बि.पी. खनाल । अहिले देशमा ख्रीष्टियनबाहेक अरू कोही पक्राउ परेकै छैनन् हो ? लकडाउनको यो अवधिमा १००० भन्दा बढी पक्राउ परिसकेका छन्, सरकारी तथ्यांक भन्छ । अनि तिनको समाचार किन बनेन ? समाचारलाई ख्रीष्टियन आस्थासँग मात्रै जोडेर किन उछालिँदैछ ? हरेक आस्तिक मान्छेले आफ्नो आस्थाअनुसार अभ्यास गर्न पाउँछ ! उसले परिस्थिति हेरी आफ्नो आस्था प्रकट गर्न पनि पाउँछ ।
अहिले घर बाहिर निस्किएकाहरू, सानोतिनो समुहमा जुटेकाहरू वा “लकडाउन उलंघन गरेको” कसुरमा पक्राउ परेकाहरू सबै कि त जरुरी कामले, होइन भने आफूलाई उचित लागेकै आधारमा सो अवस्थामा भेट्टाइएका हुन् । तर ख्रीष्टियन भेटिएमा चाहिँ समाचार बन्ने वा बनाइने कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी छ । प्रहरी-प्रशासन, मिडिया र न्याय हेर्ने निकायमा काम गर्ने अधिकांश मानिसहरू ख्रीष्टियन विरुद्ध अचाक्ली पूर्वाग्रही भएको प्रमाण हो यो । आस्थाको स्वतन्त्र अभ्यास लोकतन्त्रको प्राथमिक प्रतिबद्धता हो, त्यसमा राज्य गम्भीर बनोस् । अहिलेको यो विषम परिस्थितिलाई अल्पसंख्यक समुदाय (सुनियोजित ढंगले ख्रीष्टियनहरू) लाई बदनाम गर्ने अस्त्रको रूपमा प्रयोग गरी तिनको ढाड भाँच्न अघि सर्ने कसैले पनि मुलुकमा शान्ति, मिलाप, समानता र समृद्धिको कामना गरिरहेको छैन ।
लकडाउन शुरू भएकै भोलिपल्ट पक्राउ गरिएका केशवराज आचार्यको विषयमा ख्रीष्टियन समुदायभित्रै निकै टिकाटिप्पणी भयो । कोरोना भाइरसलाई आत्मिकीकरण गरेर त्यसलाई क्षय गर्ने दुष्टात्मा भन्दै दुत्कार्नु, सेतो रुमालको प्रयोग गर्नु, अन्य भाषा बोल्नुजस्ता क्रियाकलाप बाइबलसम्मत थिए-थिएन् ? यो फरक थियोलोजिकल बहसको विषय बनेको राम्रो । तर सामाजिक सञ्जालै यसबारे गरिएको चर्चाले असम्बद्ध सन्दर्भ र स्रोताको ध्यानाकर्षण गर्नु आवश्यक थिएन । तथापि म दोहोर्याउँछु, म उनको प्रार्थना गर्ने शैली र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने काम दुवैसँग सहमत छैन । अब, कसुरको प्रमाण पुलिसले के बटुल्ने हो, त्यो सोच्दैछु । केशवले प्रार्थना गरेको त्यो भाइरल भिडियो ? तर केशव विरोधीमात्रै होइन, ख्रीष्टियन विश्वासकै विरोधमा लागेका मानिसहरूले त्यो भिडियो भाइरल बनाएका होइनन् र ? मैले खोजी गरेँ र के प्रमाण फेला पारेँ भने त्यो भिडियो त कोरोना भाइरस चीनमा फैलिएको बेला (फेब्रुअरीमै) खिचिएको रहेछ, र बढी विरोध आउन थालेको देखेपछि लकडाउन शुरु हुनुभन्दा पहिल्यै केशवले हटाएको रहेछ ! अनि “लकडाउनको अवधिमा अफवाह फैलाएको” अभियोग कसरी सिद्ध हुन्छ ? यही तथ्यका आधारमा यो कदम ख्रीष्टियन आस्थाविरुद्ध राज्य र मिडिया दुवैबाट भएको पूर्वाग्रही कदम हो भन्नैपर्छ । अर्को कुरा, पुलिसले आफैले केशवलाई फोन गरेर प्रार्थना गरि माग्न आउँछु भनी झुक्याएर पक्राउ गर्नुपर्थ्यो किन होइन, त्यो पनि सोचौं । अर्कोतिर लकडाउनपछिको शनिबार देशैभरि चर्चहरूमा संगति गर्न भेला हुने दिन, सबैले राज्यको उर्दी बुझेका छन् भन्ने अनुमान लगाउन सकिन्न । कोही आइहाल्छन् कि भनेर चर्चमा गई सम्झाएर फर्काउने काम पनि त हो नि पाष्टरको। सुर्खेतका सोलोमन गुरुङ र प्रेम बि.क. को बयान कसले सुनेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएको छ ? चर्चका जिम्मेवार अगुवाले देशको कानुन र संकटको समयलाई बुझ्नैपर्छ र सोहीअनुसार आफ्ना सदस्यहरूलाई सिकाउनु, सम्झाउनुपर्छ । त्यही जिम्मेवारी निभाउन चर्च पुगेका पाष्टरहरूलाई गिरफ्तार गर्ने पुलिसले आफैं अभियुक्तको बयान लेख्ने कि उनीहरूको बाध्यता पनि समावेश गर्ने । अनि ८-९ जना मानिसहरूको संख्यालाई ३५-४० जना भनेर गलत सूचना मिडियाले दिनुहुन्छ कि हुँदैन ? त्यसकारण मेरो ठम्याइ छ, अहिले ख्रीष्टियन आस्थाप्रति असहिष्णुता फैलाइँदैछ, उनीहरूलाई देशको कानुन उलंघन गरेको, विषम परिस्थितिमा असंवेदनशील बनेको र समयको गलत लाभ उठाउन खोजेकोजस्ता कुरा समाचारमा ल्याएर सिङ्गो समुदायलाई बदनाम गर्ने दुस्प्रयास भैरहेको छ ।
कोभिड – १९ सबैको साझा शत्रु हो, यसले कसको के आस्था छ भनी छानेर मान्छेलाई आक्रमण गर्दैन, सबैलाई यसले पिरोलेकै छ । यस्तो बेला हामी सबै आफ्ना फरक आस्था र मान्यताभन्दा माथि उठेर एकजुट भई अनुशासित, संयमित, सहिष्णु र परोपकारी बनौँ । अरूलाई दोष्याउने, कमजोरलाई मिच्ने र मन नपरेकोलाई मेटाउने कुविचार कसैले नलिऔं । कसैको आस्थामाथि प्रहार नगरौँ । शान्ति कायम गरौँ । सबै सकुशल बाँचौँ। अफ्ट्यारोमा परेको जोसुकैलाई सहायता गरौँ । सबैको कल्याण होस् ।