२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू

— समय कुमार रम्तेल ।
नेपाली बाइबल अनुवादको पिता तथा बहुआयमिक साधक स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाई १८५१ अर्थात वि.स. १९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदीहरू सँगै थिए । वाध्यतावश उनका दाजु नेपालको पूर्व हुँदै दार्जिलिङ पुगे । आमाको निधनले उनी सानैमा टुहुरो भए । फलस्वरुप धेरै वर्ष धोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन् । गंगाप्रसाद नौ वर्षको उमेरमा आफ्नो परिवारसँगै दार्जिलिङ २९ मे, १८६१ का दिन पुगे । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । तर सानी आमाले स्कूल पठाइनन् । दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे । चियाको पत्ती टिप्न विवश भए । घरैमा मेकफर्लेन आएर निशुल्क पढाइदिने भएपछि उनी पुनः उत्साहित हुँदै स्कूल जान थाले । नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए । चार वर्षसम्म शिक्षकको जागिर खाएका थिए । यसैबीचमा गंगाप्रसादले इसाई शिक्षकबाट परमेश्वरको जिउँदो वचन सुने र येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरे । तर त्यस समयमा ख्रीष्टियन हुनु ‘फलामको चिउरा चपाउनु’ सरह थियो । बप्तिस्मा लिन र दिन मुस्किल थियो । त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । इसाई हुन गाह्रो थियो । ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो तर उनले येशू ख्रीष्टको दुःखलाई नै रोजे । ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे । त्यसको करिब एक वर्षपछि उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए । आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धि हुदै गयो ।
उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रुपमा जीवनको अन्त्य सम्म नै सेवा गर्दै रहे । उनको परिवार संयुक्तरुपमा वस्थ्यो । त्यसको पारिवारिक आर्थिक भार बढी उनकै काँधमा थियो । उनको आफ्नो निजी घर र जमिन केहि थिएन । उनको सन्ध्याकालिन जीवनमा धेरै उतारचढाव रहेको थियो । सायद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रित सुस्केराहरू थिए होलान् । उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान ? पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान् । आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो । उनले भन्ने गर्थे “म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन । तिमीहरू सबैले उनको याद गर्नु” भन्नुहुन्थ्यो रे । पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन । आफ्नै घर समेत थिएन । कर्मथलो दार्जिलिङ भएपनि उनको जन्मथलो काठमाडौं थियो । त्यो समयका प्रशासनले इसाई भएकै कारण काठमाडौं आएको केही समयमै पुनः दार्जिलिङ पठाइयो । आफ्नो जन्मथलो अनि मानिसप्रतिको माया र ख्रीष्टको सन्देश अधुरै राखी सपरिवार लखेटिनु पर्दा प्रधानलाई पिडा भएको थियो । उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो । अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जिलिङमा ८१ वर्षको उमेरमा भयो ।
गंगाप्रसाद प्रधानका महान् योगदानहरू:
त्यतिबेला भारतमा अंग्रेजहरूले मात्र पादरी पदमा अभिषेक पाउँथे तर नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए । त्यसैगरी सन् १९१६ मा लण्डन बाइबल सोसाइटीद्धारा उनलाई लाइफ गर्भनरको सदस्यता दिइयो । नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने, पहिलो नेपाली पादरी (पास्टर), पत्रिका सम्पादक तथा प्रकाशक भइ नेपाली समाचार पत्र चलाउने उनी नै भए । उनले भाषा साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीको पास्टरीय सेवामा समेत उत्तिकै योगदान दिन सफल छन् । त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक तथा व्यक्तित्व भनी सम्बोधन गरिन्छ । उनको जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा पुर्याउनुको एक मात्र लक्ष्य भनौ या मिसनको केन्द्रविन्दु चाहिँ येशू नै हुनुहुन्छ । मानिसलाई परमेश्वर चिनाउनु उद्देश्य रहेको देखिन्छ । शिक्षक, प्रचारक, लेखक, अनुवादक, पास्टर र सम्पादक जे भएपनि आफ्नो नेपाली भाषी र जातिको लागि लक्षित गरेको देखिन्छ । साहित्य, संगीत र सेवकाइमा परमेश्वरको राज्य विस्तारको महान् योगदान पुर्याएका छन् उनले । नेपाली ख्रीष्टियनहरूले पादरी गंगाप्रसाद प्रधानको योगदानलाई वास्तविक रुपमा कदर गरेका छैनौं । अरुले बनाइदिएको इतिहासमा बाँच्ने मात्र नबनौं । हामी पनि नयाँ इतिहास रट्ने होइन रच्ने बनौं ।
१) नेपाली बाइबल अनुवाद
उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे । अनुवादको काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रू भाषाबिदहरूबाट पनि सहयोग लिएर सन् १९१४ मा अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४ मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए । नेपाली भाषामा गंगाप्रसादको शीर्ष योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन । नेपाली बाइबल अनुवाद भएको पनि आज १०६ वर्ष पूरा भएको छ । यसैको खुशीयालीमा महान् प्रभुलाई धन्यवाद भन्दछौं । अनि पादरी गंगाप्रसाद प्रधानलाई सम्झिरहेछौं । नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी बिचमा बोलीरहे झैं लाग्छ । २० वर्षको साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक, महारथि र पिता बनाएको छ । अनुवाद, लेखन र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ ।
२) ‘गोर्खे खबर कागत्’ मासिक पत्रिका (सन् १९०१–१९३२)
पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ । प्रधानले स्कटीस मिशन ओर्फनेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे । उनको यो कदम प्रशंसनीय थियो । नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बने । यो १ जनवरी, १९०१ मा ‘गोर्खे खबर कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्तसम्म प्रकाशनमा आएको बुझिन्छ । यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो । आठ पृष्ठमा प्रकाशित ‘गोर्खे खबर कागत्’ पत्रिकाको सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुरमा दर्ता गरिएको छ । यो पत्रिका नेपालको ‘गोरखापत्र’ भन्दा ४/५ महिनाले जेठो छ । पत्रकारिताको विजारोपणमा ठूलो योगदान दिएका छन् ।
३) पुस्तक लेखन र अनुवादमा योगदान
यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पढाई हुन्थ्यो । उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जिलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी जम्मा २८ वटा पुस्तकहरू अनुवाद र नयाँ पुस्तक लेखे अनि आफ्नै प्रेसबाट छापे । त्यसैगरी विश्वप्रसिद्ध बाल कथाहरू अनुवाद गरेका छन् । दार्जिलिङ क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन् । मौलिक कथाहरू, आत्मकथा समेत लेख्न सफल छन् ।
४) संगीत क्षेत्रमा योगदान — लोकगीत रचनाकार
इसाई भएको नाताले उनले थुप्रै इसाई भजनहरू लेखेका छन् । जुन भजनहरू आज पनि मण्डलीहरूमा बडो आदरभावसाथ गाइन्छन् । त्यसैले हामी भन्न सक्छौ कि उनी गीतकार पनि हुन् । उनले रचेका गीतहरू मध्ये “येशू है ख्रीष्टको क्रूसैको मरण, यो जग कहिले छैन स्थिर, जय जय मसीह की जय, उभै ता हेरु बैकुण्ठ धाम छ र प्रभु, अर्जि सुनिलेउ, गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेऊ ” जस्ता गीतहरू उनका मनपर्ने गीत हुन् । दर्जनौ नेपाली भजन तथा गीतहरू रचेर मण्डलीमा सिकाए । विश्वासीलाई आफ्नै भाषा, लयमा आराधना गर्दा संगतिलाई प्रभावशाली बनाउँथे । उनका गीतहरूमा नेपाली जाति र भाषा बोध गराउने शब्द पाइन्थ्यो । जस्तै भादगाउ, पाटन कान्तिपुर शब्द छन् । उनका गीत संगीत धार्मिक मात्र नभएर जातीय प्रेमले ओतप्रोत छन् । उनले सरल र लोकलयका धार्मिक संगीत क्षेत्रमा योगदान दिए । वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उनको देन हो ।
५) भाषा शिक्षक तथा शिक्षासेवीको रुपमा योगदान
धेरै अंग्रेज मिसनेरीहरूलाई नेपाली (तत्कालिन गोर्खाली) भाषाको शिक्षा पनि दिए । जस्तै यिनैले पादरी टर्नबुललाई सिकाए । अंगे्रजी नेपाली शब्दकोश पनि संग्रह गरी प्रकाशन गरे । त्यसैगरी दार्जिलिङको कुनाकुनामा प्राइमरी स्कूल स्थापित भई विद्याको प्रचारप्रसार भएको हो । शिक्षक मात्रै भएनन् पाठ्यक्रम विद र शिक्षा सेवी पनि भएको देखिन्छ । उनले भाषा शिक्षण र शिक्षा सेवीको रुपमा योगदान दिएका छन् ।
६) इसाई सेवकको क्षेत्रमा योगदान
गंगा प्रसादले ख्रीष्टको प्रेमलाई साँचोसँग आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेका थिए । प्रत्येक कार्यहरूमा सुसमाचार प्रचारको लागि अवसर बनाउँथे । येशू प्रभुको हृदयलाई आत्मसाथ गर्दै ख्रीष्टको प्रेम बाँड्न कहिले पछि परेनन् । सुसमाचार प्रचारमा पनि त्यतिकै लागि पर्दथे । बप्तिस्मा दिने यूहन्ना जस्तै निडर र सत्यतासँग प्रचार गर्दथे । प्रत्येक आइतबार त्यसताका गुन्द्रीबजार भनिने आजको चौक बजारमा तिनको प्रचार सुन्न मानिसहरूको धुइरो लाग्थे र विश्वास गर्दथे । त्यसैले उनलाई कुशल प्रचारक भनिन्थ्यो । सरल र प्रभावकारी रुपमा प्रार्थना, संगति सेवा र बाइबलीय शिक्षा पनि सिकाउँथे । त्यतिबेलाका दार्जिलिङ क्षेत्रका बाइबलीय शिक्षक र मिसनेरी जस्तै भएर ठाउँठाउँमा गएर सिकाउँथे । आत्मिक तथा बाइबलीय ज्ञानमा पोख्त भएकाले गर्दा उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जिलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ अगस्तको शुभदिनमा पूर्ण पादरीको रुपमा ५० वर्षमा अभिषेक गरियो । नेपालीहरूबाट पहिलो पादरी (पास्टर) भए । पादरीको परिपक्व गुण थियो । पादरी सेवामा तिनी पुल्पीटमा उभिएर प्रवचन दिने र मण्डलीको धर्म विधिका कार्य सम्पन्न गर्ने व्यक्ति मात्र नभएर तिनी बडो सम्वेदनशिल प्रकृतिका थिए । विश्वासीको घरदैलोमा पुगी वास्ता र सरोकार राख्न पनि भ्याउँथे । तिनले आफ्नो सन्तुलित र सफल परिवारलाई सबैको अघि नमूना बनाएका थिए । उनले मण्डलीको सेवाकार्यलाई असल भण्डारे भएर गरे । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस वर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारमा रहेर सेवा पुर्याइरहे ।
अब हाम्रो पालो, के योगदान दिने ?
उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ । उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं । नेपाली इसाई जगतमा रहेका अग्रज सेवक, स्रष्टाहरूको योगदान र कृतिहरूको जर्गेना गरौं । ताकि भोलिको सुनौलौ इतिहास बनाऔं । आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन् । पादरी गंगाप्रसाद प्रधानको ३२ वर्षे पत्रकारिता—प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे । जीवनको अन्तिम स्वाससम्मै पवित्र कलम घोटिरहे । २० वर्षे बाइबल अनुवादमा लागि परे । २० वर्षे पादरीको सेवकाइलाई प्रभावशाली बनाए । पादरी गंगाप्रसाद प्रधानको बहुआयमिक व्यक्तित्व, प्रभावशाली जीवन र दर्जनौ कृतिहरू नेपाली इसाई जगतको लागि योगदान दिएका छन् । सो समयमा लेखनबाट अगुवाई गर्नुभयो । हाल नेपाली इसाई जगतमा पनि करिब १ दर्जन सशक्त कलमहरूले नेतृत्व गरी नेपाली मण्डलीलाई अगुवाइ र सेवा गर्नुपरेको छ । पादरी बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे । चम्किलो तारा झै चम्किरहे । महान् योगदान दिइरहे । तर अब हाम्रो पालोः के योगदान दिने ? र कस्तो इतिहास बनाउने ?
धन्यवाद
ख्रीष्टिय अभिलेख तथा स्रोत केन्द्र
बनेपा ४ काभ्रे, नेपाल
krtime2004@gmail.com

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...