निरोज गिरी, पाल्पा ।
“नदेखिने कुरामाथिको भरोसा विश्वास हो भने देखिने कुरा माथिको आस्था धर्म ।”
हामीले अन्धविश्वासपूर्ण जीवन होइन, धार्मिक र वैज्ञानिक जीवन जिउन सिक्नुपर्छ। मैले अपनाउने धर्म मेरो पहिचान होइन, मेरो पहिचान “मानव हुनु” मात्रै हो भन्ने बुझ्नुपर्छ र त्यसैमा आफ्नो अस्तित्व खोज्नुपर्छ । वास्तविक विश्वास र धर्मले हामीलाई उग्र हुन र काटमार गर्न कहिल्यै सिकाएन । आफ्नो धर्म निर्वाह गर्नुको अर्थ आफ्नो कर्तव्य पालना गर्नु भन्ने हुन्छ । खासमा विश्वासले मान्छेलाई मानवता र मुक्तिको बाटोमा डोर्याउने गर्दछ, तर धर्म कट्टरपन्थी अहम् र उग्रतामा सिमित गराउँदछ । धर्मका नाममा मान्छेले मानवता नै बिर्सिएका छन् । जबसम्म धर्मले कट्टरपन्थ र उग्रताको आड लिइरहन्छ, त्यत्ति नै चाँडै मानवता र विज्ञानको उपलब्धिको अन्त्य अवश्यम्भावी छ । अचेतन मष्तिस्कको हाम्रो धर्मरुपि आस्थालाई विश्वासमा बदलेर जिउन सिक्नुपर्दछ। जसले गर्दा विश्वासलाई मानवता, कर्तव्य, स्वतन्त्रता र धार्मिक जीवन जिउनु हो भन्ने कुरामा परिवर्तन हुन सकिन्छ । यहि नै हाम्रो विश्वास र आस्थाको केन्द्र हुनु जरुरी छ ।
अस्तित्वमै प्रश्नचिन्ह लागेको भगवान (god) को हैन, साक्षात साँचो परमेश्वर (God) को पुजा गरिनुपर्छ अनि मानवता हाम्रो मन्त्र हुनुपर्छ। परमेश्वर नै हाम्रो जीवनको आधार हुनुपर्छ, संस्कृति र परम्परा कसैको एकल हुनुहुँदैन । अझै पनि हामीलाई आफू हिन्दु हुनु वा ख्रीष्टियन हुनुले हाम्रो पहिचान दिन्छ भन्ने लाग्छ भने अझै पनि गाइको मासु खाने वा नखाने भन्ने विषय हाम्रो लागि बहसको मुद्दा बन्छ । हामी हिन्दु, इस्लाम वा ख्रीष्टियन हुनुमा गौरव गर्छौं भने, अझै पनि परमेश्वरमाथिको विश्वासले नभएर धर्मले हाम्रो जीवनयापनको शैली निर्धारण गर्छ । हाम्रो पहिचानको यो भोक पृथ्वीमा सीमित राख्न त सक्छौ होला तर स्वर्गमा चाहिँ आफ्नो अस्तित्व गुमाउँनेछौं।
तसर्थ हामीले परमेश्वरमाथिको विश्वासलाई आस्थाको केन्द्र बनाऔं तर धर्ममाथिको आस्था चाहिँ नबनाऔं । परमेश्वरमाथिको विश्वासको आस्थाको केन्द्रले नै समस्त मानवमा कल्याण गर्दछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४