२०७६ बैशाख ११, हरि जिज्ञासु, दाङ । आफूले बोलाएको पाहुना नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल लगायतकाहरूलाई हिजो घोराहीस्थित होटल डोकोबाट बिना प्रमाण र बिना पक्राउ पुर्र्जी धर्म प्रचारको आरोपमा दाङ प्रहरी कार्यालयले पक्राउ गरेको भन्दै दाङ इसाई समुदायले तत्काल रिहाई गर्न माग गर्दै आज पत्रकार सम्मेलन गरी घटनाकाबारे स्पष्टीकरण दिएको छ ।
पत्रकार महासंघ दाङको हलमा आयोजित पत्रकार सम्मेलनमा नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला इसाई समुदायका अध्यक्ष पास्टर सन्त घर्ती, सुन्दर नेपाल सरसफाई अभियानका अध्यक्ष बिरबहादुर तामाङ, दाङ इसाई समाजका पुर्व अध्यक्ष जीवन गुरुङ, पास्टर सालिकराम साहु र सीता शाहले हिजोको घटना निन्दनीय र आपसमा मिलेर बसेका धार्मिक समुदायमा बैमनस्यता ल्याउने हेतुले पुलिस प्रशासनले नै घटाएको घटना भएको भन्दै आफ्नो मन्तब्य राख्नु भएको थियो ।
दाङ इसाई समुदायका अध्यक्ष पास्टर सन्त घर्तीले विना प्रमाण झुटो आरोपमा पक्राउ गरेकोमा दुःख व्यक्त गर्दै स्थानीय तथा राष्ट्रिय मिडियाहरूमा प्रकाशित समाचार वास्तविक नभएको बताउनु भयो । उहाँले हिजो विभिन्न मिडियामा गाउँगाउँमा गएर धर्म प्रचार गरेको, खाममा पैसा बाँड्दै हिडेको, बाइबल फेला पारेको, औषधी र बाफ लिने मेसिन फेला पारेको जस्ता समाचार प्रकाशित गरेकोले त्यो एउटा आरोप मात्रै भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दाङ जिल्ला इसाई समुदायले नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेललाई भेटघाटको लागि बोलाएको र अमेरिकी महिला सिन्क्वान्टा ओलिएना लगायत भारतीय नागरिक गौरव श्रीवास्तव, सुसाङ तामाङ उहाँसगै भेटघाट सहित घुम्न आएको अवस्थामा होटल डोकोमा बास बस्नु भएको थियो । बिहान होटलबाट निस्कने क्रममा प्रहरी गएर ड्राइभर सहित ५ जनालाई पक्राउ गरेको र उहाँहरूको साथमा भएको सामान हरेकको साथमा एक एक वटा बाइबल थियो । एउटा ख्रीष्टियनको हातमा बाइबल नभई के हुने हो भन्नु हुँदै बाफ लिने मेसिन भारतीय नागरिक गौरव श्रीवास्तव स्वासप्रश्वास सम्बन्धीको बिरामी भएकोले त्यो उहाँकै साथमा हुन्छ । केही पुस्तकहरू थिए, त्यो दाङ जिल्ला इसाई समुदायले आफ्नो लागि मगाएको थियो । उहाँहरूले कसैलाई जवरजस्ती गर्नुभएको थिएन । बाटोमा बाइबल बाँड्दै हिड्नु भएको पनि थिएन । धर्म प्रचार गर्दै हिड्नु भएको थिएन ।’
यदि थुनामा रहेका भारतीय नागरिक स्वास प्रश्वास सम्बन्धी विरामी हुनुहुन्छ, उहाँले बाफ लिने मेसिन प्रयोग गर्न नपाएर उहाँलाई कँही कतै केही भयो भने यसकोे जिम्मेवारी को रहने ? जस्तो नागरिकको सेवा गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनले एउटा नागरिकको आस्थामा खलल पु¥याउने गरी आरोप लगाएर विना प्रमाण पक्राउ गर्न नहुने भन्दै प्रहरी प्रशासनले चालेको कदमप्रति इसाई समुदाय दुःखित भएको कुरा बताउनुभयो ।
दाङ नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्तले पनि दाङ जिल्लाभरिका इसाई समुदाय अहिलेसम्म सबै समुदायसँग मिलेर बसेको अवस्थामा पक्राउ परेको खबर सुन्नु असाध्यै नराम्रो र दाङ जिल्लाको नै बेइज्जती भएको बताउनु भयो ।
दाङ इसाई समुदायले आज जिल्ला प्रशासन कार्यालयमा निर्दोष व्यक्तिलाई रिहाई गरिदिन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ । जानकारी रहोस्, पक्राउ परेका अमेरिकी महिला सिनक्वान्टा एलिआनालाई हिजो साँझपख नै भिसा रद्य गरी आफ्नो देश पठाउनको लागि अध्यागमन विभाग काठमाडौंमा पठाई सकेको छ र ड्राइभर नेपालगञ्जका प्रमोद काफ्लेलाई हिजो नै छोडिदिएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई सक्दासम्म प्रहरी कार्यालय दाङले बाँकी तीन जना विरुद्ध मुद्धा दर्ता गरी अदालतले ५ दिनको म्याद थप गरेको छ । आजको पत्रकार सम्मेलनको सहजीकरण इसाई समुदायका सचिव टोपबहादुर महताराले गर्नुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४