२०८१ पुस २७, शनिबार
2025 January 11, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

फरक पुस्ताको बिचमा पूल निर्माण

प्रेमनारायण भट्टराई ।

परिचयः

पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्ययन गर्यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन गर्यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असरहरू पछिल्लो दशकमा नदेखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बिचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं ।

पुस्तान्तर के हो ?

सामान्यतया, पुस्तान्तर भन्नाले, “दुइ पुस्ताहरू बिचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्पन्न गराउँछ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी, पुस्तान्तर केवल पछिल्लो ५०/६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरुदेखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एक जना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दी पहिला पनि थियो भन्ने कुरालाई जोड दिन्छ । उनका अनुसार, “हाम्रा अहिलेका युवाहरू विलासिता मन पराउँछन् । उनीहरूका आचरण खराब छन्, अधिकारीहरूको अधिकारमा रहँदैनन्, उनीहरू बुढा–पाका मानिसहरूप्रति अनादर गर्छन् र आफ्नै इच्छामा रमाउँछन्, जब उमेरमा पाको मानिसहरू कोठामा प्रवेश गर्छन्, उनीहरू आफ्नो स्थानबाट उठ्दैनन्, अभिभावकको विपरित छन्, साथीहरूसँगै रमाउँछन्, स्वऐच्छिक खाना रुचाउँछन् र शिक्षकहरूप्रति खराब व्यवहार गर्छन् ।”

२०औं शताब्दिका प्रखयात भारतीय प्रचारक रबि जारायाहले आफ्नो पुस्तक ‘रिक्याप्चर द वन्डर’ व्यक्त गरेको विचार सान्दर्भिक छ । यस विचार अनुसार पछिल्लो २० औं शताब्दीको पछिल्लो ५० दशकमा के भयो भन्ने स्पष्ट चित्र प्रस्तुत गर्दछ । उनका अनुसार,

  • “१९५०औं को दशकतिर, नानीहरूले उनीहरूको निर्दोषपनालाई गुमाए । उनीहरू आफ्ना अभिभावकबाट अलग गरिए, जसको कारण थियो, राम्रो तलब भएको जागिर, कार, नयाँ खालका सङ्गीत इत्यादी ।
  • १९६०को दशकमा नानीहरूले अधिकार पनि गुमाए । यो विद्रोहको दशक जस्तै थियो । मण्डली, राज्य र अभिभावकहरूको अधिकार माथि प्रश्न खडा गरियो । उनीहरूले आफ्नै चाहना खोजी गरे । मण्डली, राज्य र अभिभावकको अधिकारलाई इन्कार गरियो । तर यसलाई अहिलेसम्म पनि केहीले पुर्नस्थापना गर्न सकेको छैन ।
  • १९७० को दशकमा नानीहरूले प्रेम गुमाए । यो ‘म’वाद को युग जस्तै नै थियो, जहाँ आफु आधारित शब्दहरूको विकास भए । जस्तै, ‘आफ्नो रुप’ वा ‘स्वरुप’, ‘आफ्नो संसार’, ‘आफ्नो इच्छा’, ‘आफ्नो रुची’ आदि–इत्यादी । यसले उनीहरूलाई एक्लो संसार बनायो । नानीहरूले यौनको बारेमा सिक्न लागे । उनीहरूले प्रेमको विषयमा भुले र उनीहरूलाई सम्झाउने पनि कोही भएन । यसको भिन्नताको विषयमा सिकाउने पनि कोही भएन ।
  • १९८० तिर नानीहरूले उनीहरूको आशा गुमाए । निर्दोषपना, अधिकार र प्रेम गुमाउनुले उनीहरूलाई डरलाग्दो रुपमा आशाहीन बनाइदियो र परिणामस्वरुप यो दशकका पुस्तामा उनीहरू  मध्येका धेरै जनाले भविष्यलाई नै विश्वास गर्न छोडे ।
  • १९९० तिर आइपुग्दा नानीहरूले उनीहरूको तर्क दिने शक्ति नै गुमाउन पुगे । यो दशक यस्तो रह्यो कि, जति–जति उनीहरूलाई आधारभुत भाषा, सत्यता र तर्कबारे सिकाइयो उनीहरू उति नै बढी पाश्चयआधुनिक संसारमा वृद्धि भएर गए ।

सन् २००० पश्चात त सूचना प्रविधिमा आएको आमूल परिवर्तले यसको दायरालाई यति फराकिलो बनाइदियो कि, यसको लेखाजोखा गर्नै गाह्रो छ । पछिल्लो दिनमा परिवारमा, समाजमा र अझ भनौं मण्डलीमा यसको कयौं असरहरू देखा परेका छन् । पश्चिमा मूलुकमा त फरक पुस्ताको फरक–फरक संगति गर्नु पर्ने बाध्यात्मक स्थिति पनि सृजना भएको छ । पुस्तान्तरको असरको रुपमा संगति फरक समय र स्थानमा फरक पुस्ता भेला हुनुले मण्डलीको स्वरुप र बाइबलीय मूल्य धरापमा परेका मान्न सकिन्छ । पछिल्लो पटक पुस्तान्तरको असरलाई ध्यानमा राखी अन्तर पुस्तालाई कसरी एउटै पानामा समेट्न सकिन्छ भनि मण्डली स्थापनाकर्ता (Church Planters) र युवा सेवकाइका ज्ञाताहरूले व्यापक खोज पनि गरिरहेका छन् ।

पुरानो करारमा परमेश्वरले इस्राएलीहरूलाई धार्मिक र नैतिक नीतिहरू दिनुहुँदा लगाउने वस्त्र, बाने कुरा, बोली वचन, छिमेकीलाई गर्ने व्यवहार र अन्तर समुदायको बिचमा हुनुपर्ने सिमारेखा आदिको विषयमा स्पष्ट बताइ दिनुभएको थियो । यहाँ आजको मण्डलीले पनि बुझ्नु आवश्यक छ कि मण्डली भनेको फरक फरक समुदाय वा पुस्ताको बिचको भिन्नतामा होइन तर फरक पुस्ताले एउटै रीतिमा रहेर जिउनुपर्छ । आज मण्डलीमा सङ्गीत, वस्त्र, खाना वा कपालको स्टाइल जस्ता ससाना विषय उप्काएर द्वन्द्व उत्पन्न हुन्छन् तर मण्डलीले बाइबलीय मूल्य र मान्यतालाई जोड दिनु पर्ने हो (मत्ती २०:२६; २ कोरिन्थी ६:१४, १७) । केही बाइबलीय सन्दर्भहरू हेर्नुहोस् भजनसंग्रह ७१:१८; १४५:४ जसले फरक पुस्तासँगै मिल्नु सुन्दरता हो भनि बताउँदछन् ।

मण्डली र परिवारमा पुस्तान्तरको नकारात्मक असरलाई कसरी कम गर्ने ?

१. परिवारमा अभिभावक र छोराछोरीहरूको भूमिकाको विषयमा पास्टर वा कोही असल शिक्षा सिकाउन सक्ने शिक्षकलाई बोलाएर बाइबलबाट सिकाउन लगाउनुहोस् । छोराछोरीहरूलाई अभिभावकहरूको सिमित स्रोत र उपलब्धताको विषयमा जानकारी नहुन सक्छ र आमाबुबालाई पनि छोरा छोरीको कलिलो बुझाइको बारेमा जानकारी नहुन सक्छ । अतः बाइबलीय ज्ञान दुबै पक्षको निम्ति साझा समाधान हुनसक्छ ।

२. छोराछोरी र अभिभावकलाई फरक फरक राखेर उनीहरूको इच्छा र अपेक्षालाई सुनिदिनुहोस् । केवल भिन्न स्थानमा राखेर सुन्ने मात्र होइन तर सँगै राखेर छलफल पनि गराउनुहोस् । मण्डलीमा एक सामान्य २ घण्टाको अभिभावक र छोराछोरी बिच अन्तरक्रिया गराउन सक्नुहुन्छ ।

३. छोराछोरीलाई सिकाउनुहोस् कि उनीहरूको आमा बुवा पहिलो पटक छोराछोरीहरू हुर्काउँदै गरेका सिकारु अभिभावक हुन् । उनीहरूले पहिले नै उनीहरू जस्ता किशोर अवस्थाका नानीहरू हुर्काएर अनुभव बटुलेका अभिभावकहरू होइनन् ।

४. मण्डलीमा किशोर किशोरीहरू सहभागी गराई उनीहरूलाई अभिभावकले गरेका राम्रा कामहरूको सम्झना गरि उनीहरूलाई आभार प्रकट गर्ने गराउने मौकाको सृजना गरिदिनुहोस् । जस्तै वृद्ध-वृद्धा सम्मान कार्यक्रम, मण्डलीको अभिभावक दिवस कार्यक्रम आदिको आयोजना गर्न सक्नुहुन्छ ।

५. दुबै पक्षलाई कसरी एकअर्कासँग सञ्चार गर्ने भनि सिकाउनुहोस् । पाको मानिसको सञ्चार गर्ने तरिका र व्यवहार गर्ने तरिका फरक हुन सक्छ र ठीक त्यसै गरी युवा पुस्ताको फरक हुन सक्छ । फेरी सञ्चार नै सबैभन्दा साधारण र शक्तिशाली समाधान पनि हो । सञ्चारको अभावले नै समस्या उत्पन्न हुन्छ र सञ्चारले नै समस्यालाई ठूलो बनाउने वा समाधान गर्ने भुमिका खेल्छ । अतः यसमा सिकाइको पनि खाँचो हुन्छ ।

निष्कर्षः

मलाकीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस्, उहाँले भन्नुभएको छ कि डरलाग्दो दिन (फरक पुस्ताको बिचमा मतभिन्नता) छोराछोरी र बाबुहरूलाई (दुइ भिन्न पुस्ता) एकअर्काको हृदय फर्काउनको निम्ति एलिया अगमवक्ता (सांकेतिक रुपमा मध्यस्तकर्ता) पठाइदिनेछु (मलाकी ४:५,६) । शैतानको काम चाहिँ कसरी हुन्छ भिन्नता र विभाजन ल्याउनु हो तर हामी सचेत हुनुपर्छ । आखिर दिनहरूको विषयमा पावलले पनि तिमोथीलाई बताएका छन् (२ तिमोथी ३:१–४) । पछिल्लो दिनहरूमा हुन आउने कुराहरूको विषयमा अघिबाटै बताइएकाले हामी चाहिँ अझ सचेत र जागा रहौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...