३० श्रावण २०७६, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हिजो काठमाडौंमा बसेको केन्द्रिय समितिको बैठकले महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले आगामी नोभेम्बर ८ देखि ११ तारिखसम्म हङकङमा आफ्ना सद्भावदुतहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
सो बैठकले स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतताका लागि, धार्मिक, सामाजिक, आर्थिक, समावेशी र सम्मृद्ध नेपाल निर्माण गर्र्न विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमा गर्ने प्रमुख उद्देश्य राख्दै महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले हङकङमा आयोजना गर्न लागेको सो सद्भावदुतहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशमा रहेका आफ्ना सद्भावदुतहरू तथा अन्य नेपाली भाषी मण्डलीका शुभचिन्तकहरूलाई सहभागी हुन निमन्त्रणा गर्दै हार्दिक अनुरोध गरेको छ । त्यस सम्मेलनलाई प्रभावकारी रुपले सम्पन्न गर्न अध्यक्ष सि.बि. गहतराजको संयोजकत्वमा वरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन क्षेत्री तथा सहअध्यक्ष रीता थापा सदस्य रहने गरी तीन सदस्य उपसमिति समेत गठन गरेको छ । साथै यही उपसमितिले विभिन्न देशहरूका लागि महासंघका लागि सद्भावदुतहरू पनि नियुक्त गर्ने अख्तियारी दिइएको छ ।
साथै गत जुलाई १६ देखि १८ तारिखसम्म संयूक्त राज्य अमेरिकाको स्टेट डिपार्टमेण्टले वाइट हाउसमा आयोजना गरिएको मिनिष्ट्रियल एड्भान्स टु रिलिजिएस फ्रिडम नामक सम्मेलनमा महासंघलाई विशेष निमन्त्रणा गरी सहभागी हुने मौका दिएकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेको छ । स्मरण रहोस्, उक्त सम्मेलनमा अध्यक्ष सि.बि. गहतराज, वरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन क्षेत्री, सहअध्यक्ष रीता थापा तथा उपमहासचिव पा. धनराज घिमिरे सहभागी हुनुभएको थियो । त्यसै गरी यूनाइटेड चर्च इज्राएल तेल अभिभको निमन्त्रणामा आगामी अगष्ट १६ र १७ तारिखमा महासंघको तर्पmबाट उपाध्यक्ष तथा महिला विभाग प्रमुख डोमा राई त्यस कार्यक्रमको विशेष वक्ताको रुपमा सहभागी हुन लाग्नु भएकोमा उहाँलाई विदाई समेत गरिएको थियो ।
बैठकमा महासंघले आगामी दिनहरूमा गर्ने कार्यक्रमहरूका साथै नेपाली ख्रीष्टियन समुदायको वर्तमान अवस्थाका बारेमा समेत छलफल भएको जनाइएको छ । नेपाली ख्रीष्टियन समुदायको हकहितका लागि प्रभावकारी तरिकाले कार्यक्रमहरू गर्ने निर्णय समेत सो बैठकले गरेको जानकारी अध्यक्ष सि.वि. गहतराजले हाम्रा सम्बाददातालाई गराउनुभएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४