के लकडाउन नै कोभिड-१९ बाट छुटकारा पाउने उपाय हो त ?
डा. बाल कृष्ण शर्मा
कोभिड-१९ नाउँले परिचित कोरोना भाइरसलाई यस परिवारका भारसहरूमध्ये एउटा भाइरसको रूपमा परिचित गरिएको छ । यो अति सुक्ष्म छ र व्यक्टेरियाभन्दा यसको आकार पनि सानो छ । यसलाई हाम्रो नाङ्गो आँखाले देख्न सकिँदैन र यसलाई देख्नका लागि माइक्रोस्कोपको आवश्यकता पर्छ । यो जटिल खालको रुवाखोकीजस्तो रोग हो र यसले विश्वमा धेरै क्षति गरिरहेको छ ।
आज विश्व नै लकडाउनमा छ र लकडाउन नगरिएका केही देशहरू सामान्य रुपमा चलिरहेका छन् । उनीहरूले ठूला सभा र जमघट गरेका छैनन् र एक अर्काबाट दूरी राखी काम काज कित घरबाट कि सम्बन्धित स्थानबाट गरिरहेका छन् । त्यस्ता देशहरुमा पनि लकडाउन गरिएका देशहरूका जस्तै संक्रमितको संख्या त्यति बढी छैन ।
लकडाउनका कारण विश्वको अर्थतन्त्र तहस नहस भइरहेको छ । करोडौँ मानिसहरूका रोजी रोटी खोसिएका छन् र कहिले सामान्य हुन्छ भन्ने बारेमा कसैलाई पनि थाहा छैन । के विश्व यसरी नै चल्छ त । विभिन्न देशहरूले लकडाउनलाई खुकुलो पार्दै देशका क्रियाकलापहरू सञ्चालन गर्न शुरू गरेका छन् । अमेरिकामा पनि करीब ३ करोड मानिसहरूले काम गुमाएका छन् र त्यहाँको सरकारले यी व्यक्तिहरूलाई राहत दिइरहेको छ । त्यसैगरी विश्वका अन्य देशहरूले पनि यस किसिमको रणनीति अपनाइरहेका छन् । विश्वको अवस्था भयावह देखिन्छ ।
नेपालमा लकडाउन भएको आज २५ दिन भयो । यस अवधिमा धेरै व्यक्तिहरूले कठिनाइको अनुभूति गरिरहेका छन् । घर जान निस्केका मजदुरहरू घरका न घाटका भएर बाटोमा पीडामा परिरहेका छन् । नेपालमा अहिलेसम्म १६ जना संक्रमित भएका तथ्याङ्क छ र एक जना निको भएका छन् र अरूहरू पनि निकोहुने क्रममा छन् । कसैको पनि मृत्यु भएको छैन र नेपालका लागि यो सुखद कुरा हो । अब देशलाई कसरी अगाडि लैजाने भन्ने कुरा निर्णय बनाएर कार्यान्वयन गर्न नेपाल सरकारले सोच्न आवश्यक छ ।
के लकडाउन नै समाधान हो त ?
१. भाइरस सम्बन्धि धेरै विज्ञहरुका सुझावअनुसार लकडाउनले रोग निको पार्ने होइन र यो अन्तिम समाधान पनि होइन । यसले केवल सबैजना एकैपल्ट संक्रमित हुनबाट रोक्छ जसका कारण संक्रमितहरूका लागि उपचार गर्नुपर्ने भए उपचार गर्न सजिलो हुन्छ । धेरै जना एकैपल्ट संक्रमित भए र उपचारको आवश्यकता पर्यो भने उपचार गर्न कठिन हुन्छ। त्यसैले संक्रमणलाई ढीलो गर्नका लागि लकडाउनले सहायता
गर्छ ।
२. एकपल्ट लकडाउन खुला गरेपछि मानिसहरू संक्रमित हुन्छन् र यो क्रम जारी रहन्छ । संक्रमित भएकाहरूमध्ये धेरैका लागि यो सामान्य रुवा खोकीजस्तो हुन्छ र उनीहरूले भाइरसको संक्रमणपछि यस भाइरसप्रति रोग प्रतिनिरोधात्मक शक्ति प्राप्त गर्छन् र उनीहरूलाई भाइरसले कुनै हानी नै गर्दैन ।
३. उमेर पाको भएका वा ६० वर्षभन्दा माथिका र अन्य कुनै कडा रोग लागेकाहरूलाई अलि बढी जोखिम हुन्छ र तिनीहरूलाई अस्पतालको उपचार चाहिन सक्छ ।
४. कोभिड-१९ को कुनै ओषधि अहिलेसम्म छैन र अन्य एन्टीभारल औषधि प्रयोग गरिएको पाइन्छ र यसको विरुद्धको खोप अहिलसम्म तयार भएको छैन । यसको औषधी वा खोप प्राप्त नभएसम्म यो यस पृथ्वीमा घुमिरहन्छ र पहिलो दोस्रो तेस्रो वेभ गर्दै आउँछ । भाइरसबाट संक्रमित भएर एन्टिबडी प्राप्त गरेकाहरुका लागि समस्या हुँदैन ।
यदि लकडाउन नै समाधान होइन भने के गर्नुपर्छ ?
क. यो सबैमा फैलन्छ त्यसैले यसलाई ढीलो फैलन दिनका लागि हाम्रो जीवनशैलीमा परिवर्तन आउनुपर्छ । केही समयका लागि ठूला ठूला जमघटहरू गरिनुहुँदैन र हामीले एक अर्काबाट दूरी कायम गरी जिउन सिक्नुपर्छ । पहिलो चरणमा सीमित रुपमा कार्यालयहरु खोलिनुपर्छ र भीड भाड गर्नुहुु्ुँदैन । अन्य सामान्य कामहरु पनि खोलिनुपर्छ ।
ख. रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिहरूलाई घरमा नै बस्नका लागि आग्रह गर्नुपर्छ ।
पहिलो चरणमा लकडाउन खोलिएपछि विस्तारै यसको असर देखिएपछि अन्य रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।
ग. सम्भव भए एन्टिबडी जाँच पनि गर्नु पर्ने हुन्छ तर जाँच गर्दैमा रोग नियन्त्रण हुनेचाहिँ होइन । यो त अवस्थालाई बुझ्न गरिने रणनीति मात्र हो ।
लकडाउनले केही हदसम्म संक्रमण हुने क्रमलाई ढीला गरिदिएको छ र यसले जनमानसमा कोभिड-१९ को डरलाग्दो रूपलाई बुझाउन चेतना सृजना गरेको छ र यसले मानिसहरूलाई सतर्क हुन लगाएको छ । नेपाल सरकारका विशेषज्ञहरूले यस विषयमा विचार र छलफल गरी देशलाई विभिन्न चरणमा लकडाउनबाट बाहिर ल्याउने कुरा देश र जनताका लगि हितकार हुनेछ । धन्यवाद ।