सामान्यतया अगुवा वा लिडर भन्नाले हामीलाई अगुवाई गर्ने, सक्षम, साहसी, निर्देश गर्न सक्ने, हेरचाह गर्ने आदि इत्यादि विशेषताहरू भएको हुनु पर्छ भनेर बुझ्छौं । अगुवाको बारेमा थुप्रै जानकारी हिजोआज इन्टरनेट र किताबहरूमा पाइन्छ । सायद संसारमा सबैभन्दा बढी किताब लेखेको छ भने पनि त्यो अगुवापनसँग सम्बन्धित छ भन्ने मेरो ठम्याई छ । यो लेखमा थोरै लिडरसिपको बारेमा मेरो आफ्नो व्यक्तिगत विचार र अवधारणाहरू पोख्ने प्रयास गरेको छु । व्यक्तिगत रुपमा कसैलाई पनि नियतबस मेरो भनाई राख्ने कोशिस भने होइन । हामी जुन परिवेश र संस्कारमा हुर्केका छौं र हाम्रो अगुवाहरूले हुर्काएका छन् । केही शिक्षा, ज्ञान र कला दिएका छन्, त्यसमा हामीले धन्यवाद भन्नै पर्छ । यत्ति हुँदाहुँदै पनि केही कमी कमजोरीहरू देखा परेका छन् तर यहाँ कमी कमजोरीका तर्कहरू मात्र गरिने छैन ।
अगुवापन (लिडरसिप) व्यक्तिका आ–आफ्नै किसिमका अगुवाइ गर्ने सिप, दक्षता फरक फरक हुन्छन् । यो हरेक व्यक्तिपिच्छेको लिडरसिपको संरचनामा फरक हुन्छ भन्ने मान्यता रहदै आएको छ । एक व्यक्तिको लिडरसिप अर्को व्यक्तिको लिडरसिपमा समानता नहुनु प्राकृतिक नियम हो । यो अपेक्षा गर्न पनि सकिन्न । समग्रमा हरेक अगुवापनका आफ्नो तरिका हुन्छ, चरित्र हुन्छ, शैली हुन्छ । तर यति भन्दै गर्दा हरेक लिडरको लिडरसिपमा कम्तिमा एउटा कुरा भने समानता हुनु नितान्त आवश्यक छ । त्यो के हो भने, आजको समय वा काल खण्डमा समुदाय वा समुदायका मानिसहरूका जीवन सकारात्मक दिशातर्फ रुपान्तरण निरन्तर रुपले भइरहेको छ कि छैन भन्ने विषयले धेरै महत्व राख्छ । अगुवा पदको अर्थ जिम्मेवार, कर्तव्य, अधिकार र उत्तरदायित्व साथै इमान्दारितालाई प्राथमिकतामा राख्न सक्यौं भने अगुवाका मुख्य चरित्र स्पष्ट हुन्छ । यस अर्थमा अगुवाको पद कुर्सी मात्र मुख्य हो भनि सोच्नु उचित हुन्न । वास्तवमा यी माथिका चरित्रहरूलाई समान र सन्तुलन तरिकाले प्रयोग गर्न आवश्यक छ । तर हाम्रो जस्तो समाजमा अन्य विशेषतालाई छोडी अधिकारलाई मात्र बढी प्रयोग भएको छ भन्न हामीलाई खासै कठिन छैन ।
केही गहन प्रश्नहरू उठ्न सक्छन् । तपाईंको लिडरसिपले तपाईंका मानिसहरूलाई हिजोको भन्दा आज केही सहज भएको छ कि छैन ? अनि तपाईं, विश्वासीहरूले कसरी आफ्नो अगुवाहरूलाई हेरिरहनु भएको छ ? के तपाईंका अगुवाले साँच्चै तपाईहरूको बृद्धि भएको देख्न चाहेका छन् त ? छन् भने कुन कुन क्षेत्रमा र कसरी देख्न चाहेका छन् ? के तपाईंहरूलाई त्यसको बारेमा थाहा छ ?
यी विषयहरूमा गम्भिर भएर सोच्नु पर्छ । बृद्धिको कुरा गर्दा हामी जता मन लाग्यो उता बतासले उडाएर लैजाने भुस जस्तो हुन मिल्दैन । बृद्धि त भएको छ तर त्यसको कुनै लक्ष्य छैन भने त्यो एउटा थुप्रो जस्तो हुन जान्छ । जुन कुरा हामीलाई दाऊदले भजनसंग्रह एकमा बताइसकेका छन् । तर यसको अर्थ बृद्धि रोकिनु भन्ने होइन । केही हदसम्म अगुवाले नियन्त्रण गर्छ, यसको अर्थ अगुवा नै पूर्णरूपले बाधक पनि होइन । सत्य कुरा चाहिँ, नियन्त्रणले हाम्रो बृद्धि र विकासमा बाधा पुगेको छ कि छैन । यो जाँच्न र बुझ्न जरूरी हुन्छ ।
यदि हामीले यी विषयहरूमा राम्रो ध्यान दिएका छैनौं वा सोचेका छैनौं भने हामी कुनै डर र भयको भुमरीमा परिरहन्छौं । बुझ्नु पर्ने कुरा के छ भने अगुवा पनि मानिसका पात्र हुन । उ अभिशिक्त होला तर पूर्ण भने होइन । अगुवाहरूबाट हामीले धेरै कुराहरूमा उत्साह पाउन र लिन सक्छौं, सिक्न सक्छौं । यो अगुवाको कर्तव्यहरू मध्येमै पर्दछ । यदि तपाईंका अगुवाहरूले चाहिने भन्दा बढी नियन्त्रण गरिरहेका छन् भने चाहिँ केही समस्या छ भनेर बुझ्नु आवश्यक छ । त्यो समस्या भित्री वा बाहिरी जुनै पनि हुन सक्छन् । नियन्त्रण भनेको छाडा हुन नदिनु मात्र होइन र त्यसको विपरित स्वतन्त्रता भनेको बन्देजको खुकुलोपन मात्र होइन । नियन्त्रण मात्र गर्दा, सिक्ने र बुझ्ने कुराहरूलाई सिमित गरिदिन्छ । स्वतन्त्रताले छाडा हुन्छ भनेर सोच्नु भन्दा पनि त्यसले अरू सम्भावनाका बाटोहरूलाई खुल्ला गरिदिन्छ भनेर बुझ्नु पर्ने हुन्छ । तर असुरक्षाको दृष्टिकोणले गरिएको छ भने चाहिँ त्यो बाधक बन्न जान्छ ।
हिजो आजको समयमा धेरै किसिमका अगुवाहरू जन्मेका छन् । सबै अगुवाहरूलाई हामीले समान रूपमा भरोसा गर्न सक्ने अवस्था नभएकोले हामी होशियार हुनु आवश्यक छ । कतै जानी नजानी हामीले हाम्रो आफ्नो अगुवालाई प्रभुको रुपमा स्थापित त गरिरहेका छैनौं वा हामीले त्यहि अनुसार जिइ रहेका त छैनौं ? अर्को शब्दमा भन्नु पर्दा, हामीले अगुवामा भर परेका त छैनौं ? अगुवाले नै गरिदिनु पर्छ भन्ने सोंचको विकास गरिरहेका त छैनौं ? यी बिषयहरू आफैमा गहन र गम्भिर छन् । यदि यस्ता विचारहरूबाट हाम्रो जीवन चलाइरहेका छौं भने यसले हामीलाई एक प्रकारले अपाङ्ग बनाउन सक्छ । हाम्रो हुर्काइ र विकासमा हामीलाई दिइएको अगुवापनले कत्तिको स्वतन्त्रता (इनडिपेण्ड) बनाउँदैछ । यो अर्को महत्वपूर्ण कुरा हो । यदि तपाईं हाम्रो अगुवाले प्रभुमा भर परि बृद्धि र विकासमा सहयोग गर्दैछ भने त्यो असल हो भनेर बुझ्नु जरुरी छ । बृद्धि र विकास भनेको आत्मिक क्षेत्रलाई मात्र नहेरी, केही फराकिलो दृष्टिकोणले हेर्नु पर्ने र बुझ्नु पर्ने हुन्छ । तर जीवनको जग भनेको चाहिँ हाम्रो आस्था र विश्वास ख्रीष्टसँगै टाँसिएर रहेको हुनुपर्छ ।
हामीले हाम्रा लिडरहरूलाई कसरी हेरिरहेका छौं ? के उनीहरू निरंकुश तरिकाले अगुवाई गर्दैछन् वा समावेशी, प्रजातान्त्रिक रुपमा अगुवाई गर्दैछन् अथवा के साधारण मानिसहरूका आवाजहरू सुन्ने गर्छन् कि गर्दैनन् ? यस बिषयमा हल्का रूपले मात्रै व्याख्या गर्न सकिंदैन । अगुवापन आफै गहन विषय हो । यो एक साधारण धारबाट मात्र बग्दैन । शक्तिाको सन्तुलन भएन भने त्यसको परिणाम सबै समुदाय, वर्ग, जात, धर्म, देशमा नै असर पार्छ । अगुवाले आफ्नो पद वा शक्तिलाई सहि रुपमा प्रयोग गर्न सकेन भने त्यसको दुरुपयोग हुने प्रचुर सम्भावना रहन्छ । जुन कुरा हामी केहि हदसम्म हाम्रो समाज र परिवेशको आधारमा जानकार छौं । व्यक्तिगत हित, नाता–सम्बन्ध र नजिकका व्यक्तिहरूका लागि आफ्नो पद प्रतिष्ठाको बिक्री वितरण हुने अवस्था धेरै रहन्छ । चाहे त्यो राजनीतिक, धार्मिक, संघसंस्था वा अन्य क्षेत्रका किन नहोस् त्यसले समग्रमा प्रभाव पार्दछ । अगुवाले वा तपाईं विश्वासीहरू, पाप–क्षमा, धर्म–कर्म, स्वर्ग–नर्कका डरहरूमा धुमिलिएका छौं भने हामीलाई सिकाइएको शिक्षा पूर्ण छैन भनेर बुझ्नु पर्ने हुन्छ । येशूलाई ग्रहण गरिसकेपछि पनि यस्ता कुराहरूमा हामी अल्झिरह्यौं भने हाम्रो आफ्नो बृद्धिमा आफै बाधक बनिरहेका हुन्छौं भनेर बुझ्नु पर्ने हुन्छ । परमेश्वरले दिनु भएको स्वविवेक र चेतनालाई प्रयोग गरेर हामी यस्ता कुराहरूबाट छुटकारा प्राप्त गर्न सक्छौं ।
जहाँसम्म हामीलाई सिकाइएका केही शिक्षाहरूद्वारा, ज्ञानहरूद्वारा अगुवा भनेको शासक होइन तर सेवक हो भन्ने बुझेका छौं । सैद्धान्तिक रूपमा सेवक भने पनि हामीले अनुभव गरेको व्यवहारमा भने त्यो सायद फरक छ होला भन्ने मलाई लाग्छ । उदाहरणको रुपमा कस्तो किसिमको अगुवालाई सेवक भन्ने ? जसलाई चिया बनाएर ल्याइदिनु पर्ने सेवक अगुवा कि, जसले चिया बनाएर लिनुस् भनेर भन्न सक्ने सेवक अगुवा ? व्यवहारिक रुपमा कसले कसलाई चिया ल्याइदिने हो, यसमा समस्या छैन । तर समस्या कहाँ उठ्न सक्छ भने जब अगुवाको अगाडि पछाडि सेवक उपनाम जोडिएर शासकको रुपमा पहिचान बन्दै जान्छ । मालिक हुँदै जान लाग्छ । त्यति बेलादेखि नै नजानिंदो प्रकारले बिस्तारै शालिन शैलीमा तर कठोर किसिमको अगुवा बन्दै जाने सम्भावना बढी रहन्छ र दिर्घकालिन अवस्थामा समुदायलाई यस्ता अगुवाहरू घातक हुन सक्ने अवस्था धेरै रहन्छ ।
यदि त्यो अगुवाले आफ्ना मानिसहरूलाई भविष्यतिरको मार्गमा निर्देश गर्न सक्दैन भने असल अगुवाको चरित्र वा गुण भएर मात्र बिशिष्ट हुन सक्दैन । भविष्यतिरको मार्ग निर्देश भन्नाले आफ्नो मात्र होइन तर आफ्नो समुदाय र मानिसहरू पनि हुन् भन्ने बुझ्नु पर्ने हुन्छ । के तपाईंको मानिसहरू र समुदायमा यस्तो प्रकारको सम्भावनालाई देख्नु भएको छ ? समग्रलाई समेट्न सकिएन भने अगुवाले आफ्नो कार्य रणनीति र विचारहरूलाई समायोजन र समालोचना गर्न जरूरी हुन्छ । जसरी मोशालाई आफ्नो ससुराको सल्लाहले तिनको अगुवाइलाई कौशलताको शिखरमा पुर्याएको थियो । उनले पनि आफ्नो अगुवापनलाई समायोजन गरी बढेका थिए । मोशाको पनि केही कमजोरी रहेतापनि तिनले दोस्रो पुस्ताका अगुवाहरू निर्माण गर्न सक्षम भए । साथै पहिलो पुस्ताका सबै उजाड स्थानमै बितेपनि दोस्रो पुस्ताका अगुवा र इस्राइलीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न पाए । त्यसैगरी तपाईंको अगुवाइले तपाईं र तपाईंका मानिसहरूलाई कतातिर डोर्याइरहनु भएको छ ? अगुवाको मुकुट लगाएर मानिसहरूलाई अगाडि बढाउन सक्नु भएको छ कि छैन ? कि त्यो पदको लागि मात्र ठाउँ ओगटेर बस्नु भएको छ ? अगुवाको आफ्नो जीवन मात्र सुधार हुनु भनेको संकिर्णता र लोभको आचरण मिश्रित अगुवा हुनु हो । बिशेष गरी हाम्रो सन्दर्भमा यो कुरा बुझ्न हामीलाई कठिन छैन होला । जसरी कमजोर निर्णयले कमजोर नतिजा दिन्छ, त्यसैगरी कमजोर लिडरसिपले मानिस र समुदायलाई पनि कमजोर बनाउँछ र त्यसले सम्भावनाका ढोकाहरू कमजोर र बन्द गराउने अवस्था रहन्छ । आफ्नो अहंम, घमण्ड र व्यक्ति विशेष हुन छोडेर समग्र समुदाय र मानिसहरूप्रति अगुवापनको उत्तरदायित्व निभाउन सकेनौं भने हामी मानवलाई दिएको अनुग्रह र आशिषको बाधक बन्ने प्रबल सम्भावना रहन्छ । के तपाईं आफै त्यस्तो अगुवामा गनिन चाहनुहुन्छ ?
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४