काठमाडौं, २७ सेप्टेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औँ राष्ट्रिय भेला आज जुम प्रविधि मार्फत सम्पन्न भएको छ । महासंघको राष्ट्रिय भेलामा नेपाल लगायत विभिन्न देशमा रहि काम गरिरहेका महासंघका पदाधिकारीहरू तथा नेपाली भाषी पास्टर अगुवाहरूको जुम प्रविधिमार्फत सहभागीता रहेको थियो ।
१३ औँ राष्ट्रिय भेलामा महासंघका विभिन्न महादेशीय प्रमुखहरूले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको राष्ट्रिय भेला आयोजना गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसै गरी महासंघका अध्यक्ष सि.वि. गहतराजले महासंघको आगामी कार्यक्रमलाई समेटेर सम्बोधन गर्दै ११ बुदेँ काठमाण्डौं घोषणा पत्र समेत जारी गर्नुभएको थियो ।
राष्ट्रिय भेलाको अवसरमा होसन्ना चर्चका पास्टर राजु सुन्दासलाई ३ वर्ष अघि महासंघको सहअध्यक्ष पदबाट बर्खास्त गर्नु ठूलो गल्ती भएको भन्दै क्षमा याचना गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सह अध्यक्ष पदमा पूनः नियुक्ति समेत गरिएको थियो । स्मरण रहोस्, ३ वर्ष अघि महासंघले पास्टर राजु सुन्दासलाई सहअध्यक्ष पदबाट बर्खास्त गरेको थियो ।
महासंघका पूर्वअध्यक्ष रेभ.डा. सुन्दर थापाले शुरुको प्रार्थना गरी कार्यक्रमको शुरुवात गरिएको थियो । सहअध्यक्ष रिता काबोले स्वागत मन्तब्य राख्नुभएको थियो भने विशेष शुभकामना अमेरिकास्थित बि.एन.सि.एका अध्यक्ष पास्टर भद्र राईले दिनुभएको थियो । वरिष्ठ सहअध्यक्ष पा.डा.फिलेमोन क्षेत्रीले परमेश्वरको वचनबाट उत्साह दिंदै वचनको सेवा दिनुभएको थियो उपमहासचिव पा. धनराज घिमिरेले गत आर्थिक वर्ष २०७६/७७को प्रगति विवरण पेश गर्नुभएको थियो भने विभागीय प्रमुखहरूले आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो ।
महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरियाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा इस्राएलका लागि महासंघका सद्भावदूत पा. माया सुनुवार, संयुक्त राज्य अमेरिकाका लागि महासंघका सद्भावदूत डा. मनोज श्रेष्ठ, अष्ट्रेलिया महादेश प्रमुख मुना पाण्डे, एसिया महादेश प्रमुख रेभ. राजु वराइली, युरोप महादेश प्रमुख रेभ. डम्बर अधिकारी, अमेरिका महादेश प्रमुख डा. प्रकाश मेघी गुरुङ, प्रवासी तथा गैह्र आवसीय विभाग प्रमुख पा. निमा घिसिङ लगायतले महादेशीय गतिविधिको जानकारी गराउनुभएको थियो ।
यस्तो छ राष्ट्रिय ख्रीष्टियन महासंघको ११ बुँद घोषणा पत्र
१. नेपाल सरकारसँग भएका ३ बुदेँ र ६ बुदेँ सहमति अन्तर्गत विशेषतः समाधि स्थलको अस्थाई र स्थायी जग्गाको नीतिगत व्यवस्था, स्वतन्त्र गुठी तथा ख्रीष्टियन आयोग गठन सम्बन्धि राष्ट्रिय बहस गरी नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गर्ने गरी त्यसको स्वरुप तयार पारेर नेपाल सरकार समक्ष प्रस्तुत गर्नेछौँ ।
२. नेपाल सरकारसँग भएका ३ बुँदे र ६ बुँदे सहमतिहरूको अक्षरस पालना गराउनका लागि सातै प्रदेश तथा सबै जिल्ला समितिहरूलाई सक्रिय बनाई आवश्यक प्रशिक्षण दिइनुका साथै योजना बनाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराइनेछ ।
३. सबै महादेशीय समितिहरूलाई प्रशिक्षण गरी संगठित गर्दै बाँकी रहेका देशमा सद्भावदूतको मनोनयन तथा समिति विस्तार गरी नेपाली ख्रीष्टियन समूदायको स्वभिमान र अधिकारको लागि विगतमा भएका ३ बुँदे सहमतिहरूलाई प्रभावकारीताका साथ उठान गर्न संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय कुटनीतिक नियोगका साथै सम्बन्धित निकायहरूसँग पनि समन्वय र सहकार्य गरिनेछ ।
४. राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरी केन्द्रिय तथ्याङ्क विभागसँगको बिशेष समन्वय तथा सहकार्यमा देशैभरिका ख्रीष्टियनहरूको बीचमा जनसंख्या सम्बन्धि सचेतना अभियान सञ्चालन गरिनेछ ।
५. नेपाली ख्रीष्टियन समुदायको इतिहासमै पहिलो पटक नेपाली ख्रीष्टियनहरूको स्थितिको पूर्ण सर्वेक्षण गरिने भएकाले केन्द्रिय तथ्याङ्क विभागसँग समन्वय गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बैज्ञानिक विधि अपनाई सबै निकायसँगको सहयोग र सहकार्यमा सम्पन्न गरिने छ ।
६. अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुदायमाथि हुने विभेद, धार्मिक गतिविधि सञ्चालनका क्रममा लाग्ने झुटा आरोप विरुद्ध महासंघले घटनाको अध्ययन गरी मानव अधिकारका सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै न्याय दिलाउन आवश्यक कानूनी प्रक्रियामा अघि बढ्ने र न्यून आय श्रोत भएका पीडित पक्षको सन्दर्भमा निःशुल्क मुद्धा लड्ने व्यवस्था मिलाइनेछ ।
७. साताको प्रत्येक बुधबार केन्द्रमा हुँदै आएको नेपाल राष्ट्रका लागि प्रार्थना सभालाई सातै प्रदेश, विभिन्न जिल्ला, ४ वटै महादेश लगायतका आवश्यक स्थानमा अभियानका रुपमा सञ्चालन गरिनेछ ।
८. राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली भाषी मण्डलीहरूको प्रार्थना साथै चाहना र ख्रीष्टियन समुदायकै आवश्यकतालाई मध्य नजर गर्दा नेपाली ख्रीष्टियन समुदाय नमिल्नु पर्ने कारण नभएको र मिल्नुको विकल्प पनि नरहेको हुँदा नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ नेपाल) र नेपाल ख्रीष्टियन समाज (एन.सि.एस) साथै विभिन्न चर्च सम्प्रदायहरूसँग आ आफ्नो उद्देश्यमा रही सहकार्य गर्नका लागि आवश्यक समन्वय गरिनेछ ।
९. नेपालको संविधान २०७२ मा धर्म निरपेक्षताको गलत परिभाषा र नेपाल सरकारले हस्ताक्षर गरेका विभिन्न अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धि भावना विपरित जारी गरिएको मुलुकी अपराध (संहिता) ऐन, २०७४को परिच्छेद ९ को १५७ र १५८ लाई संशोधन गर्न अन्तर धार्मिक समुदायसँग आवश्यक समन्वय र सहकार्य गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ध्यानाकर्षण गराइनेछ ।
१०. नेपाली ख्रीष्टियन समुदायमा कानून तथा मानव अधिकारसँग सम्बन्धित साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै महिला, युवा तथा बालबालिकाको व्यक्तित्व, नेतृत्व विकासमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनेछ ।
११. नेपाली ख्रीष्टियन समुदायमा सञ्चालनमा रहेका विभिन्न सञ्चार गृह तथा श्रम जीवि पत्रकारहरूसँग सहकार्य र समन्वय गरी अघि बढ्ने साथै हाल मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित झुटा सामाग्रीको खण्डन गर्ने र ख्रीष्टियन समुदायका गतिविधिहरूलाई सकरात्मक सन्देश प्रवाह गर्न अभिप्रेरित गरिनेछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४