साउन ११, काठमाडौं, ख्रीष्टियन खबर सम्बाददाता। काठमाडौंको दक्षिण भेगीय ख्रीष्टियन युवा संगति(सिफ)को ९औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
काठमाडौंको दक्षिण भेगस्थित क्वाइनोनिया फर्पिङ चर्चमा सम्पन्न साधारणसभाले डिकन दिनेश रम्तेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सिफको संस्थापक सदस्य समेत रहनुभएका डिकन रम्तेल दुई वर्षको लागि साधारणसभाबाट सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । २०६६ सालमा स्थापित सो संगतिमा प्रत्येक दुई वर्षमा कार्यसमिति परिवर्तन हुँदै आएको छ । नव गठित ९ सदस्यीय कार्यसमिति अन्तर्गत उपाध्यक्षमा अनुग्रहको घर मण्डलीबाट शर्मिला खड्का, सचिवमा नवोदय बाँसबारी मण्डलीबाट डिकन प्रकाश विशुन्के, कोषाध्यक्षमा प्रार्थना भवन संगतिबाट राजकुमार कर्माचार्य, सहसचिवमा छैमले गोस्पेल चर्चबाट सनिता तामाङ, सदस्यहरूमा सिमियोन रोक्का, राजु श्रेष्ठ, पास्टर सुकुदेव थापा मगर र विकास परियार चयन हुनुभएको हो ।
यस्तै, सिफको नियमित कार्यसञ्चालनका लागि साधारणसभाबाट नै विभिन्न चर्चहरूबाट सल्लाहकार सदस्यसहित ३० जना युवा अगुवाहरूको उपसमिति समेत गठन गरिएको छ ।
निर्वतमान अध्यक्ष सिमियोन रोक्काले आफ्नो २ बर्षे कार्यकालमा कार्यसमितिले गरेको कामको प्रगति प्रतिवेदन सभामा पेश गर्नु भएको थियो । त्यस्तै निवर्तमान कोषाध्यक्ष जीवन कुमार विशुन्केले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यता, नव नियुक्त अध्यक्ष डिकन दिनेश रम्तेलले मण्डलीका युवाहरूको आवश्यकता मध्यनजर गर्दै युवा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिँदै प्रभावकारी ढंगबाट अगाडि बढ्ने बताउनुभयो । सभामा विभिन्न योजनाबारे प्रकाश पार्दै अध्यक्ष रम्तेलले दक्षिण भेगमा नयाँ कार्यसमितिले चाँडै नै नमूना कार्यक्रम लिएर आउने उद्धघोष गर्नुभयो । क्वाइनोनिया फर्पिङ चर्चका पास्टर रमेश तामाङले नव गठित कार्यसमितिलाई उत्साह दिदैँ अभिषेकको प्रार्थनामा अगुवाई गर्नुभयो । कार्यक्रममा दक्षिण भेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूको सहभागिता रहेको थियो । साधारणसभा अघिको रिट्रिट कार्यक्रमलाई सनिता तामाङ र दोश्रो चरणको साधारणसभालाई मिना मंग्रातीले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।
स्मरण रहोस्, दक्षिण भेगिय ख्रीष्टियन युवा संगति “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै काठमाडौंको दक्षिण भेगका मण्डलीका युवाहरूको विचमा २०६६ सालदेखि सेवा गर्दै आएको युवा समुह हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४