डा. बि.पी. खनाल
तपाईं र मेरो युगले भयानक युद्धको सामना गर्नुपरेको छ । हामी विश्व मानव समुदायसँगै कोरोना महामारीविरुद्धको युद्ध मैदानमा छौँ । तर ढुक्क रहनुहोस्, यो युद्धमा हाम्रो जीत सुनिश्चित गरिएको छ । यसका लागि एउटै शर्त पालन गरे पुग्ने, आफूलाई कमजोर ठान्नू । न त बलले केही गर्न सक्छ, न शक्तिले विजय हासिल हुन्छ, यो युद्ध अनुशासित भएर जितिने छ ।
हामी देखिरहेका छौं, शक्तिशालीहरू भकाभक ढल्दैछन् । प्राविधिक प्रगतिको होडमा अचाक्ली दौडिरहेको चीन नतमस्तक भयो । त्यसैको सेरोफेरोमा जापान र दक्षिण कोरियाले हात उठाएर हार स्वीकार गरिसके, वरपरका सिंगापुर, मलेसिया, थाइल्याण्ड र फिलिपिन्सहरू हारगुहार माग्दैछन् । शदियौंदेखि धर्म, सभ्यता र व्यापारको फूङ उडाउँदै आएका युरोपेलीहरू उत्तानो पछारिए, उहिल्यैदेखि आजपर्यन्त आध्यात्मिक केन्द्रका रूपमा सुपरिचित इटालीले चीत खायो, सैन्यशक्तिको बलमा विश्वलाई आफ्नो उपनिवेस बनाउन सफल संयुक्त राज्य बेलायतले शिर निहु¥यायो । मानव सभ्यतामै अभिमानको उचाक्ली शिखर उक्लिएका फ्रान्स, जर्मनी र स्पेन आफैं अत्तालिएको अवस्थामा रनभुल्ल भएका छन् । उता कुटनैतिक शक्तिको भ¥याङ्गमा बुर्कुसी मार्दै उफ्रिएका रुस र अमेरिका दुवैको चेत अहिले खुल्दैछ । स्मरणीय कुरो, यो युद्धमा आफ्नो बलबुँता र शक्तिको प्रदर्शन गर्नेहरू नै कमजोर ठानिएका अरू देशहरूभन्दा पहिले पराजित भैसके । तिनका आडम्बर, धाक–धमास र रवाफ कामै नलाग्ने भए, ती अहिले सृष्टिकर्ता जीवित परमेश्वरलाई खोज्न र उहाँको थोरै मात्र कृपामा जीवनरक्षाको गुहार प्राप्त गर्न आतुर देखिएका छन् ।
लाग्छ, बरालिएर अन्यौलमा फँसेकाहरू सबैले बाटो बिराएको विन्दुमा फर्किने मौका इतिहासले एकपटक मानवलाई दिएको छ । अर्थराजनीति बलियो भएर पुग्ने होइन रहेछ । चातुर्य कुटनीतिले पनि काम नदिने रहेछ । धनले नपाल्ने रहेछ, प्रतिस्पर्धा गर्दै सिकेको ज्ञानले पनि नबचाउने देखियो । विज्ञान र विकास, स्वतन्त्रता र समृद्धि, अनि धर्म र सभ्यता सबै निष्फल भए नि त १ निस्फिक्री डुक्रिने साँढेजस्ता मान्छेहरू अहिले झुक्किएर शहर पसेको स्यालझैं लुरुक्क लत्रिएका छन् १ देख्नुभो, “मलाई त केही पनि हुँदैन” भन्नेहरूले भोग्दै गरेको विपत्ति तिनीहरूकै थाप्लामाथि कति चर्को परेको छ ?
युद्ध बलियोले मात्रै सधैंभरि कहाँ जितेको छ र ? बुद्धिमान मानिसले पो जित्छ त युद्ध सधैं ! बुद्धिमानी बन, अनुशासन कायम राख र दीर्घजिवी होऊ — अहिले मानव जातिले कोरोना विरुद्धको यो युद्ध जित्ने सबैभन्दा ठूलो अस्त्र यही हो । साँच्चै, अहिलेको अति शक्तिशाली मान्छेले कोभिड १९ नाउँको यस कोरोना भाइरसलाई परास्त गर्न कति धेरै बुद्धिमानी हुनुपर्छ ? आफूलाई अनुशासनमा राख्न जान्ने थोरै बुद्धि भए पुग्छ । कसैले यो शत्रुलाई कोभिड होइन, “नो भीड” भनेको ठीकै धेरै हो । भीडमा होइन, घरमा बस्नु नै अहिलेका लागि बलियो किल्ला हो । सबै विज्ञहरू एकमुख भई सुझाइरहेका छन्, यो युद्ध जित्न हामीले मैदानको भिडभाडबाट लुक्नुपर्ने, कोलाहलबाट अलग्गै एकान्तमा बस्नुपर्ने । त्यसभन्दा बढी पनि सुझावहरू छन् । कति निर्देशन त पहिल्यैदेखि तपाईंसामु राखिएका छन् । यस्तो लडाइँ जित्नका लागि बोक्नुपर्ने हातहतियारहरू सामरिक धमाश हुंकार्दै जाइलाग्नका लागि हुँदै हुन्नन् । बरू आत्मरक्षाका लागि आफू र आफ्नाहरूलाई जोगाउनका लागि सुझाइएका हातहतियारहरू ती हुन्, सबै तपाईं र मेरो सुरक्षाका लागि उपलब्ध छन् ।
यस्ता अचुक अस्त्रबारे जानिराख्नु र पालन गर्नु अति राम्रो १ साँच्चै भन्छु, यो लडाइँमा कत्ति पनि पराजित नहुने एउटा अनुशासित योद्धा बन्नका लागि सुझाइएका यी हातहतियार धारण गरी सुरक्षित र विजयी बन्नुहोस् । धर्मशास्त्र बाइबलमा सुझाइएको आत्मिक युद्धबारे फेरि मनन गरौं, यसको यथार्थ सन्दर्भ अहिले अति बलियो गरी हामीलाई तयार पार्नसक्छ । बाइबल धर्मशास्त्रको एफिसी ६ः१२–१८ खण्डमा लेखिएका अस्त्रशस्त्रबारे विचार गरौं ।
यो बेला हामीले लड्नै परेको युद्ध “शरीर र रगतको विरुद्ध होइन, बरू प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध” हो । यो अदृश्य रूपमा हामीमाथि खनिएको छ, र यसका विरुद्ध लडाइँ गर्ने हाम्रो तयारी त्यहीअनुसारको हुनुपर्छ । त्यसकारण “परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक” भनी हामीलाई सुझाइएको छ । ती हातहतियारहरू यसप्रकार छन्ः
१. सत्यको पेटी — हामीले हाम्रो कम्मरमा सत्यको पेटी बाँध्नुपर्छ, पेटीले मेरुदण्डलाई आड दिन्छ र हामी आफूलाई विषम परिस्थितिमा पनि बलियोसँग उभ्याइराख्न सक्छौं ।
२. धार्मिकताको छातीपाता— नैतिकता, इमानदारिता, परोपकारी, विनयी, दुष्टताबाट अलग्गिएर न्यायप्रेमी जीवन बाँच्ने व्यक्तिले यो धार्मिकता धारण गर्नसक्छ । तथापि ख्रीष्ट येशूको बलिदानी मृत्युमा विश्वास गरी आफ्ना पापबाट पश्चाताप गरेर उहाँलाई मुक्तिदाता स्वीकार गर्ने सबै मानिसहरूलाई ख्रीष्टको धार्मिकता पहिर्याइएको छ भनी बाइबलले प्रष्ट पारेको छ । तर निरन्तर परमेश्वरको वचन पालन गर्ने अनुशासित जीवनशैलीद्वारा मात्रै त्यो धार्मिकता कायम राखिराख्न सकिन्छ ।
३. खुट्टामा मिलापको सुसमाचारका जुत्ता— जुत्ता सहज–असज यात्रा तय गर्नका लागि पहिरिनुपर्छ । युद्धमैदानमा छरपष्ट हानीकारक हातहतियारका पारिएका टुक्राटुक्रीहरूबाट जोगिन जुत्ता लगाउनुपर्ने कुरो स्वभाविक छ । तर यसको विशेषण फरक छ, मिलाप ल्याउन प्रचार गरिने सुसमाचारको जुत्ता हो यो । यस्तो संकष्टको समयमा पनि मानिसहरूमा साँचो मिलाप देखिएको छैन । मानिसहरू अरूको अर्ती बुद्धि सुन्ने, अरूलाई सहने र क्षमादिने कामलाई पन्छाएर आफ्नै मर्जीमा मनलागी गरिरहेका छन्, जसले समुदायमा शान्ति ल्याउँदैन । त्यसकारण हामी आपसमा मिलाप ल्याउने सन्देश बोलौं, सुसमाचारका जुत्ता लाएर मानिस–मानिस र मानिस–परमेश्वरबीच मिलाप गराउने काममा निरन्तर लागिरहौं ।
४. विश्वासको ढाल— अनुमतिपत्र नबोकेका सन्देशबाहकहरूले सामाजिक सञ्जालमार्फत यो महामारीलाई अत्यन्तै त्रासदीपूर्ण बनाएका होइनन् र ? फेसबुकजस्ता निशुल्क प्रयोग गरिएका माध्यमहरू अहिले चाहिनेभन्दा बढी मानिसहरूलाई त्रस्त बनाएको पक्कै हो ।तर्सिएको मानिसले विश्वास होइन शड्ढा गर्छ । त्यसकारण सामाजिक सञ्जाललगायतबाट हामीसामु आएका समाचारहरूको विश्वसनीयता जाँच्ने संयमता र बुद्धिको खाँचो देखियो । बलियो मानसिक अवस्थाका लागि पर्याप्त विश्वास चाहिन्छ, जसले जीवनमा सधैं सकारात्मक भविष्यको चाहना गर्न । यथार्थ यही हो, हामीले आश्रय लिएको परमेश्वरभन्दा शक्तिशाली कुनै शत्रु छैन, कोरोना भाइरस परमेश्वरमाथि साँचो विश्वास गर्ने मानिसमाथि प्रबल हुन सक्दैन । यो विश्वासले कोरोना र यस सम्बन्धी आएका अफवाहहरूको सामना गर्दै हामीलाई जोगाउने ढालको रूपमा काम गर्छ । विश्वास आत्मबल हो ।
५. मुक्तिको टोपी — टाउकाको सुरक्षाका लागि पहिरिन दिइएको हो मुक्तिको हेल्मेट । कुनै पनि जोखिमपूर्ण कार्यमा शिरको सुरक्षा जहिल्यै प्राथमिकताको वियष बन्नुपर्छ । यात्रामा, भौतिक पूर्वाधारका काममा वा युद्धमा शिरको कबच बलियो हुँदा शारीरिक क्षतिको जोखिम कम हुन्छ । मुक्तिको टोपीले पहिचान पनि दर्साउँछ । किनभने मुक्ति प्राप्त गरेको व्यक्ति ‘अब उसो पहिलेकै अवस्थामा छैन’ भन्ने प्रत्याभूति हो । यसर्थ पहिलेकै अवस्थामा नभएको व्यक्तिलाई त्यही अवस्थाले फेरि पिरोल्ने कुरै हुँदैन । यसलाई हाम्रो सन्दर्भमा हेर्दा हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने, यो महामारीले धेरथोर क्षति गर्न सक्ला, तर यसले हामीलाई नाश गर्न सक्दैन भन्ने निश्चयता मुक्तिको टोप हो ।
६. पवित्र आत्माको तरवार (जोचाहिँ परमेश्वरको वचन हो) — यस आत्मिक युद्धमा हामीले शत्रुमाथि जाइलाग्नका लागि प्रयोग गर्न सकिने एउटै हतियार हो आत्माको तरवार । माथि चर्चा गरिएका बाँकी पाँचवटै हातहतियारहरू आफ्नो बचाउको निम्ति प्रयोग गर्नका लागि हुन्, तर आक्रमणका लागि तरबार मात्रै दिइएको छ । आत्माको तरवार भनेको परमेश्वरको वचन हो भनी पहिल्यै अथ्र्याइएको हुनाले यस हतियारबारे धेरै चर्चा गरिराख्नु आवश्यक छैन । जीवन दिने र विनाश गर्ने शक्ति वचनमा हुन्छ । अँध्यारोलाई उज्यालोमा, विलापलाई आनन्दमा अथवा सङ्कष्टलाई शान्तिमा बदल्ने शक्ति वचनमै हुने भएकोले यसभन्दा ठूलो हतियारको दरकार अहिले हामीलाई पर्दैन पनि । त्यसकारण, सबै प्रकारका त्रासदीपूर्ण विचारहरूबाट आफ्नो ह्दय र मनमस्तिष्कलाई जोगाएर सकारात्मक बोलीको शक्तिमा यो लडाइँ जित्ने अविभारा हाम्रा काँधमा राखिएको छ ।
यसका अलावा, “सारा प्रार्थना र निवेदनसाथ हर समय पवित्र आत्मामा प्रार्थना गर” भनी हामीलाई दिइएको निर्देशन पालन गर्दै अब ख्रीष्टको विश्वव्यापी मण्डली जुरुक्कै उठ्नुपर्छ । हुन पनि “सङ्कष्टको समयमा मलाई पुकार र म स्वर्गबाट जवाफ दिनेछु” भन्नुहुने परमेश्वरसँग एकै मनका भई प्रार्थनामा जुट्ने बेला यही हो । साँच्चै, सारा संसारभरिका सबै मण्डलीहरू आफ्ना साम्प्रदायिक अभिमान छाडेर अहिले घुँडा टेक्दैछन्, अर्जबिन्ती प्रार्थनाका लागि पालैपालो सबैजना जुटिरहेका छन् र सम्पूर्ण विश्व मण्डलीले एउटा महान जागृति निम्त्याइरहेको छ । त्यसकारण, उहाँमाथि विश्वास गर्नेहरूका लागि सबैथोक मिलेर भलाइ नै उत्पन्न हुन्छ भन्ने वचनको प्रतिज्ञा अनुसार नै हामीले आफ्नो विश्वासमा खडा हुनुपर्छ, किनभने ख्रीष्टद्वारा “हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं । यस अनुग्रहमा हामी खडा छौं, र परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं । यतिमात्र होइन, हामी आफ्नो सड्ढष्टमा पनि रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ । आशाले हामीलाई निराश गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा ह्दयमा खन्याइएको छ” (रोमी ५ः२–५) ।
यो युद्धमा हामीले अपनाउनुपर्ने पहिलो प्राथमिकता नै आफ्नै सुरक्षा हो, आफ्नो घरमा बसेको भन्दा सुरक्षित अर्को मानिस हुँदैन । यति सुरक्षित स्थानमा बसेको व्यक्तिले अन्ततः हासिल गर्ने विजय नै हो । यो विजयका लागि सकेसम्म बढी होशियार रहेर अनुशासन पालन गरे पुग्छ । सधैं सकारात्मक रहन आवश्यक देखिएको यो समयमा निम्न सुझावहरू पनि पालन गरे, तपाईं र म साँच्चिकै सुरक्षित र विजयी हुनेछौंः
क. कोरोना महामारीसम्बन्धी समाचार खोजी गर्नै छाडिदिनुहोस् । थाहा पाउनु पर्ने कुराहरू र सम्भावित ठूलै सङ्कष्टको अनुमान हामीलाई पहिल्यै छ । अत्यासलाग्दा समाचारले हाम्रो मनोबल कमजोर गराउँछ । त्यस्ता वित्यासकारी विषयमा बढ्ता चासो राख्नुको सट्टा केही सकारात्मक तथा सिर्जनात्मक कुराहरूतिर मन लगाउनुहोस् ।
ख. समाचार प्रकाशन–प्रसारण गर्ने संस्थासित आबद्ध मानिसहरू हामी आफैं होइनौं भने हतारिएर त्यस्ता सूचना अरूलाई नपठाउनुहोस् । सबैको मनस्थिति हाम्रोजस्तो बलियो नहोला । यस्ता अत्यासलाग्दा समाचार पठाएर तपाईंले कसैलाई सहायता होइन उल्टै त्रासमा धकेलेको ठहर्ने छ ।
ग. सम्भव भएसम्म सुमधुर संगीत सुन्नुहोस् । रमाइला र ज्ञानबद्र्धक फिल्म हेर्नु वा पुस्तक पढ्नु असल हुन्छ । बालबालिकाहरूसँग खेल्न समय दिनुहोस् । हाँसो ठट्टा गर्नुहोस् । उनीहरूलाई कथा सुनाउने र भविष्यमा के गर्नुपर्छ भनी योजनाहरू बताउने काम गर्नु बेश हुन्छ ।
घ. बेलाबेलामा वा केही काम गरिसक्नासाथ साबुन पानीले हात धुनुहोस् । सरसफाइमा ध्यान दिनुहोस् । तरल पदार्थ बढी पिउनुहोस् र पर्याप्त व्यायाम पनि गर्नुहोस् ।
ङ. सकारात्मक सोच बनाइराख्नुहोस्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । निराशाका कुरै नसोच्नुहोस् । नकारात्मक सोचाइले चिन्ता बढाउँछ र परिणाममा तपाईंको रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर बन्दै जान्छ । बरू परमेश्वरमाथि स्थापित तपाईंको विश्वास गर्दै रहनुहोस् ।
च. स्मरण रहोस्, हामी लकडाउन अवस्थामा छौं । अति जरुरी नपरी घरबाहिर जाँदै नजानुहोस् । घरिघरि घुमफिर गर्न घरबाहिर निस्किएर तपाईंले आफूलाई मात्रै जोखिममा हाल्नुभएको छैन, बरू तपाईंको परिवारका सबैमाथि तपाईंले मृत्युलाई आफूसँगै लिएर आएको हुनसक्छ ।
छ. तपाईंलाई साँच्चिकै अपत्यारिलो र नसुहाउने लागेको होला, तर यो समय तपाईंले आफ्नो ढोका बन्द गरेर कसैलाई स्वागत गर्ने समय हो । घरभित्रै लुकी बसेर युद्ध जित्ने बेला हो यो । अनुशासित भई शान्त भएर ठूलो विजय हासिल गर्ने बुद्धिमानी मौका हो यो । त्यसकारण यो समयको सदुपयोग गर्नुहोस् । स्मरण रहोस्, यो समस्या सधैंभरि रहिरहँदैन, यो बितेर जानेछ । यसलाई परास्त गर्न तपाईं र मेरो बुद्धिमानी अनुशासन काफी छ — घरमै बस्नुहोस्, बुद्धिमानी र सिर्जनशील बन्नुहोस्, कोरोना महामारी विरुद्धको लडाइँ जित्नुहोस् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४