निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर काठमाडौं उपत्यकाका विभिन्न सञ्चारक्षेत्रमा कार्यरत ख्रीष्टियन सञ्चारकर्मीले आइतबार उहाँको सम्झनामा भेटघाट तथा छलफलको आयोजना गरिएको थियो । यस भेटघाटको संयोजन युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले गर्नुभएको थियो ।
छलफलमा तुरही अनलाइनका सम्पादक कुमारसिहं बिष्टले बर्सेनि पादरी प्रधानको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागि पर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी भएको बताउनुभएको थियो ।
महान् व्यक्तिको गुणगान मात्र नगरी गुण ग्रहण गर्नु दूरगामी महत्वको विषय भएको वचन पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वास थापाले बताउनुभयो । त्यसैगरी युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले पादरीको योगदानलाई नेपाली समाजले अब अनुसरण गर्ने र सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने बताउनुभएको थियो ।
छलफलमा उपस्थित सञ्चारकर्मीले बहुआयामिक क्षेत्रका साधक र आदर्शका संवाहक पादरी प्रधानले नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान भएको धारणा व्यक्त गर्नुभएको थियो ।
काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाई १८५१ अर्थात वि.स. १९०८ अषाढ २० गते बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोराका रुपमा जन्मिएका पादरी प्रधान बहुमुखी क्षेत्रका अग्रेणी साधक भएर पनि नेपाली इतिहासका ओझेल परेका सुन्दर फूल हुनुहुन्छ । उज्यालोमा ल्याइदैँ गरेका साधक सधैभरि अमर हुनुहुन्छ । उहाँको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन् ।
छलफलमा सहभागी ख्रीष्टियन संचारकर्मीहरुले पेशागतरुपमा एकजुट भएर समुदायको आवाजको केन्द्र बन्नुपर्नेमा जोड दिनुभएको थियो । यो छलफलले यहि आउँदो असार २७ गते ललितपुरमा ख्रीष्टियन सञ्चारकर्मीहरुको एक भेला आयोजना गर्ने र भेलाद्वारा नै आगामी कार्यदिशा र रणनीति बनाउने निर्णय भएको कुरा सुमित नेपालीले बताउनुभएको छ ।
सधैभरि सबैका लागि प्रेरणाका पात्र बन्नुभएका पादर गंगाप्रसाद प्रधान नेपाली पहिलो पास्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगीत प्रेमी समेत हुनुहुन्थ्यो । त्यसैको उपज उहाँ बहुआयामिक क्षेत्रका साधक र आदर्श हुनुहुन्छ ।