केपी अधिकारी ।
आज संसारमा मानव जातिलाई अप्रत्यासित धेरै किसिमका झमेलाहरू, युद्धहरू, विपत्तिहरू, रोगका महामारीको संकटहरू आदि जस्ता घटना क्रमहरूले समग्रतामा भन्दा मानव अस्तित्व नै संकटमा परेको जस्तो भएको छ । आज मानिस कुनै स्थानमा पनि सुरक्षित महसुस गरी लामो स्वास फेर्न सकिरहेको छैन र दिन दिनै प्राकृतिक होस् वा मानव निर्मित घटनाबाट आफ्नो जीवनलाई जोखिमयुक्त वा संकटासन्न अवस्थामा बाँचेको छ । अनि मानिसलाई यो पनि थाहा छ कि पृथ्वी सुरक्षित छैन र मानिस आफ्नो भौतिकवादी मोह र चिन्तनको विकल्पको खोजीमा छ, शान्ति र अमन चैनको खोजीमा छ । मानिसले स्टील टावर बनायो, अन्तरिक्ष र चन्द्रमामा पुगेर देखाइदियो, विश्वलाई सञ्चारद्वारा एउटा गाउँ जस्तै बनाइदियो अनि विज्ञान र प्रविधिमा आफ्नो मगजलाई नै विश्वविद्यालय बनायो, मन र मस्तिष्कलाई डिजिटल बनायो अझै के के बनाउँदै पनि छ र थाकेको पनि छैन । तर इतिहासलाई हेर्दा मानिसले अचम्म अचम्मका रोग र भाइरसहरूबाट बच्ने र उपचारका प्रविधिहरू पत्ता लगाउन समय लगायो, जसका कारण आफ्नो क्षति भइरहेको छ र पनि अगाडि बढिरहेकै छ, अनुसन्धान गरिरहेकै छ, हारेको छैन । आज संसारभरि कोरोना भाइरसले करोडौं मानिसलाई सताएको छ, लाखौंको संख्यामा ज्यान लिएको छ तर मानिस अगाडि बढिरहेको छ, काममा सुस्ताएको होला तर आत्मबललाई चुस्त पारेको छ, समवेदनाका छटपटी होलान् तर जिम्मेवारी वहन गरिरहेको छ, मृत्युका बादलहरू मडारिरहेका छन् होला तर आफ्नो दौडमा थाकेको छैन । घर परिवारमा सन्नाटा छाएको होला तर आफ्नो बत्ती निभाएको छैन, विस्मात र रोदनमा होला तर मुस्कुराउन छोडेको छैन, लड्दै फेरि उठ्दै बाँच्न सिकेको छ ।
यो सबै कुरा हुँदा, आफूलाई सताइ रहदा, कालो बादलको छायामुनि बसिरहनु पर्दा पनि हामी मानिस आफ्नो यो क्षमता र अस्तित्वलाई “लक डाउन” मा जान नदिने र बारम्बार हामीलाई जोगाई रहनुहुने ईश्वरलाई निरन्तर उच्चमा प्रशंसा गरिरहनु आज हामी सबैको दिनचर्या बनेको छ । पृथ्वीमा आइपर्ने हरेक विपत्तिहरूले मानिसलाई क्षति त पुर्याइरहेकै हुन्छ र यस्ता परिस्थितिहरूको सामना गर्ने साहस पनि परमेश्वरले नै दिइरहनु भएको छ । यी सबै हुनुको पछाडि हाम्रा परमेश्वरले हामीलाई जस्तै परिस्थितिमा पनि छोड्नुहुनेछैन भन्नेउहाँको पूर्ण प्रतिज्ञामा अनि अनुग्रहमा हामी बाँचिरहेका छौं । पृथ्वीमा भएका सबै कुराहरूले हामीलाई सताउन सक्छन् तर परमेश्वरको अनुग्रह हामीमाथि रहेको कारणले हामी भष्म हुने छैनौं भन्ने बारे बाइबल धर्मशास्त्रले हामीलाई सुझाएको छ । हामीहरू उहाँको अचुक कृपाबाट सुरक्षित छौं चाहे शरीरमा होस् चाहे आत्मामा होस्, चाहे पृथ्वीमा होस् चाहे स्वर्गमा होस् सबै अवस्थामा हामी उहाँको अनुग्रहको छातामुनि सुरक्षित महसुस गरिरहेका छौं । पवित्र ईश्वरशास्त्र बाइबलमा परमेश्वरले हामीलाई हाम्रो सबै परिस्थितिहरूमा सुरक्षाको पर्खाल राखिदिनुभएको छ, जसका कारण हामी जस्तै अवस्थामा पनि सुरक्षित महसुस गर्न सक्छौं । परमेश्वरले हामीलाई नष्ट हुने भोजनको लागि नभई अनन्तसम्मको लागि रहने जीवनको लागि जसरी पिताले ख्रीष्ट येशूलाई छाप लगाउनुभयो, ठिक त्यसरी नै ख्रीष्ट येशूले हामीलाई छाप लगाइ सक्नुभएको छ । यसरी हामी उहाँको छाप लागेका कारण सुरक्षित भएका छौँ । अनि पिताद्वारा पवित्र आत्माको छाप प्रभु येशूमा लगाउनुभयो, जसका कारण हामी सबै यसरी नै ख्रीष्टको छापमा सुरक्षित हुन्छौं । ख्रीष्ट येशूको छाप हामीमा भएको कारण उहाँको अभिशेष पनि प्राप्त गरेकाछौं त्यसैले हाम्रो आत्मिक जीवनको सुरक्षाको पर्खाल निकै बलियो छ र अझै बलियो बनाउन हामी उहाँ संगै रहिरहनु पर्दछ क्ष्अनि उहाँको अचुक र असिम कृपा पाएका कारण हामी कुनै पनि प्रकारको विपत्तिबाट भस्म हुनुपर्ने छैन । संसारमा कतिले आफ्नो पर्खाल धनद्वारा त निर्माण गरिरहकै होलान् तर आफ्नो जीवनको (आत्मिक जीवन) पर्खाल निर्माण गर्न बिर्सेको हुनसक्छ, सोको लागि हामी निरन्तर प्रार्थना गरिरहनु पर्दछ । मानिस आफ्नो पद ,धन, ज्ञान आदिबाट सुरक्षित हुन कठिनाई हुनसक्छ यी सबै थोकहरू त हामीले परमेश्वरकै अनुग्रहबाट प्राप्त गर्न सकिरहेका छौं र कति मानिसलाई आफ्नो धन, पहुँच, शक्ति (जो क्षीण भएर जाने पक्का छ), पद र ज्ञानको पर्दाले परमेश्वरलाई छेकिसकेको हुन्छ र यो अस्थायी पृथ्वीको जीवनभर अनवरत यिनै कुराहरूको वरिपरि मानिस मोज गरिरहेको हुन्छ ।
एउटा कथाको याद आयो – एक जना अति नै धनी व्यक्ति थियो, जसलाई त्यति हुँदा पनि राती निद्रा नलाग्ने समस्या थियो किनभने उ जहाँ बस्दथ्यो त्यो ठाउँमा अरु मानिसहरूको पनि जमिन र घरहरू थिए । एक रातको समयमा उसले आफुले देखेजति जमिन हात पारेर समाजको सबै भन्दा धनी बन्ने रहरको सपना देख्यो र जुरुक्क उठेर आफ्ना ईश्वरलाई रोएर पुकारा गर्न थाल्यो । अति नै गरेपछि ईश्वरले दर्शन दिएछन् र बाबुलाई अझै के चाहिएको छ भनी सोधेछन् । तब त्यो मानिस आँसु पुछ्दै प्रभु मैले देख्न सक्ने जति जमिन मलाई चाहियो भनेछ । त्यसपछि ईश्वरले पनि ल अब एउटा उपाय दिन्छु, सो मान्नु र गर्नु अनि सबै तिम्रो हुनेछ भनेर अब भोलि बिहान जति सक्छौ बिहान सबेरै उठेर केहि पनि नखाईकन एउटा कोदालो हातमा लिनु र तिमी उभिएको स्थानमा एउटा चिनो लगाउनु, अनि लगातार अगाडि हिड्दै जानु चिनो लगाउँदै जानु र घाम अस्ताएपछि रोकिनु, अनि तिमीले दिनभर हिडेर जति परिक्रमा गर्न सक्छौ, त्यो जमिन तिम्रै हुनेछ भनि ईश्वरले भने पश्चात् त्यो मानिस भोलिपल्ट बिहानै यात्रा सुरु गरेछ, मक्ख पर्दै । आधा दिन हिडिसक्यो अनि फेरि हेर्छ जमिन त धेरै हात परिसकें भन्ने लाग्दैछ, भोक लागेपनि प्यास लागेपनि खान पिउन मिलेन । अनि घाम अस्ताउनु अघि टाढा जमिनमा पुगेर यसो हेर्छ आफुले सुरु गरेको जमिन देख्नै सकेन, आँखा पनि कमजोर भए, शरीर गलिसक्यो, अब घाम अस्तायो अनि रोकियो, भुइँमा गल्र्याम्म लड्यो, एकछिन पछि उसको स्वासप्रस्वास रोकियो । भोलिपल्ट गाउँका मानिसहरू आएर देखे मानिस मरिरहेको रहेछ अनि त्यो मृत शरीरलाई त्यही ठाउँमा ६ फिट लामो, दुई फिट चौडा र ४ फिट गहिरो खाल्डो खनेर पार्थिव शरीरलाई पुरिदिए अनि भन्दै घरतिर फर्के – हाय ! के रहेछ र जीवन मात्र ६ फिट भए पुग्ने रहेछ । आज यस प्रकारका थुप्रै पात्रहरू हाम्रो समाजमा पनि होलान्, हाम्रो कार्य क्षेत्रमा उच्च पदमा होलान्, एकले अर्काको आत्मसम्मानमा ठेस पुर्याइ रहेका होलान्, आफ्नो स्वार्थमा परमेश्वरको नामलाई बदनाम गरिरहेका होलान्, अरुलाई थिचोमिचो गरेका होलान्, संसारसँगको मित्रतामा रमाइरहेका होलान् । यस्तो अवस्थामा कतिले त रुँदै रुँदै प्रार्थना पनि गरिरहेका होलान्, दुःखको अवस्थामा पनि आफ्नो आत्मिक यात्रा र परमेश्वरसँगको घनिष्टतालाई अझै चुस्त पारिरहेका होलान् ।
अनि हामीले के नै ल्याएका छौं र यो संसारमा आउँदा अनि के लिएर जाने हो र ? हाम्रो आत्मिक जीवनको सुरक्षा गर्न सक्नु नै ठूलो कुरा हो, आत्मिक जीवनको फिक्री गर्नेले सांसारिक थोकलाई पहिलो प्राथमिकतामा राख्न सक्दैन । बरु आफु र आफ्नो परिवारको आत्मिक यात्राको लागि संधै तृषित रहन्छ र परमेश्वरको नजिक रहन चाहन्छ । आँखाले देखिने कुराले गर्दा शरीरले त्यो चाहन्छ अनि त्यसमा रमाउँदा समग्र आत्मिक जीवन अँध्यारोमा रहन्छ र मानिसले अन्तमा अपेक्षा नगरेको नतिजा पनि भोग्नुपर्दछ ।
आज हामीहरू कसरी आफ्नो जीवनलाई चलाइरहेका छौं ? हाम्रो शरीरको अभिलाषा अनुसार कि आत्मिक जीवनको नियन्त्रणमा चलेको छ ? धर्मशास्त्रले भन्छ – सबै कुरा भन्दा आफ्नो हृदयलाई सुरक्षित राख किनभने त्यो सारा जीवनको मूल हो । हामी हाम्रो सुरक्षाको पर्खाललाई अझ मजबूत बनाउनु परेको छ, मण्डलीलाई ताजा अभिषेक चाहिएको छ, सबै संसारको लागि परमेश्वरको करुणा चाहिएको छ, परमेश्वरमा सत्य र जीवित अनि इमान्दारीपुर्वक सेवा गर्नेहरूको लागि साहस चाहिएको छ, परमेश्वरले स्थापना गर्नुभएको संघ संस्थाहरूमा पवित्रता र उहाँको भयमा नेतृत्व गर्ने अनि अनियमितता नगर्ने इमान्दार जन चाहिएको छ, देश र राज्य संचालनको लागि निरन्तर प्रार्थना गर्ने जमात चाहिएको छ । आउनुहोस् हामी सबै मिलापमा आऔं र नम्रता र ईश्वरको भयमा सबै कुराहरूको लागि घुँडा टेकेर प्रार्थनामा जुटौं ताकी हाम्रो सुरक्षाको पर्खाल बलियो बनोस् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४