रेभ. विजय कर्माचार्य ।
यहाँहरूको मानसपटलमा यो प्रश्न उठ्न सक्छ, के चिन्तामुक्त जीवन जिउन सम्भव छ त ? के हामी चिन्तामुक्त भएर जीवन जिउन सक्छौं ? हाम्रो जीवनमा धेरै विषयमा चिन्ता छ । अभावमा, सम्पन्नतामा, भैपरी आउँदा के गर्ने होला भन्ने जस्ता धेरै विषयमा हामीलाई चिन्ता छ । चिन्ता र चासोका बिचमा धेरै भिन्नता छ । कुनै पनि विषयमा चासो लिनु जायज हो, जस्तैः समयमा खाना खायौं कि खाएनौं, हाम्रा छोराछोरी स्कूल गए कि गएनन् वा गृहकार्य गरे कि गरेनन् ? यस्ता विषयहरूमा चासो लिनु गलत होइन तर चिन्ता गर्नु हाम्रो निम्ति हानिकारक छ । यसले हामीलाई फाइदा भन्दा पनि बेफाइदा गर्दछ । एउटा तथ्याङ्कले बताएअनुसार मानिसहरूले लिने चिन्ताहरू मध्ये ४० प्रतिशत चिन्ता र फिक्रीहरू त जीवनमा कहिल्यै घट्दै घट्दैनन् । मानिसहरूले गर्ने चिन्ताहरू मध्ये ३० प्रतिशत चिन्ता चाहिँ यस्तो हुन्छ कि जुन घटना र परिस्थिति हाम्रो नियन्त्रण भन्दा बाहिरका हुन्छन् । हाम्रो चिन्ता र फिक्रीले ती घटनाहरूलाई बदल्न सक्दैनौं । १२ प्रतिशत मानिसहरूले गर्ने चिन्ता भनेको अरुहरूले गर्ने आलोचनालाई लिएर हुने गर्दछ । मानिसहरूले कतै मेरा विरुद्धमा कुरा काटेका छन् कि अर्थात मेरो बारेमा के भन्दैछन् भनेर लिइने चिन्ता हुन्छन्, जुन बेठीक पनि हुन सक्छन् । १० प्रतिशत चिन्ता हाम्रो आफ्नै स्वास्थ्यका विषयमा हुने गर्दछ तर त्यस्तो चिन्ताले त हाम्रो स्वास्थ्यलाई झन् खराब बनाउँदै लैजान्छ । मानिसहरूले लिने चिन्तामध्ये ८ प्रतिशत चिन्ता मात्रै जायज चिन्ता हुन्छन्, जसका लागि हामी केही गर्न सक्छौं । यसबाट प्रमाणित हुन्छ कि हामीले लिने चिन्तामध्ये ९२ प्रतिशत चिन्ताले न त हाम्रो जीवनमा केही फाइदा पुर्याउँछ न त त्यसका बारेमा हामी केही गर्न नै सक्दछौं । तर पनि मानिसहरू यसरी चिन्ता लिन भने छाड्दैनन् । एउटा प्रश्न उठ्छ कि के हामी चिन्ता र फिक्री बिना निश्चिन्त भएर जीवनमा बाँच्न सक्छौं त ?
पवित्र धर्मशास्त्र बाइबलअनुसार मानिसहरूमा चिन्ता र फिक्री ल्याउने कारणहरू मध्ये एक पैसा पनि हो । धन–सम्पत्तिका कारण मानिसहरूमा चिन्ता हुन्छ । उपदेशक ५ः१२ मा यसरी लेखिएको छः “परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन ।” हामीलाई केही भए पनि चिन्ता छ, नभए पनि चिन्ता छ । अलिकति धन–सम्पत्ति भयो भने, त्यसको सुरक्षा कसरी गर्ने ? कसैले चोरेर लान्छ कि, हराउँछ कि भनेर चिन्ता हुन्छ । यदि कोहिसँग धन छैन भने पनि कसरी कमाउने, धन कसरी आर्जन गर्ने भन्ने चिन्ता हुन्छ ।
हामीहरूलाई लाग्ने चिन्ता मध्ये दोश्रो चाहिँ समाचारहरूका कारण लाग्दछ । कहिलेकाहिँ हामीहरू पत्रपत्रिकामा समाचारहरू पढ्छौँ या त टेलिभिजनमा आएका समाचारहरू सुन्छौँ अनि हेर्छौं । दिनहुँ घटेका घटनाहरू या कुनै दुर्घटनाका बारेमा रेडियो, टेलिभिजन वा पत्रपत्रिकामा समाचार सुन्छौँ या पढ्दछौं अनि त्यही समाचारको घटनाहरूका बारेमा हामीलाई चिन्ता लागेर आउँछ । त्यस्ता घटनाहरूका बारेमा सोच्दै गर्दा हामी पनि कल्पना गर्न पुग्दछौं कि यदि यस्तै घटनाहरू हाम्रो जीवनमा पनि घट्यो भने के गर्ने होला ? हामी पनि यस्तै दुर्घटनामा पर्यौं भने या भूकम्पमा फस्यौं भने के होला ? अथवा मेरो श्रीमान कार्यालयबाट घर फर्कने हो कि होइन ? हामीले यस्तै समाचारहरू सुनेका हुन्छौं, जसका कारण हामी चिन्तित हुन्छौं । वास्तवमा यस्ता खालका समाचारहरू सुन्नु आफैमा खराब भने होइन तर त्यसका कारण आउने परिणामका कारण हामी चिन्तिन हुन पुग्दछौं । चिन्ता लाग्ने तेश्रो कारण चाहिँ समय हो । विवाह, भविष्यमा कस्तो जीवनसाथी होला, रोजगारी पाइएला कि नपाइएला, सन्तान होला कि नहोला, भए कस्तो होला, अवकाश पछिको जीवन कस्तो होला, यस्तै यस्तै कुराहरूमा मानिसहरू वढी चिन्तित हुन्छन् । अर्को चिन्ता लाग्ने कारण सपना पनि हो । सपनामा देखेका घटनाहरू र त्यसका नकारात्मक परिणाम बारम्बार दोहोर्याएर मानिसहरू अनावश्यक रुपमा चिन्तित हुन्छन् । चिन्ताले हाम्रो जीवनको हरेक क्षेत्रलाई विशेषगरी आत्मिकी क्षेत्रलाई असर पार्दछ किनकि चिन्ता गर्नु भनेको परमेश्वरमा भरोसा नगर्नु हो । जो मानिसले परमेश्वरमा भरोसा गर्छ, उसले चिन्ता गर्दैन र जसले चिन्ता गर्छ, त्यो मानिसले परमेश्वरमा भरोसा गर्न सिकेको हुँदैन । चिन्ता गर्नेले परमेश्वरमा पूरा विश्वास गरेको हुँदैन र उहाँको भलाई, गुण, चरित्र र प्रेमलाई बुझेको हुँदैन । चिन्ताले हाम्रो आत्मिकी जीवन र परमेश्वरसँगको सम्बन्धमा नकारात्मक असर पार्दछ । त्यसकारण जसले परमेश्वरलाई राम्ररी चिनेको र बुझेको छ, उसले जीवनमा कम चिन्ता लिन्छ । अर्को कुरा चिन्ता गर्नु भनेको परमेश्वरको प्रतिज्ञामा शंका गर्नु हो । परमेश्वर साँचो हो कि होइन, सत्य हो कि होइन भनि शंका गर्नु हो ।
चिन्ता गर्नु भनेको परिस्थितिले हामीलाई नियन्त्रण गर्न दिनु हो । जब परिस्थितिले हामीलाई नियन्त्रण गर्दछ, हाम्रो परमेश्वरसँगको सम्बन्धमा पनि नकारात्मक असर पार्दछ । परमेश्वरले शंका होइन विश्वास चाहनुहुन्छ । उहाँ हामीले चिन्ता लिएको होइन तर उहाँमा भरोसा गरेको चाहनुहुन्छ । चिन्ताले हाम्रो सामाजिक क्षेत्रमा पनि नकारात्मक असर पार्दछ । जसले हरेक कुरामा चिन्ता लिन्छ, उ अरुहरूसँग राम्रो सम्बन्धमा जिउन सक्दैन । जो रातदिन चिन्तित भई बसिरहन्छ, त्यस्तो मानिससँग कोहि पनि संगत गर्न मन पराउँदैन । उसको जीवनमा सुख र सकारात्मक कुरा भन्ने नै हुँदैन । चिन्ताले एकदमै असर पार्ने अर्को क्षेत्र भनेको शरिर पनि हो । चिन्ता लिएर तनाबमा हुनु नै धेरै विनास र रोगको कारण हुन पुगेको छ । त्यसकारण चिन्ताले परमेश्वरसँगको सम्बन्धका साथसाथै समाजमा एक अर्कोसँगको सम्बन्धमा पनि असर पार्दछ । आफ्नै शरीरमा पनि यसले धेरै नै नकारात्मक असर पार्दछ ।
अन्तमा, परमेश्वरको बारेमा ध्यान दिनु, उहाँको बारेमा मनन गर्नु नै चिन्ता मुक्त हुने सबै भन्दा मुख्य उपाय हो । मत्ती ६ः२५ पद अनुसार हाम्रो जीवन खाने कुरा, लगाउने लुगाफाटो भन्दा पनि महत्वपूर्ण छ । त्यसैगरी येशुले बाइबल धर्मशास्त्रको मत्ती ६ः२६ पदमा चराचुरुङ्गीलाई पनि प्रभुले जुटाउनुहुन्छ भने उहाँले हाम्रो कति धेरै ख्याल गर्नुहुन्छ ? भनेर स्पष्ट पार्नुभएको छ । जब हामी वचनबाट यस्तो प्रतिज्ञाहरू हाम्रो हृदयमा राख्दछौं तब मात्र सारा चिन्ता र तनावहरू हट्ने छन् । तसर्थ हामी सबैले चिन्ता मुक्त भई जीवन जिउने हो भने उहाँको वचनलाई मनन गर्दै उहाँले सिकाउनुभएको वचन अनुसारको जीवन जिउनु अति नै आवश्यक छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४