
काठमाडौं, १५ नोभेम्बर २०२१ । अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्कले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी आफूले आयोजना गर्न लागेको गजल लेखन प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
सो पत्रकार सम्मेलनमा गजल लेखन प्रतियोगितामा सहभागी हुन चाहनेहरूले आगामी नोभेम्बर १९ तारिखको मध्यरातसम्ममा आफूले लेखेको गजल वाचन गरेको भिडियो रेकर्ड गरी पेश गर्नुपर्ने जानकारी नेटवर्कका सहअध्यक्ष दिनेश श्रेष्ठले गराउनुभयो । यो प्रतियोगितामा निशुल्क सहभागी हुन सकिने र प्रतियोगितामा प्रथम हुनेलाई नेपाली रु. ५०,०००/– का साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिने र दोश्रो हुनेलाई रु. ३०,०००/– का साथमा ट्रफी र प्रमाणपत्र त्यसैगरी तेश्रो हुनेलाई रु. २०,०००/– का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराइयो । उत्कृष्ट दुई सहभागीलाई रु. १०,०००/– का दरले सान्त्वना पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने पनि बताइयो ।
पहिलो चरणमा सहभागीबाट उत्कृष्ट २० जना छनौट गरिने र दोश्रो चरणमा उत्कृष्ट १० जना छनौट गरिने र तेस्रो चरणमा उत्कृष्ट ५ जना छनौट गरिने र अन्त्यमा ५ जनाबाट उत्कृष्ट पहिलो, दोश्रो र तेस्रो छनौट गरिनेछ भने अन्य दुई सहभागीलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिने बताइयो । सो गजल लेखन प्रतियोगितामा सहभागीहरूले ख्रीष्टियन आस्थामा आधारित गजल पठाउनुपर्ने छ भने अन्तिम चरणमा पुग्ने प्रतियोगीले ५ वटासम्म गजल भिडियो रेकर्ड गरि पठाउनु पर्ने हुन्छ । रेकर्ड गरिएको गजल भिडियो यसै नटवर्कको ईमेल ठेगाना incmnetwork@gmail.com मा पठाउनु पर्ने हुन्छ ।
नेटवर्कका उपाध्यक्ष विश्वास थापाले सञ्चालन गर्नुभएको सो पत्रकार सम्मेलनमा उठेका प्रश्नको कोषाध्यक्ष रेणु वाईबा लगायत उपाध्यक्ष र सहअध्यक्षले प्रष्ट पार्नुभएको थियो । केहि थप विषयमा स्पष्ट हुनु परेमा सञ्जालको फेसबुक पेजका साथै नेटवर्कका पदाधिकारीसँग व्यक्तिगत रुपमा पनि भेटेर राख्न सकिने जानकारी गराइयो ।
स्मरण रहोस् यस गजल लेखन प्रतियोगिताको टाइटल स्पोन्र्सर अमेरिकाको ओहायो कोलम्बसस्थित आले इमिग्रेशन कन्सल्टिङ रहेको छ । अन्त्यमा पत्रकार अन्जन घलेबाट अन्तिम प्रार्थना गरी पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।