२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक

२५ मे २०२१ । पास्टर रबर्ट कार्थक र पास्टर शामूएल कार्थकलाई हामीले छोटो समयका लागि गुमाएका छौँ । उहाँहरूको सेवालाई हामीले कहिल्यै भूल्नु हुँदैन र उहाँहरूले पूरा गर्न बाँकी रहेको कामलाई हामीले दृढताकासाथ पूरा गर्नुपर्ने हुन्छ । यसमा सम्पूर्ण मण्डलीका अगुवाहरू र सदस्यहरू सक्रिय रूपमा सहभागी हुनुपर्छ ।
मैले पास्टर रबर्टलाई सन् १९७६ अर्थात् बिस २०३२ मा नेपाल ईसाइ मण्डलीमा भेटेको हुँ । मण्डलीमा जाने कुरा मेरो लागि अति नै नयाँ थियो । सन् १९७६ को मे महिनामा मैले प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गरेको थिएँ । पनौतीको हाइ स्कूलमा पढ्दापढ्दै सन् १९७३ मा मैले पहिलोपल्ट सुसमाचारका तीन वटा पुस्तिकाहरू २५ पैसामा किनेर येशूको बारेमा पढ्नथालेँ । केही वर्ष पत्राचार गरेपछि मैले प्रभुलाई ग्रहण गरेको हुँ र ग्रहण गरेको एक महिनामापछि एक मित्रले मलाई नेपाल ईसाइ मण्डलीमा लानु भएको थियो । तपाईंहरू सबैले अनुमान गर्न सक्नुहुन्छ‚ त्यसबेला प्रचार गर्नु मात्र होइन येशूमा विश्वास गर्नु पनि गैर कानूनी थियो । परिवार र समाजबाट पनि त्यति नै सतावट थियो । त्यसपछि पनि बेलाबेलामा पास्टर रबर्टसँग मेरो भेटघाट भयो र सन् १९८१ मा मैले बाइबल स्कूलको नेतृत्वको जिम्मा पाएपछि उहाँसँग बेलाबेलामा भेट हुने गर्थ्यो । उहाँले त्यसबेला चेलापन तालिक केन्द्र भनी चिनिएको बाइबल स्कूलमा पढाउनु भयो र त्यसबेला हाम्रो बाइबल स्कूल सानेपामा थियो ।
उहाँसँगको शुरूको भेटघाटबाट नै उहाँको नम्रता‚ सालीनता‚जोश‚ उत्साह देखेर म अति नै प्रभावित भएँ । उहाँ प्रार्थनाका योद्धा हुनुहुन्थ्यो र सबैले बुझ्ने किसिमले वचनको सेवा गर्नुहुने व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि मलाई लाग्छ १९८६ बाट बाइबल संसोधन गर्ने कार्यमा पनि उहाँ लगायत अरू वरिष्ठहरूको संलग्नता थियो । त्यसबेलाका नेपाल बाइबल सोसाइटीका कार्यकारी महासचिव लोकनाथ मनेनका बुबा थियोडर मनेन लगायत एचसी प्रधान‚ र अन्य वरिष्ठ व्यक्तित्वहरू हुनहुन्थो । त्यो समूहमा सबैभन्दा कान्छो म थिएँ । बाइबल सोसाइटीको संसोधन काम नेपाल ईसाइ मण्डलीमा राखिएको बेला मैले पास्टर शामुएललाई अलि बढी नजीकबाट चिन्ने मौका पाएँ । सन् १९९० को जनआन्दोलनको बेला पास्टर रबर्ट लगायत हामीहरू बाइबल सोसाइटीको कामको लागि मेघालयको सिलोनमा थियौँ र नेपालको अवस्था जटिल भएका समाचारहरू आएपछि हामी केही दिनपछि नेपाल फर्क्यौँ । अरू समयमा पनि मैले उहाँ लगायत अरूहरूसँग बाइबल सोसाइटीको काम र अन्य सम्मेलनमा उहाँसँग यात्रा गर्ने अवसर पाएको छु । त्यसपछि पनि यो संस्करणको काम हुँदाहुँदै सन् १९९० को जुनमा मेरो अध्ययनको लागि म र मेरो परिवार भारत गयौँ । भारतबाट मेरो अध्ययन सकिएपछि नेपाल ईसाइ मण्डलीले यसको ५० वर्षको सुवर्ण जुब्लीको अवसरमा प्रभुको वचन बोल्ने मौका पनि मैले पाएको थिएँ ।
पास्टर रबर्ट कार्थक सन् १९५४ मा कठिन परिस्थितिमा नेपालमा प्रवेश गर्नुभयो । उहाँसँग अरू सदस्यहरू पनि हुनुहुन्थ्यो । त्यसबेला नेपालमा ख्रीष्टियानहरूका लागि अति नै कठिन अवस्था थियो । तर उहाँ लागयत डा राजेन्द्र रोङ्गोङ् र अन्य सहकर्मीहरूले प्रभुबाटको बोलावट पाउनुभएको कारणले कठिन परिस्थितिमा पनि उहाँहरू खडा हुनुभयो र नेपालको मण्डलीलाई ठूलो उदाहरण प्रस्तुत गर्नुभएको छ । मेरा यी केही सम्झनाहरू छन् र अरू धेरै प्रभुका दासहरूले उहाँबाट महत्वपूर्ण शिक्षा र उदाहरण देखेका छन् ।
पास्टर सामुसँग मैले केही सुसमाचारीय सभाहरूमा सँगै सेवा गर्ने अवसर पाएको छु । उहाँले विभिन्न सुसमचारीय सेवाहरूमा संगीत समूहको नेतृत्व गर्नुहुन्थ्यो र मैले पनि धेरै यस्ता सुमाचारीय सभाहरूमा वचनको अनुवाद गर्ने अवसर पाएको थिएँ । पास्टर रबर्ट कार्थक र पास्टर शामुएल अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न तर उहाँहरूले नेपालको मण्डली र विश्वव्यापी रूपमा दिनुभएको सेवा र प्रभावका निम्ति हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ । पास्टर रवर्टसँग भेट्दा जहिले पनि उहाँले पवित्र आत्मामा भरिने र पवित्र आत्माका वरदानहरू र फल हाम्रो जीवनमा निर्माण गर्नुपर्ने कुरालाई विशेष जोड दिनुहुन्थ्यो । उहाँले छोडेर जानुभएको आत्मिक सम्पदालाई नेपालको मण्डलीले जगेर्ना गर्नुपर्छ र परमेश्वरको नाम‚ उहाँको राज्य‚ धार्मिकता‚ र इच्छा यो देशमा पूरा हुनुपर्दछ । बाबु र छोराले छोडेर जानुभएको बाँकी जिम्मेवारी हामीले पूरा गर्यौँ भने उहाँहरूप्रतिको हाम्रा साँचो सम्मान यथार्थ हुनेछ ।
उहाँहरूको भौतक मृत्युपछि अहिले सञ्चार सञ्जालमा धेरै टीकाटिप्पणी गरेको पाइयो । विशेष गरी दफन र दहनको विषयमा । मैले आजभन्दा झण्डँ २२ वर्ष अगाडि यस वियषमा अध्ययन गर्न शुरू गरेँ । यो मेरो अनुसन्धान युनिभर्सिटी अफ वेल्स यु के मा भर्ना भएपछि शुरू भएको थियो । त्यसबेला पनि नेपालमा दफन गर्ने बारेमा धेरै समस्या थियो । सन् १९८१ देखि नेपालका विभिन्न स्थानहरूमा यात्रा गर्दा मैले त्यो कठिनाइ देखेको थिएँ । त्यसैले यस विषयमा अध्ययन गर्ने प्रयास गरेँ र र मेरो अध्ययन पार्ट टाइम भएको हुनले मैले सन् २०१० मा यस अध्ययनलाई पूरा गरेँ । मेरो अनुषन्धानलाई अक्सफोर्ड सेन्टर फर मिसन स्टडी र एकता बुकस डिस्ट्रिब्युटरले प्रकाशन गरी प्रयोगमा ल्याएको छ । दफन र दहनका विषयमा जान्नका लागि यस पुस्तकलाई पढ्नुहोस् भन्ने म अनुरोध गर्दछु ।
यस पुस्तकमा समावेश भएका अन्तरवार्तामा पास्टर रवर्ट कार्थक लागायत वरिष्ठ पास्टरहरूको पनि अन्तरवार्ता छ । प्रायजसो सबैका विचारमा दफन र दहन दुवैलाई स्वीकार गर्न सकिन्छ किनकि परमेश्वरशास्त्रले मृत्युपछि एक व्यक्तिलाई कुनै पनि किसिमले सहयोग गर्न सकिँदैन र एक व्यक्तिको उद्धार मृत्युभन्दा पहिले नै निर्णय गरिएको हुन्छ र पुनरूत्थानमा पनि दफन वा दहनले कुनै असर पार्दैन । त्यसकारण अनवश्यक किसिमले यस विषयलाई उठाएर अनादर गर्ने काम नहोस् भन्ने मेरो विनम्र अनुरोध छ । नेपालको मण्डलीमा दहन गर्ने कार्य अहिले मात्र होइन तर अभ्यास हुँदै आएको छ । हामीले मण्डलीका अगुवाहरू वा सदस्यहरूलाई उद्धार र पुनरूत्थानका बारेमा सही शिक्षा दिनुपर्छ र भ्रम फैलाउने काम गर्नुहुँदैन ।
पास्टर रबर्ट आफैले यो निर्णय गर्नुभई नेपालको मण्डलीको लागि व्यावहारिक उदाहरण दिनुभएको छ । उहाँले आफ्नो मृत्युमा पनि मण्डलीलाई दीर्घकालिन सेवा प्रदान गर्नुभएको छ । हामीले दफन वा दहन दुवै किसिमका संस्कारहरूलाई स्वीकार गर्न सक्छौँ र यसलाई विवादित बनाउनुपर्ने कुनै पनि कारण छैन । यस विषयमा भविष्यमा हामीले छलफल चलाउनुपर्छ र मण्डलीलाई सेवा पुर्याउनुपर्छ ।
अन्त्यमा‚ पास्टर रबर्ट र सामुलाई स्मरण गर्दै उहाँहरूका योदानका लागि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र उहाँहरूले छोडेर जानुभएका परिवारका सदस्यहरू र नेपाल ईसाइ मण्डलका पास्टरहरू‚ अगुवाहरू र सम्पूर्ण मण्डली सदस्यहरूमा समवेदना व्यक्त गर्दै उहाँहरू सबैका लागि प्रार्थना गर्न चाहन्छु । परमेश्वरले यस घडीमा उहाँहरू हरेकलाई शान्ति‚ सान्त्वना‚ र धैर्यता प्रदान गर्नुभएको होस् भनी प्रार्थना गर्दछु । त्यसैगरी कोभिडका कारण आफ्नो भौतिक शरीर गुमाउनुभएका सम्पूर्ण प्रभुका जनहरूका जीवन र योगदानका लागि लागि परमेश्वरमा धन्यवाद चढाउँदै यस दुःखद घडीमा उहाँहरूका परिवार‚ आफन्तहरू र मण्डलीप्रति समवेदना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...