
ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजले आवश्यकता परे नयाँ पार्टी खोल्ने बताउनु भएको छ ।
राजनीतिमा ख्रीष्टियन विचार समुहले राजधानीमा आज आयोजना गरेको ‘ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा पहुँच’ बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले ख्रीष्टियन समुदायलाई ठुला पार्टीले खल्तीको भोट बैंक मात्र बनाएकोले आवश्यकता परे नयाँ पार्टी खोल्ने खुल्ला चुनौती दिनु भएको हो ।
अहिले दिन प्रतिदिन धर्मनिरपेक्षता माथि प्रहार भैरहेकोले ख्रीष्टियन समुदायको राजनीतिक पहुँच नहुँदा अल्पसंख्यक धार्मिक समुदायमाथि मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भैसक्दा पनि लगातार बिभेद भैरहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा सरकार ख्रीष्टियनप्रति नकारात्मक बन्दै गएकोले धर्म प्रचारलाई राजद्रोह गरेको भन्नु र धर्म प्रचार गरेकै भरमा धर्म गुरुलाई प्रक्राउ गर्नु कहाँको धार्मिक स्वतन्त्रता हो भनेर उहाँले प्रश्न गर्नुभएको थियो ।
ख्रीष्टियन समुदायको आधारभूत आवश्यकता, समाधीस्थल, पहिचान सहितको सार्वभौमिक मौलिक अधिकारको संस्थापन गर्न नसक्नु राज्यको लाचारीपन भएको कुरा राष्ट्रिय मण्डली संगति नेपालका सचिव तथा सुन्दर नेपाल सरसफाई अभियानका संयोजक वीर बहादुर तामाङले बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रवक्ता प्रेम कार्कीले धार्मिक स्वतन्त्रताको हकको व्यवस्था हुँदा पनि सरकारले प्रचारकको आरोप लगाएको बताउँदै उहाँले नेपालका १० वटै धर्मावलम्बीलाई संघ, प्रदेश र स्थानीय सरकारले संरक्षण, सम्वद्र्धन गर्नुपर्दछ । राज्यले ख्रीष्टियन समुदायलाई विखण्डनकारी र धर्म प्रचारकसँग जोडेर चुनावको बेला मात्र अधिकारको नाममा भोट बैंक मात्र प्रयोग गरेको उहाँको भनाई थियो ।
राजनीतिमा ख्रीष्टियन विचार समुहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी पत्रकारहरूले पनि आफ्ना सुझाब तथा विचारहरू राख्नुभएको थियो । सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन पत्रकार कुमार सिंह बिष्टले गर्नुभएको थियो ।