
१० अगष्ट २०२०, पोखरा । नेपाल ख्रीष्टियन समाजले एक प्रेस विज्ञप्ति निकाल्दै बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागि परेका केही समुहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली ख्रीष्टियन समुदायलाई लाजमर्दो स्थितितिर घिसार्ने कार्य भैरहेको भन्दै दुःख व्यक्त गरेको छ ।
नेपाल ख्रीष्टियन समाज गण्डकी प्रदेश कार्य समितिले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ – पोखरा लामाचौरस्थित “सच्चाइ” समुहले स्वयम् आफैंलाई “ख्रीष्टियन होइनौं” भन्दै आएका र उनीहरूको सो दाबीअनुसार नै नेपाली चर्चहरूले उनीहरूलाई ख्रीष्टका सच्चा अनुयायी नमानेको स्मरण गराउँदै आम ख्रीष्टियन समुदायसित उक्त समुहको नाम जोडेर अनर्गल प्रचार नगरिदिन अपील समेत गरेको छ ।
हिजो साउन २५ गते प्रकाशित विज्ञप्तिमा पोखरामा भएको सो घटनाको खण्डन गर्दै बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागि परेका केही समुहहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली ख्रीष्टियन समुदायलाई लाजमर्दो अवस्थामा पुर्याएको भन्दै पोखरा महानगरपालिका वडा नं. १९ मा सञ्चालन हुँदै आएको “ईश्वरीय मार्ग भजन मण्डली–सच्चाइ केन्द्र” (झूटो शिक्षा फैलाउने “सच्चाइ” समुह) का एक अगुवाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको र सो समुहका थप ६ जनालाई पनि संक्रमण पुष्टि भैसकेको तथ्य सार्वजनिक भएपछि आम नेपाली ख्रीष्टियन समुदायका विरुद्धमा अहिले अफवाह फैलाउन थालिएकोप्रति दुःख व्यक्त गरिएको हो ।
संसारभरि महामारीको रूपमा फैलिएको कोभिड १९ को प्रभावले नेपालमा पनि संक्रमित संख्या अप्रत्यासित रूपमा बढिरहेको तथ्यप्रति सजग हुँदै सबै मण्डली तथा ख्रीष्ट विश्वासीहरू सरकारले लागू गरेको नियम मान्दै आ-आफ्नै घरमा रहि सेवा संगति गर्दै आएको प्रष्ट पारेको छ । कोभिड १९ को प्रभावप्रति जनस्तरबाटै गम्भीर हुँदै अनुशासनका साथ सबै ख्रीष्ट विश्वासीहरूलाई स्थानीय मण्डलीका साथै सबै गठित समाज, संघ र समुदायको पहलमा भैरहेको प्रार्थना, बाइबलको सही शिक्षामा निरन्तर लागिरहन अनुरोध समेत गरेको छ ।