२०७६ कार्तिक २४ गते, काठमाडौं । संयुक्त इसाई गोठालो संगतिको सातौं वार्षिक साधारण सभा काठमाडौंस्थित अल्फा बाइबल चर्चको नवनिर्मित भवनमा संगतिका अध्यक्ष रेभ. कुमार गुरूङको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

रेभ. सोनाम टि. काबोले शुरुको प्रार्थना गरी शुरु भएको सो साधारण सभामा डा. सुन्दर थापाले बाइबल धर्मशास्त्रको प्रेरित २०ः२४ पदबाट हामीले पाएको सेवा कार्यको दौड असल तरिकाले पूरा गर्नुपर्छ भन्ने बारेमा उत्साहको वचन बोल्नुभएको थियो । यस संयुक्त इसाई गोठालो संगतिका सचिव रेभ. डेभिड आचार्यले सञ्चालन गर्नु भएको सो साधारण सभाको कार्यक्रममा संगतिका उपाध्यक्ष पास्टर रामकृष्ण आलेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पास्टर पूर्ण रसाईलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस संयुक्त इसाई गोठालो संगतिको कार्यसमितिको कार्यअवधि सातौं वार्षिक साधारण सभासँगै सकिएकोले नयाँ कार्य समितिको चयन गर्ने क्रममा सो साधारण सभाले पुरानो कार्य समितिको कार्यलाई मुल्याङ्कन गरी थप दुई वर्षे कार्यकालका लागि पुन जिम्मेवारी सुम्पि कार्य समितिका पदाधिकारीहरूका लागि प्रार्थना गरिएको थियो । यस संगतिको कार्य समितिमा अध्यक्ष कुमार गुरूङ, उपाध्यक्ष पा. रामकृष्ण आले, सचिव रेभ. डेभिड आचार्य, सहसचिव डा. जोमेश ओड, कोषाध्यक्ष पा. पूर्ण रसाईली, सहकोषाध्यक्ष पा. कृष्ण श्रेष्ठ र सदस्यहरूमा पा. कर्ण रोक्का, पा. डेभिड प्रसाई र अगुवा तारा रम्तेल हुनुहुन्छ ।

सो साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा यस गोठालो संगतिका पूर्व अध्यक्षहरू र सल्लाहकारहरू डा. सुन्दर थापा, रेभ. सोनाम टि. काबो, रेभ. गणेश प्रसाद देवकोटा, डा. तेज बहादुर रोक्का, रेभ. मिनी कुमार राई, पा. सागर बैजु, पा. ईश्वर चन्द्र काप्री, पास्टर रविनकाजी बैद्य, पा. सृजना सिंह लगायतहरूलाई प्रमुख अतिथि शालोम संगति नेपालका अध्यक्ष पा. रुद्र राईका हातबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तमा यस संगतिका अध्यक्ष रेभ. कुमार गुरूङले सहभागी सबैलाई धन्यवाद दिनुभएपछि आशिषको प्रार्थना गरी कार्यक्रम समापन गरिएको थियो ।
