-केपी अधिकारी, ललितपुर ।
आज संसारमा मानिसहरु आफ्नो आफ्नो व्यस्तता र संघर्षमा दौडिरहेका छन् र भोतिकवादी चिन्तन र आधुनिक प्रविधिले उनीहरुलाई दिन दिनै नयाँ चुनौतिहरु साथै अवसरहरु पनि थपिदिएको छ । मानिस आफ्नो सफलताका कथाहरु बनाउनतिर लागेका छन् । आज संसारमा जे जति प्रगतिहरु मानवले हासिल गरेको छ, ति सबैको मुख्य कारण नै प्रतिस्पर्धात्मक अभ्यास हो । ढुंगे युग हुँदै, शिकारी अनि कृषि–पशु पालन युग हुँदै औधोगिक समाजतर्फ उन्मुख भएको मानव सभ्यता आज स्टील र डिजिटल युगसम्म आइपुग्दा अब विस्तारै आफुले पनि काम नगरी आफ्ना सबै काम इलेक्ट्रिकल रोबोर्ट (डिजिटल मानिस)लाई जिम्मा दिने समयसम्म पुग्न लागिसकेको छ । अनि मानिसले आफूमाथि भर नपर्ने अवस्थाको थालनी पनि हुने संकेत गरी मेशिनलाई नै सबै जिम्मेवारी दिने समेत समय आउने हो कि भन्ने चिन्तन भई सकेकोले हामी मानवले गर्ने अबका दिनका कामहरु के के हुन सक्छन् होला भन्ने जिज्ञासा पनि छ । विकसित अहिलेको डिजिटल-सामाजिक जीवनले विश्वका मानिसलाई एउटा सानो गाउँ जस्तो बनाई दिएको छ र मानिसले यसलाई अत्यन्त गौरवका साथ आत्मसाथ पनि गरिरहेकै छ । विश्वमा मानिसले चाहे अनुसारका वस्तुहरुको उत्पादन हुने अनि यसको बजारीकरण पनि केहि घन्टामै विश्वमै पुग्ने डिजिटल प्रणालीले मानिसलाई निकै चतुर पनि बनाएको छ । मानिसले आफ्नो योजनाले विकासलाई आंकलन गरे भन्दा निकै द्रुत गतिमा संसारमा विकासका आयामहरू तरंगित भैरहेका छन् । अनि विकासका गतिका कारण संसारमा राष्ट्र-राष्ट्र बीच सामाजिक–आर्थिक रुपमा सम्पन्नता र विपन्नताको परिभाषाहरु देशहरुमा छाईरहेका छन् । नेपाल पनि यस्तै परिभाषाका कारण तेस्रो विश्वमा अर्थात् विकासोन्मुख राष्ट्रको सूचीमा परेको हो । देशको विकासको तहलाई मापन गर्ने सूचकहरु त अरु धेरै छन् तथापि मुख्य सूचक भनेको देशमा आधारभूत आवश्यकताको परिपुर्ती अवस्था, प्रतिव्यक्ति आय, कुल राष्ट्रिय आम्दानी, मानव विकास संसाधन अवस्था, भौतिक रुपमा गुणस्तरीय जीवनको अवस्था, प्रतिव्यक्तिको औसत आयु आदि पर्दछन् । अनि आजभोलिको जल्दो बल्दो “मानिसको सर्वांगीण विकासमा मानसिक स्वास्थ्यको अवस्था”ले पनि रास्ट्रको सम्पन्नताको तह बताउँछ ।
आज मानिस आफ्नो मात्र बैभव भए पुग्ने र यसका लागि आफ्नो जीवन संचालन गर्न बढी मात्रामा भौतिक पदार्थबाटको सम्वृद्धिलाई केन्द्रबिन्दु मानेकाले मानिस- मानिस, देश-देश बीचमा असमझदारी पनि बढ्दै गएको देखिन्छ ।
तर हामी परमेश्वरमा आफ्नो विश्वासको जीवन जिउनेहरुलाई भने यी सबै प्रकारका जीवनका मान्यताहरुले भन्दा ईश्वरीय तरिकाबाट आफ्नो जीवनको तह मापन गर्नुपर्ने कुरा पवित्र धर्मशास्त्र बाइबलले सिकाएको छ । हाम्रो जीवन जियाई, भोगाई, अभ्यास अनि चलनचल्ती सबै बाइबलीय अर्थात् ईश्वरको नियमानुसार बनायौँ भने हामी परमेश्वरको स्वर्गीय जीवनमा प्रवेश गर्न लायकका बन्ने निश्चित छ । यो प्रेमपत्रमा परमेश्वरले आफ्नो सबै प्रेम हामीहरुको लागि पस्कनु भएको छ, जसलाई हामी प्रस्ट बुझ्न सक्छौं र नियमित रुपमा घरिघरि पढेर आस्वस्त पनि हुन्छौं । अनि जीवनको अन्तिम निचोडमा हामी झुक्ने कुरा अर्थात् नम्रताको कुरा सो पत्रमा पाउँछौं र हामी सो अनुसार आफुलाई राख्न भरमग्दुर प्रयत्न पनि गरिरहेका हुन्छौं र कतिले गर्न बाँकी पनि हुनसक्छ । बाइबलमा झुक्ने वा नम्रताबारे थुप्रै पुस्तक र खण्डहरुमा हामी सिक्न पाउँछौ । हाम्रो बाइबलमा हामीले झुकेको नमूना र उत्तम उदाहरण स्वयम् ख्रीस्ट येशु हुनुहुन्छ । हामी सबैको लागि पृथ्वीमा स्वयम् मानिसको रुप धारण गरेर हामीहरु सबैलाई उहाँको पाईला पछ्याउने बनोस् भनेर नम्रताको सबैभन्दा उच्चतम सेवा गरी संसारलाई नै सिकाउनुभयो र आज उहाँलाई हेर्नेहरुले यो नमुनालाई सिरोधार्य गरेका छन् कि छैनन् भन्ने गहिरो र मार्मिक सवाल समग्र इसाई जगतमै फैलिएको छ । यूहन्ना १३: १-१७ खण्डमा ख्रीस्टले प्रस्तुत गर्नुभएको नम्रता आज मानिसले अरुको निम्ति त बचनबाट बोल्ने गरिएको छ तर वास्तविक रुपमा ख्रीस्ट जसरी होचिनु भयो र आफ्नै चेलाको खुट्टा समातेर धोई दिने र रुमालले पुछ्ने सेवा गर्नुभयो अनि तिमिहरुले पनि यस्तै गर्नु भन्नुभयो । अनि उहाँले आफ्नो मण्डलीलाई सिकाएको उच्चतम प्रेम र नम्रताको घोषणा अनि जीवनका सबै शिक्षाहरुलाई उहाँले सिकाउनु मात्र भएन बरु आफैले गरेर पनि देखाउनुभयो ताकी हामीले जे देखेका छौं, सो आफ्नो जीवनमा पछ्याउन सकौं र ख्रीस्टको गवाही बन्न सकौं जो क्रुस सम्मै झुक्नुभयो । तर आज हामीहरु कति जनाले ख्रीस्टले गर्नु भएको महान सेवाको नमुनालाई आफ्नै नमुना बनाएको हुनसक्छ । जसका कारण मण्डलीमा समस्या आउने, धेरै वर्ष विश्वासमा हिडेका मानिसहरु विस्तारै हराउने, भौतिक विषयले बढी प्राथमिकता पाउने, अगुवाको जीवनलाई हेरेर अरुले नक्कल गर्न खोज्ने अनि अन्तरिक संघर्ष हुने, आर्थिक र जातीय भेदभावबाट मानिसको व्यवहार परिवर्तन हुने, ख्रीस्टको मण्डलीमा आफ्नो तरिकालाई, नियमलाई अनि आफ्नै निजी बिचारलाई प्रधानता बनाउने, पारदर्शितामा कमजोर हुने जस्ता कुराहरुले राज्य गरेको पनि पाइन्छ ।
संसारमा कोरोना भाइरसले आतंक फैलाईरहेको वर्तमान अवस्थामा मण्डलीले सदस्यहरुलाई अथवा विश्वासका परिवारहरुलाई कस्तो प्रकारले संगती दिदै आएको छ अनि सम्पूर्ण विश्वासीजनहरुको आत्मिकी वृद्धि भएको छ कि छैन, उनिहरुले (मण्डली, संघ-संस्था) आफु बसेको समुदायमा लक-डाउनलाई अवसरको रुपमा लिएर ख्रीस्टको बासना छर्न सफल भए कि कुनै पहल नै गरेनन्, सबैको लागि प्रार्थनामा सम्झे कि सम्झेनन्, मण्डली अगुवाहरुले सबै सदस्यको वास्ता फिक्री गरे कि गरेनन्, समुदायमा सहयोग पुग्ने कुनै सेवा गरे कि गरेनन्, संकटमा एक अर्कालाई उत्साह दिने काममा लागे कि लागेनन्, कार्य क्षेत्रमा आफ्ना स्टाफको बारेमा कसरी वास्ता गरे र सान्त्वना दिए, आदि जस्ता व्यावहारिक पक्षहरुमा केकस्ता रुपान्तरणका काम भए भन्ने जिज्ञासा पनि छ । परमेश्वरको बचनमा हामीले धेरै नम्रतामा चलेका सेवकहरुको जीवनलाई पनि हेर्दछौं । जस्तै: पावल जो सबैका लागि ख्रीस्टमा होचिए र सेवा गरे, अय्युब जो आफु सबै कुराबाट सकिंदा पनि नम्र नै रहे र दोब्बर आशिषका हकदार बने, मोशा जो आफ्नो जीवनकाल भरी नै परमेश्वरको निर्देशनमा नम्र भएर जिम्मेवारी निभाए, कप्तान जो ठुलो अधिकारी भएर पनि प्रभुमा नम्र बने, अगमवक्ताहरु जसले परमेश्वरको सबै आदेशहरुलाई हु-बहु मानिसहरुमा पेश गरे, येशुका ११ चेलाहरुले येशुकै नम्रताको बाटो धारण गरे, दाउद जसले आफु शक्तिशाली राजा भएर पनि आफ्ना हरेक कामबारे परमेश्वरलाई सर्वोच्चमा राखी अगाडि बढे, मार्था–मरियम, लिडिया, राजा सोलोमोनले परमेश्वरको गीत गाउँदै शासन गरे, दनिएलले परमेश्वरमा हासिल गरेको नम्रता र साहसकै कारण सबै खतरालाई जित्न सके, आदि थुप्रै उदाहरणहरु बाइबलमा हामी पाउँछौ । अनि रोग र महामारीको अवस्थामा सामजिक दुरी कायम गर्ने, घरभित्र बस्ने र सुरक्षित हुने नियम हामी बाइबलमा पनि देख्न सक्छौं र आज यो अवस्था हाम्रो अगाडि छ जसबाट हामी अझै नम्र बनेर परमेश्वरको अधिनमा रही आफुलाई सुरक्षित गर्न सक्नेछौं । परमेश्वरको भय र नम्रतामा चल्नेको ज्याला धन, मान र जीवन आउँछ भनि धर्मशास्त्रमा हामी सबैलाई प्रतिज्ञाको बचन परमेश्वरले बोल्नुभएको छ ।
नेपालका कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्नो कवितामा व्यक्त भाव “उपकारी गुणी व्यक्ति निउरिन्छ निरन्तर, फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र” भन्ने सत्यतालाई हामीले अनुसरण गरी हामी ख्रीस्टमा हुनेहरु झुकेर नै संसारलाई जित्नुपर्छ भन्ने सन्देश परमेश्वरकै बचनबाट मण्डलीलाई शसक्तिकरण गर्न सकेमा मात्र परमेश्वरको राज्य आउन सक्छ, होइन भने केही व्यक्तिहरुको राज्य त आउन सक्ला तर परमेश्वरको राज्य ओझेलमा पर्न सक्छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४