– केपी अधिकारी, ललितपुर ।
आज मानिसले कल्पना नै नगरेको महामारीको अवस्था विश्वमा व्याप्त भएर मानिस अत्तालिएको अवस्थामा पुगेको छ । झन्डै ४ महिना जति भयो, एउटा कोरोना नामको भाइरसले मानवका सबै जीवनको तालिकाहरूलाई उथल पुथल बनाई दिएको छ । छोटो समयमा यो भाइरसले विश्वका २१० देशहरूमा २२ लाख ५० हजार मानिसहरूलाई संक्रमित पारिसकेको र १ लाख ५५ हजार मानिसहरूलाई मृत्युमा धकेली सकेको छ । यस विषम परिस्थतिमा नेपाल पनि अछुतो रहेको छैन र ३० जना मानिसहरू संक्रमित भई सकेका छन् , हजारौं आइसोलेसनमा, जाँचपड्तालमा, निगरानीमा रहेको अवस्था छ । २६ दिनदेखि देश लक डाउनमा रहेको छ अनि यसले झन् धेरै चुनौती र समस्याहरू निम्त्याएको छ । मानिसहरू आफ्नो काम गुमेको कारण खान नपाउने अवस्था, आफ्नो परिवार एकातिर आफु एकातिर भएको अवस्थाका कारण परवारसँग भेट गर्न जान एक, दुई, तीन, चार सय भन्दा धेरै किलोमिटर हिडेर जाने अवस्था अनि त्यसमाथि पनि अवरोध आएको कारणले मानसिक रुपमा मानिसहरू विछिप्त बनिसकेको पाइन्छ । सहर सहरबाट मानिसहरू आफ्नो गाउँ र परिवारको खोजीमा तड्पिंदै हिंडिरहेका छन् कतै बाँच्ने रहरहरू बोकेर ।
आज संसारमा देखिएको मानव सभ्यताको विकासक्रम र यसले अंगालेका अभ्यास र सवालहरू एवम् प्रयोगहरूलाई नियाल्दा संसारको प्राथमिकताको विषय लिनुमा बढी केन्द्रित भएको पाइन्छ । यो लिने विषयका कारण मानिस मानिसका बीच अभाव, प्रभाव अनि तनावहरूको विकास हुदै गएको अनि यसले प्रतिस्पर्धात्मक समाजको निर्माणमा टेवा पुगेको पनि देखिन्छ । मानव समाजलाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने प्रमुख आयामहरू जस्तै सामाजिक, आर्थिक, राजनीतिक अनि आम संचारले मानिसलाई बढी भन्दा बढी उपभोक्तावादी बनाएको छ र मानिस खुशी रहने तरिका पनि आज यी विषयहरूमा मात्र केन्द्रित छ संसारमा । अनि संसारिक सोच र दर्शनको आधारमा भौतिक प्रसस्तता वा सम्पन्नता नै मानिसको विजय हो र यसमा नै ऊ रमाउने गर्दछ । यसको मुख्य तत्व पनि लिनु अनि आनन्द गर्नु नै हो ।
तर हामी परमेश्वरमा निहित मानिसहरूको लागि त धर्मशास्त्रले स्पस्ट वकालत गरेको छ – लिनु भन्दा दिनु असल हो अनि आशिषित हुनु हो भनेर हामीलाई सिकाएको छ ( प्रेरित२०:३५) र हामी जिउने तरिका भनेको दिएर नै हो । आज कोरोना प्रभावका कारण अभावमा परेका, भोकै बस्नु पर्ने अवस्थामा पुकेका लाखौं मानिसहरूलाई एक छाक खान र सुरक्षा पहिलो आवश्यकता बनेको छ । धेरै मानिसहरूको रोजी रोटी नै गुमेको अवस्थाका कारण भोकमरी नामक रोगले ग्रस्त पारेको छ, मानिसले कतै ईस्श्वरले कह केही गर्नु हुन्छ कि भनेर अहिलेसम्म अनुशासनमा बसिरहेको छ अनि सहयोगी हातहरूको पर्खाईमा बाँचिरहेको छ । यस्तो मानव जीवनको अकल्पनीय घटनाको संघारमा एकले अर्कोलाई के कसरी कुन तरीकाबाट उपकार र सहयोग गर्न सकिन्छ, हुनेहरूले अथवा गर्न सक्नेहरूले नहुनेहरूलाई, दुख पाएकहरूलाई दिल खोलेर सहयोग गर्नु नै परमेश्वरलाई खुशी पार्नु हो भन्ने अहम सेवा भावले प्रेरित भएर सक्दो सेवा गर्नु पर्दछ । यस्तो बेलामा मदर टेरेसाको एउटा सेवा भावको भनाई छ-हामीले जीवनमा धेरैलाई केही गर्न सक्दैनौं होला तर मात्र एक जनाको अनुहारमा मुस्कान छर्ने काम त गर्न सक्छौं । बाइबलीय र परमेश्वरको तर्फबाट हामीलाई बिभिन्न तरिकाले दिनेबारे आदेश दिएको पाइन्छ ।
(मत्ती ६: १-४ , १९- २१ याकूब २:१५-१७ लुका ६:३८, मर्कुस १२:४१-४४, प्रेरित २०:३३-३५)
दिनु भनेको के हो ?
– दिनु भनेको परमेश्वरको आज्ञा पालन गर्नु हो ।
– दिनु भनेको परमेश्वरबाट आशिष पाउन खोज्नु हो ।
– गरिबीमा (सर्वश्व) पनि दिनु भनेको भनेको त झनै असल कुरा हो ।
– दिनु भनेको आफ्नो विश्वासलाई मजबूत बनाउनु र काम गर्ने जाँगर पैदा गर्नु हो ।
– गुप्तमा दिनु त झन् असल कार्य हो ।
हामीले के के दिने त ?
परमेश्वरलाई
दिनुको रहस्य के हो ?
हामीले कुनै विशेष कार्यमा अथवा उत्सवमा कसैलाई केहि उपहार दिंदा व्यक्तिको नजिकै पुगेर दिने गर्छौ यो जानेर कि हाम्रो सम्बन्ध अझै राम्रो होस् भनेर । यसरी नै परमेश्वरलाई केहि कुरा दिदा पनि उहाँको नजिकै जानु पर्दछ ताकि परमेश्वरले हामीलाई छुन र देख्न सक्नु भएको होस् । जब मेरो जीवन तपाईंमा छ भन्छौं तब उहाँ हामीलाई अँगालो मार्न आउनुहुन्छ । प्रेरित १०:१-८मा जसरी कप्तानलाई उनको विश्वास र दिने कार्यले गर्दा परमेश्वरले उनलाई उत्तर दिनु भयो । यूहन्ना ३:१६ मा परमेश्वर पिताले आफ्नै पुत्र येशुलाई हामी सबैको पापको सट्टा बलिदान गराउनु भयो र ख्रीस्टको बलिदानले आज हामी स्वतन्त्र र अस्तित्व भएका मानव भएका छौं ।
जब हामी अब्राहमको विश्वासलाई हेर्दछौं उनले आफ्नो बुढेसकालको एक मात्र सहारा आफ्नै पुत्र इसाहकलाई पनि परमेश्वरको आज्ञा पालन गर्न भनेर बलि दिन तयार भए, यस्तो विश्वास देखेर परमेश्वरले उनलाई धेरै आशिष दिनु भयो ।
मलाकी ३:१०मा भने जस्तै जब हामी परमेश्वरलाई दिएर र चाखेर हेर्दछौं अनि उहाले आफ्नो स्वर्गको ढोका यसरी खोलिदिनु हुन्छ कि हाम्रो भाँडामा चुलिएर पोखिने अवस्था हुँदछ । हामीलाई हाम्रो दिने इमान्दारिताले गर्दा परमेश्वरले हाम्रो रित्तिएको आरीलाई प्रसस्तताले भरिदिनु हुन्छ ।
अत: हामीले वर्ष २०२० लाई दिने वर्षको रुममा मानी वर्षभरी इमान्दारपूर्वक परमेश्वरलाई उहाले दिनु भएका सबै कुराहरूबाट नै दिन सकेमा हामी साँच्चिकै उहाँमा अति आदरणीय बन्न सक्छौं र यो कुरा परमेश्वरलाई मन पर्छ । एक जना विद्वानले भनेका छन् – “दिएर आजसम्म कोही पनि गरीब भएकै छैन” – एन्नीफ्रान्क
अनि ख्रीष्ट येशु परमेश्वर पितामा धनी हुनुहुन्थ्यो तर हामी सबैका खातीर आफु गरीब बन्नु भयो ताकी हामी उहाँमा धनी हुन सकौं (२ कोरिन्थी ८:९) ।
आज हामी धनी छौं भने एक मात्र कारण छ त्यो परमेश्वरको अनुग्रहका कारणले हो । अनि आजको संसारको समाजमा दिने बारे थोरै चर्चा हुन्छ किनकि मानिसहरू लिने कुरामै व्यस्त छन् । सबै राजनीनिक, धार्मिक, सांस्कृतिक, बैज्ञानिक, सामाजिक आदि क्षेत्रहरूमा पनि असहजता आउने कारण लिने विषय नै हो । तर हामी परमेश्वरका जनहरू बीच लिने विषयमा धेरै कम र दिने विषयमा बढी अग्रसरता देखाउने अभ्यास हुने हो भने हामी सिंगो समाजलाई नै नमुना बनेर अनि त्यो भन्दा बढी नुन र ज्योति बनेर देखाउनु नितान्त जरुरी छ । नुन र ज्योति बन्नका लागि हाम्रो प्रतिबद्धताका प्रस्तुतीहरू भनेको परमेश्वरको अगाप्पे प्रेम मानिसहरूलाई दिने, आपसी सद्भाव कायम गर्ने ,आदर गर्ने, आत्म सम्मानको ख्याल गर्ने, खाँचोमा सहायता गर्ने, प्रार्थना गरिदिने, उत्साह र परामर्स सेवा दिने, असल गवाही दिने र समाज विकासका क्षेत्रमा सक्दो योगदान गर्ने जस्ता कार्यहरूले हाम्रो पहिचानलाई मजबूत बनाउनेछ ।
देशमा यतिखेर हामीले सरकारले यो गरेन, ऊ गरेन, मानिसहरु संकटमा छन् आदि आदि भनिरहनु भन्दा आफुले क गर्न सक्छौं, परमेश्वरलाई प्रार्थना गरी नहुनेलाई सहयोग गर्नु, कसैको भोकलाई सम्बोधन गर्नु, वचनले सान्त्वना दिनु, सहानुभूति र समानुभूतिबाट अरुलाई सहायता गर्नु जस्ता कार्यले ईश्वरलाई खुशी बनाउने बेला हो यो । हामी हाम्रा कठोर मनहरू, लत्रेका हातहरू माथी उठाएर समस्यामा परेकाहरूलाई सहायता गर्नु नै यो परिस्थितिको माग हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४