रेभ. चन्द्रमान नेपाली ।
प्रयास नेपाल, ललितपुर महानगरपालिका – १८, सैंबु ।
मेरो जन्मः
ललितपुर जिल्लाको चापागाउँमा बि.सं. २०१६ मा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो । म, मेरो आमा शान्ता माया र बाबा श्यामलालको एउटै मात्र सन्तान हुँ ।
बाल्यकालः
बि.सं २०१७ सालमा नेपालमा एकतन्त्रीय पञ्चायती ब्यवस्थाको सुत्रपात भएसँगै मेरो बाबा पनि राजभक्त, देशभक्त र पञ्चायती ब्यवस्थाको कट्टर हिमायती बन्दै आफ्नो टाइटल समेत “नेपाली” राखेर सक्रिय समाजसेवामा लाग्नु भएको थियो । म एउटै मात्र सन्तान अनि समाजमा बाबाको छवि धेरै राम्रो भएकोले मेरो शुरुको बाल्यकाल अति राम्रो र खुशीसाथ बित्यो तर यो धेरै लामो टिकेन । म करिब ८ वर्षको हुँदा एउटा सानो दुर्घटनाका कारण मेरो बाबाको अचानक मृत्यु भयो । बाबाको मृत्युपछि मेरो आमालाई ठूलो चोट प¥यो र मन बहलाउनका लागि चुरोट एवं मदिराको सहारा लिन थाल्नुभयो । यसकै परिणाम स्वरुप छोटो समयमा नै उहाँ दमको रोगले ग्रस्त हुनुभयो । बाबाको काजक्रिया र आमाको उपचारले गर्दा भएको सम्पत्ति पनि सकियो, भएको खेतीपाती पनि सम्हाल्न सकिएन । म आमासँगै उपचारको क्रममा अस्पतालमा हुँदा यो अवस्थाको फाइदा लिंदै आफन्तले नै ती जग्गा जमिन हडप्ने काम गरे । समय यतिसम्म बिकराल भयो कि शान्त भवन अस्पतालमा आमाको उपचारको बिलसम्म पनि तिर्न असमर्थ भइयो । मेरो आमा पढे लेखेको नभए पनि साह्रै मिलनसार स्त्री हुनुहुन्थ्यो, अरुको छिट्टै मन जित्न सक्ने । यही कारणले त्यसै अस्पतालका दुई जना बिदेशी मिसिनेरी नर्स आन्टीहरू मेरो आमाको घनिष्ट मित्रहरू बने र उहाँहरूकै सहयोगमा आमाको सबै बिलको पैसा चुक्ता गर्ने काम भयो । दुई जना मिसिनेरी नर्स आन्टीहरूको सहयोगमा आमाको उपचार शान्त भवन अस्पताल र यस अस्पतालको चापागाउँ, गोदावरी एवं सूर्यबिनायकस्थित यसका क्लिनिकहरूमा उपचार गर्दागर्दै म १० वर्षको हुँदा अन्तमा शान्त भवन अस्पतालमै मेरो आमा स्वर्गे हुनुभयो । म नितान्त टुहुरो भएँ । जब ठूलो भएर बुझ्दै गएँ, त्यसबेला मैले आमा र बाबालाई अति नै याद गरें । कसैले मन दुखायो भने त कुरै नगरौं, आँसु त्यसै झथ्र्यो । आफ्ना साथीहरूको आमा बाबालाई देख्दा पनि अति भावुक हुन्थें । शान्त भवन अस्पतालमै मेरो आमाले प्रभु येशुलाई ग्रहण गर्नुभएको हो । चापागाउँ, गोदावरी एवं सूर्यबिनायकमा रहँदा मेरो आमाले धेरै जनालाई सुसमाचार सुनाएर ग्रहण गराउने काम पनि गर्नुभयो । अनि मैले पनि नौ वर्षदेखि नै प्रभुको बारेमा थाहा पाएँ र केही समय ज्ञानेश्वर मण्डलीको सण्डे स्कूलमा पनि सहभागी हुने मौका पाएँ । आमाको मृत्युपछि मेरो भविष्य अन्यौलपूर्ण हुन गयो तर संधै प्रभु मेरो सहारा बन्नुभयो । आखिर तिनै दुईजना बिदेशी मिसिनेरी नर्स आन्टीहरूको सहयोगले मैले यु.एम.एन. को छात्रबृत्ति अन्तर्गत पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा अध्ययन गर्ने मौका पाएँ र त्यहीँबाट नै बिद्यालयको शिक्षा पूरा गरें ।
युवावस्था:
बिद्यालयको पढाई सकेपछि जब युवा अवस्थामा प्रवेश गरें, तब जीवनमा ठूलो चुनौतीको सामना गर्नु प¥यो । पोखराबाट जब काठमाण्डौंमा आएँ, घरमा जाने वातावरण भएन, बिद्यालयको पढाई सकेपछि मलाई सहायता गर्ने आन्टीहरूले पनि त्यति वास्ता गर्नु भएन र साथमा पैसा पनि थिएन । “न समाउने हाँगो छ, न त टेक्ने खुड्किला नै” भन्ने उखान मेरो जीवनमा चरितार्थ भयो । तर यस अवस्थामा पनि मैले हरेस खाइनँ तर प्रभुमा भरोसा राखें । नेपाली र अंगे्रजी दुवै टाईपिङ राम्ररी सिकें र एस.एल.सी.को रिजल्ट आउनुअघि नै महेन्द्र भवन स्कुल, सानो गौचरणमा अफिस क्लर्कको पदमा जागिर खाएँ । एक जना साथीको मद्दतले ललितपुर पुल्चोकमा एउटा सानो डेरा पनि मिल्यो । मलाई सहायता गर्ने एक जना आन्टीले एउटा खाट र एउटा बाल्टी उपहार स्वरुप दिनुभयो । यसैबाट एउटा नयाँ जिन्दगी शुरु गरें । एस.एल.सी.को रिजल्ट पनि आयो, उतिर्ण पनि भइयो । इञ्जिनियरिङ्ग पढ्ने मेरो धोको थियो तर खर्च जुटाउन सकिनँ, मेरो कलेज पढ्ने धोकोमा एक वर्षका लागि पूर्णबिराम लाग्यो । एक वर्षपछि त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान थापाथली क्याम्पसमा अध्ययनका लागि नाम निकालें र मेरो एस.एल.सी. को प्रतिशत राम्रो भएकोले छात्रबृत्तिका लागि क्याम्पसमा र यु.एम.एन. छात्रबृत्ति शाखामा पनि निवेदन दिएँ । प्रभुको अनुग्रहले दुवै ठाउँबाट मलाई छात्रबृत्ति मिल्यो । जागिरमा राजिनामा दिएँ, राजिनामा स्वीकृत भएन बरु अध्ययन बिदा दिने र समय समयमा आएर पार्ट टाइम काम गरिदिनु पर्ने शर्त आयो । मेरो काम र इमान्दारीताको सही कदर भएको महसुस भयो, स्वीकार गरें ।
बि.सं. २०३६/०३७ सालको कुरा हो, नेपालको राजनैतिक अवस्था डामाडोल थियो । क्याम्पसमा पढाईभन्दा पनि राजनैतिक कुराहरू बढी हुन्थ्यो । मेरो बाबा पञ्चायतको हिमायती हुनुहुन्थ्यो भने म चाहिँ यसको अन्त चाहन्थें । जन्मजात नै मेरो नसा नसामा समाज सेवा, देशको माया, देशमा मौलाएको अन्याय र अत्याचार विरुद्ध तातो रक्त सञ्चार हुन्थ्यो । पुल्चोकमा रहँदा बस्दा मेरो भेट कमरेड मनमोहन अधिकारीसँग भयो । मर्निड वाकको निहुँमा प्रायः उहाँसँग भेट्ने गर्थें, उहाँले भूमिगत जीवन बिताइरहनु भएको थियो । उहाँको सादा जीवन र उच्च विचारबाट म धेरै प्रभावित भएँ । त्यसबखत कम्युनिष्ट पत्र पत्रिकाहरू र पुस्तकहरू लुकीलुकी पढ्न थालें । माओत्सेतुङको रातो पुस्तक र गिदियोनले निकालेको सानो पाकेट बाइबल सँगै बोकेरै हिंड्थें । मण्डली जाने मन त मरेर गयो तर यति हुँदा हुँदै पनि मैले प्रभु येशुको सत्यतामा कहिल्यै शंका गरिनँ र उहाँप्रतिको मेरो आदर भक्तिमा कहिल्यै कमी आएन ।
बि.सं. २०३८/०३९ सालको कुरा हो, क्याम्पसमा बिद्यार्थी यूनियनको निर्वाचनको माहोल थियो । त्यसबेला म धेरै बिद्यार्थी नेताहरूको सम्पर्कमा थिएँ । धेरै जना साथीहरूले मलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन पाँचौं, नेपाल कम्युनिष्ट पार्टीको भातृ संस्था हो, यसको थापाथली क्याम्पसको बिद्यार्थी यूनियनको कोषाध्यक्षको पदमा चुनाव लड्न आग्रह भईआयो । यसको लागि मैले कमरेड मनमोहन अधिकारीको सल्लाह मागें । मलाई उहाँले यस्तो उर्जा थपिदिनुभयो कि म नतमस्तक बनें । चुनाव लडियो, हाम्रो पुरै प्यानल नै बिजयी भयो, त्यो वर्ष नेपालका प्रायः धेरै क्याम्पसहरूमा अनेरास्वबियू पाँचौंले नै कब्जा जमाएको थियो । पञ्चायती शासनमा बिद्यार्थी नेता भएपछि त उनीहरूको हट लिष्टमा हाम्रो नाम हुनेरहेछ । एक दिन हड्तालको सिलसिलामा क्याम्पस हाताभित्रै पुलिस पसेर हामी ४ जना विद्यार्थी नेताहरूलाई पक्डेर महेन्द्र पुलिस क्लबमा र त्यसपछि हनुमान ढोका चलान ग¥यो । करिब ३–४ घण्टाको थुनाई पछि बाध्य भएर पुलिसले हामीहरूलाई रिहा ग¥यो र रिहाई पछिको सिन्दुरे जात्रा सहितको हर्षोल्लास जीवनमा अबिष्मरणीय भएर रहेको छ ।
जीवन परिवर्तनः
मेरो आमाले प्रभु येशुलाई ग्रहण गर्नु भएदेखि नै ख्रीष्टियन बातावरणमा मेरो जीवन गुज्रदै आएको हो । पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमै मैले पश्चाताप गरेर प्रभु येशुलाई ग्रहण गरेता पनि पानीको डुबाउको बप्तिस्मा भने धेरै ढिला लिएको हुँ । म कलेज भर्ना भएदेखि ज्ञानेश्वर मण्डली जान छाडिदिएँ । मेरा आन्टीहरू र अन्य दाजु भाइहरूले मण्डली किन नआएको भनेर सोध्थे तर अनेक बहानाहरू देखाएर टारिदिन्थें । म पुल्चोकमा बस्थें र आराधना मण्डली पनि त्यहीं नजिकै भएकोले पास्टर निकानोर तामाङसँग अचानक र बारम्बार जम्काभेट हुने गथ्र्यो । उहाँ र म दुवै ज्ञानेश्वर मण्डलीमा हुँदा हाम्रो राम्रै चिनजान थियो । त्यसैले उहाँले मलाई आराधना मण्डलीमा आउन धेरै पटक निमन्त्रणा दिनुभयो । बि.सं. २०३८/०३९ सालमा जब म बिद्यार्थी यूनियनको कोषाध्यक्ष थिएँ र एक दिनको कुरा हो, हामी यूनियनका साथीहरू क्याम्पसको चौरमा बसेर चिनियाँ काजीको जन्मजयन्ती मनाउने कार्यक्रमको छलफल गर्दै थियौं । गलामा क्रुस भएको सिक्री, हातमा ब्रासलेट र औंठी लगाउने मेरो शौख थियो । हामी छलफल गर्दागर्दै एक जना साथीले मेरो गलामा भएको क्रुस सहितको सिक्री देखेछन् र प्वाक्क भनिहाले चन्द्रजी, तपाईं पनि ख्रीष्टियन ? हो, तपाईंलाई केही आपत्ति छ ? भनेर भन्दिएँ । के चाहियो र ! चिनीयाँ काजीको नभई मेरो पो जयन्ती मनाउन लागे । उहाँहरू ९ जना थिए र म सिर्पm एक्लो । उहाँहरू येशु ख्रीष्टको र इसाईको इतिहासदेखि वर्तमान अवस्थासम्मको नकारात्मक ब्याख्या र घोर बिरोध गर्न चुक्नु भएन । मैले पनि उहाँहरू ९ जनाकै प्रत्येक कुराहरूको प्रतिबाद गर्न चुकिनँ । अन्तमा नसकेर उहाँहरूले येशु प्रभुलाई नै तथानाम भन्न थाल्नुभयो, अति हुन थालेपछि उहाँहरूलाई चुप लाग्न लगाएँ र तपाईंहरू र पञ्चायती शासकहरूमा मैले केही भिन्नता देखिनँ भनें । यतिसम्म भइसकेपछि अब पनि तपाईंहरूसँग मैले सहकार्य गर्नुको कुनै अर्थ पनि रहेन । यसैले भोलि मसँग भएका सबै कागजातहरूका साथै मेरो राजीनामा पनि ल्याएर दिन्छु, अध्यक्षज्यू तपाईंले खुरुक्क स्वीकृत गर्नुपर्छ । अब म हिंडे । यति भनिसके पछि सबै जना शान्त भए र त्यसो नगर्न धेरै अनुरोध गरे तर मैले आफ्नो अडान छाडिनँ, मैले भनेकै जस्तो गरें । मेरो राजनैतिक विद्यार्थी जीवनको अन्त यहीँ भयो र फेरि कहिल्यै सक्रिय राजनीतिमा लाग्ने इच्छा गरिनं ।
यसपछि त्यही हप्ता आराधना मण्डली, पुल्चोकमा गएँ, सदस्यता लिई मण्डलीको सेवकाइमा सहयोग गर्न थालें । त्यसको केही महिना पछि मेरो बप्तिस्मा भयो । मेरो जीवन एक्कासी परिर्वतन भइरहेको कुरा पछि आएर थाहा भयो, मेरो आमाका घनिष्ट साथी सिस्टर स्टिना उल्बर्गले मेरो जीवन परिवर्तनका लागि एक वर्षसम्म प्रत्येक हप्ताको एक दिन उपवास प्रार्थना गर्नुहुँदो रहेछ । उहाँकै प्रार्थनाका कारण प्रभुले मेरो जीवन परिवर्तन गर्नुभएको रहेछ । प्रभुप्रति र आन्टीप्रति अति कृतज्ञ भएँ र त्यसै बखत मेरो बाँकी जीवन प्रभुकै महिमाका लागि जिउने प्रण गरें ।
सेवकाइको क्षेत्रमा:
प्रभुको सेवा गर्नका लागि बोझ, दर्शन, प्रार्थना, असल टिम र आर्थिक श्रोतको पनि आवश्यकता पर्छ । मेरो अनुभवमा यी कुराहरू हाम्रो देशमा र अझै हामी ख्रीष्टियनहरूबाट पाउन कठिन छ । चाकडी, चुक्ली, चाप्लुसी, नाता–गोता र पारिवारिक चंगुलको चक्कर इसाई जगतमा प्रशस्तै छ । त्यसैले थोरै अगुवाहरूले जस्तै मैले पनि धेरै संघर्ष गरेको छु । पञ्चायती शासन कालमा मण्डलीको कोषाध्यक्ष भएकोले र पास्टर निकानोर तामाङको केशमा धेरै पटक चौकी धाएको छु, मंगलबजारको डि.एस.पी. कार्यालयमा ६ घन्टा कालो कोठामा बन्दी बनेको छु र जिल्ला न्यायाधिशको अगाडि गवाही दिएर सफाई पाएको छु । तर हाम्रा सही बोझ, दर्शन, प्रार्थना र आँट छ भने यी झिना मसिना कुराहरूले प्रभुको सेवकाइमा कुनै असर पार्दैन भन्ने मेरो विश्वास छ ।
मेरो परिवारः
मेरो एक सानो, सुखी तथा आशिषित परिवार छ । बीणा थुलुङ जसलाई परमप्रभुले मलाई मेरो धर्मपत्नी हुनलाई दिनुभयो र उनलाई मृत्युको मुखबाट समेत बचाएर पुनः मेरो जीवनमा दोश्रो पटक प्रभुले दिनुभयो । प्रभुलाई र मेरो धर्मपत्नी बीणाको लागि प्रार्थना गरिदिनुहुने सम्पूर्ण प्रियजनहरूलाई यही मौकामा धेरै धन्यवाद समेत दिन चाहन्छु । परमेश्वरले बहुमुल्य उपहारको रुपमा छोरी दीपाञ्जली र छोरा अनन्त दिनुभएको छ । दुवै जना नेपालमै जन्मे, हुर्के र यहीं रहेर आवश्यक शिक्षा दिक्षा हाँसिल गरे । छोरी दीपाञ्जली एक दक्ष आर्किटेक्ट र डिजाइनर हुन् भने छोरा अनन्त एक कुशल प्रशासकको बिद्यार्थी हुन् । मेरो श्रीमती बीणा प्रयास नेपाल, दिदी बहिनीहरूका बिच र मण्डलीमा पनि स्वयं सेविकाको रुपमा सक्रिय छिन् भने म नवोदय मण्डलीको पास्टरहरू मध्येको एक र प्रयास नेपालको संस्थापक तथा कार्यकारी निर्देशकको रुपमा सेवारत छु ।
नेपाली ख्रीष्टियन समुदायको हितमा गरेका कामहरूः
मण्डलीको सदस्य, सकृय सेवकाइ, अगुवाहरूका सहायक, डिकन र एल्डर हुँदै मण्डलीको पास्टरको जिम्मेवारी लिई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्रीष्टियन संघ–संस्थाहरूमा समेत संलग्न भई विभिन्न ओहदामा रहेर पञ्चायती शासनकालदेखि नै नेपाली ख्रीष्टियनहरूको हक, हित र संरक्षणको क्षेत्रमा काम गरेको छु । म, जहाँ जहाँ संलग्न भएँ ती सबै निकायहरूले इसाई क्षेत्रमा र नेपालका विभिन्न स्थानहरूमा प्रशस्त समाज सेवाका कार्यहरू गरी राष्ट्र निर्माणको अभियानमा सहभागिता जनाएको छु । अनि, मेरो राजनैतिक पृष्ठभूमि थाहा गर्नुहुने अग्रज नेताहरूका समक्ष मौका परेको खण्डमा सधैं हाम्रा हक अधिकारका सम्बन्धमा बोल्न मैले कहिल्यै बाँकी राखेको छैन ।
वर्तमान नेपाली मण्डली र युवाहरूको भविष्यः
वास्तवमा मैले मेरो ख्रीष्टियन अगुवापन नै युवाहरूबाट शुरु गरेको हुँ । म मण्डलीको युवा संयोजक हुँदै राष्ट्रिय मण्डली संगति एन.सि.एफ.को केन्द्रिय कोषाध्यक्ष हुँदा नै नेपालको पहिलो राष्ट्रिय युवा कमिशन नेपालको शुरु गर्ने र सर्वसम्मत निर्वाचित प्रथम अध्यक्ष पनि म नै हुँ । यसको साथै युवाहरूको बिचमा अरु पनि यथेष्ट काम गरेको छु । यसैकारण नेपालको युवा क्षेत्रमा मेरो आस्था, विश्वास र माया छ । अबको नेतृत्व लिने भनेकै युवाहरूले हो । तर ख्रीष्टियन युवाहरूले आफूमा धेरै कुराको परिवर्तन गर्नुपर्ने आवश्यकता म देख्ने गर्छु । मण्डलीका अगुवाहरू र युवाहरूको बिचमा सही समन्वय भएको खण्डमा मण्डली एवं युवाहरूको भविष्य उज्वल भन्दा पनि अझ शसक्त हुने देख्छु ।
अन्तमाः
हामी भनेको प्रभु येशुले देखाउनुभएको शान्ति र अनन्तको बाटोमा हिंड्ने समुदाय हौं । हामीहरू सडकमा ढुङ्गा मुडा गर्दैनौं, नारा जुलुस गर्दैनौं, तोडफोडमा उत्रदैनौं, झुटो र असम्भव नारा दिंदैनौं तर जे कुराको लागि पनि नम्रताका साथ पेश हुन्छौं । त्यसैले सम्बन्धित सबै तह तप्काका मानिसहरूले ख्रीष्टियनहरूको यो भावनालाई बुझ्नु जरुरी छ । यसैलाई मध्यनजर गर्दै नेपालका मण्डलीहरू एकताको सुत्रमा सहकार्य गर्दै जाने हो भने ख्रीष्टियन समुदायको भविष्य उज्वल र चिरस्थायी देख्छु । एउटा महत्वपूर्ण कुरा, हामीले अहिले नै नेपाली ख्रीष्टियनको मार्ग सुनिश्चित गरेनौं भने अब आउने पुस्ताले हामीलाई दोष दिनेछन् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४