले अर्काेलाई ख्रीष्टको स्वरूपमा बढ्दै जानलाई सहायता गर्छन् ? परमेश्वरले त्यो उद्देश्य उनीहरूको जीवनमा राखिदिनुभएको छ ।
वयस्कहरूको लागि परमेश्वरले आफ्नो कमाइबाट, आफ्नो सीपबाट, कामबाट, व्यवसायबाट, परमेश्वरलाई महिमा गर्न, आफ्नो जीवनको गवाही दिन अनि त्यसपछि आफूभन्दा साना उमेरका भाइबहिनीलाई परमेश्वरको कुरा सिकाउन, परमेश्वरको नमुना जीवनमा देखाउन काम गर्नुपर्ने परमेश्वरको उद्देश्य छ ।
संसारमा मानिसहरू निरास छन्, हतास छन् । मानिसहरूले आशा पाइरहेका छैनन् । येशू ख्रीष्टमा साँचो आशा छ किनभने जब येशू ख्रीष्टद्वारा हाम्रो परमेश्वरसँग मिलाप हुन्छ, हामीले परमेश्वरमाथि विश्वास गर्छौं । हामीले त्यो नवीन आशा प्राप्त गर्छौं । त्यो नवीन आशा पाउनको निम्ति पहिलो शर्तचाहिँ हाम्रो पाप क्षमा हुनुपर्यो, हाम्रो मन नयाँ हुनुपर्यो । हाम्रो मन नयाँ बनाउने कुरा हाम्रो आफ्नो प्रयासले अथवा शरीरलाई सजाएर अथवा आफूले चाहेको कुरा प्राप्त गरेर अथवा मानिसले मोजमज्जा गरेर, आफूले गर्न सक्ने सबै कुरा गरेर आशा प्राप्त गर्न सक्दैन । मानिसले आफैंलाई नवीकरण गर्न सक्दैन । अनि मानिसलाई नवीकरण गर्ने कामचाहिँ येशूको क्रूसको रगतले गर्न सक्छ । अनि जब मानिस ख्रीष्टको क्रूसको रगतले नवीकरण हुन्छ, नयाँ हुन्छ, त्यसपछि उसले आशा देख्छ किनभने परमेश्वरले कुन आशाको लागि बोलाउनुभएको हुन्छ, त्यो व्यक्तिलाई थाहा हुन्छ ।
म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको ह्दयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक । अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक । त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो, (एफिसी १ः१८–२०) ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४