म पा. हिराकाजी महर्जन हुँ । मेरो जन्म बि.स. २०२६ साल भाद्र ६ गते ईन्द्रजात्राको दिन ललितपुरको ठेचो गा.वि.स वडा नं. १ साविकको गोदावरी नगरपालिका वडा नं. १२, ललितपुरमा पर्दछ । हाल म “ठेचो एकता मण्डली” मा पास्टरीय सेवकाइ गरिरहेको छु । मेरो परिवारमा म लगायत श्रीमती, छोरा, बुहारी र नातिनी सहित ५ जना छौं ।
म एक हिन्दु परिवारमा जन्में र हुकेंको हुँ । मेरो बुबा किसान हुनुहुन्थ्यो र म सानै उमेरदेखि खेतबारीमा काम गर्नु पर्दथ्यो । दिउँसो स्कूल जाने र बिहान र बेलुकी काम गर्नु पर्दथ्यो । १२/१३ वर्ष भएपछि मलाई सुकेनास अर्थात (क्षयरोग) लाग्यो । मेरो शरीर पुरै सुक्यो । पाटन अस्पतालमा जचाउँदा डाक्टरले टि.भी (क्षयरोग) भन्नुभयो र औषधी दिनुभयो तर रोग निको भएन । मलाई मेरो दिदीले बोकेर बैद्यकोमा लैजानुभयो र घरमा ल्याएर अब यो मर्छ भनेर खटियामा लडाई दिनुहुन्थ्यो । आमा बुबाले पनि मर्छ भनेर माया मारिसक्नुभएको थियो । उहाँहरूलाई म बाँच्छु भनेर आशै थिएन ।
केहि समयपछि नाकबाट रगत बग्न थाल्यो । नाक बन्द गर्यो भने मुखबाट रगत बग्ने र मुख बन्द गरे नाकबाट रगत बग्ने गर्दथ्यो । २ वर्ष जति रगत बग्यो । त्यसै समयमा एकजना नचिनेको बहिनीले पर्चा दिनुभयो । त्यसको नाउँ थियो, “परमेश्वरको प्रेम र उहाँमाथि भरोसा” त्यो किनेर पढें । त्यसपछि मैले परमेश्वरको बारेमा जान्ने र बुझ्ने मौका पाइन र मण्डली पनि कहाँ छ थाहा पाउन सकिन ।
१९ वर्षको उमेरमा आमा बुबाले मेरो विवाह गरिदिनुभयो । छोरो मरे पनि बंश थाम्नका लागि उसको सन्तान होला भन्ने उद्देश्यले मेरो विवाह गरिदिनु भएको थियो । २१ वर्षको उमेरमा २०४७ सालको कुरा हो । काठमाडौं बौद्ध निस्सी निवास मण्डलीको एकजना बहिनीले मलाई परमेश्वरको बारेमा सुसमाचार सुनाउनुभयो । मैले भने, “साँच्ची नै म निको हुन्छ भने विश्वास गर्छु नत्रभने मेरो गाउँमा कोही पनि ख्रीष्टियनहरूलाई पस्न पनि दिने छैन ।” यो कुरा भने पछि त्यो बहिनीले भन्नुभयो, “हुन्छ” । मण्डली पनि देखाउनुभयो र यति बजे आउनु भनेर भन्नुभएन । म चाहिँ जसरी हुन्छ, निको हुन चाहन्थें ।
२०४७ साल असार १६ गते शनिबारको दिन आयो । मन्दिर जाँदा चाहिँ सबै भन्दा चाँडो गएर पूजा पाठ गर्नेले आशिष पाउँछ भन्थ्यो । त्यस्तै मलाई लाग्यो र म मण्डलीमा पनि बिहानै ६ बजे नै गएँ । ७ बज्यो कोहि आउनुभएन । ८ बज्यो, कोहि आउनुभएन । ९ बज्यो, एक दुई जना आएर सरसफाई गर्नथाल्नुभो । १० बज्यो अनि सबै विश्वासीहरू आउनुभयो र संगति शुरु भयो ।
संगतिमा भजन गीतहरू गाउनुभयो, मलाई रमाइलो लाग्यो । वचन सुनें र वचन सुन्दा सुन्दै मलाई वचनले हृदयमा केही कुराले छोएको आभाष भयो अनि मेरो रोगहरू निको भएको मलाई महसुस भयो । मलाई परमेश्वरप्रति विश्वास लाग्न थाल्यो कि त्यस वचनमा पाप क्षमा, चङ्गाई, परिवर्तन र जीवन थियो । यो मैले थाहा गर्न सकें । त्यसै समयमा मैले परमेश्वरलाई “मेरो प्रभु र मुक्तिदाता” भनि व्यक्तिगत रूपमा ग्रहण गरें । मैले २०४७ सालको पुस १९ गते शनिबार मण्डलीभित्र नै बप्तिस्मा पनि लिएँ ।
मेरो वषौं अगाडिको निको नभएको बिमारहरू सबै निको भयो । मेरो सबै पाप अधर्महरू उहाँले कलवरी क्रूसमा बोक्नुभयो र मलाई स्वतन्त्र बनाउनुभयो । मलाई नयाँ जीवन दिनुभयो । मेरो मनका पिडाहरू उहाँले बुझ्नुभयो ।
पहिला मेरो बुबाले विष्णुको पाठ गर्न सिकाउनुभएको थियो । त्यो नेपाली कागजमा र नेवारी भाषामा थियो । मैले त्यो आँखा चिम्म गरेर पढेपछि मरेको मानिस पनि बाँचेको थियो र अझै पनि उहाँ हुनुहुन्छ । त्यो पढेपछि बाघ, भालु पनि भाग्थ्यो, तर जब मैले मण्डलीमा परमेश्वरलाई ग्रहण गरेपछि त्यस बिष्णुको पाठ गर्ने शव्दहरू एउटा पनि मलाई सम्झना भएन । सबै बिर्सेर गयो । त्यो शव्दहरू करीव ५० फिट लामो नेपाली कागजमा नेवारी भाषामा थियो । मानिसको रगतले लेखेको भन्नु हुन्थ्यो । मलाई पहिला सबै आँखा चिम्म गरेपछि लामो सिन्के धुप २ वटा नसिध्दिएसम्म आँखा चिम्म गरेर पढ्थें । प्रभु येशुमा ग्रहण गरेको दिनमा नै सबै बिर्सेर गयो, यो कुराले पनि मलाई विश्वासमा बलियो बनायो ।
मेरो एउटा मात्र छोरी छिन् । उनको जन्म २०४७ भाद्र १३ गते भएको थियो । उनी २० महिनाको भएपछि बिमारी भइन् । उनको बिमार चाहिँ आँखा पुरै सेतो पार्ने र काम्ने थियो । दुष्टले सताएको हो वा कुनै रोग नै हो मलाई त्यति थाहा थिएन । म भर्खर मात्र विश्वास गरेको थिएँ । मलाई प्रार्थना गर्न पनि आउँदैनथ्यो, तैपनि प्रार्थना गरें । त्यसपछि उनको काम्ने रोग निको भयो । तर सेतो आँखा चाहिँ जस्ताको तस्तै थियो । अनि हाम्रो गाउँमा पाटनको शाक्य परिवार स्टोभ बनाउने काम गर्नलाई बस्न आउनु भएको थियो तर उनीहरूको परिवार चाहिँ पाटन क्वाइनोनिया मण्डली जानु हुन्थ्यो । उहाँहरूलाई बोलाएर प्रार्थना गराउँदा सेतो आँखा पनि राम्रोसँग हेरेर भुईमा खेल्न थाल्यो । यो देखेर मलाई र मेरो परिवारलाई अझ धेरै विश्वास लाग्यो । त्यहाँदेखि एक पटक पनि त्यस्तो नराम्रोसित कहिले पनि बिरामी भइनन् । स्कूल जीवन र बाइबल कलेजको जीवनभरी नै उनको लागि त्यो गवाही भयो । अहिले परमेश्वरको अनुग्रहमा त्यही छोरी अमेरिकाको क्लोराडोमा परिवार सहित बस्छिन् ।
मैले परमेश्वरलाई विश्वास गरेको कुरा परिवारमा कसैलाई पनि मन परेको थिएन । मलाई झुक्काएर पानी भनेर रक्सी पनि दिनुभयो । आमा बुबाले बर्षाको बेलामा रातीको १२/१ बजे भुत र बोक्सी आउने ठाउँमा पानी लगाउन खेतमा पठाउनुहुन्थ्यो । मैले प्रार्थना गरेर जान्थें । मलाई डर लागेन, केही पनि भएन र तर्साएन पनि, मलाई परमेश्वरले साथ दिनुभयो ।
एकदिन मेरो बुबाले भन्नु भयो, “छोरा तिमीलाई के इच्छा लाग्छ, मलाई माग म तिमीलाई दिनेछु तर ख्रीष्टियन नबन, तिमीलाई मोटरसाइकल, गाडी किनिदिन्छु ।” बुबाले भारतबाट तोरी ल्याएर व्यापार गर्नुभएको थियो र उहाँले धेरै पैसा कमाउनु भएको थियो । मैले भने, “बुबा मलाई यो सांसारिक थोक चाहिएको होइन, मात्र मलाई मुक्ति चाहिएको हो । म पहिला कस्तो थिएँ ? जुन मैले प्रभु येशू ख्रीष्टमा पाएको छु ।”
त्यसो भन्दा मेरो बुबाले मलाई घरमा बस्न दिनुभएन र निकालिदिनुभयो र हामी बौद्धको टुसाल (पानी ट्याकी) नजिकै बस्न थाल्यौं । यो २०५० सालको कुरा हो । मैले २०४७ सालमा परमेश्वरलाई विश्वास गरेको थिएँ । ३ वर्षसम्म मेरो श्रीमतीले पनि विश्वास गरेकी थिइनन् । घरबाट निकालिएको दिन श्रीमतीले निधारभरि टिका लगाएर निस्केकी थिइन् तर भोलिपल्टदेखि पुरै मलाई साथ दिइन् र मसँगै मण्डली जान थालिन् ।
त्यो समयमा म कम्युनिष्ट पार्टीमा लागेको थिएँ । पार्टीको मानिसले भन्नुभयोे, “तपाईंको उपनाम राख्नुपर्छ ।” मैले भने, “युहन्ना” नाम राख्न, तर पार्टीका मानिसहरूले भन्नुभयो, “यो त ख्रीष्टियन नाउँ भयो, हाम्रो सिद्धान्त मिल्दैन ।” मैले भनें, “हो, ख्रीष्टियन नाउँ तर तपाईंहरूले मन, शरीर परिवर्तन गर्न सक्नुहुन्छ, तर मेरो परमेश्वरले त आत्मा परिवर्तन गर्नुहुन्छ र जीवन दिनुहुन्छ ।” त्यस दिनमा उक्त पार्टी छोडेर येशुको सेवा गर्ने प्रण गरें ।
त्यसपछि मलाई लाग्यो, “यसरी मलाई नयाँ जीवन दिने परमेश्वरको सेवा किन नगर्ने मैले उहाँको काम गर्नुपर्छ ।” त्यसपछि १ हप्ते डि. टि. सि. तालिम, ओ. एम ३ महिना, १ वर्षको डिटिसीको तालिममा भाग लिएँ र परमेश्वरको बारेमा अझ धेरै सिक्ने मौका पाएँ । मलाई परमेश्वरको बारेमा धेरै भन्दा धेरै जान्ने र सिक्ने अनि परमेश्वर भित्र के छन् त यो मलाई लाग्थ्यो । त्यसपछि ३ वर्षको बि.टि.एच. नेपाल प्रेस्बेरिटियन कलेजमा पढ्ने मौका पाएँ । कलेजको दीक्षान्त हुने अघिल्लो दिनमा मेरो पाष्टरीय अभिषेक पनि भयो । २०४७ सालदेखि २०५६ सालसम्म ए. जी. निस्सी निवास मण्डलीमा सेवकाइ गरें । २०५६ देखि २०६० सम्म ठेचो निस्सी मण्डली भनि ठेचोमा संगति शुरु गरें । त्यसपछि २०६० सालमा ठेचो निस्सी मण्डली, ठेचो मण्डली, र चाँपागाँउ मण्डली यी तीन एकता भएर ठेचो एकता मण्डली नामाकरण गरेर पास्टरीय सेवकाइ गरिरहेको छु ।
अहिले मलाई परमेश्वरले उहाँकै कामको धेरै जिम्मेवारीहरू दिनु भएको छ । बाइबल कलेज र स्कूलहरूमा पनि पढाउने गर्दछु । तिनीहरू सामुदायिक बाइबल स्कुल, पिल्लर्स एकेडेमी, न्यू लाइफ मिशनरी तालिम केन्द्र र पावल एण्ड थियोलोजिक सेमिनार हुन् ।
मलाई परमेश्वरले यसरी धेरै भन्दा धेरै आशिष दिइरहनु भएको छ । अहिले मैले विश्वास गरेको २९ वर्ष भयो । मैले विश्वास गरेको ११ वर्षमा मेरो बुबा आमा, सासु र ससुराले पनि विश्वास गर्नुभयो । प्रायः मेरो सबै परिवारहरूले परमेश्वरलाई विश्वास गरिसक्नु भएको छ ।
जब मैले परमेश्वरमा विश्वास गरें, तब सबै परमेश्वरको भाग दशांसहरू छुट्टाएँ । परमेश्वरलाई आदर गरें । त्यसपछि आर्थिक रुपमा पनि धेरै नै आशिष दिनुभयो । एउटा भनाई छ, “कर्म बेच तर धर्म नबेच ।” र “लिनुमा भन्दा दिनुका असल छ ।” यी कुराहरूमा मैले आज्ञा पालन गरें । मेरो जीवनमा धेरै भन्दा धेरै आशिष परमेश्वरले दिनु भएको छ ।
मैले परमेश्वरलाई ग्रहण गरेपछि ती सबै रोगहरूबाट निको भएको छु । म मरिसकेको मानिस आज नयाँ जीवन पाएको छु । परमेश्वरले दिनु भएको यो शरीरलाई परमप्रभुकै सेवामा लागि रहनेछु । म मात्र होइन, मेरो सबै छोरा, बुहारी, छोरी, ज्वाई र श्रीमतीले परमप्रभुकै सेवा गर्नेछौं।
अहिले मेरो जीवनमा शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन परमेश्वरले दिनुभएको छ । म बाँचुन्जेल परमप्रभुको सेवा गर्ने अठोट गरेको छु । कसलाई थाहा छ भोलिको दिनमा के हुन्छ भनेर तर यो मात्र थाहा छ कि भोलिको दिनमा यो जीवन कसको हातमा छ भनेर । एउटा भनाई छ, “बुढेसकालमा मात्र परमेश्वरको सेवा गर्नु ।” तर होइन, उमेर र बल हुँदा नै परमेश्वरको सेवकाइ गर्नुपर्दछ । र परमेश्वरलाई खुशी पार्नु पर्दछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४