हिरा खड्गी । बाल्यकालदेखि हामी अरू भन्दा फरक हुनुपर्छ भनेर सुन्दै आएको थिएँ । संसारका अन्य मानिसहरू भन्दा हामी फरक हुनुपर्छ भनेर सिकाइएको शिक्षाले हामी कहाँसम्म सफल वा असफल भएका छौं भन्ने तथ्यलाई पुनः एकपल्ट मुल्याङ्कन गर्न जरुरी भएको छ । ७०/७५ वर्षको ख्रीष्टियन इतिहासलाई केलाउनु जरूरी भै सक्यो । जाँड रक्सी, चुरोट, खैनी खान हुन्न । जुवा तास खेल्न हुन्न । असुहाउँदो, भड्किलो कपडा तथा सिङ्गार लाउनु हुन्न भनेर सिकाइएको शिक्षाले हामी कति बन्यौं त भन्ने एउटा जिज्ञासा उत्पन्न हुनु स्वभाविक हुन आएको छ आजको सन्दर्भमा । आजसम्म हाम्रो ख्रीष्टियन विश्वासको यात्राको रूप हेर्दा धेरै मण्डलीहरू र संघसंस्थाहरूको स्थापना भै सकेको छ र त्यसले आ–आफ्नै प्रकारले परमेश्वरको महिमा हुने काम पनि भै नै रहेको छ । हुन त यतिसम्म आइसक्दा ख्रीष्टियन शिक्षा र व्यवहारले कुनै उचाइमा पुगिसक्नु पर्ने हो । यद्यपि हामी जुन उचाइमा पुग्ने कोसिस गर्दैछौं, त्यसमा हाम्रा कमि कमजोरीहरू प्रशस्त भेट्टिएका छन् । तर यस्तो लाग्छ कि हामी जहाँ छौं, त्यही सन्तुष्ट मानेर बसेको भान हुन्छ । ख्रीष्टियन जीवनका सैद्धान्तिक क्षेत्रलाई मात्र जोड नदिई व्यवहारिक पक्षलाई साथमा अघि बढाएर लैजानु पर्ने खाँचो छ । आजको सन्दर्भमा हामीले पाएको शिक्षा र ज्ञानले के साँच्चै हामीलाई संसारका अरू मानिसहरू भन्दा भिन्न हुनुपर्छ भन्दै गर्दा, देखिएको र भएकोमा भिन्नता के छ त ? छ भने कुन आधारमा छ जान्न जरूरी हुन्छ । यदि हाम्रो मुल्याङ्कन खाने, लाउने र चाल चलनमा आधारित मात्रै छ भने व्यवहारमा देखिनु पर्ने ख्रीष्टियन जीवनको भिन्नतामा हामी केही उचाइमा पुगिसकेको हुनु पर्ने नै हो । कुनै एक अगुवा वा विश्वासीप्रतिको इमान्दारितामा अझै हाम्रो भित्री मनमा शंका उब्जिनै रहेको छ भने हामीले अन्य मानिसप्रति कस्तो धारणा राख्न सक्छौं त ? निश्चय पनि हामीलाई विश्वास गर्न कठिन पर्छ । कतिपय अवस्थमा बरू गैर ख्रीष्टियन मानिसहरूलाई विश्वास गर्न झन् सहज छ भनेर धेरै ख्रीष्टियनहरू आफै बताउने गरेको उदाहरणहरू प्रशस्त पाइन्छ ।
संसार भन्दा हामी फरक हुनु पर्छ भन्ने पाठ मस्तिष्कमा घोटी रहँदा, हामी केमा चाहिँ भिन्न हुने भन्ने कुरा सिकाइ रहँदा, दुई वटा कुरालाई ध्यान दिनु पर्ने हुन आउँछ ।
१. बाह्य कुराहरूमा जोडः संसारका मानिस भन्दा हामीले बाहिरी देखिने कुराहरूमा हामी फरक हुनुपर्छ भनि राख्दा हामीले खाने, लाउने र हिड्ने कुराहरूमा भिन्नता हुनुपर्छ भनेर जोड दिई रह्यौं । आत्मिकी कुराहरूबाट हाम्रो शिक्षा बाहिरी आवरणका कुराहरूमा बढी जोड दिंदा, हाम्रो भित्र स्वभाव चाहिँ पुरानै अवस्थामा पो रहेको छ भन्ने यदाकदा चरित्रहरूमा देखा परेका संकेतले बताउने गरेको पाइन्छ । असल साक्षी हुनको लागि केही हदसम्म हाम्रा बाहिरी कुराहरूले सहयोग त गर्ला तर त्यो हृदयको बिचार र स्वभावहरू भन्दा सतप्रतिशत महत्वपूर्ण कुरा होइन । किनकि आत्मा नै बाँचेको छैन भने बस्त्रको कुरामा जोड दिनु अर्थहिन हुन जान्छ । हामीले मानि राखेको धर्म भन्नुसे या त जीवन परिवर्तनको जीउने तरिकाबिच र दैनिक जीवनयापनमा देखा पर्ने चरित्रहरू उचित सन्तुलनको कमी देखिन्छ । अनन्तको जीवनको लक्ष्य प्राप्तिमा केन्द्रित रहेर सिक्ने र सिकाउनमा जोड गर्दै गर्दा यथार्थतालाई भुलेर पूर्ण सिद्धता हासिलको दौडको प्रतियोगितामा भाग लिनु अनिवार्य तुल्याइएकाहरू जस्तै भएका छौं । यति हुँदाहुँदै पनि यी दुई कुरामा समय सपेक्ष शिक्षणमा मतभेद रहि आएको छ । एकातिर आत्मा र अनन्त जीवनको कुरा गर्छौँ, जुन अदृश्य छ । अर्कोतिर दृश्य कुरा छ, जुन हामी संसारमा बाँच्नको लागि साक्षी भएर जीउनु पर्छ भनेर वकालत गर्दै हिड्छौं । व्यवहारिक कुराहरूसँग हाम्रो आत्मिक कुराहरूलाई जोडेर हेर्दा कतै हामीले असल, राम्रो हुनुपर्छ भन्दै गर्दा कतै अरूको न्याय त गरिरहेका छैनौं भन्ने प्रश्न उठ्न सक्छ । जस्तैः यदि कसैले हामी आफूलाई मन पर्ने भन्दा फरक व्यवहार पायौं भने के हामी अझै, आफूलाई जस्तो तिनलाई प्रेम गर्ने सक्ने क्षमताको विकास गरिसकेका छौं त ? आफूलाई प्रेम गर्ने मानिसहरूलाई सजिलै प्रेम गर्न सकिन्छ । जुन कुरा बाइबलले हामीलाई सिकाइ सकेको छ । तर आफूलाई प्रेम नगर्नेलाई प्रेम गर्न गाह्रो हुन्छ र हामी त्यसबाट पन्छिनलाई हर समय तत्पर रहन्छौं, त्यो चाहेर होस् या नचाहेर । बहाना बनाउन सबैभन्दा सिपालु हामी नै छौं । यही कुरालाई मात्रै हेर्ने हो भने पनि हाम्रो व्यवहारमा हामी उसो भए कसरी अरू भन्दा भिन्न वा फरक भयौं त ? यदि कसैले हाम्रो भन्दा फरक मत प्रस्तुत गर्दा हामी उसलाई स्वीकार गर्न सक्दैनौं भने के हामी पनि ढोंगी मात्रै भएनौं र ? हामीमा प्रेम कहाँ रह्यो त ?
२. अदृश्य कुराहरू (बोली वचन, व्यवहार, सोच, विश्वास र मन भावनासँग सम्बन्धित)को भिन्नता: गणितीय रुपमा यी तत्वहरूलाई मापन गर्न सकिन्न तर त्यसका केही लक्षणहरूका आधारमा मापन गर्ने भनेको असल र खराब व्यवहारहरू हुन् । देखिने कुरा हुँदा, क्रिया÷प्रतिक्रिया जनाउने स्थान त्यसमा स्वभाविक रूपमा रहन्छ र कारणहरूद्वारा त्यसलाई विश्लेषण हुने गर्दछ । तर जुन कुरा मानिसका ज्ञानेन्द्रियले ठम्याउन सकिंदैन । ठोस रूप हुन्न, त्यो अदृश्य हुन्छ । त्यसमा कारणको प्रतिक्रिया जनाउने अवस्था ज्यादै न्युन हुन्छ, तबसम्म जुन ब्यक्तिले देखिने, सुन्ने गरी कुनै क्रिया गरेको हुँदैन । बाइबलीय सिद्धान्त अनुसार, देखिने कुराहरू क्षणिक हुन्छन् । त्यो भ्रामक हुने गर्दछ तर अदृश्य कुरा सदाको लागि हुन्छ । त्यसैले हाम्रो जीवनका चरित्रहरूमा देखिने कुराहरूमा भन्दा नदेखिने अनन्त कुराहरूप्रति हाम्रो जोड हुनु पर्ने होइन र ? संसार भन्दा भिन्न हुनुपर्छ भनेर भनि राख्दा हामीलाई सिकाइएको सिद्धान्तमा मात्रै सिमित रहेको छ भन्ने प्रष्ट छ । नभए त संघ÷संस्था, मण्डलीमा जे जति देखिरहेका छौं, त्यसमा के भै रहेको छ ? के आफ्नै नाता गोता, बाउ÷छोरा, दाजु÷भाइ, परिवारले मात्रै किन सिमित हुनुपर्ने ? आफ्नै परिवारका सदस्यहरू मात्रै अभिषिक्त जन हुन् ? कि ती अगुवाहरूमा डर र भय छ, जसको कारण असुरक्षित महशुस गर्छन् । यदि यहाँ पनि पद र कुर्सीका लागि नै तानातान गर्ने हो भने कसरी हामी अरू भन्दा फरक भयौं त ? आफ्नो मण्डलीको संख्या बृद्धि हुनका लागि मात्रै पो हामी भिन्नताको बढवा गर्दैछौं कि ? हामी मात्रै ठिक छौं, हाम्रै मात्र विश्वासीको संख्या बढ्नु पर्छ । मण्डली ठूलो हुनुपर्छ भन्ने जस्ता सोंचहरू ख्रीष्टरूपि प्रेममा आधारित हुन सक्छ र ? के यसमा घमण्डको गन्ध फैलिएको छैन र ? के यही यस्तै शिक्षाहरूमा आउने पुस्ता र विश्व जगतमा हाम्रो पहिचान बनाउने कोशिस त गरिरहेका छैनौं ? हामीले फरक हुनुपर्छ भनेर भ्रम सिर्जना गर्न खोजिरहेका त छैनौं ? यसर्थ हामी यी कुराहरूमा पनि फरक हुनु पर्ने होइन र ? हाम्रो मण्डली र ख्रीष्टियन समाजमा आज किन त्यो हुन सकिरहेको छैन ? अयोग्य भएर नै अन्य विश्वासीहरूले स्थान नपाएका हुन् कि ? कि त मण्डली र संस्थाहरूको पद्दत्ति नै यस्तै हो ? हामी हाम्रो शिक्षा र दैनिक जीवनका व्यवहारहरूमा किन एक तह माथि पुग्न सकिरहेका छैनौं ? मण्डलीमा भएका विभागहरू प्रष्ट छन्, ती विभागहरू साधारण मानिसहरूले बुझ्न सक्छन् । तर जब संरचनाको कुरा आउँछ, ती ज्यादै दयनीय अवस्था रहेको स्थिति छ । सम्बन्धका आधारहरूमै स्थान पद वितरण गर्ने हो भने हामी कसरी फरक भयौं त ? आफै मेलमिलापमा र एकअर्काप्रति आदर सद्भावमा रहन सकेका छैनौं भने अरूलाई कसरी मिलापमा ल्याउन सक्छौं ? के यी व्यवहारका शिक्षाहरूमा हामी फरक हुन नपर्ने ? निश्चित संरचना बिना मौखिक संरचनाहरू बदली भै रहदा, संरचनाका केही पाटोहरू कमजोर र अपरदर्शी हुन जान्छन् । हामी पुरानो संस्कारकै केही अंशहरू अझै बोकी हिडिरहेका छौं । जुन हाम्रो व्यवहारमा यदाकदा देखिने गरेको छ । रचनात्मक प्रतिक्रियालाई हामीले सहजरूपमा स्विकार्न नसक्दा आत्मिक, भौतिक, सामाजिक, आर्थिक प्रगतिका संकेतहरूमा पनि हामी कमजोर भएका छौं । परमेश्वरले यो संसारलाई एउटा संरचनामा सृष्टि गर्नुभयो । नियम र पद्दतिको प्रक्रियामा चल्ने बनाउनुभयो । त्यसरी नै हामीले हाम्रो जीवन व्यवहार र मण्डलीको संरचनामा विकास गर्नु पर्ने होइन र ? यो प्रक्रियाबाट हामी आफैले के सिक्ने ? संसारका मानिसहरूका लागि हामी हाम्रो व्यवहारद्वारा उदाहरण हुनुपर्छ भनेर हामी भन्छौं तर जिम्मेवार क्षेत्रका स्थानहरूबाट चुक्ने संकेतहरू प्रशस्त देखिन थालेका छन् । यो एउटा सोचको बिषय भएको छ ।
उत्साह र प्रेरणाका स्रोत
बिशेषगरी त्यो समाज सतही छ भने सतहीरूपले कसैले कसैलाई पनि उत्साह दिन सक्दैन र उत्साहको समुदाय विकास हुन पनि सक्दैन । कुनै एक स्थानमा मानिसहरूको समूह भेला हुँदैमा हामी उत्साहको कारण बन्न सक्दैनौं । यदि आजको मण्डलीले साँच्चिकै उत्साह दिने खाले हुने हो भने, सतही सम्बन्धहरूबाट माथि उठेर अर्थपूर्ण संगति र समाज विकास गर्नु जरुरी हुन्छ । व्यक्तिको भौतिक आवश्यकताको हिसाबले मात्रै होइन तर ख्रीष्टको प्रेमसाथ जीवनलाई अघि बढाउने तत्व र उत्साहका ठोस कदमहरूलाई परिचालन गर्न जरुरी छ । नत्र भने अझै हामी गरिबीमै हाम्रो जीवन र विश्वासलाई लिएर जीउनु पर्ने विवशतामा हुनेछौं । यद्दपि परमेश्वले हामीलाई चाहिने आशिष दिनु हुन्छ । धैर्य राख्नु पर्छ, भनेर भन्न छोड्दैनौं अनि केही नगरी बिसौं वर्षसम्म केही हुन्छ, केही हुन्छ भनेर समय बिताउँछौं । परमेश्वरले दिनुभएको समझ र ज्ञानको प्रयोग उचित समयमा नगर्नाले पछि गएर हामी मध्ये धेरै यसबाट पछुताएका छौं पनि होला । यदि हामीले कसैलाई उत्साह दिन, “प्रार्थना गर्नुहोस्, सबै ठिक हुन्छ भनेर मात्रै भन्छौ तर केही हुन आएन भने, निश्चय पनि उक्त व्यक्ति उत्साहित नहोला ।”
परमेश्वरको वचनले मानिसहरूको हृदयलाई छुन्छ । उहाँको वचनमा स्वतः परिवर्तन गर्ने शक्ति छ र त्यहि अनुरुप काम भै रहेको हुन्छ । तर हाम्रो व्यवहार चाहिँ सतही रूपमा मात्रै उभिन्छ भने हामी आफै पनि परमेश्वरको कामको बाधक हुन सक्छ ।
अगुवाले प्रभावकारी रूपमा कसरी उत्साह दिन सकिन्छ भन्ने प्रयोगात्म ढंगले प्रस्तुत हुन आजको समयको माग हो । विश्वासीहरूको जीवनलाई एक चरणबाट अर्को चरणमा लिएर जाने पनि अगुवाहरूको ठूलो जिम्मेवारी हो । वचनहरूले मात्रै भनिदिंदा आशाहरू निरासामा रूपान्तरित हुने भएकोले वचनको साथसाथै साँचो रूपले दैनिक जीवनका कठिनाइहरूबाट एक कदम सहज हुने बाटोहरू अपनाई दिंदा, विश्वासीहरू निश्चय नै उत्साहित हुनेछ । जसले सहि रुपमा समाज र समूहलाई उत्साह दिंदै जाँदा रुपान्तरणका अवस्थाहरू देखा पर्दछ । जसद्वारा हामी अवश्य पनि अरू संसार भन्दा फरक हुन सक्नेछौं । यदि हामीले यो असाधरण तर साधारण पद्दति अपनाउन सक्यौं भने कालान्तरमा गएर हामीसँग हुकम गर्ने शक्ति मात्रै नभएर प्रेम, आनन्द, शान्ति र आदरका चरित्रहरूलाई बलियो र मजबुत ढंगले आत्मासाथ गर्ने साहस, उत्साह र जोश रहनेछ । यही पुस्ता र आउँदो केही पुस्ताका लागि मात्र नभएर नेपालका मण्डली र हरेक ख्रीष्टियनहरू ख्रीष्टको दोस्रो आगमन नभएसम्म पूर्ण रूपले तयारीका साथ आ–आफैले एक फरक ख्रीष्टियन जीवनका पद्दतिद्वारा संसारलाई चिनाउने अवसरहरू प्राप्त हुनेछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४