
२ डिसेम्बर २०२१, मकवानपुर । धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधी भएको बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनु भएको छ ।
नेपाल ख्रीष्ट्रियन समाज बाग्मती प्रदेश र मकवानपुर ख्रीष्टियन समाजको संयुक्त आयोजनामा हिजो सम्पन्न भएको राष्ट्र निर्माणमा हाम्रो जिम्मेवारी विषयक अन्तरक्रिया तथा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउनु हुँदै धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत भएको टिपणी गर्नुभयो ।
उहाँले यस विषयमा प्रदेश सरकार गम्भीर रहेको र केन्द्रमा समेत यस बिषयमा आवाज उठाउने बताउँदै सरकारले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभयो । धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ, सबै जातजाति, क्षेत्र, वर्ग र समुदायबिच घनिष्ठ सम्बन्ध रहेको छ, हामी सयौँ जातको फुलबारीको हो भन्ने देशलाई फुलबारीको रुपमा विकास गर्नु पर्छ । धर्मका कारण अशान्तिको युगतर्फ यो देशलाई फर्काउनु हुँदैन, दमनबाट देशमा शान्ति हुँदैन, हामी एक अर्कामा मिलेर बस्नु पर्छ, यही नै हाम्रो विशिष्टता हो ।”
ख्रीष्टियनहरूको समस्याको रुपमा रहेको दाह सस्कार अर्थात चिहानको अभावको विषयलाई प्रदेश सरकार गम्भीर रहेको भन्दै यो समस्या चाँडै हल हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।